काठमाडौं /काठमाडौं (येँ) महानगरपालिका वडा नं. २३ स्थित यंगाल टोलमा शहीद धर्मभक्त माथेमाको स्मृतिमा स्थापना गरिएको पार्क कामपाका प्रमुख विद्यासुन्दर शाक्यद्वारा उद्घाटन गरियो ।
माघ १६ गते बिहीबार शहीद दिवसका दिन पारेर एक कार्यक्रमकावीच मेयर शाक्यले शहीद धर्मभक्त पार्कमा बनेको शहीद धर्मभक्त माथेमाको पूर्णकदको शालिक पनि अनावरण गरे ।
कार्यक्रममा बोल्दै मेयर शाक्यले भने शहीदहरुले समृद्ध नेपालको सपना देखेर देशको निम्ति बलिदान गरेका थिए । अहिलेको सरकारले समृद्ध नेपालको लक्ष्य लिएर अगाडि बढेको पनि उनले दाबी गरे ।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद केदारभक्त माथेमाले राणा विरोधी ७ सालको क्रान्तिको इपिसेन्टर ओमबहाल भएको भन्दै यस स्थानको खुल्ला ठाउँमा ओमबहालका सहिद आफ्ना ठुला बुबा धर्मभक्त माथेमाको शालिक सहित पार्क बनाएकोमा खुशी व्यक्त गरे ।
कामपा २८ वडाका वडा अध्यक्ष मचाराजा महर्जनले यस खुल्ला ठाउँमा पार्क निर्माणका साथै जमीनमुनि ठूलो पानी ट्यांकी बनाएको र यसको पानी आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने बताए ।
पूर्व वडा अध्यक्ष तथा नेवा: अभियन्ता पवित्र बज्राचार्यले शहीदले सहादतका बेला लिएको भावनाको कदर हुन सके साँचो अर्थमा सहिद दिवस मनाएको ठहरिने बताए ।
पूर्व नगर प्रमुख प्रयागराज सिंह सुवालले आफुले सहिद धर्मभक्त माथेमालाई झुन्ड्याएको देखेको स्मरण गर्दै उहाँको प्रजातान्त्रक प्राप्तिको क्रान्तिको आन्दोलनमा योगदान बारे बताए ।
धर्मभक्त माथेमा ओमबहालका थिए । उनी कुशल शारीरिक सुगठनका शिक्षक समेत थिए भने उनले आफ्नैआफन्तको घरमा प्रजापरिषदको स्थापनाको निम्ति भुमिगत बैठक राखेका थिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५