काठमाडौं /धर्मकीर्ति विहारका आवासीय अनागारिका गुरुमां संघवतीको आज सोमबार थेरवाद परम्परा अनुसार अन्तिम संस्कार गरिने कुरा धर्मकीर्ती बिहारले जनाएको छ ।
उहाँको ८२ वर्षको उमेरमा २०७६ माघ १९ गते आइतवारका दिन विहान ४ बजे निधन भएको थियो । उहाँको पार्थीव शरीर १९ गते दिनभर धर्मकीर्ति विहारमैं अन्तिम दर्शनका लागि राखिएको थियोे । आज माघ २० गते सोमवारका दिन दिउँसो १२ बजे धर्मकीर्ति विहारको धम्मागार धम्महलभित्र परित्राण पाठ, पांसुकुल दान, पुण्यानुमोदन कार्यपछि १ बजे शबयात्रा गरिने छ । शवयात्रा काठमाडौंको क्षेत्रपाटी, धोबीचौर धल्को, लुुती हुँदै शोभाभगवतीस्थित कर्णदीपमा थेरवादी संस्कारअनुरुप दिउँसो २ बजे अन्तिम दाहसंस्कार गरिने कुराको जानकारी नेपाल अनागारिका संघका प्रमुख एवं धर्मकीर्ति विहारका प्रमुख अनागारिका गुरुमां धम्मवती गुरुमांले दिनुभएको छ ।
पाल्पा-तानसेनवासी पिता जगतमान वज्राचार्य तथा आमा विष्णुमाया वज्राचार्यको कोखबाट जन्मिनुभएका चन्द्रप्रभा वज्राचार्यले वि. सं. २०३९ माघ २५ गते कुशीनगरमा ऊ. चन्द्रणी महास्थविरको उपाध्यायत्व तथा भिक्षु अच्युतानन्द महास्थविरको आचार्यत्वमा अनागारिका गुरुमां संघवती नामले प्रव्रजित हुनुभएको थियो । त्रिपिटकाचार्य भिक्षु कुमार काश्यप महास्थविर, अनागारिका रत्नमञ्जरी तथा सासनधज धम्माचरिय अग्गमहा गन्थवाचक पण्डित अनागारिका गुरुमां धम्मवतीको शासनिक अनुशासन एवं छत्रछायाँमा प्रव्रजित जीवन यापन गरी अनागारिका संघवतीले धर्मकीर्ति विहारमा आवासीय रुपमा ३७ वर्षसम्म प्रव्रजित जीवन यापन गर्नुभएको ।
अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडन्यले एक शोक वक्तव्य निकाल्दै दिवंगत अनागारिका संघवतीको बुद्धशासनिक योगदान स्मरणसहित उहाँको सुगतिसहित निर्वाण कामना गरेको छ । साथै संघलाई अन्तिम संस्कार कार्यमा सहभागी हुन आह्वान गरेको छ ।
सुभाय् मिडिया परिवार दिवंंगत गुरुमांको सुगतिसहित निर्वाणको कामना गर्दछ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५