• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

विक्रमशील महाविहार र ठमेलकाे इतिहास


सुभाय् संवाददाताJanuary 2, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

– भागवतनरसिंह प्रधान
काठमाडौं महानगरपालिका वडा नं. २९, ठमेलकाे सञ्चय कोष केन्द्रीय कार्यालय र अस्कल क्याम्पस बाटोको पश्चिममा अवस्थित विक्रमशील महाविहार काठमाडौं उपत्यकाको अति प्राचीन् विहारमध्ये गणनामा आउँछ । उपत्यकाको सबैभन्दा पुरानो विहार साँखुको वज्रयोगिनी आसपासमा रहेको गुँ विहार मानिन्छ । विक्रमशील महाविहारको पुरानो भग्नावशेष ठमेल गल्कोपाखा सामाखुसीबाट ब्रिटिस चिहानको पश्चिम सानो बाटिकामा अहिलेसम्म पनि उपलब्ध छ । यहाँस्थित पुरानो विक्रमशील महाविहारलाई सामाखुसीको किनारमा रहेकाले यसलाई सामावही भन्ने चलन थियो । 
सामाखुसीआसपास हर साल सानो तिनो बाढी आइरहनाले यसलाई ठमेलको हारांम्ह म्ह्याय् मचा भनेर जानिन्छ अर्थात् चुलबुले पुरानो सामावही सामाखुसीको बाढीले, भूकम्प वा आगजनीले ध्वस्त भएपछि स्थानान्तरण गरी उच्च भू-भाग हालको विक्रमशील महाविहारको दक्षिण-पश्चिम भागमा बनाइयो । यसको उदाहरण हो, स्व. इन्जिनियर रमेशचन्द्रलाल प्रधानको घर निर्माणको सिलसिलामा जग खन्दा जमिनमुनि भेटिएका ठूलाठूला जग ।
विहारभित्रको विद्यालय बनाउने क्रममा जग खन्दा ११औँ शताब्दीभन्दा पुरानो अनुमान गर्न सकिने इँटा पाइएको थियो । त्यो जग अहिलेको भन्दा पुरानो विक्रमशील महाविहारको हो । हालसम्म पनि विहारको सालिन्दा खड्ग जात्रा र चकं द्य: जात्रा यही विहारको भग्नावशेष ढोकाबाट भित्रबाहिर गर्ने चलन छ ।
वि.सं. १५८२ मा पाल्पाका राजा मुकुन्द सेनले उपत्यकामा हमला गरी शहरभन्दा उत्तरतिरको ठमेलमा आगो लगाएका थिए । यसभन्दा अगाडि ने.सं. ४७० मार्गकृष्ण तृतीयाका दिन शामसुद्दीन सुल्तानले नेपाल जितेर पशुपति, स्वयम्भू, भादगाउँ, पाटन, यङ्गल, काठमाडौं शहरको दक्षिण भाग यङ्गाल (काठमाडौं शहरको उत्तर भाग) मा आगो लगाएका थिए । तिब्बती इतिहासमा पनि विक्रमशील महाविहार आगोले ध्वस्त भएको भनी वर्णन गरिएको छ । हालको विक्रमशील महाविहारको भौतिक संरचना तेस्रो हो ।
मल्ल राजा प्रताप मल्लले आफू स्वयम् आई यहाँ भएको सुनको अक्षर लिखित शतसाहस्रिका प्रज्ञा पारमिता दर्शन गरी प्रज्ञा पारमिताको महिमासहित कविता रचेका थिए । यो स्वर्ण अक्षर प्रज्ञा पारमिता संवत् ३४४ मा पण्डित जीन श्रीले लेखेको उल्लिखित छ ।
