सुधीर ख्वबि
आँखा भिज्नु रुनु हो भने
मन भिज्नु रोएको हुन्छ कि हुन्न ?
अम्बर, बादलको सहारामा रुन्छ
बादल बिजुलीको चम्काईमा भिज्छ
मन आँखाको बाटो भएर बग्छ
आँखा गालाको ओरालो भएर सुक्छ
पातको बिछोडमा रुख पनि उदासिमा डुब्छ
पातले पनि पीडाको स्वाद नुनिलो चाख्छ
हरेक सम्बन्धको बिच्छेद आँसुले धोएकै हुन्छ कि नाइँ !
हरेक थोपामा आत्मियताले स्पर्श गरेकै हुन्छ कि नाइँ ?
खोला बेस्सरी सुसाउनु
कुवाको पानी त्यसै सल्बलाउनु
धर्ती चिराचिरामा चिच्याउनु
सागर बेकाबु ज्वारभाटामा तड्पिनु
ढुंगा चुपचाप खण्डित चूर चूर हुँदै जानू
श्वास कहिले नफर्किने गरि हथात् जानू
सपनाहरु विमानस्थलबाट निर्जिव फर्किनु
मनमुटु फलाम बनाउनु र बिस्तारै खियापर्नु
मस्तिष्क शून्य हुनु, खडेरी पर्नु
जिन्दगीका पहाडका पहाडै गर्लाम्म झर्नु
यावत यी दृष्य परिदृष्यहरु
रोदनको संकेत यो हो कि होइन ?
रुने भनेको मन हो, आत्मा हो
न आँखा, न आँसु रुन्छ यहाँ
एउटा पुरुष मन , मात्र पुरुष होइन
एउटा तरल मन जो रुनै नपर्ने
रुन नहुने भन्ने छैन र त रुन्छ पनि
तर ऊ रुँदा आँखाले नरुन सक्छ
आँसुले साथ नदिन सक्छ
तर आँखा नरोइ मन रुँदा
भुईंचालो ल्याउन सक्छ
सुनामी आउन सक्छ
मन्दिर,मस्जिद र गिरिजाघर अनि
राजसिंहासन पनि ध्वस्त हुनसक्छ ।
समयले कोल्टेफेर्न सक्छ
जो कोहि पनि सत्ताच्युत हुन सक्छ
आँसु त्यो नारीपनाको होस्
या पुरुषत्वको होस्
घाऊ घाऊ नै हुन्छ पीडा पीडा नै हुन्छ ।
आँसु आँसु नै हुन्छ न पुरुष न नारीको ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५