• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 08, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए


सुभाय् संवाददाता August 8, 2026 मा प्रकाशित (११ मिनेट अघि) अनुमानित पढ्ने समय : १२० मिनेट

महेश्वर श्रेष्ठ, ललितपुर

  • भारतले नेपालसँग कुनै सन्धि सम्झौता नगरिकन र कुनै जानकारी समेत नदिई एकतर्फी रूपमा२०४८ मा टनकपुर बाँध निर्माण सुरु गरेको रहेछ नेपाली जनतालाई  थाहा थिएन ।
  • २०४३ सालमा  नेपाल र भारत बिच कूटनीतिक तनाव बढिरहेको
  • २०४५ साल चैत १० गतेदेखि नेपाल विरुद्ध आर्थिक नाकाबन्दी 
  • २०५१ साल चैतमा प्रधानमन्त्री मनमोहन अधिकारी र उपप्रधानमन्त्री तथा रक्षा मन्त्री माधवकुमार नेपाल भारत भ्रमणबाटफर्कंदा “एकीकृत महाकाली विकास परियोजना” सम्बन्धी बहुचर्चित प्रस्ताव बोकेर आए ।
  • कांग्रेसी नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार पनि बन्यो । उनी ‘महाकाली साझा हो, पानी आधा आधा हो’ भन्ने नारा लगाउंदै २०४७ जेठ २५ गते भारतको औपचारिक भ्रमणमा गए ।
  • “हे महाकाली, २०४४ बैशाखमा म पहिलो पटक महेन्द्रनगर आउंदा तिम्रो दर्शन नगरीकन, अमृतसरी तिम्रो निर्मल र कन्चन पानी आचमन नगरीकन फर्केर गएकोमा कृपया मलाई माफ गरिदेऊ । विस्तारवादी दुष्ट छिमेकीले तिमीलाई अतिक्रमण र अत्याचार गरेको, तिम्रो अस्तित्वलाई बिचबाट चिरेर आधा आधा पारेको, ९३% तिम्रो पानी आफ्नो भागमा पर्ने गरी लुटेर सन्धि गराएको, त्यसका नेपाली दलाल सासंदहरुको दुई तिहाई बहुमतले त्यसलाई टेबुल ठोकी ठोकी सदर गरेको देशघात विरुद्ध सडकमा विरोधको आवाज निकाल्न बाहेक केहि गर्न नसकेकोमा पनि मलाई क्षमा गरिदेऊ ।”
२०३५/२०३६ सालको विद्यार्थी आन्दोलनलाई शान्त पार्न राजा वीरेन्द्रले कसैले नमागेको जनमत संग्रहको घोषणा गरिदिए पश्चात् नेपाली जनता सुधारिएको पञ्चायत र बहुदलीय व्यवस्था दुई खेमामा विभाजित भई आआफ्नो रुचिको व्यवस्थाको लागि प्रचार प्रसारमा व्यस्त भईरहेको र सत्ताधारीहरू पञ्चायत व्यवस्थालाई जिताउन षड्यन्त्रमा लागिरहेको बेलामा २०३७ सालको शुरुमै भारतले नेपालसँग कुनै सन्धि सम्झौता नगरिकन र कुनै जानकारी समेत नदिई एकतर्फी रूपमा टनकपुर बाँध निर्माण सुरु गरेको रहेछ जसको बारे २०४८ सम्म सुदूरपश्चिम कन्चनपुर जिल्ला र त्यहां पुग्ने सिमित बाहिरिया मानिसहरुलाई बाहेक बाकी नेपाली जनतालाई अत्तो पत्तो थाहा थिएन ।
