राजेन मानन्धर
पृष्ठभूमि
नेपालको लुम्बिनीमा जन्मेका महामानव गौतम बुद्धले प्रतिपादन र व्याख्या गरेको धर्म नै बुद्ध धर्म हो । बुद्ध धर्मको प्रादुर्भाव भएको समय महिलाहरूका लागि अनुकूल थिएन तर केही बन्देज रहँदारहँदै पनि बुद्ध धर्ममा उनीहरूले सम्मानजनक ठाउँ पाए । धेरै महिलाहरूले बुद्ध धर्मको व्याख्या समेत राम्रोसँग गरे र तिनीहरूको योगदानलाई बौद्ध साहित्यले सम्मानजनक स्थान पनि दियो । समय क्रममा बुद्ध धर्मले धेरैपल्ट परिवर्तन र विकास देख्यो । समाजमा पनि थुप्रै प्रकारका परिवर्तन भए । महिलाहरूका विरुद्ध अन्य धर्ममा जस्तै यसमा पनि लिखित अलिखित किसिमले थुपै्र विभेदकारी नियमहरू ल्याइए, थपिए ।
संसारभरि मानिसले समयानुसार क्रमैसँग स्वतन्त्रताको अनुभव गर्न पाएको छ । राजनीतिक र सामाजिक परिवर्तनले संसारका हरेक मूल्य, मान्यता, धर्म, दर्शनलाई नयाँ ढङ्गले हेर्न सिकाएको छ । महिला र पुरुष समान हुन् भन्ने अवधारणा विश्वव्यापी रूपमा विकसित भएको छ । यस पृष्ठभूमिमा बुद्ध धर्ममा २५०० वर्ष पहिलेको धार्मिक र सामाजिक अवस्थामा आधारित भई बनाइएको महिला सम्बन्धी धारणामाथि २१औं शताब्दीको दृष्टिकोणबाट तटस्थ भई वैज्ञानिक आधारमा विवेचना गर्नुपर्ने देखिन्छ । यहाँ यसै धारणाबाट प्रेरित भई बुद्ध धर्मका केही नियम, प्रचलन र धारणाहरूमाथि पुनर्विचार गर्ने कोसिस गरिन्छ ।
बुद्ध धर्म आफैमा कट्टरतामा विश्वास नराख्ने र मध्यम मार्ग रोज्ने धर्म हो तापनि बुद्धका लचिला नियम र मान्यतालाई मानिसहरूले कट्टरतामा बदल्न चाहेको हो कि भन्ने आभास पनि कतै कतै देखिन मिल्न थालेको छ । त्यसैले यहाँ मूल रूपमा बुद्धले सिकाएको ज्ञानलाई मात्र अवलम्वन गर्ने थेरवादी वा स्थिरवादी तथा हजारौं वर्षपछि यसैका आधारमा विकसित भएको नेपालमा प्रचलित दुई धारहरू (महायानी र बज्रयानी परम्परा) मा देखिएका विभेदलाई सङ्क्षेपमा समेट्ने प्रयास गरिएको छ ।
यस लेखले बुद्धमार्गी वा कुनै पनि धर्मावलम्वीहरूको भावनामा ठेस पु¥याउने, होच्याउने, तिनीहरूको इतिहासलाई बङ्ग्याउने वा गलत अर्थ दिने नियत राखेको छैन । बरु यसले विद्यमान विभेद र विसङ्गतिलाई समयानुकूल सुधार गर्दै सबै धर्मावलम्वीलाई सम्मानको जीवन जिउन सघाओस्, यसमा आफ्नो जीवन समर्पण गर्ने महिलाहरूलाई सम्मानका दृष्टिले हेर्न थालियोस् भन्ने अपेक्षा राखेको छ । यसमा विद्वान् वर्गबाट आवश्यक सहयोग र परिमार्जनको अपेक्षा गरिन्छ ।
परिचय
वर्तमान नेपालको तराईमा अवस्थित कपिलवस्तु राज्यका राजा शुद्धोदनकी रानी महामायादेवीले राजकुमार सिद्धार्थलाई लुम्बिनीमा ई.पू ५६३ को वैशाख पूर्णिमाका दिनमा जन्म दिनुभयो । राजकुमार राजदरवारको सुखसयलमा हुकर्नुभयो, उहाँको विवाह यशोधरासँग भयो, पुत्रलाभ भयो तर उहाँ संसारको मायामा भन्दा पनि मानिस किन दुःखमा रुमल्लिरहन्छ भन्नेजस्ता गहन सोचमा डुबिरहनुहुन्थ्यो । उहाँले संसारमा भुल्नुभन्दा भिक्षु बनेर निस्केमा संसारका लागि मुक्तिको मार्ग खोज्न सकिन्छ भन्ने बुझ्नुभयो ।
उहाँले यही मुक्तिको मार्ग खोज्दै २९ वर्षको उमेरमा घर, गृहस्थी त्याग्नुभयो र छ वर्ष कष्टकर जीवन बिताउनुभयो । त्यसपछि उहाँले मध्यममार्गी जीवनशैलीमा ध्यान गरेर मुक्ति खोज्न थाल्नुभयो र त्यो बाटो पत्ता लगाउनु भयो । यसलाई सङ्क्षेपमा चार आर्य सत्य र आठ अङ्ग भएको मार्ग भनिन्छ । उहाँले जीवनभर विभिन्न ठाउँमा गएर धर्म उपदेश दिन थाल्नुभयो । उहाँले सबै प्रकारका मानिसहरूले पनि अङ्गीकार गर्नसक्ने खालको ज्ञानको बाटो देखाउनुभयो । त्यसलाई सबैले बुझ्ने भाषामा बुद्धधर्म भनिन्छ । बुद्धधर्मका चार प्रमुख सिद्धान्तहरू यी हुन् ः क. ईश्वरलाई नमान्नु, ख. आत्मालाई नित्य नमान्नु, ग. कुनै ग्रन्थलाई स्वतः प्रमाण नमान्नु र घ. जीवन प्रवाहलाई यसै शरीरसम्म परिमित मान्नु (सांकृत्यायन, सन् १९८३ ः पृष्ठ १) । यही धर्म हाल विश्वभर विभिन्न रूप र सारमा प्रचलित छ ।
बुद्ध धर्ममा महिलाको स्थान धेरै ठाउँमा र धेरै दृष्टिकोणबाट विरोधाभासयुक्त रहेको छ । पहिलो, प्रारम्भमा केही विभेद थियो, तत्कालीन समयलाई हेर्दा त्यो पनि सकारात्मक देखिन्छ र फेरि त्यही आधारमा आज पनि विभेद कायम गर्ने कोसिस गरिरहेको देखिन्छ । अर्को, अन्य धर्ममा जस्तै यसमा पनि बाहिरबाट महिलालाई कदर गर्ने, समानताको दृष्टिले हेर्ने र भित्रबाट व्यवहारमा, प्राचीन सोचकै कारणले हुनसक्छ, विभेदपूर्ण व्यवहार गर्ने परम्परा रहिआएको देखिन्छ । यस लेखमा बुद्ध धर्मले महिलाहरूमाथि लिएका सकारात्मक सोच, उनीहरूको योगदानलाई गरेको कदर र धर्ममा महिलालाई दिएको स्थानको उचित कदर गर्दागर्दै पनि देखिएका केही विभेदका कुराहरूलाई विवेचना गर्ने कोसिस गरिन्छ ।
संसारका सबै धर्म मानिसले नै बनाएका हुन् । धर्महरूले मानिसको इच्छा पुरा गर्न सकेनन् भने स्वाभाविक रूपमा ती मानव जीवनबाट टाढिन्छन् । मानिस आफ्नो सभ्यताबाट आफै टाढिनु अगाडि त्यसमा सिंहावलोकन गरी समयानुकूल परिवर्तन गर्न सकेमा हाम्रा धर्म, संस्कृति र सभ्यताका मूल्यमान्यताहरू हाम्रा जीवनका मार्गदर्शक भइरहन सक्छन् । त्यसकारण यस विषयमा तल सङ्क्षिप्त चर्चा गरिन्छ ।
प्रारम्भिक काल
