काठमाडौं / हरेक फागु पूर्णिमाको रातिजस्तै हिजो पूर्णिमाको राति पनि काठमाडौंको टुंडिखेलमा “गुरुंमापायात जा नकेगु पर्व”(गुरुंमापालाई भुजा चढाउने पर्व ) सम्पन्न गरियो ।
यसका निम्ति किलाग: त्वा:को ज्यापु (महर्जन) गुथिबाट काठमाडौंको इतुंबहालस्थित श्री केशचन्द्रकृत पारावर्त महाविहारमा गुरुमापालाई भात खुवाउन भुतुक्यब्वमा सधैं झैं एक मुरी चामलको भात पकाएकाे थियाे । यसरी पकाएको भातलाई दुइटा बेतको भाडोमा राकिन्छ जसलाई पिचा भनिन्छ । दुई पिचामध्ये एकमा ५ पाथी र अर्काेमा १५ पाथी भात राखिन्छ । यसरी राखिएको असन्तुलित तौलको भारी नोलमा बाँधेर काँधमा जसले बोकेर महाविहारकाे प्रांगणमा सजिलै हिँड्न सक्छ त्यही व्यक्तिले यो भारी बोक्न सक्ने प्रावधान रहेको छ । उसले परम्परागत रुट पार गर्दै किलागल भेडासिंह हुँदै नयाँ सडक गेटनिरकाे गणेश मन्दिरसम्म कहीं नबिसाइ बाेकेर लानुपर्ने परम्परा रहेको छ । यो एक किसिमको बल र कला परिक्षण पनि हो । यसपटक किलागलका ६६ वर्षीय देवरत्न महर्जन (ग्वारा दाजु)ले गुरुमापालाई भात खुवाउन लानु पर्ने पिचा बाेक्न सफल भए । पिचा बाेक्न किलागलका धेरै युवाहरुले पनि प्रयास गरेका थिए । तर सकेनन् । देवरत्न महर्जन पनि पहिलाे प्रयासमा असफल भए तर उनी दाेश्राे प्रयासमा सफल भए र पिचा बोकेर हिंडे ।
नयाँ सडककाे पिपलबाेटमुनि त्यस पिचाको भातको केही अंश राखी पुजा गरेपछि पुनः बाटाेमा भात चढाउँँदै तिंख्य(टुंंडिखेल)को बिचमा पुुुर्याइन्छ । हिजो पनि त्यसैगरी लगिएकाे थियाे । त्यहाँ पनि विशेष किसिमले बीचमा भात राखि पुजा गरेेेपछि मासकाे दाल र राँगाकाे मासु भातमा चढाइएकाे थियाे । पुजा सम्पन्न भएपछि गुठियार तथा त्यहाँ भेला भएका सबैलाई प्रसादका रुपमा भात खुवाइएकाे थियाे । यसरी गुरुमापालाई भात खुवाउन जाने जात्रामा नायखिं बाजा बजाएर लैैैजाने चलन रहेको छ । यो पर्व काठमाडौंका नेवार समुदायमाझ “गुरुमापायात जा नकेगु”नाम
ले प्रसिद्दध छ ।
यसपटक “गुरुमापायात जा नकेगु” जात्रामा टुंडिखेलको मूल गेट सेनाले बन्द गरेका कारण भित्र प्रवेश गर्न नपाएपछि केही बेर तनाव पनि भएको थियो ।
फोटो :रेखा शाक्य
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५