धरान/ धरानमा यःमरी बनाउने तालिम सम्पन्न भएको छ । नेवाः देय् दवू, धरानको आयोजना र सिद्धि नेवाः परिषद् धरानको व्यवस्थापनामा सम्पन्न यःमरी बनाउने तालिममा १० जना पुरुष र ४० जना महिलाको सहभागिता रहेको थियो ।
आगामी पौष ९ गते देखि धरानको छाता चौकमा शुरु हुने ४ दिने आठौ यःमरी सांस्कृतिक तथा पर्यटन उत्सवका लागि आवश्यक जनशक्ति तयार गर्न यःमरी बनाउने प्रशिक्षणको आयोजना गरिएको नेवाः देय् दवू धरानका अध्यक्ष मनोहर शाक्यले बताए ।
विहीबार सिद्धि नेवाः परिषद् धरान ७ को सभाहलमा सम्पन्न तालिममा नेवाः देय् दवूका केन्दिय सदस्य लक्ष्मी शाक्यले प्रशिक्षण दिनु भएको थियो भने प्रशिक्षण सहयोगीको रुपमा नेवाः देय् दवूका प्रदेश १ का कोषाध्यक्ष चन्द्र हलुवाई रहनु भएको थियो । नेवार समुदायको विभिन्न खाद्य परिकारहरुमध्ये एक महत्वपूर्ण र स्वादिष्ट परिकार यःमरी भएको र यःमरी बनाउन धेरै शीपको आवश्कता पर्ने सिद्धि नेवाः परिषद् धरानका अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले बताउनु भयो ।
विगतमा हुने यःमरी महोत्सवहरुमा यःमरीको माग अनुसारको तयार गरेर दिन नसकेको गुनासो आएको थियो । यस पटक यःमरीको गुणस्तरलाई पनि ध्यानमा राखेर तयार गर्न लागिएको छ ।
नेवाः समूदायले नयाँ धानबाली भित्र्याएपछि नयाँ चामलको पिठोबाट बनाएको शंख आकारको खोक्रो डल्लोको भित्र चाकु र तिलको पकाएर राखेर यःमरी तयार गरिन्छ । यसबाहेक अरु विभिन्न प्रकारको सामग्री राखेर पनि य:मरी तयार गर्न सकिने नेवाः देय् दवूका केन्द्रिय सल्लाहकार सरला कायस्थले बताए ।
यःमरीका परिकार यःमरी पुन्ही(धान्य पूर्णिमा)का दिन मात्र खाने नगरेर अन्न प्रासन्न, जंकु, जन्मदिन जस्ता विभिन्न सामाजिक सांस्कृतिक र परंरागत संस्कार कार्यमा पनि यःमरीको उपयोग हुने गर्दछ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५