बुद्धले धर्ममा महिलालाई कस्तो स्थान दिनुभयो भन्ने बुझ्न त्यसबेलाको समाज बुझ्न जरुरी छ । आचार्य बलदेव उपाध्यायले बुद्धकालीन समाजमा महिलाको स्थान यसरी वर्णन गर्नु भएको छ — “स्त्रीहरूको अवस्था वैदिक युगमा जस्तो उदात्त थिएन । वेदकालमा जति स्वतन्त्रता तथा आध्यात्मिकता यी महिलाहरूमा थियो त्यो क्रमशः ह्रास भयो । धर्ममा अधिकारबाट तिनीहरू वञ्चित राखिएका थिए । बुद्ध स्वयं उनीहरूलाई दीक्षा दिने पक्षमा हुनुहुन्नथ्यो तर आफ्नी आमाको स्नेहले, शिष्यहरूको आग्रहले उहाँलाई त्यसो गर्नुपरेको थियो । … यस प्रकार बुद्धको समयको समाजलाई आदर्श समाज भन्न सकिंदैन । … बुद्धले समाजको यस विषमतालाई निकै नजिकबाट हेरे र बुझे । यसलाई हटाउन उनले नयाँ बाटो अपनाए जसमा उनलाई पूर्ण भरोसा थियो कि उनले जनताको दुःख हटाउन सक्छन्” (उपाध्याय, २०११ः पृष्ठ १८) ।
अर्कोतिर यो पनि हामीले बिर्सन हुँदैन कि बुद्ध धर्म पितृसत्ता हाबी हुँदा पुरुष प्रधान समाजमा हुर्केको थियो । बुद्धधर्म प्राचीन भारतको जुन सामाजिक–धार्मिक वातावरणमा हुर्कियो र विकास भयो, त्यो लगभग पक्का पितृसत्तात्मक थियो (ब्लाय्कस्टोन, २०१०ः पृष्ठ ९) ।
बुद्धले जसरी घर गृहस्थी त्यागेर आउने पुरुषहरूलाई सजिलै भिक्षु बन्ने अनुमति दिनुभयो, त्यसरी महिलाहरूलाई भिक्षुणी बनाउन अस्वीकार गर्नुभएको थियोे । तीन पल्ट अनुरोध गरेपछि मात्र उहाँले आफ्नी सानीआमा प्रजापति गौतमी र उहाँका साथमा आएका ५०० महिलाहरूलाई भिक्षुणी बन्ने अनुमति दिनुभयो र भिक्षु सङ्घ जस्तै भिक्षुणी सङ्घ बन्यो । यस अर्थमा गौतमीको विद्रोह, आन्दोलन वा सङ्घर्षलाई युगान्तकारी मान्नु पर्दछ । त्यति अनुमति दिनु अगाडि बुद्धले भिक्षुणीका उम्मेदवारहरूलाई आठवटा विशेष नियम बनाइदिएर त्यो पालन गर्ने हो भने मात्र भिक्षुणीका रूपमा स्वीकार्ने सर्त राख्नुभयो । ती नियमहरू वा गरुधम्म (गह्रौं वा गाह्रो नियमहरू) यसप्रकार छन्—
१. उपसम्पदाद्वारा सय वर्ष भएकी भिक्षुणीले त्यतिखेरै उपसम्पन्न भएका भिक्षुलाई पनि अभिवादन, प्रत्युस्थान, अञ्जलीकर्म तथा सामीचिकर्म (सम्मान सत्कार) गर्नुपर्छ ।
२. भिक्षु नभएको आवास गृहमा भिक्षुणीले वर्षावास (वर्षायामको समयमा एकै ठाउँमा तीन महिना बस्नु) बस्नु हुँदैन ।
३. प्रत्येक दुई हप्ता भिक्षुहरूकहाँ गएर यो कुन उपोसथ हो भनी र भिक्षुणीहरूलाई उपदेश दिने भिक्षु छ कि छैन भनेर सोध्ने ।
४. वर्षावास सकेपछि भिक्षुणीले भिक्षु भिक्षुणी सङ्घमा देखेको भए, सुनेको भए तथा शङ्का भएको भए भन्नुस् भनी तीन प्रकारले याचना गनुपर्छ ।
५. नियम उल्लङ्घन गर्ने भिक्षुणीले भिक्षु सङ्घ र भिक्षुणी सङ्घमा मानत्मता (क्षमायाचना) पालना गर्नुपर्दछ ।
६. दुई वर्षसम्म छवटा शिक्षाहरू सिकिसकेका शिक्षमाणविका (प्रशिक्षार्थी)ले भिक्षु सङ्घ र भिक्षुणी सङ्घमा उपसम्पदा माग्नुपर्छ ।
७. कुनै पनि प्रकारले भिक्षुणीले भिक्षुलाई गाली नगर्ने, निन्दा नगर्ने ।
८. भिक्षुहरूप्रति भिक्षुणीहरूको मुख बन्द गर्ने, भिक्षुणीहरूप्रति भिक्षुहरूको मुख खोल्ने (प्रतिक्रिया वा आलोचनाको अर्थमा) (अमृतानन्द ः २०३८ ः९६–९७) ।
यस प्रसङ्गमा बुद्धले दिनुभएका उद्गारहरूले महिलाको प्रवेशले धर्म समेत चिरस्थायी नरहने अनुमान लगाउनुभएको देखिन्छ । यस अर्थमा बुद्धले महिलाहरूलाई पुरुषको समान स्थान दिनुभएको मान्न सकिन्न । बुद्ध धर्मको आलोचना गर्नेहरूले प्रायः उधृत गर्न रुचाउने यी नियमहरू स्वभावतः महिला समानताका विरुद्ध छ । यसलाई छ किसिमबाट हेर्न सकिन्छ ः
१. बुद्ध स्वयम् महिला समानताका पक्षधर हुनुहुन्नथ्यो ।
२. बुद्धलाई महिलाहरूको धर्ममा प्रवेशले भिक्षुहरू संयमित नहोलान् भन्ने डर थियो ।
३. यी वचनहरू बुद्ध वचन होइनन्, पछि थपिएका हुन् ।
४. यी नियमहरू साङ्केतिक थिए जुन पहिले पालना गरिएन, गराइएन ।
५. बुद्धले महिलाहरूलाई समान स्थान दिएमा त्यतिबेलाका रुढिवादी समाजबाटै विद्रोह हुने सम्भावना थियो । त्यसैले त्यतिबेला यति स्वतन्त्रता दिनुलाई सकारात्मक रूपमा लिनु पर्छ ।
६. त्यति बेलाको समाजमा महिला आफैले आफ्नो भविष्यको निर्णय गरी भिक्षुणी बन्ने चाहना राख्नु, बन्न पाउनु एक क्रान्तिकारी कदम थियो ।
यस गरुधम्मका बारेमा विभिन्न लेखकहरूको आ–आफ्नो धारणा छ । प्रो. पी. लक्ष्मी नरसूका अनुसार बुद्धलाई आपूmले स्त्रीलाई प्रवेश दिएमा तैर्थिक मानिसहरू उहाँका संस्थाहरूको बदनामी गर्न लाग्न सक्छन् भन्ने डर थियो (नरसू, सन् २०१० ः १३१) ।
बपट पनि बुद्धको बचाउ यसरी गर्नुहुन्छ ः बिसौं शताब्दीको मान्यताका आधारमा उहाँको मूल्याङ्कन गर्नु हँुदैन भन्ने कुरा सम्झनु आवश्यक छ । उहाँको समयमा त्यो एउटा ठुलो अग्रगामी कदम थियो । त्यसैले नै धार्मिक जीवनमा महिलाहरूले अर्हतको जस्तो सर्वश्रेष्ठ उपाधि हासिल गर्न सके जसले महिलाहरू पनि पुरुष जत्तिकै शिक्षित र विद्वान् हुन सक्छन् भन्ने कुरा देखाउँछ (बपट, सन् १९८७ ः ३) ।
रीना तुलाधरले यस गरु धर्मप्रति आफ्नो असहमति भएको सङ्केत गर्नु भएको छ । उहाँकै शब्दमा— यस्ता न्यायसङ्गत नभएको नियम भगवान् बुद्धले बनाउनु भएको थियो भनीकन स्वीकार गर्नु भन्नु नै हामीले भगवान् बुद्धलाई एउटा विवेकहीन व्यक्ति हो भनेर सावित गर्नु हुन्न र ! भिक्षुणी शासन स्थापना हुनु अगाडि नै भिक्षुणीका ८ वटा गरु नियम बनाउनु भयो होला र … त्रिपिटकभित्र पनि घूसपैठ भएको छ भन्ने शङ्का गर्ने ठाउँ छ । नारी दमन गर्नुमा पुरुषत्व संरक्षित भएको ठान्नेहरूले नै त्रिपिटकमाथि पनि हात हालेको हुन सक्तैन र ?(तुलाधर ः विसं २०६४ ः १३ ) ।