आज जस्तो सोसल मिडिया र टेलिभिजन समेत नभएको त्यस बेला राजनीति र विश्व परिघटना बारे चासो राख्ने म आफुलाई अपडेट राख्न हरेक दिन बिहान रेडियो नेपाल, विविध भारती, रेडियो अस्ट्रेलिया, भ्वाइस अफ अमेरिका, रेडियो डच भेले, रेडियो नेदरल्याण्डसका अंग्रेजी कार्यक्रम र समाचार सुन्ने गर्थें । बेलायतको बिबिसी रेडियोलाई त्यस बेला सबभन्दा भरपर्दो समाचारको स्रोत मानिन्थ्यो । तर तिनीहरु कुनैले पनि टनकपुर बांध बारे केहि बोलेको कहिल्यै सुनिन ।
मेरो अफिसमा गोरखापत्र, राइजिङ नेपाल, नवभारत टाइम्स, टाइम्स अफ इण्डिया, अमेरिकाबाट प्रकाशित हुने साप्ताहिक टाइम्स र न्युज विक, बेलायतबाट प्रकाशित हुने दि डेली टेलीग्राफ र दि गार्जियन र हङकङबाट प्रकाशित हुने एसिया विक नियमित रुपमा आउने गर्थे । म तिनीहरुलाई निखै चाख मानेर पढ्ने गर्दथें । तर तिनीहरुले पनि टनकपुर बांध बारे केहि लेखेको कहिल्यै देख्न पढ्न पाइन ।
त्यतिले मात्र विश्व परिघटना बारे अपडेट हुने मेरो भोक मर्दैन थियो ।‌ म लोकतन्त्रको पक्षपाती भएकोले तत्कालीन निरंकुश पंचायती व्यवस्थाको खिलाफ मिसन पत्रकारिता गर्ने साप्ताहिक पत्रिका दिनको एउटा किनेर नियमित रुपमा पनि पढ्ने गर्दथें । त्यस बेला मलाई मन पर्ने साप्ताहिक पत्रिकाहरु युगधारा, छलफल, समीक्षा, विमर्श, नेपाल पुकार आदि थिए । अरु साप्ताहिकको नाम भने सम्झन सकिन । तर तिनीहरुले पनि टनकपुर बांध बारे केहि लेखेको कहिल्यै पढ्न पाइन ।
समय आफ्नो गतिमा बित्दै थियो । २०४३ सालमा म मेरो विभागीय सुपरिनटेन्डेन्ट बनाइएं । त्यस बेला नेपाल र भारत बिच कूटनीतिक तनाव बढिरहेको थियो । नेपालले ग्लोबल डेण्डर गरी महेन्द्र राजमार्गको कोहलपुर-वनबासा खण्ड निर्माण गर्ने ठेक्का एउटा चिनिया निर्माण कम्पनीलाई दिएको थियो । भारतलाई त्यो मनपरेको थिएन र पछि चिनबाट हुने सुरक्षा थ्रेटको निहुंमा उ आफैले पूर्ण अनुदानमा बनाइदिने भनेर चिनिया निर्माण कम्पनीसंगको ठेक्का एक तर्फी रुपमा रद्द गराई नै छाड्यो । त्यस वापत नेपालले चिनिया कम्पनीलाई करोडौंको क्षतिपूर्ति दिन परेको थियो । वैदेशिक ऋणमा बनाउन लागिएको राजमार्ग अनुदानमा बन्नु आर्थिक रुपमा फाइदाजनक नै भए तापनि भारतको त्यो रवैया नेपालको आन्तरिक मामलामा अनधिकृत हस्तक्षेप र हाम्रो सार्वभौमसत्ताको ठाडो उल्लंघन थियो । ठुलो र बलियो दुष्ट छिमेकीको अगाडी सानो कमजोर देशले झुक्न वाध्य हुनै पर्यो ।
तर त्यसले मात्र नेपाल भारत सम्बन्ध सुध्रने नदेखेर र निकट भविष्यमै भारतले नेपाल माथि नाकाबन्दी लगाउन सक्ने सम्भावनालाई देखेर होला त्यस बेला मानव रहित एयरपोर्टको रुपमा रहेको महेन्द्रनगर विमानस्थललाई भ्याएसम्मको स्तरोन्नति गर्न त्यहांको वस्तुस्थिति अध्ययन गरी बढाउनु पर्ने र बनाउनु पर्ने न्यूनतम भौतिक सुविधा सिफारिश सहितको विस्तृत प्रतिवेदन पेश गर्न २०४४ बैसाखमा विभागले मेरो नेतृत्वमा तीन सदस्यीय प्राविधिक टोली त्यस तर्फ खटायो ।