यस विक्रमशील महाविहारको प्रचलित नेवारी नाम हो– थँबही । तर, यसको खास नाम थँबहिल हो । यो नाम दुई अर्थमा आउँछ । या त कान्तिपुरको सबैभन्दा जेथो वा पुरानो बहिल या सबैभन्दा उत्तरको । काठमाडौं उपत्यकाको योभन्दा उत्तरमा कुनै विहार वा बहिल छैन । यो विहार कान्तिपुरको उत्तरी माथिल्लो भेगमा पर्ने हुँदा थँबहिल भनिएको हो । थँ शब्दले नेवारी भाषामा माथिल्लो तथा ज्येष्ठताको अर्थ दिन्छ । यसै विहारको नामबाट यस विहार क्षेत्रको नाम थँबहिल रहन गएको हो । काठमाडौंमा धेरै यस्ता स्थानहरू छन्, जसको नाम विहारको नामबाट राखिएका छन् । उदाहरणका रूपमा यट्खा बहाल, जनबहाल, क्वा: बहाल आदि । थँबहिलबाट थँबहि भएको हो । थँबहिबाट ठमेल भयो ।
कुनै पनि विहार अथवा बहिलको संस्कृत नामकरण गरिएको हुन्छ । त्यस्तै, यो विहारको संस्कृत नाम हो विक्रमशील महाबिहार , सिंहकल्प नगर । तर, यस विहारलाई राज विहार तथा धर्मधातु विहारबाट पनि चिनिन्छ । भारतमा धर्मधातु विहार नामले प्रचलित छ ।
विक्रमशील महाविहार पुरानो भइकन यसको प्रमाणित ऐतिहासिक तथ्य हालसम्म पनि प्राप्त हुन सकेको छैन । तर, यसको प्राप्त भौतिक अवशेषले यो प्राचीन धरोहर भन्ने प्रमाणित गर्दछ । कारण, लिच्छविकालीन अवशेषहरू यस विहारका वरिपरि उपलब्ध छन् । यस कारण यो विहार लिच्छविकालीन हो । जस्तै, अमृत साइन्स क्याम्पसपछाडिको गाः हिटीमा रहेको लिच्छविकालीन ढुङ्गाका अवशेष, त्यस्तै मूल चोकको दक्षिणमा रहेको आँगन चोकको बीचमा रहेका तीनतल्ले चैत्य, जसको चारैतिर खाली गवाक्षहरू छन् टुँ चोकमा रहेको चारमुखे बुद्धको चैत्य, जसमा लिच्छविकालमा ढुङ्गामा प्रयोग गरिने पालिस चैत्यको शिरोभागमा प्रयोग छ । यस चैत्यका चारैतिर भगवान्‌ बुद्ध कुदिएका छन् । यो चैत्य इस्वी संवत्‌को छैटौँदेखि आठौँ शताब्दीताका निर्माण गरिएको अनुमान गर्न सकिन्छ । मूलद्वारको सडकपारि तीन लिच्छविकालीन चैत्यहरू छन्, जसको तलतिरको दायाँमा प्रज्ञा पारमिता, बायाँमा अमिताभ बुद्ध र बीचमा अक्षोभ्य मूर्तिहरू बनाइएका छन् । हालको विहार पूर्वमल्लकालीन भए पनि विहारको सुरुवात लिच्छविकालको हो भन्ने प्रमाणित गर्दछ ।
यो विहार दुनियाँ गुठीमध्ये सबैभन्दा सम्पन्न गुठीमध्ये एक हो । राणाकालसम्म पनि जग्गाजमिन ठमेलदेखि नागार्जुनसम्म फैलिएको थियो । जामाचोमा रहेको चैत्य नै प्रधान परिवारको देवाली चैत्य हो । राणाकालमा नागार्जुन डाँडो जबर्जस्ती हरण गरिएको हो ।