अर्का नानीमैयाँ मानन्धर यसलाई विभेद मान्न तयार हुनुहुन्न । उहाँ भन्नुहुन्छ— भगवान् बुद्धले नारी वा पुरुष, भिक्षु वा भिक्षुणीको पक्ष लिएर होइन, बरु नारी सङ्घमा प्रवज्या गरी प्रवेश गरे पनि तथागत प्रदर्शित धर्म–विनय, ब्रम्हचर्य शासन चिरस्थायी गराउने हेतुले नै यी आठ प्रकारका विशेष नियम बनाएको बुझिन्छ (मानन्धर ः विसं २०५३ ः १८) ।
माथि उल्लिखित नियमहरू कुन बेलासम्म कति लागू गरियो भन्ने स्पष्ट रूपमा उल्लेख भएको पाइँदैन । निर्वाण अगाडि बुद्धले भविष्यमा गाह्रो सानातिना नियमहरू छोडे पनि हुन्छ भन्ने आशय व्यक्त गर्नुभएको थियो । जब बुद्धले निर्वाण प्राप्त गर्नुभयो उनीहरूले बुद्धवचनलाई कि जस्ताको तस्तै ग्रहण गरे, कि केही संशोधन गरी अरू नै सङ्घ वा निकायका रूपमा आफ्ना नयाँ विचारहरूलाई स्थापित गर्दैगए । अरू विभिन्न विषयमा मतान्तर भएको उल्लेख भए पनि भिक्षुणीहरूका सम्बन्धमा भने खुल्ला रूपमा ती नियमहरूको विरोध गरेको वा नियमहरूलाई जस्ताको तस्तै पालना गरेको वा छोड्दै गएको भनेर कतै स्पष्ट लेखिएको पाइँदैन ।
बुद्धको निर्वाणपछि धर्ममा महिलाहरूले राम्रो स्थान पाएका थिए भन्ने कुरा थेरिगाथा नामक ग्रन्थ रचना भएकोले प्रष्ट्याउँछ । त्रिपिटक अन्तर्गतको सूत्रपिटकमा खुद्दक निकायभित्र रहेको यस ग्रन्थमा प्रारम्भिक कालका ७३ जना भिक्षुणीहरूको सङ्घर्ष र धर्ममा भएको योगदानको चर्चा गरेको पाइन्छ ।
यसबाट प्रारम्भिक कालमा महिलाहरूले बुद्ध धर्ममा सम्मानजक स्थान पाएका थिए भन्ने देखिन्छ । जुनबेला भारतमा बुद्ध धर्म प्रतिष्ठित थियो, त्यस समय भिक्षुणी–सङ्घहरू पनि धेरै थिए । समाजमा महिला शिक्षाको सुलभता नभए पनि बौद्ध महिलाहरू स्थापित हुनुमा बुद्ध शिक्षा र त्यसको प्रभावले भूमिका खेलेको थियो भन्न सकिन्छ । यी भिक्षुणी–सङ्घहरूमा भएपछि एक स्त्री एक स्वतन्त्र व्यक्ति बन्न जान्थे, ती कुनै पुरुषको अनुयायी मात्र रहँदैनथे (नरसू ः सन् २०१० ः १३३) तर यथार्थमा बुद्ध धर्मले देखाएको महिलाप्रतिको यो सदाशयता पनि लामो समयसम्म रहेको देखिँदैन । बुद्धको निर्वाणको केही कालपछि नै बुद्धले सिकाएका कुरा के मान्ने र के नमान्ने भन्ने विवाद देखियो । बुद्ध शिक्षालाई नियमित बनाउने कोसिस सर्वप्रथम नै विनय (बुद्धका शिक्षामध्ये भिक्षु भिक्षुणीले के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने जस्ता अनुशासन लगायतका कुरा) मा केन्द्रित भयो । त्यसको परिणाम स्वरूप तयार भएको विनयपिटकमा भिक्षुणीहरूलाई ३११ वटा नियम बनाइए तर भिक्षुहरूका लागि भने २२७ वटा मात्र नियम थिए (देशार ः वि सं २०७० ः १६) ।
बुद्धकालको प्रारम्भिक समयमा बनाएका यी विभेदपूर्ण नियमहरू नै मात्र समस्या होइनन् । ती नियमहरू त्यसबेला आवश्यक थिए वा त्यति बेला यस विषयमा समाजको वैचारिक क्षितिजको आयतन अनुसार तिनको निर्माण भयो भनेर स्वीकार गर्न सकिन्छ । समय परिवर्तन भए जस्तै बुद्ध धर्मको प्रारम्भिक कालमा बनाइएका केही नियमहरू अब आएर असहज र विभेदपूर्ण देखिए । एकातिर लामो समयको अन्तरालमा ती नियमहरूको महत्व गौण हुनुपर्ने थियो तर सङ्घ सधैं पुरुष निर्देशित हुने भएकाले तिनै नियमहरूमाथि टेकेर धर्माधिकारीहरूलाई महिलामाथि विभेद गरिरहन सजिलो भइरह्यो । बुद्ध धर्मका सबै माथिल्ला नियन्त्रणकारी वा नीति निर्माताका भूमिकामा पुरुषहरू हुने भएको र धर्ममा तर्कभन्दा श्रद्धाले काम गर्ने भएकाले महिलाहरूले विद्रोहको आवाज उठाउन पाएनन्, समानताका लागि गरिएका याचनाहरू सुनिएनन् वा उठेका आवाजलाई पनि दबाइयो वा नसुनेझंै गरियो कि भन्ने अनुमान सहजै लगाउन सकिन्छ तर अब यिनै विनय (अनुशासनका नियमहरु) आधारमा अहिलेका भिक्षुणीहरूमाथि विभेद गरिन्छ भने त्यो स्वीकार्य हुनेछैन । स्थिर रहन चाहनु र कट्टरवाद अलग अलग कुराहरू हुन् ।
दुर्भाग्यको कुरा, त्यति सङ्घर्ष गरी मान्यता पाएको भिक्षुणी सङ्घको अस्तित्व बुद्धको निर्वाणसँगै लोप भएर गयो । सोम्देत फ्रा महामसन चाओले आफ्नो पुस्तकमा भिक्षुणी सङ्घ लोपको कुरा उल्लेख गर्नुभएको छ । उहाँ भन्नुहुन्छ— कुन बिन्दुमा भिक्षुणीहरू लोप भए, त्यो एक प्रश्न हो जुन अनुसन्धान गरिनु पर्छ । … यसबाट म बुझ्छु कि तिनीहरू अस्थायी रूपमा थिए, लामो समयका लागि होइन । … बुद्धको परिनिर्वाणका समयमा भिक्षुणीहरूको उल्लेख गरिएन । परिनिर्वाणका एक सय वर्ष पछाडि नन्दाथेरीको प्रसङ्ग आउँछ । परिनिर्वाणको २३६ वर्षपछि राजा अशोककी छोरी सङ्घमित्ता भिक्षुणी भएको प्रसङ्ग आउँछ जसलाई श्रीलङ्कामा भिक्षुणी सङ्घ बनाउन पठाएको थियो (चाओ ः सन् १९८३ः २६९) ।
