काठमाडौँ/ सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्यापिड टेस्ट गर्ने र कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
र्यापिड टेस्ट किटको प्रयोग गर्ने बताए पनि चीनबाट ल्याइएका किटहरुको गुणस्तर यकिन छैन । एनएचआरसीले गुणस्तर जाँच गर्ने भनिए पनि उसले आफूसँग त्यो क्षमता नभएको बताइसकेको छ ।
यस्तै बैठकले एक प्रदेशबाट अर्को प्रदेशको आवागमन र जिल्ला-जिल्ला आवागमनमा नियन्त्रण गर्ने निर्णय पनि गरेको छ । यसका लागि प्रदेश र स्थानीय तहका सरकारले प्रभावकारी काम गर्न निर्देशन दिइएको छ ।
मन्त्री खतिवडाका अनुसार आजको बैठकमा लकडाउन बढाउने विषयमा निर्णय नभएको भन्दै छिट्टै मन्त्रिपरिषद् बैठक बसेर यसबारेमा निर्णय लिने बताए ।
कोरोना भाइरसको जोखिमबाट बचाउन भन्दै सरकारले यही चैत २५ गते मध्यरातिसम्म लकडाउन तोकेको छ । संक्रमित संख्या बढ्दै गएमा लकडाउन बढाउने तयारीमा सरकारको तयारी छ । शनिबारसम्म नेपालमा कोरोनाको संक्रमितको संख्या ९ पुगेको छ । जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् ।
यस्तै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरण छिटो उपलब्ध गराउने र पूर्णरुपले सुरक्षित बनाएर उपचारमा लगाउने निर्णय बैठकले गरेको छ । स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्याउने कुनै पनि व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णय पनि भएको मन्त्री खतिवडाले जानकारी दिए । स्वास्थ्यकर्मीको सुरक्षामा स्थानीय प्रशासनदेखि तीनै तहका सरकारले व्यवस्था मिलाउने भएको छ ।
धुलिखेलमा पनि आइतबारबाट कोरोना परीक्षण, ३ सय ४९ ‘निगरानीमा’
त्यसैगरी धुलिखेल अस्पतालमा आइतबारबाट कोरोना भाइरस (कोभिड १९) संक्रमणसम्बन्धी परीक्षण हुने भएको छ ।
संघीय सरकारको निर्णयअनुसार कोभिड १९ परीक्षणको सम्पूर्ण तयारी पूरा भएको अस्पतालका फोकल पर्सन डा. सुमनराज ताम्राकारले जानकारी दिए । उनका अनुसार, पर्सलन प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई), परीक्षण किटलगायत सामग्रीको सिमितताका कारण सातामा दुई दिनमात्रै परीक्षण हुनेछ । डा ताम्राकारले चाप हेरेर सेवा विस्तार गरिने समेत बताए ।
सेवा सुरु भएपछि काभ्रेका अलावा सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा लगायतका जिल्लावासीलाई सहज हुनेछ । परीक्षणको व्यवस्थापनकै लागि वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले धुलिखेल नगरपालिकामार्फत अस्पताललाई २० लाख उपलब्ध गराएको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
३४९ जना ‘निगरानी’मा
जिल्लामा विभिन्न देशबाट स्वदेश फर्किएका ३ सय ४९ जनालाई निगरानीमा राखिएको छ । फाल्गुन १ देखि चैत्र ९ गतेसम्म नेपाल फर्किएका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा र धुलिखेल अस्पतालमार्फत निगरानी गरिएको हो ।
जिल्ला विपद व्यवस्थापन समितिका फोकल पर्सन रहेका स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार स्थानीय तहबाट संकलित विवरणका आधारमा दैनिक ३ पटक टेलिफोन गरेर उनीहरुको अवस्थाबारे जानकारी लिने गरिएको छ । ‘स्वास्थ्य शाखामार्फत दैनिक सम्पर्क गरेर उहाँहरुको अवस्थाबारे सोधपुछ गर्छौं,’ झाले भने, ‘धुलिखेल अस्पतालको सामुदायिक शाखाले पनि सम्पर्क गरेर ५ प्रश्न सोध्दै क्रस चेक गर्ने गरेको छ ।
कुवेत, साइप्रस, जापान, इराक, दुबई, कोरिया, भारत, मलेसियालगायतका मुलुकबाट जिल्लावासी स्वदेश फर्किएका छन् । पनौतीमा १ सय १, मण्डनदेउपुरमा ३८, पाँचखालमा ३५, बनेपामा ३४, रोशी गाउँपालिकामा २२, बेथानचोकमा २२, तेमालमा १८, नमोबुद्ध नगरपालिकामा १८, महाभारतमा १४, खानीखोलामा ११, चौरीदेउरालीमा १० र भुम्लुमा ३ जना फर्किएका छन् । उनीहरुमा केहीको स्वास्थ्य परीक्षण भए पनि कोरोना लक्षण नदेखिएकाहरु होम क्वारेन्टाइनमा छन् ।
साभार: कान्तिपुर अनलाइन
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५