नागार्जुनजस्तै विक्रमशील महाविहारको अधीनमा रहेको १०० मिटरपूर्वस्थित कमल पोखरी निरंकुश चन्द्रशमशेरका छोरा केशर शमशेरले आफ्नो दरबार बनाउँदा आफ्नो कम्पाउण्डभित्र पारे । यो पोखरीको आफ्नै किसिमको महत्त्व थियो । यही पोखरीको कमलको फूल यस विहारका देवता श्री सिंह सार्थवाहको नित्य पूजामा चढाइन्थ्यो । साथै, ठमेलबाट नदीनाला टाढा भएकाले प्रधान परिवारले श्राद्धपछि पिण्ड यसै पोखरीमा विसर्जन गर्ने चलन थियो । त्यो संस्कार तथा सांस्कृतिक स्थल केशरशमशेरले नाश पारिदिए । यही पोखरीको डिलमा रहेको लिच्छविकालीन चैत्यहरू पनि नष्ट गरिदिए । यससम्बन्धमा गुठी संस्थान र पुरातत्व विभागले चासो देखाएको पाइँदैन ।
यस विहारका आफ्नै महत्त्व तथा विशेषता छन् । अरू विहार वा बहिलहरूमा मूल देवताका रूपमा बुद्ध वा बोधिसत्व स्थापना गरिन्छ तर यस विहारमा न त बुद्ध न त बोधिसत्व स्थापना गरिएको छ । यहाँ श्री सिंह सार्थवाह वा आजु द्य भन्ने पनि पुकारिन्छ, स्थापना गरिएको छ । त्यस्तै, विहार वा बहिलमा वज्राचार्य वा शाक्य परिवारबाट हर्ताकर्ता हुन्छन् तर यस विहारका हर्ताकर्ता र रेखदेख प्रधान परिवारले गर्छन् र मूल देवता श्री सिंह सार्थवाहको पूजा वज्राचार्यले गर्न पाउँदैन ।
त्यति मात्र होइन, भित्र पनि पस्न पाउँदैनन् । श्री सिंह सार्थवाहको पूजा पाँचथरी नेवारलाई काठमाडौंका मूल विहारहरूका वज्राचार्यहरूबाट शिक्षादीक्षा दिई, विधि पुयाई, नियुक्त गरी र सोही पाँचथरी नेवार यस सिंह सार्थवाहको मूर्तिको पुजारी बन्दछन् । काडमाडौं महानगरपालिकाको परम्परागत छ थरी नेवारहरूमा विक्रमशील महाविहार आवद्ध प्रधानहरू मात्रै बौद्धमार्गी हुन, जसले यस विहारको नियन्त्रण, व्यवस्थापन रेखदेख र सम्भार गर्दछन् ।
यो विहार महत्त्वपूर्ण हुनमा यसले राजकीय सम्मान पाउनु पनि हो । राणाकालसम्म पनि यस विहारको महत्त्वपूर्ण पूजा संचालन गर्दा गद्दीसीन राजाले नै पूजा संकल्प गर्नुपर्थ्यो । संकल्पका लागि विहारका वज्राचार्य पुरोहितले यहाँको कामदारलाई गोल पूजाका सामग्री बोकाई दरबारभित्र संकल्प गराई फर्काउने चलन थियो । यस्तै, दसैँमा यस विहारको पूजा तलेजुमा लाने चलन छ ।
यो विहार तीन चोकमा फैलिएको छ:
१) तुंच्चोक दक्षिणमा जहाँ फाल्गुन पूर्णिमाको रातमा श्री सिंह सार्थवाहको प्रतीक चकँ द्य जात्रा मनाइन्छ ।
२) मूलचोकबीचको भाग, जहाँ विहारका मूल देवता श्री सिंह सार्थवाहको मानव उचाइभन्दा अग्लो अभय मुद्राको मूर्ति यही चोकमा प्रधान परिवारका छोराहरूको छेवर र व्रतबन्ध गरिन्छ र माथिल्लो तल्ला उत्तर-पश्चिम कुनामा नवविवाहित जोडीलाई अन्माउने गरिन्छ । नेवारीमा ह्वे विकिग भनिन्छ । नयाँ दुलहीलाई भित्र्याई यो विधि अपनाइएन भने प्रधान समाजले सदस्यको रूपमा मान्दैन । बाहिरको स्वयम्बर साइत विधिलाई महत्त्व दिँदैन ।