एकै दिनमा त भिक्षुणी सङ्घ हराएको थिएन होला तर विभिन्न समयमा विभिन्न देशमा विभिन्न कारणले लोप नै भएर गएको देखिन्छ । यस प्रकार बुद्धधर्मको इतिहासमा ८ वटा नियम बन्नु नै महिलामाथिको विभेदको सुरुवात भयो भने अन्तमा यसैबाट उत्साहित भई बुद्ध धर्ममा भिक्षुणी सङ्घ नै लोप गराइयो कि भन्ने शङ्का गर्ने ठाउँ बाँकी रहेको छ । थेरी गाथामा प्रशंसा गरिएका बौद्ध विदुषी वा भिक्षुणी सङ्घको भूमिका अशोकपुत्रीको केही प्रसङ्गमा बाहेक बुद्ध निर्वाण हुँदा र पहिलोदेखि छैठौं संगायना (समस्त बुद्ध वचनको संरक्षणका लागि गरिने बृहत् बौद्ध भेलाहरू)मा देखिंदैन । बुद्धधर्मको यति ठुलो अङ्ग कहिले, किन र कसरी लोप भयो भन्ने विषयमा बुद्ध धर्मको इतिहास मौन छ ।
बुद्धको परिनिर्वाणपछि संस्थागत रूपमा यो धर्म पुरुष अधिकारी हुने र महिला आश्रित हुने पम्परागत रूप स्वीकार गरेर नियमन गरिएको सामाजिक संरचनाभित्र मात्र महिलाहरूले पूर्णकालीन धार्मिक जीवन यापन गर्न सक्ने पुरुष–केन्द्रित हुनगयो भन्ने टिप्पणी पनि भएको छ (स्पोनबर्ग ः सन् १९९२ः १३) ।
ईशापूर्वकालमा बुद्ध धर्मले दक्षिण एसियामा चामत्कारिक रूपले व्यापकता पायो, अनेकन् वैचारिक मन्थन भए र त्यसै अनुसार महायान जस्ता विभिन्न भेद र निकायहरू बने । त्यसपछि, बिस्तारै बिस्तारै वैदिक र मुस्लिम धर्मको अतिक्रमण तथा औपनिवेशीकरण जस्ता कारणले बुद्धको जन्मस्थल नेपाल लगायत अधिकांश दक्षिण एसियाका विभिन्न देशमा बुद्ध धर्मको अस्तित्व नै मेटिने अवस्थामा पुगेको थियो । बुद्ध धर्मले क्रमिक रूपमा हिन्दू धर्मका थुप्रै अबौद्ध विश्वास, संस्कार र मान्यताहरू ग्रहण गर्दै लगेको थियो । यस्तो अवस्थामा बुद्ध धर्ममा महिलाको स्थानमा परिवर्तन आउनु, तिनीहरूको अवस्थाबारे जानकारी नहुनु वा नपाइनु अस्वाभाविक होइन ।
अशोक कालमा समस्त भारत वर्षमा बुद्ध धर्मले व्यापकताको उचाइ छोएको थियो भने ईशाको चौधौंदेखि सातौं शताब्दी बिच यस क्षेत्रमा भएका राजनीतिक, आर्थिक, सामाजिक र धार्मिक परिवर्तनले यहाँको बुद्ध धर्मलाई पनि नराम्ररी प्रभाव पारे । बुद्ध जन्मेको नेपालमा बुद्ध धर्मको अवशेष लोप जस्तै भयो । राजनीतिक कारणले बुद्ध धर्मले थुप्रै हिन्दू धर्मका विशेषताहरू अँगाल्नु प¥यो र महायान, बज्रयान, तन्त्रयान जस्ता भेदहरूले नेपालमा जरा गाडे । स्पष्ट छ, यहाँ महिलाका बारे पुरातनवादी सोच झन् फस्टाउन पायो, यसबारे चर्चा अलि तल गरिने छ ।
अर्कोतर्फ गृहस्थहरूका लागि बनाइएको नियम गृही विनय (घरमा बस्नेहरुका लागि सामान्य बौद्ध संस्कारमा कसरी बाँच्ने भन्ने सिकाउने एक ग्रन्थ)मा पनि पुरुषले महिलालाई कसरी व्यवहार गर्ने भन्ने परिच्छेदमा पुरुष र महिलाको आफ्नो आफ्नो जिम्मेवारी छुट्याइदिएको छ (अमृतानन्द, विसं २०३६ ः ८०) । ती नियमहरूले महिलालाई सम्मानजनक ठाउँ दिएको छ भनेर भन्ने गरिए पनि त्यो महिलाहरूको काम घरको धन्दा मात्र हो र पुरुषको काम महिलालाई लुगा, गहना दिने हो भन्ने संरक्षणवादी सोचमा नै आधारित देखिन्छ ।
पुनर्जीवनकाल
थुपै्र राजनीतिक र अन्य परिवर्तनहरूको साक्षी भएर लुप्त भइरहेको थेरवाद बुद्ध धर्मले वि.सं. १९८० सालको वरिपरि मात्र नेपालमा फेरि प्रवेश पायो । यस्तो अवस्थामा महिलाहरूले पनि पुनः प्रवज्या लिने वा प्रवजित हुने (घर गृहस्थी छोडेर पहेँलो वस्त्र लगाई पूर्णकालीक बुद्धमार्गी भिक्षु वा भिक्षुणी हुने) मौका पाए । वि.स.ं १९८८ मा तिनजना नेपाली महिलाहरूले भारतको कुशीनगरमा गई धर्ममा आफ्नो जीवन अर्पण गर्छु भनी प्रवज्या लिएर आए । ती तिनजना महिलाहरू¬ (रत्नपाली, धर्मपाली र सङ्घपाली) को युगान्तकारी कदमले नेपालमा भिक्षुणी सङ्घ र त्यसको बुद्ध धर्ममा कस्तो स्थान हुने भन्ने बारेमा चर्चा चल्यो ।
विभिन्न कारणले संसारबाटै र विशेष गरी दक्षिण एसियामा रहिरहेको थेरवादमा भिक्षुणी सङ्घ हराइसकेकाले यहाँ भिक्षुणी भन्ने शब्द र भिक्षुणी सङ्घको महत्व पनि बिलाइसकेको थियो । त्यसैले ती त्यागी महिलाहरूलाई भिक्षुणी भन्ने शब्दको विकल्पमा अनागारिका भन्ने नाम दिइयो । अहिलेको अवस्थामा उनीहरू प्रवजित हुन गृहत्याग गर्छन्, बुद्ध धर्मको सेवामा आफ्नो जीवन अर्पण पनि गर्छन् तर भिक्षुणी भन्ने दर्जा पाउँदैनन् । अब यो लोप भैसकेको भिक्षुणी परम्परा कसले पुनर्जीवित गर्ने ? अनि किन नगर्ने ? किन कोही प्रयास गर्दैन ? भन्ने प्रश्नको जवाफ आधिकारिक रूपमा कसैसँग पाइँदैन । बुद्ध वचन अनुसार नै पनि भिक्षु, भिक्षुणी, उपासक र उपासिका भनेको रथका चार पाङ्ग्रा जस्ता हुन् र एकको अनुपस्थितिले मात्र पनि सङ्घले पूर्णता पाउँदैन ।
वि.सं. १९९१ सालमा प्रवजित गरेकी अनागरिका धर्मचारीले आफ्नो क्षमता र लगनशीलताले बौद्ध समाजमा छुट्टै स्थान बनाउन थालेको देखिन्छ । उनको यस्तो प्रभाव देखेर काठमाडौं र ललितपुरका बौद्ध समाजका त्यसबेलाका उनका पथप्रदर्शक समेत रहेका पुरुष भिक्षुहरू समेत सशङ्कित भए र नदेखिने पुरुषवादी सोचले ग्रसित भई उनलाई घुमाउरो पाराले निरुत्साही बनाउन थाले, अनागरिकाहरूले गर्न नमिल्ने आदि नियमहरू सम्झाउन थाले (शाक्य, विसं २०३५ः २८) ।
यसप्रकार सिद्धान्ततः जातपात र लिङ्गभेद नभएको भनिएको बुद्ध धर्ममा नै पुरुषवादी चिन्तनले धर्मका नाममा एकजना सक्षम, जागरुक महिलालाई मानसिक यातना समेत दिइयो । यस्तो चिन्तनबाट ग्रसित प्रहारहरूसँग उनी अडिग भएर लडिन् र धर्ममा महिलाहरूको हक एवं समान स्थानलाई कायम गराउन सफल पनि भइन् । यस अर्थमा उनी नेपालको बुद्ध धर्ममा लैङ्गिक समानताका सन्दर्भको प्रथम योद्धा हुनुहुन्थ्यो । बुद्ध धर्म प्रचार गरेकै कारणले नेपालका भिक्षुहरूले पटक पटक निर्वासनको सजाय भोग्नु परिरहेको समयमा एउटी महिलाले काठमाडौंको जस्तो साँघुरो समाजमा पुरुष बुद्धमार्गीहरूको समेत आँखाको धुलो बनेर पनि बुद्ध धर्मका प्रचारमा जीवनभर लाग्नुलाई कम आँक्न सकिन्न ।