हामी बिहानको फ्लाइटबाट महेन्द्रनगर तर्फ प्रस्थान गर्यौं र मध्यान्ह तिर त्यहां अवतरण गर्यौं । अवतरण गर्न लाग्दा हामी चढेको शानेवानिको टुइन ओट्टर विमान पश्चिमी बतासको बलियो झोक्कामा परेर एउटा पखेटाले हल्का भुईं छोए जस्तो लागे तापनि पाइलटको सुझबुझ र कुशलताले दुर्घटना हुन पाएन । विमानबाट ओर्लने बितिक्कै हामीले आफ्नो काम थाल्यौं । विमानस्थलको सम्पूर्ण पेरिमिटर घुमेर पाइला पाइलाको वस्तुस्थिति अध्ययन गर्यौं र फोटोहरु खिचेर तिनलाई डायरीमा टिपोट लेख्यौं ।
त्यति गर्दासम्म सांझ परिसकेको थियो । उखरमाउलो गर्मीले गर्दा हाम्रो जिउ पसिनाले लपक्क भिजिसकेको थियो । त्यहांबाट निस्केर केहि पर हिंडिसके पछि संयोगले एउटा रिक्सा भेटियो र हामी तीनै जना एउटै रिक्सा चढेर महेन्द्रनगर बजार पुग्यौं । त्यहां एउटा राम्रो होटेल खोजेर चेक इन गर्यौं । नुहाई धुवाई गरी फ्रेश भएर खाना खाइसके पछि । कोठामा सुत्न गयौं । बिजुली थिएन, पंखा चलेन । दिन भरीको घामले तातेको कोठामा सुत्न सकिएन । होटेलवालालाई भने पछि उसले हाम्रो कोठाको ओछ्यान सिरक छत माथि लगेर बिछ्याइदियो र त्यहीं सुत्न भन्यो । छतमा अरु गेष्टहरु पनि सुतिरहेका थिए । त्यहां पनि गर्मी नै थियो । निदाउन नसकेर अलिकति दारु दन्काउने प्रस्ताव गर्दा मेरा दुबै सहयोगीले हामी त खान्नौं, तपाई खानुस् न भने । मलाई भने एक्लै रक्सी खान मन लागेन र यता उताको गफ गर्दै मध्यरातसम्म छ्याङ्ग नाङ्गो आकाशका ताराहरु गनेर सुत्ने प्रयास गरिरहेका हामी कुन बेला निदायौं चालै पाएनौं ।
त्यसको भोलीपल्ट बिहान उठ्दा साढे छ बज्दा पनि त्यहां झिसमिसे उज्यालो मात्रै थियो ।‌ हामीले चाहेको भए थप एक दुई दिन बस्न सक्थ्यौं । हामीले गर्नु पर्ने अध्ययन पूरा भैसकेको र चर्को गर्मीको कारण सोही दिन काठमाडौं फर्कने निर्णय गर्यौं । झटपट मुखसुख धोएर होटेलको रेस्टुरांमा गई गोरुको दूध हालेको चियासित हल्का नास्ता खायौं र नौ बजे नै भात ख्वाउने व्यवस्था गरिदिन होटेलवालालाई अनुरोध गर्यौं । उसले हाम्रो अनुरोध स्वीकार गरी भात पकाउने काममा जुट्यो ।