३) उत्तरी ठूलो चोकलाई आँगन चोक भनिन्छ । यहाँ प्रधानहरूका कुल देवता र आँगन दुवै यस चोकमा रहेका छन् ।
विक्रमशील महाविहार ठमेल टोलको ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको स्थल हो । यसको प्रसिद्धि स्वदेश तथा विदेशमा पनि फैलिएको छ । तर, हाल केही दशकदेखि नेपालको पर्यटन केन्द्रको रूपमा पनि विकास भइरहेको छ । काठमाडौं उपत्यकाभित्र आउने विदेशी होस् वा स्वदेशी पर्यटक, ठमेल पर्यटकीय केन्द्रमा नआएको कमै होला । ठमेल पर्यटकीय केन्द्र विक्रमशील महाविहारबाट मुस्किलले ५ मिनेटको पैदल दूरी पश्चिममा पर्छ ।
विक्रमशील महाविहारको चर्चा गर्दा दुई विदेशी विद्वान्‌को नाम उल्लेखनीय छ । एक हुन् अतिशा र दोस्रो धर्मस्वामी ।
अतिशाको जन्म दशौँ शताब्दीको अन्त्यताका हालको बंगलादेशको राजधानीनजिकै विक्रमपुरनजिकैको वज्रयोगिनी गाउँमा भएको थियो । यिनले राजकुलमा जन्मी आफ्नो कार्यथलो भारतको नालन्दा, विक्रमशील महाविहार, औदन्तापुरी तथा सोमपुरीमा अध्यापन गरी आफ्नो कृति चारैतिर फैलाइसकेका थिए । यिनी महायान बुद्ध धर्मका प्रकाण्ड विद्वान् थिए । त्यस कारण पश्चिम भोटका राजाको निम्तोमा नेपाल भई पश्चिम भोटमा गएका थिए । जाने सिलसिलामा सन् १०४१ मा एक वर्ष नेपालमा बिताएका थिए । त्यसबेला थै बहिललाई थम विहार भनिन्थ्यो र यससम्बन्धी राम्रै परिचय थियो । विहारमा खाने तरिका साथै यहाँ भिक्षुहरूको शिलपालन तथा धर्मको आचलन अध्ययन पनि धर्मसंगत थियो भनी उनले उल्लेख गरेका थिए । विक्रमशील महाविहारबाट आउनुभएका, यस विहारका शुभचिन्तक तथा विहारको विकासमा योगदान पुर्‍याउनुभएकाले पछि यस विहारलाई विक्रमशील महाविहार भनी जानिन थालियो ।
अर्का विद्वान् धर्मस्वामी, जो भोटका हुन्, उनी त्यही शताब्दीको पूर्वार्द्धमा नेपाल आएका थिए । बसाइचाहिँ स्वयम्भू तथा धम विहार, जसलाई धर्मधातु विहारले पनि चिनिन्छ, जहाँ जम्मा आठ साल बिताए, जहाँ धर्मसम्बन्धी पर्याप्त अध्ययन गरी ज्ञान प्राप्त गरे । त्यसपछि उनी भारतमा गए । साथमा यथेष्ट रूपमा धर्म ग्रन्थहरू लगे । विक्रमशील महाविहार भारत र भोटमा धेरै प्रसिद्धि कमाएको विहार हो । यहाँ उक्त दुवै ठाउँबाट विद्वान्‌हरू आई, जमघट भई, धर्मशास्त्रको ज्ञान आदानप्रदान गरिन्थ्यो ।