वर्तमान अवस्था
२००७ सालको परिवर्तनपछि बुद्ध धर्म अँगाल्नु अपराध भएन । विशेष गरी २०४६ सालको प्रजातान्त्रिक वातावरणमा देशका विभिन्न धर्महरूले स्वतन्त्र वातावरणमा विकास हुने मौका पाए तर धार्मिक समुदायहरूमा भने यी परिवर्तनले खासै प्रभाव पार्न सकिरहेका छैनन्– विशेष गरी महिला पुरुषको समानताको सवालमा । अहिलेकोे अवस्थामा पनि केही पुरुष भिक्षुहरू महिला त्यागीहरूलाई आफू सरहको स्थान दिन अन्कनाइरहेका छन् ।
डा. भिक्षु सुनन्दले बुद्ध धर्म आचरण सम्बन्धी वार्तालाप नामक पुस्तक मार्फत भिक्षुणीका रूपमा अघि देखा परिरहेका महिला त्यागी वा अनागरिकाहरूलाई कुनै पनि हालतमा उक्त स्थान दिन नहुने कुरा अघि राख्नु भएको छ । उहाँ भन्नुहुन्छ —त्रिपिटक ग्रन्थमा बुद्ध उपासिकाहरू अनागरिका बन्ने प्रावधान, अनुमति र विनय (नियम) केही दिइराखेको पाइँदैन । अनागरिकाहरू भिक्षुणीहरू होइनन् ।… तैपनि उपासिकाहरू प्रवजित जीवन बिताउने उद्देश्यले भिक्षु, भिक्षुणीहरूको नक्कल गरी उनीहरूले पनि कपाल खौरेर, ढाँचा फरक भए पनि पहँेलो लुगा लगाएर भिक्षुहरूको बिहारमा बस्न थाले । अनि सर्वसाधारणले पनि तिनीहरूलाई भिक्षुणी नै सम्झन थाले । …अनागरिकाहरू भिक्षुहरूको सरह बस्ने, दान दिएको थापेर लिने, आशीर्वाद दिने, परित्राण (धार्मिक स्तोत्र) पाठ गर्ने, शील दिने पनि गर्छन् रे, बुद्धको उपदेश अनुसार साधारण भिक्षुहरूलाई वन्दना आदि सम्मान पनि गर्दैनन् रे ।… महिलाहरूले बुद्ध प्रज्ञप्त (दिनुभएको) भिक्षुणी शासन थाम्न नसकेर मासेकाले, तोडेकाले थेरवाद बुद्ध धर्म अनुसार अब कोही भिक्षुणी हुने अवसर छैन अथवा कसैले कसैलाई भिक्षुणी बनाउने अधिकार भएको मानिस यस लोकमा छैन । त्यसकारण अनागरिका उपासिकाहरूले भिक्षु वा भिक्षुणीहरूको नक्कल गर्न मिल्दैन, यदि गर्ने भए पनि भिक्षुहरूको अगाडि गर्नुहुँदैन (सुनन्द, सन् २००१ ः १७–१९) ।
उहाँले केही अनागरिकाहरूले समानताको कुरा उठाएको प्रसङ्गमा पनि विरोध देखाउनु भएको छ— अनागरिका भगिनीहरूले पश्चिमी संस्कृतिका आधारमा महिला पुरुष समान भन्ने विचार राखेर भिक्षुहरूसँग अपमानपूर्वक जोरी खोज्नुहुँदैन ।
वि.सं. २०५४ फागुण ३ मा भारतको बुद्धगयामा भिक्षुणी उपसम्पदा गर्ने कार्यक्रम आयोजना भयो । नेपालबाट पनि केही त्यागी महिलाहरू भाग लिन जाने भए । यस घडीमा यस कार्यक्रम र योजनाको विरोध नेपालकै उच्चपदस्थ अनागरिकाहरूबाट भयो । उदाहरणका लागि अनागरिका सङ्घको नामबाट सङ्घको विचार भनी एउटा बेवारिसे पर्चा प्रकाशनमा ल्याई वितरण गरियो जसको आशय अनागरिकाहरू उक्त उपसम्पदामा गएर भिक्षुणी बन्नु गलत हो भन्ने थियो ।
धर्मकीर्ति बौद्ध मासिकमा भिक्षुणी भन्ने शब्दको प्रयोग र भिक्षुणी उपसम्पदाका विषयमा धर्मकीर्तिको शुभचिन्तक, चसाय्मि क्वँदनीको नामबाट धर्मकीर्तिमा सम्पादकलाई चिठ्ठी आएपछि प्रधान सम्पादक भिक्षु अश्वघोषले धर्मकीर्तिको वर्ष १५, अङ्क ७, २०५४ कार्तिकको अङ्कमा यसरी स्पष्ट भन्नुभयो— गृहत्याग गरिसकेका पहेँलो वस्त्रधारी व्यक्तिहरूलाई अनागरिका मात्र भनेर पनि पुग्दैन, भिक्षुणी भन्नु नै उपयुक्त देखिन्छ ।…आजभोलि कुनै तत्वहरूले यस शब्दबारे जुन भ्रमहरू फैलाइरहेका छन्, ती कुनै सङ्कुचित विचारधारा लिएर बसेका केही भिक्षुहरूबाट उब्जाइएका भ्रमहरू मात्र हुन् जुन सम्यक् दृष्टि र सम्यक् सङ्कल्पहीन व्यक्तिहरूका चिन्ह हुन् । यस कार्यले महिलाहरूप्रति समान दृष्टि नभएको मात्र होइन समान अधिकार दिन नचाहेको चिन्हलाई प्रष्ट्याइएको छ । … श्रीलङ्काका बौद्धहरू बर्मा गएर भिक्षु बनी सो परम्परालाई श्रीलङ्कामा ल्याउन सफल भए तर भिक्षुणी सङ्घलाई भने ल्याउन चाहेनन् । यसको मुख्य कारण थियो, भिक्षुणी परम्परालाई भिक्षुहरू टिकाउन चाहँदैनथे । यति मात्र होइन अरू देशहरूमा पनि भिक्षुणी शासनलाई खत्तम पार्न भिक्षु सङ्घ प्रयत्नरत भए । … बुद्धले “भिक्षुहरूले भिक्षुणीहरूलाई उपसम्पदा गरिदिनु” भन्नुभएको थियो र त्यसैले भिक्षु सङ्घले भिक्षुणीहरूलाई उपसम्पदा दिनुहुँदैन भन्नु सङ्कुचित भावना हो । यसलाई अस्वाभाविक र स्वार्थले भरिएको दमन नीति मान्न सकिन्छ । साथै उहाँले बुद्धले गृहत्याग गरेर आएका महिलाहरूलाई उपसम्पदा दिनु अगाडि नै भिक्षुणीको संज्ञा दिनुभएको पनि स्मरण गराउनु भएको छ (अश्वघोष, वि सं २०५४ ः ४–५) ।
थेरवाद बुद्ध धर्ममा पुरुष त्यागी र महिला त्यागीको यो अन्तरद्वन्द्व यत्तिमै समाप्त भएन । त्यसपछि श्रीघः बिहारको निर्माणमा लाग्नु भएकी धम्मवतीले लामो समयसम्म अर्को सङ्घर्ष गर्नुप¥यो । उहाँले आपूmले किनेको जग्गामा बनाएको बासस्थलको नाम धर्मकीर्ति बिहार राखेवापत विरोध खेप्नु प¥यो । पुरुषहरूका नजरमा महिला त्यागीहरूको बासस्थललाई बिहार भन्न मिल्दैन । आजका दिनमा पनि महिला त्यागीहरूले पुरुषवादी सोचका कारणले विभिन्न स्थानमा विभेद भोग्नु परिरहेको छ । यद्यपि हाल यो विभेद निकै हदसम्म घटेको छ र पुरुष भिक्षुहरू एवं उपासकहरूमा महिला त्यागीहरूप्रतिको दृष्टिकोण निकै सकारात्मक हुँदै आइरहेको छ (भिक्षुणी धम्मवती, (अध्यक्ष– अन्तर्राष्ट्रिय भिक्षुणी सङ्घ नेपाल) सँग २०६९ चैत्र २९ गते लिइएको अन्तर्वार्तामा अधारित) ।
