काठमाडौंँ, मङ्सिर ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको कार्तिक २ गते सोमबार उद्घाटन गर्नुभयो । नुवाकोट र रसुवामा बनेको ६० मेगावाट क्षमताको सो आयोजना प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित उच्च प्रविधियुक्त कक्षबाट उद्घटन गर्नुभएको हो । आयोजनास्थलमा आयोजित सभाको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै सम्बोधन गर्नुभएको थियो ।
आयोजनाको बाँधस्थल रसुवाको उत्तरगया गाउँपालिका–१, सल्लेटारमा छ भने विद्युत गृह नुवाकोटको किस्पाङ–५ मा बनाइएको छ ।
आयोजनाबाट वार्षिक करिब ४९ करोड युनिट ऊर्जा उत्पादन हुने आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनु गृह भएको छ । आयोजनाबाट वर्षको साढे आठ महिना ६० मेगावाटमै र बाँकी चार महिना करिब ४५ मेगावाट विद्युत् उत्पादन हुने छ । यो आयोजनाले मुलुकभित्र खपत हुने ऊर्जामा करिब सात प्रतिशतको योगदान दिने छ ।
नौ वर्षअघि ठेक्का सम्झौता भएको जलप्रवाहमा आधारित सो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा चार वर्षभित्र बनाउने तय गरिएको थियो । विद्युत्गृह बाध, सुरुङलगायतका संरचना र इलेक्ट्रो मेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिजसग २०६७ जेठ १४ मा ठेक्का सम्झौता भएको थियो ।
सम्झौताअनुसार आयोजना २०७१ जेठमा बनिसक्नुपर्ने थियो तर यो समयसम्म आयोजनाको काम २५ प्रतिशत मात्र सम्पन्न भएको थियो । दुई पटक म्याद थप गरेर आयोजना २०७६ वैशाखभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजनाको निर्माण पछिल्लो थप समयमा सकिएको हो ।
आयोजनाको विद्युत्गृह भूमिगत वा सतही कस्तो बनाउने, उत्पादन क्षमता ९० मेगावाट पुर्याउने विवाद, मुआब्जा विवादजस्ता कारणले आयोजना नै जीर्ण बन्न पुगेको थियो । लगत्तै २०७२ को भूकम्पका कारण निर्माणमा थप अवरोध उत्पन्न भएको थियो ।
नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र चिनिया“ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण अवधिको ब्याजसहित १७ अर्ब ३२ करोड रुपियाँमा आयोजना निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । आयोजनामा चिनिया“ एक्जिम बैङ्कको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण छ ।
आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत जेठ ३ र साउन १७ देखि परीक्षण उत्पादन सुरु भएको थियो । सोमबार उद्घाटन भएसँगै आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ–५, सिम्लेस्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५