डा. राजु मानन्धर,अतिथी सम्पादक सिड्नी/ नेपाली कला, संस्कृति, राष्ट्रिय पहिचान र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाल फेस्टिभल सिड्नी २०२६ आगामी नोभेम्बर ७ (शनिबार) मा सिड्नीको प्रसिद्ध डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा आयोजना हुने भएको छ। महोत्सवमा लोकप्रिय गायक प्रकाश सपुत र गायिका रचना रिमालले विशेष सांगीतिक प्रस्तुति दिने भएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाअन्तर्गत एनआरएनए एससीसी एनएसडब्ल्यूको आयोजनामा हुने यस वर्षको महोत्सवको मूल नारा ‘नेपाल पुनर्निर्माण र पर्यटन प्रवर्द्धन’ (Rebuild Nepal and Promote Tourism) रहेको छ। महोत्सवको मुख्य प्रायोजक मार्को होम्स रहेको छ।
महोत्सवमा नेपाली कला, संगीत, नृत्य, मौलिक भेषभूषा तथा परम्परागत खानाका परिकारमार्फत नेपालको सांस्कृतिक विविधता प्रस्तुत गरिने आयोजकले जनाएको छ। कार्यक्रममा अस्ट्रेलियाली राजनीतिक तथा सामुदायिक नेतृत्वका प्रतिनिधि, नेपाली समुदायका अगुवा, विभिन्न संघसंस्थाका पदाधिकारी, व्यवसायी तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।
नेपालको हिमाली सौन्दर्य, प्राकृतिक सम्पदा, ऐतिहासिक तथा सांस्कृतिक धरोहर, जातीय विविधता र मौलिक परम्परालाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित गराउनु महोत्सवको प्रमुख उद्देश्य रहेको छ। यसले नेपाल र अस्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ।
विशेषगरी अस्ट्रेलियामा जन्मेहुर्केका नेपाली बालबालिका तथा युवालाई आफ्नो भाषा, संस्कृति, संगीत, नृत्य र परम्परासँग जोड्ने अवसरका रूपमा पनि महोत्सवलाई लिइएको छ। परिवारसहित सहभागी भएर नेपाली सांस्कृतिक विविधताको अनुभव गर्न सकिने भएकाले यो कार्यक्रम नेपाली समुदायको साझा उत्सवका रूपमा स्थापित हुँदै आएको छ।
नेपाली समाज, जनजीवन र समसामयिक विषयवस्तुलाई गीतसंगीतमार्फत प्रस्तुत गर्दै लोकप्रियता हासिल गरेका प्रकाश सपुत तथा नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी रचना रिमालको प्रस्तुतिले यस वर्षको महोत्सव थप आकर्षक हुने अपेक्षा गरिएको छ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवरले नेपाल फेस्टिभललाई नेपाली समुदायको एकता, सांस्कृतिक पहिचान र राष्ट्रिय गौरव अभिव्यक्त गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
विदेशमा नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा त्यसको महत्त्व हस्तान्तरण गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै उनले महोत्सवले नेपाली समुदायलाई एउटै मञ्चमा जोड्नुका साथै अस्ट्रेलियाली समाजसँगको सम्बन्ध विस्तार गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनले महोत्सव सफल बनाउन नेपाली समुदायका सबै सदस्यलाई सक्रिय सहभागिताका लागि आग्रहसमेत गरेका छन्।
त्यसैगरी, एनआरएनए एनएसडब्ल्यूकी राज्य संयोजक उषा किरण बरिया पोखरेलले महोत्सवले नेपाली भाषा, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन्। अस्ट्रेलियामा जन्मेहुर्केका बालबालिका तथा युवालाई आफ्नो सांस्कृतिक पहिचानसँग परिचित गराउन यस्ता कार्यक्रम उपयोगी हुने उनको भनाइ छ।
एनआरएनए एससीसी एनएसडब्ल्यूका सचिव प्रताप पन्थीले महोत्सवको सफलताका लागि आयोजक, प्रायोजक, कलाकार, स्वयंसेवक, विभिन्न संघसंस्था तथा नेपाली समुदायका सदस्यबीच सहकार्य आवश्यक रहेको बताएका छन्। नेपाल फेस्टिभल सम्पूर्ण नेपाली समुदायको साझा उत्सव भएकाले सबै पक्षको सहयोग र सहभागिता महत्त्वपूर्ण हुने उनले उल्लेख गरेका छन्।
नेपाली कला, संस्कृति र राष्ट्रिय पहिचानलाई अस्ट्रेलियाली भूमिमा प्रस्तुत गर्ने यस महोत्सवले प्रवासमा रहेका नेपालीलाई आफ्नो मातृभूमिसँग जोड्नुका साथै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा चिनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।





सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५