त्यस बेला सरकारी कामले जिल्ला बाहिरबाट आएका कर्मचारीले तत् जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई भेटेर आफु आउनुको उद्देश्य र काम बारे ब्रिफिङ गर्नु पर्ने नियम थियो । तसर्थ भात पाक्ना साथ खाएर फर्स्ट आवरमै कन्चनपुर जिल्लाका सिडिओ रेवतीरमण नेपाललाई भेट्न जांदा उहां बाहिर हुनु भएकोले भेट हुन सकेन । हामीले त्यहां कार्यरत कर्मचारीलाई हवाई विभागका हामी फलाना फलाना कर्मचारी फलाना कामको लागि महेन्द्रनगर आएको, उक्त काम सम्पन्न भैसकेकोले हामी आजै फर्कन लागेको भनेर सिडिओ सापलाई भनिदिनुस् भनेर कागजको एउटा चिर्कटोमा हाम्रो नाम र काम सहित छोटो टिप्पणी लेखेर दियौं ।
काठमाडौं फर्कने फ्लाइटको केहि समय अझै बांकी थियो । त्यसलाई सदुपयोग गर्दै महाकाली अंचलाधीशको कार्यालयमा गएर रिपोर्टिंग गर्ने सल्लाह गरी उतै तिर लाग्यौं । त्यस बेलाको महाकाली अंचलाधीश जोनदेन उक्याब हुनुहुन्थ्यो । हामीले उहांलाई भेट्न आउनुको उद्देश्य र सम्पन्न काम बारे ब्रिफिङ गर्दा उहां खुसी हुनु भयो र चीसो पेय पदार्थ ख्वाएर सत्कार गर्नु भयो । विमानस्थलमा पुग्नु पर्ने बेला हुन लागेकोले हामीले उहांसंग विदा माग्यौं । उहांले उपलब्ध गराइदिनु भएको गाडी चढेर हामी एयरपोर्ट पुग्यौं र केहि बेर पछि आइपुगेको विमान चढेर काठमाडौं तर्फ प्रस्थान गर्यौं ।
नेपाल भारत बिचको कूटनीतिक सम्बन्ध बिग्रेर भित्र भित्रै भुसको आगो जस्तै सल्किरहेको थियो तापनि हामी कर्मचारी लगायत सर्वसाधारण जनतालाई त्यसको कुनै भनक महसुस भएको थिएन । अन्ततः उसले नेपाल भारत व्यापार तथा पारवहन सम्झौता नवीकरण गर्न अस्वीकार गरी सम्झौताको म्याद सकिएको दिन २०४५ साल चैत १० गतेदेखि नेपाल विरुद्ध आर्थिक नाकाबन्दी लगाई नै हाल्यो ।
भारतले लगाएको उक्त नाकाबन्दीले अरु क्षेत्रमा केकस्तो असर परेको थियो भन्ने बारे सर्वसाधारणलाई विस्तृत थाहा नभए पनि पेट्रोलियम पदार्थको अभावले शहरी जनजीवनलाई निकै प्रभावित पारेको थियो । दाउराको सट्टा मट्टीतेलको स्टोभमा पकाएर खान अभ्यस्त शहरियाहरुलाई मट्टीतेलको अभावले निकै सकसमा पारेको थियो भने पेट्रोल डिजेलको अभावले सार्वजनिक यातायात नराम्रोसित प्रभावित भएको थियो जसले देशको समग्र आर्थिक गतिविधिलाई डांवाडोल बनाएको थियो । नाकाबन्दी लगाएको केहि समय पछि नै तत्कालीन प्रधानमंत्री मरिचमान सिंह श्रेष्ठको सरकारले सिंगापुर र बंगलादेशबाट पेट्रोलियम पदार्थ हवाई जहाजमा ढुवानी गरी ल्याएर काठमाडौं उपत्यकावासीलाई कुपन मार्फत सिमित वितरण गर्ने व्यवस्था गरेबाट केहि राहत मिले तापनि जनताको जीवन कष्टर नै थियो । गाउंघरमा टुकी बल्न छोडेको थियो भने तराईवासी शहरियाहरुले सिमापारीबाट अलि अलि गरी किनेर ल्याएको पेट्रोल मट्टीतेलले धान्नु परेको थियो ।