नेपालको नयाँ भूमि व्यवस्था ऐनबाट अरू ठाउँका गुठीहरूमा जस्तै यस विक्रमशील महाविहारलाई ठूलो असर परेको छ । यहाँको मूर्त-अमूर्त सांस्कृतिक सम्पदाहरू नयाँ ऐनले गर्दा परम्परादेखि चलिआएका कति लोप हुने क्रममा छन् भने कति लोप भैसकेका छन् । यसबारे सरकारले जतिसक्दो चाँडो नीति बनाउनु अति आवश्यक भैसकेको छ, किनभने सांस्कृतिक सम्पदा नै देशका चिनारी हुन् ।
ठमेल (थँ बहिल) क्षेत्रको फैलावट
परापूर्वकालदेखि परम्परागत रूपमा चलिआएको विहारको भगवान्‌को पूजा, पर्व, जात्रा चलाउन, उक्त विहार तथा विहारपरिसरका पाटी, इनार, ढुङ्गेधारा, चोक, पोखरी, डबली आदिको जीर्णोद्धार तथा मर्मतका निम्ति आयस्ताका लागि परापूर्वकालदेखि नै राखिएका भगवान्‌का नामका जग्गा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको उपत्यका विजयपश्चात् पनि यथावत् नै कायम राख्न विसं १८३९ आषाढ वदी १२ रोज १ मा थँ बहिलसहित मदनपुर, वहि गु, भोद्या घर, भिल्लाकोट घर, ढो गाउँको लालमोहर भएको र उक्त नेपालका राजाका पालादेखिको (मल्लकाल) भगवान्‌का जग्गाहरूमा उक्त जग्गाहरूको कुरियाका झगडाको पंचखतबाहेक आम्दानीको छैटी अदालतको स्याहामा दराई बाँकी भगवान्‌को भण्डारमा दाखिला गर्नू भन्ने वि.सं. १९३७ साल पुस सुदी ९ मा भगवान्‌ बहाल (थँ बहिल) का तालुकदार पृथ्वीमानसिंका नाममा दुईछापे रुक्का दस्थत भएको देखिन्छ । सोहीबमोजिम चिफ कर्णेल ईमानसिंह बस्न्यातले वि.सं. १९५८ सालमा घर क्याम्प बनाउँदा गुठीसँग खिचलो पर्दा उक्त जग्गा थँ बहिलको भगवान्‌को नामको गुठीको जग्गाभित्र परेको ठहरी पहाड बन्दोबस्त बिर्ता फाँटबाट वि.सं. १९७१ मा तत्कालीन श्री ३ महाराज कहाँ चढाएको रिपोर्टमा भगवान्‌को नामको यँ बहिल (ठमेल) को जग्गाको चारकिल्ला खुलाइकोमा थै बहिल जिन्सी गोदामअगाडिका सडकदेखि दक्षिण श्री मे.ज. भैरवनरसिंह राणाको ढोकाअगाडिको सडकदेखि उत्तर मजकुर जनरलको ढोकाअगाडिको चप्रासी पाटी निस्कने सडकदेखि पूर्व श्री प.क. जनरल जीतशमशेरको दरबार बारीको पर्खालदेखि पश्चिम ४ किल्ला सिमानाभित्र भगवान्‌को गुठीले भोग चलन गरिआएको भन्ने उल्लेख गरिएको छ ।
उक्त घर बनाउँदा प्रमाङ्गी तोक सदरबमोजिम कारबाही भई त्यसको सट्टाभर्ना भगवान्‌को गुठीकै नाममा टोखामा जग्गा बिर्ता बक्सी वि.सं. १९७४ साल कात्तिकमा खड्ग निशानसहितको श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहबाट लालमोहर बक्स भएको देखिन्छ ।
श्री प.क.ज. जीतशमशेरको दरबार हालको केशर महल हो, श्री मे.ज. भैरवनरसिंह राणाको ढोका हाल ठमेल चोकको पश्चिमपट्टिको नरसिंह गेट (ढोका) हो । जिन्सी गोदाम, हाल अस्कल क्याम्पसको छात्रावासको पूर्व–पश्चिमपट्टिका जग्गा हुन् ।
