• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 08, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

पोइल जाने धारा (कथा)


सुभाय् संवाददाताAugust 9, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ११ मिनेट
रत्न कोजू
चुल्होमा हाँडा–हाँडी चढिसक्दासम्म मगर्नी बुहारीले एकाबिहानै धाराबाट ल्याएको एक घैँटो पानी सकियो । नसकिनु पनि कसरी ? त्यही पानीले दैलोदेखि चुल्होसम्म लिपपोत भयो । सासू र लोग्नेले त्यसैले मुख धोए । सासूले तुलसीको मठलाई पनि त्यही पानी चढाएकी हो । बाँकी पानी भात–भान्सालाई बल्लतल्ल पुग्यो मात्र । भात खान बस्दा पिउन, चुठ्न र जुठो मोल्न पानीको फेरि हर्जा नै हुन्छ । त्यसपछि वस्तुभाउलाई कुँडो खुवाउन पनि पानी चाहिहाल्छ । घर–गृहस्थी चलाउन काखीमा कुवा हुनुपर्छ भन्छन्, साँच्चिकै घैँटो–गाग्री च्यापेर हतार–हतार पँधेरातिर सीधा हान्निने चेली बुहारी वा पँधेर्नीहरूको कहावत होला यो । मगर्नी सासूले अह्राउनै परेन, अघिपछिझैँ बुहारी धारातिर हान्निई हाली । महिना दिनअघिसम्म त बुहारीलाई यसरी कुदाकुद गर्नु परेको थिएन । मगर्नीको घरमा
दुईवटा घैँटा थिए । बुहारीलाई सास फेर्न अलिकति होलो थियो । एउटामा पानी थाप्दाथाप्दै पीँधमा फ्याट्ट छुट्टियो । पीँध राम्ररी नपाकेकाले काँचो भाग कमजोर रहेछ । पानी थाप्दाथाप्दै त्यही भागमा चिरा परेर घैँटो दुई टुक्रा भयो । अब सासूको अगिल्तिर कसरी जाने हो ? उसको मनमा सकस सल्बलायो । हिँड्दाहिँड्दै बीच बाटोमा अकस्मात् बाघसित आमुन्नेसामुन्ने भएको बटुवाझैँ ऊ तर्सी । नभन्दै बुहारीको कम्मरमा घैँटो नदेखेपछि सासूका आँखा
रिसाएको भैँसीको जस्तो राताराता भएका थिए । पछि सासूले पँधेराबाट फर्केका अरू गाउँले पँधर्नीहरूसित बुझी– बुहारीले घैँटो कसरी फुटाई ? बुहारीले फुटाएकी होइन ब्यारे ! तेरो घैँटो नै काँचो थियो । धारोले हान्नासाथ प्याट्ट गयो । पँधेर्नीहरूको जवाफले मात्र बुहारीको सातो बल्ल फर्केको थियो । जगेडा घैँटोको कथा सुनिहालियो । घरमा अर्को भाँडोको नाममा एक डेढ माना पानी अट्ने एउटा सानो काँसको करुवा मात्र थियो । भात खानबस्दा पानी सारेको करुवा जुठ्यानसम्म पुग्दा रित्तो हुन्थ्यो । यति हुँदाहुँदै पनि सासूले ठिमीको कुम्हाले दाइ गाउँ पसेको छैन भनेर घैँटो थपिदिएकी छैन । कुम्हाले दाइ खर्पनमा भाँडा बोकेर आउँदा जस्तै गर्मीमा पनि भादगाउँले कालोटोपी लगाएरै आउँथ्यो । पसिनाले निथु्रक्क भएको ऊ खर्पन बिसाएको ठाउँमा त्यही टोपी फुकालेर पसिना पुछ्थ्यो र फेरि त्यसैले हम्केर पसिना