“भाग–भाग ! स्याफ्रुबेसी बग्यो ! टिमुरे बग्यो ! बेत्रावती पनि बगाउँछ !”
फोनको स्पिकरबाट आएको त्यो आवाज अहिले पनि योगेश डंगोलको कानमा गुञ्जिरहन्छ।
तर त्यो क्षणमा उनी मात्र होइन, बेत्रावतीका धेरै मानिसले पनि त्यो आवाजलाई जीवन–मरणको अन्तिम चेतावनीका रूपमा बुझ्न सकेनन्।
सूचना आएको थियो।
समय पनि थियो।
तर विश्वास थिएन।
र केही मिनेटपछि त्यही अविश्वास एउटा दुई–तीन सय वर्ष पुरानो बस्तीका लागि कहिल्यै नमेटिने पीडामा बदलियो।
गाईजात्रा नजिकिँदै थियो। बेत्रावतीका नेवार समुदायका केही मानिसहरू यसपालिको गाईजात्रा कसरी निकाल्ने, परम्परालाई कसरी निरन्तरता दिने भन्ने विषयमा छलफल गरिरहेका थिए। बजारमा सांस्कृतिक चहलपहल थियो।
हिजो–अस्तिसम्म त्यही बजारमा लाखे नाच भइरहेको थियो।
लाखेको नाच, बाजागाजा र मानिसहरूको चहलपहलले बेत्रावतीको मौलिक नेवार संस्कृति जीवित रहेको अनुभूति गराइरहेको थियो।
कसैलाई के थाहा—
त्यही सांस्कृतिक रौनक बोकेको बजार केही दिनपछि प्रकृतिको क्रूर प्रहारको साक्षी बन्नेछ।
गाईजात्राको तयारीबारे छलफल गरिरहेका मानिसहरूले सायद परिवार र समुदायसँगै जात्रा मनाउने योजना बनाइरहेका थिए। कसैले जात्राको बाटो सोच्दै थिए होला, कसैले सहभागी हुनेहरूको कुरा गर्दै थिए होला, कसैले के के तयारी गर्दै थिए होला।
तर केही समयपछि ती सबै योजना अर्थहीन बने।
जात्रा निकाल्ने तयारीमा रहेको बस्ती आफैँ एउटा विशाल शोककथामा परिणत भयो।
गाईजात्रा आफैँ मृतकहरूको सम्झनामा निकालिने जात्रा हो।
तर बेत्रावतीले यसपटक गाईजात्रा आउनुअघि नै असंख्य परिवारको शोक बोकेर बस्नुपर्यो।
हिजोअस्तिसम्म लाखे नाचिरहेको ठाउँमा मानिसहरू आफ्ना घर र आफन्त खोजिरहेका थिए।
यो सम्झँदा बेत्रावतीको पीडा झन् गहिरो हुन्छ।
त्यो दिन योगेश आफ्ना बुवा र गुरुङ्नी दिदीसँग घरपछाडिको बगैंचामा काम गरिरहेका थिए।
माथिल्लो भेगबाट बाढी आउन सक्ने खबर आउन थालेको थियो। आफन्त र चिनेजानेकाहरू फोन गरिरहेका थिए। छिमेकी नारायण डंगोलले पनि खबर गरिसकेका थिए।
करिब आधा घण्टा अगाडिदेखि बाढीको सूचना आउन थालेको थियो।
तर बेत्रावतीका मानिसहरूका लागि बाढी नयाँ कुरा थिएन।
दुई–तीन सय वर्षदेखि बसोबास भएको बस्ती।
पुस्तौँदेखि त्रिशूलीको बहाव देख्दै आएका मानिसहरू।
वर्षायाममा नदी बढ्नु सामान्य।
तर नदीभन्दा केही अग्लो र अलिक टाढा रहेको बजार नै बगाउने गरी यस्तो बाढी आउला भन्ने कल्पना कसैले गरेको थिएन।
त्यसैले धेरैले मनमनै सोचे—“बाढी आउला, तर यहाँसम्म कहाँ आउँछ र ?”
मानिसको मनोविज्ञान पनि अचम्मको हुन्छ। उसले प्रायः आफूले देखेको र भोगेको कुरालाई मात्र विश्वास गर्छ।
जुन कुरा जीवनभर देखिएन, त्यो अचानक हुन सक्छ भन्ने कल्पना गर्न गाह्रो हुन्छ।
त्यसैले चेतावनी सुनेर पनि धेरै मानिसले तत्काल घर छोडेनन्।
योगेशले पनि आफ्नो स्वभावअनुसार ठट्टा गर्दै भने— “यहाँ खुट्टा–खुट्टा पानी आएपछि भागौँला नि काकी !”
आज त्यो वाक्य सम्झँदा उनको मनमा कस्तो हुन्छ होला ?