महायानी र बज्रयानी परम्परा
बुद्ध धर्म बुद्धले सोचेजस्तो अपरिवर्तित रहेन । बुद्धको निर्वाण भएको केही सय वर्षपछि नै बुद्धका सबै नियम नमान्नेहरू र बुद्धवचनको आफ्नै ढङ्गले व्याख्या गर्ने तथा बुद्धलाई अझ अलौकिक वा ईश्वरीय गुण भएको मानी देउताका रूपमा पूजा गर्नेहरूले बुद्ध धर्मका नयाँ नयाँ निकायहरू खडा गर्न थाले । बुद्ध धर्ममा गत दुई सहश्राब्दीमा १८ वटा निकाय बनेको मानिन्छ (बज्राचार्य, वि सं २०४८ ः ८१) ।
नेपालका सन्दर्भमा हाल प्रचलित बुद्ध धर्मका भेद भनेको महायान र बज्रयान हो । यसलाई एक अर्काबाट छुट्याउन कठिन छ र एकलाई छोडेर अर्कोको परिभाषा समेत पुरा हुँदैन । त्यसकारण यहाँ दुवैलाई एकै उपशीर्षक अन्तर्गत राखिन्छ ।
तार्किक दृष्टिकोणले हेर्दा महायानी र बज्रयानी बुद्धमार्गीहरू महिला र लैङ्गिक समानताप्रति बढी सचेत देखिन्छन् । महायानी धर्मको व्यापकतासँगै महिला पनि बुद्ध हुन सक्छन् भन्ने सैद्धान्तिक सहमति भयो । थेरवादीहरू बुद्ध बन्नलाई पुरुष भएर जन्मनुपर्छ भन्थे । धेरै महायानी ग्रन्थहरूले स्त्री शक्तिको प्रशंसा गरेको पाइन्छ । यसप्रकार रचना गरिएकी देवीलाई तारा वा डोल्मा भनिन्छ र यिनको मूर्तिलाई नेपाल, भारत, चीन, जापान लगायतका देशमा पुजिन्छ । बुद्धमा महिलाको जस्तो करुणामयी र मातृवात्सल्यपूर्ण गुण भएकाले उहाँलाई महिलाका रूपमा पुजिन पर्छ भनेर सृजना गरिएकी यी देवीलाई महायानमा महिला बोधिसत्व भनी सम्बोधन गरिन्छ । यस्ता थुप्रै देवीहरूको चित्रण र पूजा महायानमा गरिन्छ । पछि यिनीहरूले महिलाविना पुरुष सिद्ध हुन सक्दैन भन्ने देखाउन करुणा¬–उपाय वा “यब–युम” भनी पुरुष देवताले महिला देवीलाई आलिङ्गन गरेको समेत देखाउन थाले । यस्तो देव–देवीको तान्त्रिक पूजालाई सबैभन्दा उच्च कोटीको पूजा मानिन थालियो ।
काठमाडौं उपत्यकामा नेवार बुद्ध धर्मका नाममा चलेको बज्रयानको एउटा विशिष्ट रूपले हरेक शाक्य र बज्राचार्य कुलका बालकलाई चार दिनका लागि चूडाकर्म गरेर प्रतीकात्मक रूपमा भए पनि भिक्षु बनाउँछ । समुदायका पुरुष सदस्यहरू मात्र चूडाकर्मको संस्कार पार गरिसकेपछि सङ्घका सदस्य बन्छन् । तिनीहरू आफ्ना छोराहरूलाई सकेसम्म चाँडो, ६ महिनादेखि १२ वा १४ वर्षको उमेरसम्ममा प्रारम्भिक विधि वा “बरेछुयेगु” विधि गराउन चाहन्छन् (वैद्य, सन् १९८६ ः १७) तर आफ्ना छोरीहरूलाई कसरी प्रवजित गराउने भन्ने कुराले त्यहाँ प्रवेश पाउँदैन ।
शास्त्रमा, सिद्धान्तमा महिलालाई देवीका रूपमा प्रस्तुत गर्दैमा समाजमा महिलाको स्थान राम्रो भयो भन्ने पुष्टि हुँदैन । महिलालाई देवीका रूपमा पुजेको देख्दा महिलाहरूलाई समानताका आधारमा सम्मानको जीवन जिउन मद्दत मिल्यो होला भनेर अनुमानसम्म गर्न सकिन्छ तर विडम्वना, यस्तो नयाँ वादले महिलालाई सैद्धान्तिक रूपमा बुद्ध बन्ने सपना त देखायो तर व्यवहारले उनीहरूलाई भिक्षुसम्म हुने बाटोसम्म पनि दिएन । कसैले अनुमति दिँदैमा बुद्ध भइने त होइन तर गृहत्याग नगरीकन, भिक्षु नभईकन बुद्ध नबनिने भएपछि महिलाले बुद्ध बन्ने पनि मृगमरीचिका मात्र हुने कुरा स्वतः स्पष्ट छ ।
महायानी र बज्रयानी परम्परा अनुसार बौद्धहरू बस्ने हरेक टोलमा महाबिहार (बाहाल, बहिल) हुन्छ र ती बौद्धहरू त्यस अन्तर्गतको एउटा सङ्घसँग सम्बन्धित हुन्छन् । यस सङ्घमा पुरुषहरू मात्र सदस्य हुन्छन् र महिलाको समान सदस्यता वा धर्ममा बराबरीको सहभागिताको कल्पना गरिंदैन । यी सङ्घमा विभिन्न संस्कारहरू गरिन्छन् । यी मध्ये केही संस्कारजन्य पूजापाठमा महिलाको उपस्थिति अनिवार्य देखिन्छ तर वास्तविकतामा भने तिनीहरूलाई सहभागिताका लागि मात्र सहभागी गराइन्छ वा तिनीहरूको भूमिका अधिकतम ठाउँमा पूजा सामग्रीको तयारी, सजावट वा सहयोगीको मात्र हुन्छ । महिला मात्रले कुनै काम गर्न सक्दैनन् भनिन्छ वा गर्न खोजे त्यो पूर्ण मानिँदैन ।
महिलालाई धर्मको सर्वोच्च स्थान वा बुद्ध बन्न दिने बज्रयानले महिलालाई पूजा कोठामा जान रोक्छ । काठमाडौं उपत्यकाका परम्परागत बौद्ध पुरोहितहरूका घरमा त्यस्ता गोप्य पूजा कोठाहरू (“आगं”ं) हुने गर्दछन् जहाँ दीक्षा नलिएका छोरी, बुहारीहरूलाई सामान्यतया प्रवेश निषेध छ । त्यहाँ श्रीमतीको उपस्थितिमा मात्र श्रीमान्ले गर्न पाउने पूजा विधिमा बाहेक महिलाहरूलाई प्रवेश र पूजामा सरिक गराइँदैन । यस परम्परामा पूजा गर्ने भनेपछि पुरुषले गर्ने भनेर बुझिन्छ र यसमा महिलाको समान सहभागिता र उपस्थितिका बारेमा प्रश्न पनि गरिँदैन । अर्थात् यो परम्परा अहिलेसम्म पुरुषहरूले धान्दै आएका छन् र महिलाको भूमिका आलङ्कारिक मात्र हुन्छ । पुरुष जन्म र उमेरले मात्र पनि आचार्य (आचाजु)का तहमा पुग्न सक्छन् जहाँ महिला कहिल्यै पुग्न सक्दैनन् (सुशीला शाक्य, अध्यक्ष, मन्तुना मिसा खलः, सँग २०६९ चैत्र २९ गते लिइएको अन्तर्वार्तामा आधारित) ।