त्यसरी भारतले नेपालको घांटी न्याकेर पंचायती शासकहरुलाई कमजोर पारेको बेला बहुदलवादी शक्तिहरुले पंचायत व्यवस्थाको खारेजी र बहुदलीय व्यवस्था पुनर्स्थापनाको माग सहित २०४६ साल फागुन ७ गते कांग्रेसी नेता गणेशमान सिंह श्रेष्ठको नेतृत्वमा नेपाली कांग्रेस र कम्युनिस्ट नेतृ सहाना प्रधान नेतृ्त्वको संयुक्त वाममोर्चा सम्मिलित संयुक्त जन आन्दोलन छेडियो । लोकतंत्रका खातिर म पनि कोटमा कर्मचारी परिचयपत्र झुण्ड्याएर उक्त आन्दोलनमा सरिक भएं ।
शुरु गरिएको १९औं दिनमै आन्दोलन सफल भयो । पंचायत व्यवस्था ढल्यो । जनताले दीपावली गरे । मैले पनि गरें । बहुदलीय व्यवस्थाको लागि नयां संविधान निर्माण र सो अनुरुप संसदको चुनाव गराउने म्याण्डेट सहित २०४७ बैशाख ६ गते कांग्रेसी नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार पनि बन्यो । उनी ‘महाकाली साझा हो, पानी आधा आधा हो’ भन्ने नारा लगाउंदै २०४७ जेठ २५ गते भारतको औपचारिक भ्रमणमा गए । उक्त नारा किन लगाइएको हो भन्ने बारे म लगायत सर्वसाधारण जनतालाई थाहा थिएन । आन्दोलन सफल भएको खुसीमा त्यता पट्टी कसैको ध्यान पनि गएन । नदीहरुले अधिकांश देशहरुको साझा सिमानाको काम गरिरहेको देखेको मैले पनि महाकाली नदी पनि नेपाल र भारत बिचको साझा नदी भएकोले नदी पनि साझा, पानी पनि साझा भनेको होला भन्ने अर्थमा बुझेर चुप लागें ।
२०४८ बैशाखमा पहिलो संसदीय निर्वाचन सम्पन्न भयो । नेपाली कांग्रेसले बहुमत पाएर गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भयो । नेकपा एमाले प्रमुख प्रतिपक्षी दल बन्यो । सोही वर्ष मंसीरमा प्रधानमन्त्री कोइराला भारत भ्रमणमा गएर टनकपुर बांध सम्बन्धी सन्धि गरेर फर्के र त्यसलाई ‘समझदारी’ भनेर टार्न खोजे । प्रतिपक्षीहरुले सन्धि, सम्झौता, समझ्दारी जे भने पनि नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम जलस्रोत उपभोग सम्बन्धि बहुपक्षीय विषय संसदको दुई तिहाई बहुमतले पारित हुनु पर्ने विषय हो भनेर प्रतिवाद गरे । सर्वोच्च अदालतमा मुद्दा हाले । यति तातो चर्चामा आए पछि मात्र म र सर्वसाधारण नेपाली जनताले महाकाली नदीमा बांध बनेको रहेछ र त्यसको नाम टनकपुर बांध रहेछ भनेर थाहा पाए ।
टनकपुर बांध बारे परेको मुद्दामा २०४९ मङ्सिर ३० गतेको सर्वोच्च अदालतको फैसलाले गिरिजाप्रसाद कोइराला सरकार पराजित भए लगत्तै प्रतिपक्षीहरुले उनको राजिनामा माग गरी सडक तताए । चर्को राजनीतिक दबावमा परेको गिरिजा सरकारले आर्थिक वर्ष २०५१/५२ को सरकारी नीति तथा कार्यक्रम माथि प्रतिनिधि सभामा भएको मतदानमा नेपाली कांग्रेसकै छत्तिसे पक्ष (३६ जना असन्तुष्ट सांसदहरू) अनुपस्थित भैदिएर प्रस्तावलाई असफल पारिदिए । त्यसको लगत्तै प्रधानमन्त्री कोइरालाले पदबाट राजिनामा दिए र प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावको घोषणा गराए ।