ओभाउँथ्यो । त्यही टोपी नै उसको व्यापार विनिमयको माना–पाथी वा ढक–तराजु पनि हुन्थ्यो । ऊ सकेसम्म नगदमा कारोबार गर्दैनथ्यो, जिन्सीमा जोड दिन्थ्यो । गाउँलेहरू घैँटो, हाँडी, चिलिम, मक्कल, गमला, घ्याम्पो उचालेर बजाउँदै भाउ सोध्थे, कति ? ऊ आफ्नो मालको मूल्य लाउँथ्यो , एक, दुई, तीन, … वा नौ टोपी धान, गहुँ, मकै, आलु आदि । गाउँलेहरू मानापाथीले भरिदिन खोज्थे । ऊचाहिँ आफ्नै टोपीले भरिलिन जिद्दी नै गथ्र्यो । आखिरमा गाउँलेहरू उसैको टोपीले भरिदिन राजी हुन्थे । चार पाँच मानाले भरिएला जस्तो देखिने टोपी अन्न भर्दैगर्दा गर्भिणी आइमाईको पेट जस्तो फुल्दै आउँथ्यो र सितिमिति भरिँदै भरिँदैनथ्यो । यो देखेर गाउँलेहरू आत्तिन्थे । भाँडा लिने कि छोेड्ने, दोमन पनि गर्थे । लिने भनेर अन्न पनि भरिसकेको भाँडोलाई त्यसै छोड्नु पनि भएन । मन कटक्क पारेर अन्ततः भाँडा लिइहाल्थे । यस्तो कटक्क पारेर लिएको भाँडाकुँडासित मन–मुटु गाँसिने भयो नै । मगर्नी सासूको खेतबारीले वर्षदिन चुल्हो धान्न गाह्रो थियो । बीचमा यसरी भाँडा साट्नु पर्दा प्रलय नै हुन्थ्यो । त्यसमाथि वर्षदिनदेखि बुहारीको पेट पनि थपिएको छ ।
त्यसैले मगर्नी बुहारीलाई रातबिरात कुसमयमा पनि धारामा कुदिहाल्नुपर्छ । घरघरमा भान्सा धुवाँउने बेला हुँदा पनि धारामा पँधेर्नीहरूको मेला पातलो भएको थिएन । मेलो दिनभरि छुट्दैनथ्यो । त्यही मध्यरातितिर केही घण्टा खाली हुन्थ्यो । त्यो बेलामा पनि त्यहाँबाट आएको पानी आफ्नो खेत गह्रातिर सोझ्याउन गाउँलेहरू धाइरहेकै हुन्थे । फेरि एकाबिहानैदेखि उस्तै मेला सुरु हुन्थ्यो । यसको अर्थ नजिकै गाउँमा अरू दुई चारवटा धारा पँधेरा वा कुवाहरू नभएका होइनन् छन् । तर तिनीहरू वर्षामा उर्लिने, हिउँदमा सुक्ने खहरे खालका थिए । यसको भने मूलै फुटेकाले होला, एकनासको धारो खसिरहन्थ्यो– हिउँद–वर्षा सधैँभरि । जलजीव मकरको मुख आकारको ढुङ्गे डुँडबाट झर्ने धारो गाउँलेका लागि अमृत थियो । फेरि यसको अर्को विशेषता कस्तो भने यसको धारो हिउँदमा मनतातो, गर्मीमा चिसो हुन्थ्यो, गाउँलेको मनै हर्ने खालको । मगर्नी बुहारीले काँखीमा च्यापेर ल्याएको घैँटो पालोमा बिसाई र आफू एकातिर पुटुक्क डिलमा बस्न पुगी । अब घण्टाभरलाई यताबाट छुट्टिन मुस्किलै छ । पालो सारेर पानी थाप्न कुनै तोह थापेर अलिकति अघिलाग्न ऊ पँधेर्नीहरूसित त्यति भिज्न पनि पाएकी थिइन । दूधे बालकसम्म आफ्नो भइसकेको भए घरमा लाम्टा चुस्दैको बालख छोडेर आएको भनी पालो सारेर पँघेराबाट फुत्किन हुन्थ्यो । कुरा थामथुम मिलाउन