काठमाडौं / जनको मन मनमा बसेका जन गायक भृगुराम श्रेष्ठको उपचारको क्रममा आइतबार साँझ देहावसान भएको छ । उनी पेटको क्यान्सरबाट पीडित भएको अवस्थामा केही दिन अगाडि वीर अस्पताल भर्ना गरिएका थिए ।
नेपालभाषा संगीत र नाट्य क्षेत्रका सम्राट भने पनि फरक नपर्ला भृगुराम श्रेष्ठ । उनको प्रसिद्धि र लोकप्रियताको कुरा गर्नुपर्दा उनी बराबरको नयाँ र पुराना कलाकारसमेत जन्मिएको देखिंदैन नेपाल भाषा क्षेत्रमा । तर उनलाई राज्यले कहिले राम्रो मूल्यांकन गरेन अझ भनूँ उपेक्षा नैं गरे । मरणोप्रान्त पनि उनलाई राज्यले सम्झने प्रयास पनि गरेन । उपचारका लागि राज्य र स्थानीय सरकार उदासीन रहेको उहाँका सहयोगीहरुको गुनासो समेत रहेको छ ।
बि.सं. १९९० कार्तिक ८ गते माता सानुनानी तथा पिता आशाराम श्रेष्ठका छोराको रूपमा भृगुराम श्रेष्ठको जन्म भएको थियो।
तत्कालीन अवस्थामा सेनाको रेडियो कार्यक्रम समेत चलाएका उनले ८ दशक लामो समय कला क्षेत्रमा निरन्तर योगदान दिएका थिए । श्रेष्ठको ‘लुमन्तिइ…, इलं पिज्वःगु सः, रागमि नुगलय्’ गरी ३ वटा एकल एल्बम प्रकाशित भएको छ । साथमा नेपालको पहिलो मातृभाषी फिल्म सिलुमा पनि उनले अभिनय गरेका छन् ।
द्योयात सिन्हाय् स्वां …. जस्ता सदाबहार गीतका गायक श्रेष्ठको “झीगु भाषा मन्त धा:सा …” गीतले नेवार भाषाप्रतिको सरकारको दमनको संकेत गर्दछ जुन गीतले भाषिक क्रान्तिको अगुवाइ समेत गरेको देखिन्छ ! नेवार समाजमा नागरिक स्तरबाट जनगायक उपाधीबाट सम्मान गरेका उहाँलाई राज्यले कहिल्यै सम्मान गरेन ।
उनको अन्त्येष्टि आज सोमबार गरिने परिवार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार दिउँसो १२ बजेदेखि पशुपतिमा श्रद्धाञ्जलीका लागि राखिनेछ भने २ बजे अन्त्येष्टि गरिने जनाइएको छ ।
राष्ट्रका अमूल्य निधिको राष्ट्रले सम्मान गर्नुपर्ने आम सर्जकहरुको राय छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५