२०५१ साल कार्तिकमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन सम्पन्न भयो । उक्त चुनावमा कसैले बहुमत ल्याउन नसकेकोले मनमोहन अधिकारीको नेतृत्वमा सबभन्दा ठुलो दल बनेको नेकपा एमालेको अल्पमतको सरकार बन्यो । २०५१ साल चैतमा प्रधानमन्त्री मनमोहन अधिकारी र उपप्रधानमन्त्री तथा रक्षा मन्त्री माधवकुमार नेपाल भारत भ्रमणमा गए । फर्कंदा “एकीकृत महाकाली विकास परियोजना” सम्बन्धी बहुचर्चित प्रस्ताव बोकेर आए ।
त्यस प्रस्तावका तीन प्रमुख पक्ष थिए: (१) शारदा बांध सम्बन्धी सन्धि नवीकरण गर्नु, (२) टनकपुर बांधको निर्माणलाई वैधता प्रदान गर्नु र (३) कुल ६५०० मेगावाट क्षमताको बहुउद्देशीय पंचेश्वर जलविद्युत आयोजना निर्माण गर्ने । देशको सिमाना, महाकालीको मुहान, पानी र टनकपुरबाट उत्पादित बिजुलीको बांडफांड आदि विषयलाई लिएर उक्त प्रस्ताव बौद्धिक जगतमा ठुलो बहस र चर्को विवादको विषय बन्यो ।
विवाद र बहसकै क्रममा मैले र सर्वसाधारण नेपाली जनताले टनकपुर बांध भारतले नेपालसंग कुनै सन्धि सम्झौता नै नगरी हेपेर पेलेर मुल बांध जबरजस्ती बनाइसकेको र कहिले समझदारीको नाममा कहिले एकीकृत महाकाली विकास परियोजनाको नाममा त्यसलाई वैधता दिलाउने प्रयास गरेको रहेछ भनी थाहा पाए । त्यही क्रममा सुगौली सन्धि पनि चर्चामा आयो । त्यस सन्धि अनुसार सिंगो महाकाली नदी नेपालको एकलौटी हकको रहेछ भनेर थाहा पाए । २०४६ साल पछि नेपालको राज्यसत्ता माथि कब्जा जमाउन सफल ठुला दलहरु त भारतका दलाल हुन् भनेर नांगिएकै छन् । तर सबैले र मैले पनि देशभक्त मानिआएको राजा विरेन्द्र र उनको पंचायती सरकारहरुले यस बारे किन कहिल्यै बोलेनन् ? किन जनतालाई बताएर विरोधमा उतारेनन् ? किन लुकाएर राखियो ? यी प्रश्नहरु अहिलेसम्म पनि अनुत्तरित नै छन् ।
त्यस पछि मैले २०४४ बैशाखमा महेन्द्रनगर गएको घटना सम्झें । त्यहांको एयरपोर्टमा ५/६ घण्टा बिताएको हामीले त्यहांबाट ३/४ किलोमिटर पर बगिरहेको महाकाली नदी हेर्न नगएको सम्झें । त्यसबाट मैले महाकालीलाई बेवास्ता गरेको जस्तो, अपमान गरेको जस्तो अपराध महसुस हुन थाल्यो र कहिले महाकाली पुगुं र क्षमा मागुं भन्ने हुटहुटी जाग्न थाल्यो ।