सक्नेहरू त आउना साथै फर्की पनि हाल्थे । उसलाई त्यस्तो कुनै जतनजुक्ति पनि आउँदैन । त्यसमाथि ऊ वर्षदिनकी बुहारी मात्र थिई, त्यसैले गाउँले समकालीन चेली बुहारीहरूसित पनि राम्ररी घुलमिल भइसकेको थिएन । पँधेरामा एक दुई जना लोग्नेमान्छेहरू बेलामौकामा हातमुख धुन झरिरहेका थिए । उनीहरूलाई छलेर पँर्धेर्नीहरू रमाइला गफहरू गरिरहेका थिए । लोग्नेमान्छेहरू पनि नसुने जस्तो अथवा पँधेर्नीहरूको गफमा ध्यानै नदिएजस्तो गरी यिनीहरू आखिर के कस्ता कुरा उप्काउँछन् सुनिरहेका हुन्छन् । अस्सी वर्षको बूढालाई पनि तरुनीको कुरा सुन्ने रहर हुन्छ । बूढो पनि आखिर
लोग्ने मान्छे नै हो । लोग्ने मान्छे कहिल्यै बूढो हुँदैन, कमसेकम मन तरुनो रहिरहन्छ । यस्तैमा एक छेउबाट एउटी पँधेर्नीले एउटा प्रसङ्ग उप्काई हाली । सबैका कान त्यतै तेर्सिए । अस्ति शालिग्रामको घरमा गाईले साँढे खोज्दा साँढे लाउन लग्ने लोग्नेमान्छे कोही भएनन् रे ! लोग्नेमान्छे जम्मै बाहिरको बाहिरै परेछन् । साँढे लाउन शालिग्रामकी स्वास्नीलाई नै गाई डो¥याएर जानु परेछ । तै तिनलाई
भक्तपुरको सल्लाघारीको टुँडिखेलसम्म झर्नु परेनछ । बीच बाटोमै जब्बरको साँढेले गाईलाई पछ्याइहालेछ । अकस्मात् साँढे गाईमाथि उक्ली पनि हालेछ । आफैँमाथि साँढे चढेको ठानेर हो कि कसो ? शालिग्रामकी स्वास्नी त भुइँमै थचक्क बस्न पुगेकी रे ! मोरी त लाजले भुतुक्कै मरेकी रे ! पँधेर्नीहरू सबै गलल्ल हाँसे । मगर्नी बुहारी पनि एकछिन त हाँसी । अर्को क्षण भने लाजले भुतुक्कै भई । बादलको कापबाट यसो एकछिन पुलुक्क चियाएर फेरि बादलभित्र नै लुक्न गएको चन्द्रमा झैँ उसको मुखबाट हाँसो हरायो । उसको मानसपटलमा सासूको मुख मात्र झल्झली उदायो । उसले विस्तारै बित्दै गइरहेका आफ्ना कामहरू सम्झी । मनमा ढ्याङ्ग्रो ठोकियो । ऊ निकै हतारिई । तर उसको अगाडिको समयलाई कुनै हतारो थिएन । ऊ आफ्नै गतिमा थियो । पँधेरो पनि आफ्नै गतिमा थियो । तिनीहरूलाई किन आफूलाई जस्तै कुनै हतारो नभएको ? पँधेरो आफ्नै सुरमा घैँटाहरू भरिरहेको थियो । ती घैँटाहरूमा मगर्नी बुहारीको घैँटो अझ पर नै थियो । बल्ल मगर्नी बुहारीको घैँटोको पालो आयो । लामो सास तान्दै उसले आफ्नो घैँटो थापी र भरिसकेपछि उत्नीखेरै माथि बाटोमा उक्लिई । आलीको गोरेटोमा घैँटो र गाग्री छचल्किएर पोखिएको पानीले बाटो अलिअलि चिप्लो चिप्लो बनाएको रहेछ । मगर्नी बुहारी त्यही चिप्लोमा चिप्लिई । उसले थामिनलाई निकै प्रयास गरेकी थिई तर थामिन सकिन । आखिर ऊ एकातिर र उसले आफ्नो कम्मरमा टाँसेर च्यापेको घैँटो