डा. चुन्दा बज्राचार्य बुद्ध धर्ममा सैद्धान्तिक र व्यावहारिक तहमा लैङ्गिक भेद प्रशस्त भए तापनि नेपाली बौद्ध महिलाहरू अहिले पनि लैङ्गिक समानताप्रति सचेत नभइसकेको र पुरुषले जे जति गर्दै आएका छन् त्यसैमा सन्तोष मानेर बस्ने खालका भएकाले यस विषयमा विश्लेषण समेत पनि राम्रोसँग हुन नसकेको स्वीकार्नु हुन्छ (डा. चुन्दा बज्राचार्यसँग २०७० वैशाख २२ गते लिइएको अन्तर्वार्तामा आधारित) ।
अर्कातिर नेपालका हिमाली भेगमा महायान बुद्ध धर्म प्रचलनमा छ जसलाई सामान्यतया तिब्बती बुद्ध धर्म पनि भनिन्छ । यहाँ हालसम्म पनि बिहार वा गुम्बामा बसेर गृहस्थ जीवन त्यागेर बुद्ध धर्म अध्ययन गर्ने परम्परा अहिलेसम्म चलेको छ । सामान्यतया यसप्रकार बस्ने पुरुष भिक्षुलाई लामा भनिन्छ र महिला भिक्षुलाई आनी भनिन्छ जसको हैसियत थेरवादमा अनागरिकाको जति मात्र हुन्छ । कुनै गुम्बामा लामा र भिक्षु बस्छन् भने कुनै गुम्बा आनीहरूका लागि मात्र बनेका हुन्छन् । आनीहरू मात्र बस्ने गुम्बामा उनीहरू सबै प्रकारका पूजा गर्न सक्छन् भने लामा र आनी बस्ने गुम्बामा भने मुख्य पुजारी पुरुष नै हुने गर्दछ ।
रीटा एम ग्रोस टिबेटन बज्रयान बुद्ध धर्ममा देखिएको विरोधाभासपूर्ण विभेदलाई यसरी प्रस्तुत गर्नुहुन्छ— धार्मिक शक्ति, प्रभाव, आधिकारिकता र सम्मानका झण्डै सबै संस्थागत पदहरू पुरुषहरूले ओगटेर बसेका हुन्छन्, यस्तो व्यवस्था ठीक हो कि होइन भनी तर्क गर्न नमिल्ने गरी प्रबन्ध मिलाइएको हुन्छ (ग्रोस ः सन् १९९५ः ८०) ।
अहिले विश्वमा नै बुद्ध धर्ममा लागेका महिलाहरूले केही न केही किसिमबाट विभेद सहनु परेको देखिन्छ । त्यसैले अन्तर्राष्ट्रिय स्तरबाट बुद्ध धर्ममा महिलाको समानताको आवाज संस्थागत रूपमा उठ्न थालेको छ । शाक्यधिता बौद्ध महिला अन्तर्राष्ट्रिय सङ्घ यस्तै एउटा संस्था हो । “शाम्बाला सन” नामक बौद्ध पत्रिकाको सन् २००५ जुलाई अङ्कमा प्रकाशित एक अन्तरक्रियामा बौद्ध महिला अभियानकी कर्मा लेक्से त्सोमो (उहाँ सानडिएगो विश्वविद्यालयमा पढाउनुहुन्छ र शाक्यधिता बौद्ध महिला अन्तर्राष्ट्रिय सङ्घकी अध्यक्ष हुनुहुन्छ)ले यसो भन्नुभएको छ ः
बौद्ध परम्परामा समान महिला सहभागिता सुनिश्चित गर्न थुप्रै काम गर्न बाँकी छ । पश्चिमका धर्म केन्द्रहरूमा समेत सेक्सिज्म देखिन्छ । ती केन्द्रहरूमा महिलावादी चेतनाको खाँचो छ भने कोही चाहिं यो समस्या रहेको स्वीकार्न चाहँदैनन् । धेरै बौद्ध केन्द्रहरूमा महिलाहरू पकाउने, सफा गर्ने र पुरुषहरूका लागि चन्दा सङ्कलन गर्नेजस्ता सहयोगी भूमिकाका काम मात्र गरिरहेका छन् । सतही रूपमा उत्तर अमेरिकामा धेरै अवसरहरू भए पनि त्यहाँका बौद्ध केन्द्रहरूमा अझै लैङ्गिकताका विभेदहरू छन् ।
सिद्धान्ततः बुद्ध धर्मको आधार समानतामूलक संरचनामा बनेको भए पनि व्यवहारमा लैङ्गिक दृष्टिले समान अवसर प्राप्त छैन । अनुमानित तिन करोड बौद्ध महिलाहरूमध्ये ९९ प्रतिशतले बौद्ध शिक्षा, ध्यान तालिम वा प्रवज्याका अवसरहरू पाएका छैनन् । यस अवस्थालाई हाल अनुभूत गरिसकिएको छ र धेरै सुधारहरू भए पनि थुप्रै गर्नुपर्ने कामहरू बाँकी छन् भनी उहाँ म्याकलिओडको अन्तर्वार्तामा स्पष्ट पार्नुहुन्छ (म्याकलिओडः २००५) ।
संसारका बौद्ध देशहरूले महिलाहरूप्रति कस्तो नीति वा व्यवहार देखाइरहेका छन् भनेर यस सानो लेखमा देखाउन सम्भव छैन । यद्यपि सरसरी हेर्दा प्राचीन कालदेखि नै महिलामाथि भेदभाव गर्ने प्रचलन एसियाली मुलुकहरूमा विद्यमान भएकाले गर्दा बुद्धले जतिसुकै समानताको ढोका खोलिदिए पनि महिलाहरूले समानताको वातावरणमा सास फेर्न अझ प्रतीक्षा नै गर्नुपर्ने देखिएको छ ।
निष्कर्ष
बौद्ध विद्वान्हरूले बुद्ध धर्ममा भिक्षु, भिक्षुणी, उपासक (पुरुष बौद्ध गृहस्थी) र उपासिका (महिला बौद्ध गृहस्थी) लाई समान महत्व भएका चार शाखाहरू वा “रथका चार पाङ्ग्राहरू” भनेर सम्बोधन गरिएको पाइन्छ । यस अर्थमा सैद्धान्तिक रूपमा बुद्ध धर्मका चारै अङ्गको समान महत्व भएको र महिला एवं पुरुष दुवैको सहकार्यबाट समाज अगाडि बढ्ने विश्वास लिएको देखिन्छ तर व्यवहारमा भने पुरुषको भन्दा महिलाको हैसियत अलि भिन्न पाइन्छ ।
आजको परिवर्तित र खुला समाजमा मानिसहरूले धर्मलाई नयाँ रूपमा हेर्न थालेको र धर्मभित्र विभिन्न समुदायहरूले आपूmलाई कैद होइन सुरक्षित भएको अनुभव गर्न चाहेका छन् । यसरी हेर्दा बुद्ध धर्ममा केही सिद्धान्ततः र केही व्यक्ति विशेष वा पुरानो सामाजिक मान्यताका कारण महिलाले पुरुष सरह स्थान र मान्यता पाई नसकेको देखिन्छ । यो भेदभाव अन्य धर्मका तुलनामा न्यून हुन सक्छ तर पनि यो धर्म पूर्ण रूपमा समतामूलक भनेर दावी गर्ने अवस्था छैन ।
अबको बाटो
विभेद धेरै होस् वा थोरै, यो आजको २१औं शताब्दीमा सह्य छैन र हुनु पनि हुँदैन । जुन धर्मले समानताका लागि बोल्दैन त्यस धर्मलाई अँगाल्नु नै असमानतालाई पृष्ठपोषण गरिएको ठहरिन सक्छ । त्यस अवस्थामा अहिले बौद्ध समाजका प्रबुद्ध व्यक्तिहरूले आफ्नो समाजलाई समाज शास्त्रीय दृष्टिकोणबाट हेर्दा महिला समानताका दृष्टिबाट पनि हेर्नु आवश्यक छ । लैङ्गिक कारणले भएको विभेदलाई नदेखेझैं गरी बस्नु वा आँखा अगाडिको विभेद नदेख्नुले भोलिको समाजलाई सही दिशामा लैजान्छ भन्न सकिन्न । त्यसैले यस विषयमा आजै खुला बहसको थालनी गरी नयाँ विचारहरूलाई स्वागत गरी पहिलेको रुढिवादी परम्परामा यस्ता केही असमानताहरू भएको भए त्यसलाई आजै निर्मूल गर्ने कदमको थालनी यथाशीघ्र गर्नु अत्यावश्यक देखिन्छ ।
