काठमाडौं । जनकवि दुर्गालाल श्रेष्ठको निधनको ४५औँ दिनको पुण्यतिथिमा दुर्गालाल प्रतिष्ठान र बसन्त चौधरी फाउन्डेसनको संयुक्त आयोजनामा उहाँको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली तथा गुणानुस्मरण कार्यक्रम सम्पन्न भएको छ। ‘अक्षर यात्रा दशक आठ’ नाम दिइएको उक्त कार्यक्रममा साहित्य, भाषा र गीतसंगीतका क्षेत्रमा श्रेष्ठले पुर्याउनुभएको योगदानको चर्चा गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा जनकवि श्रेष्ठको अनुपस्थितिलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्न ‘अक्षरासन’ नाम दिइएको एउटा खाली कुर्सी राखिएको थियो। उक्त कुर्सीलाई नै श्रेष्ठको आसनको प्रतीकका रूपमा सजाइएको थियो। काठमाडौं महानगरपालिकाकी प्रमुख सुनिता डंगोलले उक्त आसनमा फूल अर्पण गर्दै दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख डंगोलले जनकवि श्रेष्ठको साहित्यिक सिर्जना र योगदानको स्मरण गर्दै उहाँका कविता रचनामार्फत उहाँ सधैँ जीवित रहने बताउनुभयो। उहाँले भन्नुभयो, “दुर्गालाल सर अब उहाँले लेख्नुभएका कवितामा बाँचिरहनुभएको छ।”
त्यसैगरी, कवि, गायक तथा उद्योगपति बसन्त चौधरीले भावविह्वल हुँदै जनकवि श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। उहाँले आफ्ना गुरु श्रेष्ठसँगको सम्बन्ध र उहाँको साहित्यिक योगदानको स्मरण गर्दै श्रेष्ठद्वारा रचित ‘रुवाई’ कविता मिठो स्वरमा गाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।
कार्यक्रममा जनकवि श्रेष्ठका जेठा छोरा सुमन श्रेष्ठले आफ्ना पिताको दैनिक जीवन, पारिवारिक सम्बन्ध र व्यक्तित्वका विविध पक्षबारे स्मरणीय मन्तव्य राख्नुभयो। उहाँले आफ्ना आमा–बुबाबीचको प्रेम, पारिवारिक आत्मीयता तथा बुबाका मानवीय गुणहरूको चर्चा गर्दै उहाँको जीवनका अविस्मरणीय प्रसंगहरू सुनाउनुभएको थियो।
यसै अवसरमा जनकवि श्रेष्ठद्वारा रचित छवटा कृति विमोचन गरिएको थियो। साथै, नेपाली तथा नेपाल भाषाको साहित्यमा उहाँले पुर्याउनुभएको विशिष्ट योगदानको कदर गर्दै उहाँलाई ‘अक्षर महर्षि’ सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा जनकवि श्रेष्ठद्वारा रचित नेपाली र नेपाल भाषाका गीतहरू प्रस्तुत गरिएका थिए। उहाँका सिर्जनाहरूको सांगीतिक प्रस्तुति र साहित्यिक चर्चाले कार्यक्रमलाई भावपूर्ण बनाएको थियो।
भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा क्रियाशील साहित्यकार, कवि, कलाकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा जनकवि श्रेष्ठको साहित्यिक यात्रा, सिर्जनशीलता र नेपाली तथा नेपाल भाषाको साहित्यमा उहाँले पुर्याउनुभएको योगदानको चर्चा गरिएको थियो।
जनकवि श्रेष्ठको स्मृतिमा आयोजित ‘अक्षर यात्रा दशक आठ’ कार्यक्रमले उहाँका साहित्यिक सिर्जना, गीत तथा भाषिक योगदानलाई नयाँ पुस्तामाझ परिचित गराउँदै उहाँको स्मृतिलाई अक्षर र सिर्जनामार्फत जीवन्त राख्ने सन्देश दिएको छ।





सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५