तर कहिले के कहिले के कारणले लामो समयसम्म महाकाली पुग्ने अवसर जुर्न सकेन । अब त अति भयो । यसरी ल्याङल्याङ गरेर बसे कहिल्यै महाकाली पुगिन्न भनेर २०७७ साल फागुनमा एउटा स्कर्पियो जीप भाडामा लिएर सपरिवार पश्चिम नेपालको तराई क्षेत्रको भ्रमण गर्न निस्क्यौं । लुम्बिनीमा दुई रातको बसाई पछि बिहान कौला (नास्ता) खाएर हामी सिधै महेन्द्रनगर तर्फ हानियौं र रातको दश बजे त्यहां पुगेर बुक गरेको होटेलमा चेक इन गर्यौं ।
भोलीपल्ट बिहान सखारै चिया मात्र पिएर हामी शुक्लाफान्टा राष्ट्रिय निकुन्ज घुम्न गयौं । मध्यान्हमा त्यहांबाट फर्केर बजारमा खाना खायौं र टनकपुर ब्यारेज तर्फ लाग्यौं । हाम्रो स्थानीय गाइडले बताए अनुसार पूर्व अनुमति नलिई सर्वसाधारणलाई ब्यारेज नजिक जान निषेध रहेछ । फोटो खिच्न पनि नपाइने रहेछ । तैपनि जे पर्ला पर्ला भनी आंट गरेर केही फोटो खिच्यौं र पूर्वी एफ्लक्स बण्डको नजिक रहेको सिद्धबाबा मन्दिर परिसर दर्शन गरी दोधारा चांदनी जाने भनी उतै तिर लाग्यौं ।
दोधारा चांदनी जाने झोलुंगे पुल नजिक पुग्दा सांझ परिसकेको थियो । भ्रमण टोलीमा मेरी अलि अशक्त अर्धांगिनी र १६ महिने नाती पनि थिए । गाइडले करिब डेढ किलोमिटर लामो झोलुंगे पुलबाट आउजाउ गर्न बिरामी र बच्चालाई गहारो हुन्छ, फर्कंदा राती अबेर पनि हुने भएकोले अरु नै बेला दोधारा चांदनी घुम्न जान सल्लाह दिएकोले हामी त्यहां जाने योजना रद्द गरी त्यहीं महाकालीको पानीसंग खेल्न थाल्यौं ।
पानीमा खेल्दा खेल्दै मैले एक अञ्जुली पानी हातमा लिएर सानो स्वरमा यसरी फुसफुसाएछु: “हे महाकाली, २०४४ बैशाखमा म पहिलो पटक महेन्द्रनगर आउंदा तिम्रो दर्शन नगरीकन, अमृतसरी तिम्रो निर्मल र कन्चन पानी आचमन नगरीकन फर्केर गएकोमा कृपया मलाई माफ गरिदेऊ । विस्तारवादी दुष्ट छिमेकीले तिमीलाई अतिक्रमण र अत्याचार गरेको, तिम्रो अस्तित्वलाई बिचबाट चिरेर आधा आधा पारेको, ९३% तिम्रो पानी आफ्नो भागमा पर्ने गरी लुटेर सन्धि गराएको, त्यसका नेपाली दलाल सासंदहरुको दुई तिहाई बहुमतले त्यसलाई टेबुल ठोकी ठोकी सदर गरेको देशघात विरुद्ध सडकमा विरोधको आवाज निकाल्न बाहेक केहि गर्न नसकेकोमा पनि मलाई क्षमा गरिदेऊ ।”

२०८३/०४/२१ (२०२६/०८/०७)

सम्बन्धित पोस्ट
  • तीनवटा प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त (सूचीसहित)
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए

    तीनवटा प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त (सूचीसहित)

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए

    तीनवटा प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त (सूचीसहित)

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