काकीले भने पोको–पन्तुरो तयार पार्न थाल्नुभयो।
योगेश अझै ढुक्क थिए।
त्यो ढुक्कपन केवल योगेशको मात्र थिएन। त्यो पूरै बस्तीको मनोविज्ञान थियो।
प्रशासनले माइकिङ गर्न थाल्यो।
मोबाइल फोनहरू लगातार बजिरहेका थिए।
माथिल्लो भेगबाट थप डरलाग्दा खबर आउन थाले।
एउटा फोन स्पिकरमा राखियो।
उताबाट आतंकित आवाज आयो—
“स्याफ्रुबेसी सबै बगाइसक्यो ! टिमुरे पनि बग्यो ! बेत्रावती पनि बगाउँछ, भाग–भाग !”
तर त्यतिबेला पनि धेरै मानिस तुरुन्त भागेनन्।
किनकि उनीहरूको आँखाले त्यस्तो विपत्ति देखेकै थिएन।
उनीहरूलाई लाग्यो—माथिल्लो भेगमा ठूलो बाढी आएको होला, तर बेत्रावतीसम्म त्यति ठूलो प्रभाव आइपुग्दैन।
त्यही केही मिनेटको अनुमान…
त्यही केही मिनेटको ढुक्कपन …
पछि जीवनभरको पश्चात्ताप बन्न पुग्यो।
पुलतिरबाट चिच्याहट सुनिन थाल्यो।
सिटी बज्न थाल्यो।
मानिसहरू कुद्न थाले।
गाडीहरू हतारहतार भाग्न थाले।
योगेश नयाँ पुल पार गरेर रसुवातर्फ जाँदै थिए।
उनले देब्रेतिर हेरे।
टाढा धुलोको विशाल मुस्लो उठिरहेको थियो।
पहिलो नजरमा त्यो धुलो जस्तो देखियो।
तर त्यो धुलो थिएन।
त्यो पहाड, पानी, लेदो, ढुङ्गा, रूख र माटो बोकेर तीव्र गतिमा तल झरिरहेको विनाशको लहर थियो।
त्यो सामान्य नदी बाढी थिएन।
त्यो पानी विस्तारै फैलिँदै आएको बाढी थिएन।
त्यो त सुनामीझैँ वेगमा आएको जल–लेदोको प्रलय थियो।
त्यसैले त्यसलाई प्रत्यक्षदर्शीहरूले ‘हिमाली सुनामी’ जस्तो अनुभूति गरेका हुन्।
समुद्रमा उठेको सुनामीझैँ त्यो पनि आफ्नो बाटोमा जे भेट्यो, त्यसलाई आफूसँगै सोहोर्दै आएको थियो।
घर।
पसल।
सडक।
रूख।
गाडी।
ढुङ्गा।
माटो।
र मानिस।
सबै त्यसको बाटोमा परेका थिए।
योगेश कुदे।
अरू मानिससँगै माथितिर उक्लिए।
फेरि फर्केर हेरे।
जहाँ केही मिनेटअघि आफ्नो घर थियो, त्यहाँ अब धुलो, लेदो र धमिलो पानीको मुस्लो मात्र थियो।
उनले कालो चस्मा खोलेर फेरि हेरे।
तर केही स्पष्ट देखिएन।
घर कहाँ थियो ?
बजार कहाँ थियो ?
केही क्षणअघिसम्म चिनिएको संसार नै चिनिन छाडिसकेको थियो।
प्रकृतिले केही मिनेटमै भूगोल बदलिसकेको थियो।
बाढी आउँदैछ भन्ने खबर उनीहरूले पनि सुनेका थिए। तर त्यो सूचना तत्काल घर छोड्नुपर्ने स्तरको खतरा हो भन्ने विश्वास भएको थिएन।
अन्ततः बाढीले घरसँगै ज्ञानकुमारलाई पनि बगायो।
उनी गम्भीर घाइते अवस्थामा जीवित भेटिए।
तर उनका बुवा, आमा, श्रीमती र बच्चासहित परिवारका सदस्यहरूलाई बाढीले छोडेन सँगै लिएर गए ।
त्यो बाढीले आफ्नो–पराइ छुट्याएन।
कसैको घर हेरेन।
कसैको पसल हेरेन।
कसैको जात्रा हेरेन।
कसैको सपना हेरेन।
उसले जे भेट्यो, सोहोरेर लग्यो।
बेत्रावतीको त्रासदी सम्झँदा आज एउटा गम्भीर प्रश्न उठ्छ—
समयमै सूचना पुगेको थियो भने, त्यो सूचना कस्तो थियो ?
