भ्लादिमिर भ्लादिमिरोभिच पुटिन (१९५२–) स्तालिन जीवित हुँदाकै बखत विघटित सोभियत संघको लेनिग्राद शहरमा जन्मेका, वर्तमान रुसका तेस्रोपटक राष्ट्रपति, सोभियत संघ कालमा स्थापित ख्यातीप्राप्त जासुस संस्था केजीबीका निर्देशक रहिसकेका जुडो खेलका ब्लाक बेल्ट राजनीतिज्ञ हुन् ।
२ पटक राष्ट्रपति भएपछि एकपटक उनी द्मित्री मेद्भेदेभलाई राष्ट्रपति बनाएर रुसको प्रधानमन्त्री पनि भए । सोभियत संघको विघटनपछि रसियाली महासंघमा पुनःस्थापित भएको मुलुकमा जब रोगी बोरिस येल्त्सीन १९९६ मा राष्ट्रपति भए, तब उनले रुसको बागडोर सम्हाल्न सक्ने धेरै व्यक्तिलाई सत्तामा आफ्नो उत्तराधिकारीको लागि छनौट गरे, जाँचे फालिदिए । आखिर ३१ डिसेम्बर १९९९ मा यिनलाई कार्यवाहक राष्ट्रपति बनाइदिएपछि यिनी रुसी सत्ताको शिखरमा स्थान बनाउन सफल रहिआएका छन् ।
यिनको पहिलो राष्ट्रपति कालमा रुसी अर्थतन्त्रको गति निकै आकाशियो । अर्थतन्त्रमा रुसी मुद्रा (रुबल) को क्रयशक्ति ७२ प्रतिशतसम्म बढ्यो । चेच्न्याका मुसलमान पृथकतावादी विद्रोहीहरूलाई यिनकै पालामा तह लगाए ।
तर उक्रेनको संकटमा मुछिएर नाकाबन्दी लगाएपछि अर्थतन्त्रमा बृद्धि ३.७ प्रतिशतमा खुम्चियो । अपारदर्शी शासन, विरोधी प्रति असहिष्णु ब्यवहार, भ्रष्टाचारलाई नियन्त्रण गर्ने कार्यमा कमजोर आदि यिनका शासकीय विसंगतिका विशेषता हुन् ।
२०७१ (२०१५) मा यिनी १० दिन बेपत्ता भए । देशविदेशमा राष्ट्रपति पुटिन बिमारी भएको वा अपदस्थ भएको वा मरेकोसम्म अडकल बाजी भए । तर १० दिनपछि चैत १२ गते सोमबार एकाएक प्रकट भए र भने, “हल्लाविनाको जीवन रुखो हुन्छ” । यस्ता छन् यिनी !
चोटिलो तर्कको भाषण गर्नु यिनको विशेषता हो । चेच्न्यायाली पृथकतावादी विद्रोही मुसलमानलाई दमन गर्दा यिनले अपनाएको निर्ममतालाई लिएर पश्चिमी मुलुकले मानव अधिकारको आवाज उठाउँदा उनले ओठे जवाफ दिएका थिए, “मेरा पश्चिमा मित्रहरू कान खोलेर सुन्नुहोला, किनकि यो कुरा म दोहो¥याएर भन्न चाहन्न । तपाईँहरू कसका लागि किन र कुन अवस्थामा मानव अधिकारको कुरा उठाउनु हुन्छ, त्यो मलाई मात्र होइन दुनियालाई नै थाहा होला । हाम्रो मुलुकभित्र मैले कुन बेला के गर्नुपर्छ त्यो मैले भन्दा तपाईँहरूले धेरै बुझेको हुन सक्दैन ।”
रसियामाथि लागेको नाकाबन्दी खुलाउन आवश्यक पहल र प्रयास गर्ने सल्लाहबारे उनको जवाफ थियो, “म र्याल सिँगान र आँसु देखाएर नाकाबन्दी खुलाउने दया माग्न चाहन्न । दयाले न्यायको स्थान पाउन सक्दैन ।”
“People are always teaching us democracy but the people who teach us democracy don’t want to learn it themselves.” माथि उल्लेखित उनको वाणी जर्मनीको म्युनिखमा १० फेब्रुवरी २००७ का दिनको एक भाषणमा भनिएको हो । (साभार)
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५