कोरोना संक्रमणविरुद्ध लड्न आवश्यक सहयोग गर्न चीन तयार
सुभाय् संवाददाताMarch 18, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट
आवश्यक परे नेपालमा मास्क र औषधीसहित मेडिकल टिम पठाउन सकिने
काठमाडौं । विश्वव्यापी रूपमा महामारी बनेको कोरोना विरुद्ध लड्न चीनले नेपाललाई आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको छ । आवश्यक परेको खण्डमा उसले औषधि सहितको मेडिकल टिम पठाउन चीन तयार रहेको छ । अवस्थालाई मध्यनजर गरेर चिनियाँ दूतावासमार्फत चीनले नेपाल सरकारलाई के-के सहयोग र सहायता आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको छ । चीनले नेपाललाई पठाएको पत्रमा नेपाललाई के कस्तो किसिमको सहयोग चाहिएको सोधिएको छ । उसले भनेको छ , “हामी जुनसुकै बेला पनि तप्तर छौं ।” परराष्ट्र मन्त्रालयको स्रोतले जनाएको छ । चीनसँग आवश्यक सहयोगबारे छलफल भइरहेको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् । केही दिनअघि मात्र चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग टेलिफोन गरी नेपाललाई कोरोना संक्रमणबाट जोगाउन चीनले आवश्यक जुनसुकै सहायता गर्ने बताएका थिए । कोरोना भाइरसको उद्गमस्थल रहेको वुहानमा चीनले कोरोना नियन्त्रणमा लिएको केही दिन अगाडि सार्वजनिक गरेको थियो ।