सिड्नी, अस्ट्रेलिया/नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एनएसडब्ल्यु च्याप्टरले सिड्नीमा ११७औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती तथा साहित्यिक उत्सव आयोजना गर्ने भएको छ।
आगामी नोभेम्बर १५, आइतबार मेरिल्यान्ड्सस्थित एनआरएनए हलमा बिहान १०:३० बजेदेखि कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाली भाषा तथा साहित्यप्रेमी, कवि, गजलकार, गीतकार, उपन्यासकार र विभिन्न साहित्यिक विधामा कलम चलाउने स्रष्टाहरूको सहभागिता रहनेछ। सहभागी स्रष्टाहरूले कविता, गजल, मुक्तकलगायत आफ्ना मौलिक सिर्जना वाचन गर्नुका साथै अन्य साहित्यकारका रचना सुन्ने र साहित्यिक विचार तथा अनुभव आदानप्रदान गर्ने अवसर पाउनेछन्।
अनेसास एनएसडब्ल्यु च्याप्टरकी अध्यक्ष भावना पराजुलीले विशिष्ट गजलकार, कवि, गीतकार तथा उपन्यासकारहरूको विशेष उपस्थिति रहने जानकारी दिँदै साहित्यप्रेमी सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेकी छन्।
उनले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका लागि यस्ता साहित्यिक कार्यक्रम महत्त्वपूर्ण हुने उल्लेख गर्दै भनिन्, “यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमको शोभा बढाउनुका साथै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा थप ऊर्जा प्रदान गर्ने विश्वास लिएका छौँ। त्यसैले यहाँहरूको सक्रिय सहभागिता र उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।”
अनेसास एनएसडब्ल्यु च्याप्टरका महासचिव नगेन्द्र भट्टराईले कार्यक्रममा आफ्ना मौलिक सिर्जना वाचन गर्न इच्छुक स्रष्टाहरूलाई कविता, गजल, मुक्तकलगायत रचना पठाउन आग्रह गरेका छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको स्मरण गर्दै प्रवासमा नेपाली भाषा र साहित्यको विकास, नयाँ पुस्तामा साहित्यिक चेतना अभिवृद्धि तथा नेपाली स्रष्टाहरूबीच आपसी सम्बन्ध र सिर्जनात्मक सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५