अर्कोतिर उछिट्टिएर त्यही चिप्लो बाटोमा अझ चिप्लो थप्नझैँ पानी पोख्दै उँधोउँधो गुड्दै गयो । चिप्लिएर उत्तानो लडिरहेकी मगर्नी बुहारी आफू उठिन । बरु आफूबाट उछिट्टिएको घैँटोतिर नजर दौडाई । घैँटो मगर्नी बुहारी उक्लेको बाटो उँधो लाग्दै धाराबाट गोरेटो उक्लने खुड्किलो हुँदै झ¥यो र पँधेराको भुइँमा ओछ्याएको ढुङ्गामाथि बजारियो । बजारिनु के थियो, घैँटो चकनाचुर भयो । यता मगर्नी सासूको भात पाक्यो । खाने बेला पनि भयो तर पानी आइपुगेको थिएन । आमाछोरा पानी लिन गएको बुहारीको बाटो हेर्दै आँगनबाट बाटोमा उक्ले । समय घर्किंदै थियो । पेटमा मुसा कुद्न थालेका थिए । तैपनि पँधेरो गएकी बुहारी देखिएकी थिइन । यतिकैमा पँधेराबाटै हस्याङ्फस्याङ गरेर आइरहेकी छिमेकी शालिग्रामकी स्वास्नी देखा परी । उसको बाटै छेकेर मगर्नी सासूले सोधी । हाम्री बुहारी त्यहीँ छ कि फर्की ? हैन, ऊ त अघि नै फर्केकी हो ब्यारे ! आइपुगेकी छैन ? उसले सिर्फ यति मात्र भनी र घैँटो च्यापेर आफ्नो बाटो लागी । त्यसो भए बुहारी कता अल्मलिई त ? आमा छोरा दुवैले बाटोमा आँखा विछ्याउँदै मनमनै भने । त्यो दिन साँझसम्म पनि बुहारी फर्किन । दिउँसोसम्म बाटोमा आउजाउ गरिरहेकी पँधेर्नीहरूसित बुहारीबारे सोधिरहेकी थिई मगर्नी सासू । साँझ तिनै पधेर्नीहरूले मगर्नी सासूसित सोधे– खै अहिले त फर्की बुहारी ? हैन, बुहारी त पोइल पो गई कि ! मगर्नी सासूले सुकेको स्वरमा जवाफ दिई । ‘पहिले पहिले त्यो पँधेरो गाउँलेको गर्जो टार्ने धारो मात्र थियो । त्यसको कुनै नाउँ पनि थिएन । त्यसपछि भने उसले परिचय नै पायो । त्यहाँदेखि त्यो पँधेरो पोइल जाने धाराको नामले प्रख्यात भयो ।’ पुनश्चः कालान्तरमा त्यो धाराको प्रख्याति निकै चुलियो । उसको नाम राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि सुने । एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था दौडेर गाउँ पस्यो । उसले गाउँलेलाई त्यसको संरक्षणको खाका देखायो । बजेट पनि ऊ स्वयंले दिने भनेपछि गाउँले पनि मख्ख भए । त्यसपछि पँधेरोको कायापलट भयो । अहिले पँधेरोको धारो दुईवटा रिजर्भ ट्याङ्कीमा झर्छ र जम्मा हुन्छ । पँधेरो अहिले धारोभन्दा पनि पानीट्याङ्की भएको छ । पानी फारो पनि भएको छ । गाउँलेहरूले पँधेरोको नाम शनैःशनैः बिर्सिन थालेका छन् । सम्भवतः फेरि पँधेरो गुमनाम हुँदैछ ।
(यो कथा चाँगुनारायण नगरपालिका वडा नं.–२ दुवाकोटको पँधेरोको लोककथामा आधारित छ ।)
साभार:गोरखापत्र अनलाईन
सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