“ठूलो बाढी आउँदैछ” भन्ने चेतावनी र—
“यो सामान्य बाढी होइन। माथिल्लो क्षेत्रमा विनाशकारी बाढी आएको छ। लेदो, ढुङ्गा र रूखसहितको तीव्र बहाव बेत्रावतीतर्फ आउँदैछ। बजार तत्काल खाली गर्नुहोस्। सामान लिन नरोकिनुहोस्। घरमा नबस्नुहोस्। तुरुन्त सुरक्षित अग्लो स्थानतर्फ जानुहोस्।”
भन्ने स्पष्ट, दोहोरिएको र अनिवार्य रूपमा पालना गर्नुपर्ने आपत्कालीन चेतावनी बीच ठूलो फरक हुन्छ।
त्यो दिन सूचना थियो।
माइकिङ पनि थियो।
फोन पनि थिए।
तर अब भविष्यका लागि प्रश्न उठ्छ—
के सूचना मात्र पुग्यो, कि खतरा पनि मानिसले बुझ्ने गरी बताइयो ?
यदि त्यसबेला “यस्तो हुँदैछ” भनेर बाढीको वास्तविक भयावहता स्पष्ट पारिएको भए, तत्काल बस्ती खाली गर्नुपर्ने किसिमको चेतावनी दिइएको भए, धेरै मानिसले समयमै सुरक्षित स्थानतर्फ जाने सम्भावना बढ्न सक्थ्यो।
कति जीवन जोगिन्थे भन्ने कुरा आज निश्चित रूपमा भन्न सकिँदैन।
तर एउटा कुरा भने निश्चित छ—
विपद्को सूचना केवल खबर होइन, जीवन बचाउने आदेशजस्तै स्पष्ट हुनुपर्छ।
“बाढी आउँछ” भन्नु मात्र पर्याप्त नहुन सक्छ।
कहिलेकाहीँ भन्नुपर्छ—
“अहिले नै भाग्नुहोस्।”
योगेशको कथा एक व्यक्तिको कथा मात्र होइन।
यो हाम्रो विपद् चेतनाको कथा पनि हो।
मानिसले देखेको कुरा मात्र पत्याउन सक्छ।
तर विपत्तिले आफूलाई प्रमाणित गर्ने समय दिँदैन।
हामी भन्छौँ—
“पहिले पनि खोला बढेको थियो।”
“हाम्रो घरसम्म बाढी आउँदैन।”
“यसभन्दा ठूलो बाढी त कहिल्यै आएको छैन।”
तर प्रकृतिले विगतको सीमा मान्दैन।
सय वर्षमा नभएको कुरा एकै रातमा हुन सक्छ।
दुई–तीन सय वर्ष पुरानो बस्ती केही मिनेटमै भग्नावशेष बन्न सक्छ।
बेत्रावतीले यही देखायो।

हिजोअस्तिसम्म लाखे नाचिरहेको बजार…
गाईजात्रा कसरी निकाल्ने भनेर छलफल गरिरहेको समुदाय…
परिवारसँग उत्सव मनाउने तयारी…
बजारको चहलपहल…
अनि केही मिनेटपछि—
त्यही बजारमा आफ्ना मान्छे खोज्दै रोइरहेका मानिसहरू।
यो दृश्य बेत्रावतीको मात्र होइन, हामी सबैको चेतावनी हो।
गाईजात्रा मृतकहरूको सम्झनामा निकालिन्छ।
तर बेत्रावतीले यसपटक गाईजात्रा आउनुअघि नै आफ्ना मृतकहरूको शोक बोकेर बस्नुपर्यो।
लाखेको बाजा बजिरहेको बजारलाई केही क्षणमै बाढीको गर्जनले विस्थापित गर्यो।
जात्राको तयारी गरिरहेको बस्ती आफैँ एउटा शोकयात्राको कथा बन्यो।
त्यसैले बेत्रावतीको भग्नावशेषले आज पनि एउटा प्रश्न गरिरहेको छ—
“आउँदै गरेको प्रलयलाई मानिसले समयमै बुझ्ने गरी हामीले चेतावनी दिएका थियौँ कि केवल सूचना पुर्याएका थियौँ ?”
यो प्रश्नको उत्तर भविष्यका विपद् व्यवस्थापनसँग जोडिएको छ।
किनकि अर्को बेत्रावती आउँदा हामीसँग फेरि आधा घण्टा नहुन सक्छ।
हामीसँग हुन सक्छ—
दश मिनेट।
सायद पाँच मिनेट।
सायद त्योभन्दा पनि कम।
र त्यति छोटो समयमा सूचना, चेतावनी र निर्णयबीचको एउटा सानो अन्तरले कसैको जीवन बचाउन सक्छ।
वा…
पूरै परिवारलाई इतिहासको एउटा पीडादायी कथामा बदल्न सक्छ।
( बेत्रावतीका योगेश डंगोल आदिको स्मरणमा आधारित लेख)





सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५