बौद्ध समाजका लागि केही सामान्य सुझावहरू ः
१. बौद्ध महिलाहरू सर्वप्रथम आफ्नो अधिकारका लागि सजग हुनुपर्दछ ।
२. लैङ्गिक समानताका सैद्धान्तिक ज्ञान भएका महिलाहरू बौद्ध समाजमा सक्रिय हुनु पर्छ ।
३. बौद्ध समाजमा महिलाको अधिकार र लैङ्गिक समानताका आधुनिक विचारधारा वा सिद्धान्तका बारेमा छलफल हुनु जरुरी छ ।
३. परम्परागत बुद्ध धर्ममा यदि विभेद छ भने त्यो अकाट्य होइन भनेर बौद्ध महिलाहरूले बुझ्नुपर्छ, तिनीहरूलाई बुझाइदिनु पर्छ ।
४. समय परिवर्तनशील छ भन्ने बुझेर बौद्ध धर्ममा लागेका पुरुषहरूले आपूmलाई युग सुहाउँदो किसिमले परिवर्तन गर्नु वा महिलाप्रति आफ्नो धारणामा परिवर्तन ल्याउनु पर्छ ।
५. बुद्ध धर्ममा केही गरौं भनेर लाग्ने महिलाहरूलाई बौद्ध पुरुष वर्गले सहयोग र प्रोत्साहन दिनु आवश्यक छ ।
६. सम्पूर्ण बौद्ध जगतले हालसम्म बुद्ध धर्मको विकास एवं सम्बद्र्धनमा महिलाहरूको योगदानलाई मनैदेखि कदर गर्नुपर्छ र सोही किसिमको योगदान भविष्यमा पनि होस् भनी अपेक्षा राख्नु पर्छ ।
७. लोप भएको थेरवाद भिक्षुणी सङ्घको इतिहासको वैज्ञानिक ढङ्गले अन्वेषण गरी त्यसलाई पुनर्जीवित गर्नका लागि सबैको भूमिका आवश्यक छ ।
अध्ययनका क्रममा निम्न व्यक्तिहरूसँग छलफल गरिएको थियो । यो लेख तयार पार्न विभिन्न जानकारी दिएर सहयोग गर्नुभएकाले निम्न महानुभावहरूप्रति आभार व्यक्त गर्दछु ः
ड्ड महेन्द्ररत्न शाक्य, संयोजक, थेरवाद बुद्ध धर्म स्नातकोत्तर कक्षा कार्यक्रम, लुम्बिनी बौद्ध विद्यालय
ड्ड भिक्षुणी धम्मवती, अध्यक्ष अन्तर्राष्ट्रिय भिक्षुणी सङ्घ, नेपाल
ड्ड डा. चुन्दा बज्राचार्य, अनुसन्धाता, संस्कृतिविद्
ड्ड शाक्य सुरेन, समाजसेवी, संस्कृतिविद्
ड्ड सुशीला शाक्य, अध्यक्ष, मन्तुना मिसा खलः।
सन्दर्भग्रन्थ ः
उपाध्याय, आचार्य बलदेव । सन् २०११ । बौद्ध–दर्शन—मीमांसा ( पुर्नमुद्रित) । वाराणसी ः चौखम्बा विद्याभवन ।
नरसू, प्रो. पी. लक्ष्मी,। सन् २०१० । बौद्ध धर्मका सार, अनु. बुद्धबासी डा. भदन्त आनन्द कौसल्यायन । लखनऊ ः दिव्यांश पब्लिकेशन्स ।
तुलाधर, रीना । वि सं २०६४ । “आठ गरु धर्म”– मेरो केही तर्क । धर्मकीर्ति, वर्ष २५, अङ्क १ ।
देशार, बासुदेव । वि सं २०७० । त्रिपिटक प्रवेश, (दो.सं) । ललितपुर ः विपुल दर्शन उदास, श्रेषा शाक्य ।
वज्राचार्य, प्रकाश । विसं २०४८ । बुद्ध र बुद्धपछि । काठमाडौं ः सानुरत्न स्थापित ।
भिक्षु, अमृतानन्द । वि सं २०३६ । गृही–विनय । काठमाडौं ः धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी ।
भिक्षु अमृतानन्द । वि सं २०३८ । बुद्ध–जीवनी । काठमाडौंः धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी ।
भिक्षु अश्वघोष । वि सं २०५४ । अनागरिका, गुरुआमा, भिक्षुणी । काठमाडौं ः धर्मकीर्ति, वर्ष १५, अङ्क ७, कार्तिक ।
भिक्षु सुनन्द । सन् २००१ । बुद्ध धर्म आचरण सम्बन्धी वार्तालाप । नालाः सिद्धार्थ विश्वविद्यालय ।
मानन्धर, नानीमैंया । वि सं २०५३ । नारीप्रति बुद्धको देन । पाल्पा: विश्वमान वज्राचार्य ।
शाक्य, सुशिला । वि सं २०३५ । अनागरिका धर्मचारी तथा उपासिकारामया संक्षिप्त परिचय । काठमाडौंः अनागरिका विरती ।
सांकृत्यायन, राहुल । सन् १९८३ । बौद्ध दर्शन (ष. सं) । इलाहाबादः किताब महल ।
Bapat, P.V.(ed.). 1987 (reprinted). 2500 Years of Buddhism. Delhi: Publicarion Division, Ministry of Information and Broadcasting, Govt. of India.
Chao, Somet Phra Maha Samana. 1983. The Entrance to the Vinaya Vinayamukha. Bangkok : Mahamukut Rajavidyalaya Press.
Blackstone, Katheryn R. 2000. Women in the Footsteps of the Buddha : Struggle for Liberation in the Terigatha. (Indian Edition). Delhi: Motilal Banarsidass.
Gross, Rita M. 1995 (Indian Edition). Buddhism After Partiarchy. Delhi: Sri Satguru Publications.
Sponberg, Alan. 1992 (Indian Edition). Attitudes toward Women and the Feminine in Early Buddhism. Buddhism, Sexuality and Gender, edited by Jose Ignacio Cabezon. Delhi : Sri Satguru Publications.
Shakya, Min Bahadur. 1998. Moniasticism in Newar Buddhism : A historical Analysis. A peper presented at Nepal Mandala Baudha Sanskriti Sammelan.
Sponberg, Alan. 1992 (Indian Edition). Attitudes toward Women and the Femine in Early Buddhism. Buddhism, Sexuality and Gender, edited by Jose Ignacio Cabezon. Delhi : Sri Satguru Publications.
McLeod,Melvin:http://www.shambhalasun.com/index.php?o ption=com_content&task=view&id=1405 (last access date: 2013/07/05)
(यो कार्यपत्र २०१४ अक्टोबर मा ललितपुरमा भएको दुईदिने गोष्ठीमा प्रस्तुत भइ यसको लगतै यसै गोष्ठीमा प्रस्तुत कार्यपत्रहरुको संगालो “रुपान्तरणमा महिला” नामक पुस्तपका प्रकाशित भएको छ । यो अन्तिम सम्पादित भर्सन भन्दा अगाडिको रुप भएकोले प्रकाशित सामाग्री भन्दा केही सामान्य फरक हुनसक्दछ । धन्यवाद ।)
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५