राजा सिंह सार्थवाह
श्री गणेसायेनम: । । परापूर्वका राजा विश्वकेतुका बषतमा पंजाव देषी १० । १५ दिनको वाटो पश्चीम चन्द्रभागा नदि र सतरुडा नदिका संगममा चन्द्रभागा नदि तरी नैवार सहरवाट आयाका थाकुर जातका हुन् तहाँ उप्रान्त सिंहकल्प भनेको सहरका राजा सिंह केसरे राजाका पालामा सिंह ठाकुर तिनि थुलो महाजन भयाका थिया तिनका पुत्र सीह सार्थ वाहु ठाकुर तिनिले ५०० वेपारि लि उत्तर तर्फ रतन वेपार जादा जहाज व्रम्ह नदि तर्नालाई जाहाजमा वसि जाँदा जहाज फुटि नदीमा पर्दा ५०० जवान सिहल दिपमा उतर्दा राछेसनिहरूको मायामा परि २।४ वर्ष ती राछेसनिहरूसँग भोग विलास संष गरि बसेका थीया परमेश्वर करुनामयेका भगतिमा लये भयाको सिह सार्थवाहु हुनाले परमेश्वर वाट उपदेस पाइ स्यामकर्ता घोडा चढि ५०० भागि आउदा राछेसनिहरूका मायामा परि अरू सबै राछेसनिहरूले मारे सिंह सार्थवाहु यकलै वाची आयो आफना गृह ठबहेल्मा आइ पगुदा ति सिंह सारथवाहुकि स्वास्नि राक्षेसनि ८ प भै आउदा सिंह केतु राजाले देषदा राजा मोह भै रानि गरी राखदा केहि वर्ष पछि अवसर पारी ति राक्षेसनि रातका बीचमा सिंगल दिप पुगि आफा दिदि वैन्हि सवै राक्षेसनिहरूलाइ वोलाइल्याइ सिंह केतु राजास्मेद दर्वारम जो भयाको ति राक्षेसनिहरूले भक्षे गरेछन् भोलिपल्ट मंत्री भारादार दुनिञाहरूले थाहा पाइ सिंह सार्थवाहुले ति राछेसनिहरूलाइ षडगप्रहार गरी भगायो र मंत्री दुनिञा गैहले सिंह सार्थवाहुलाइ राजा थापि माने र सिंह सार्थवाहुवाट पनि ति राक्षेसनिहरूसँग लडाइ गर्नालाइ दुनिञाहरूलाई योग मंत्र सिकाइ सिंगल दिपमा गै राक्षेसनिहरूसंग लडाइ गरी राक्षेसनिहरूलाइ जिति आइ सिंह केतु राजाका राजधानिमा राजा भै केहि काल पछि जोगांवर भै श्री भगवान्‌ सिंह सार्थवाहु कहलाइ सिद्ध हुनु भया ।
याे लेखकसँग रहेको वंशावलीबाट दुरुस्त पाठ सारिएको हाे । यिनलाई गंधूरी जूजू (गंधूरी भट्टारक) पनि भनिन्छ ।
थँ बहिलको क्षेत्रको नाम
थँ बहिल प्राचीन् नाम सिंहकल्प नगर हो । थँ बहिल विक्रमशील महाविहारसँग सम्बन्धित अप्रकाशित मध्यकालका ताडपत्रहरूको ने.सं. ५८२, पाना नं. २५ को दोस्रो हरफमा थैं बहिललाई गजुरी…. क्षेत्र नाम प्रदेश…भनी उल्लेख गरिएको हुनाले यस क्षेत्रलाई त्यस बखत गजुरी नामको प्रदेशको रूपमा उल्लेख गरिएको खुल्न आउँछ । यस विहारको मूल चोकको भगवान्‌को मूर्तिको ढोकासँग रहेको ने.सं. ९२४ को अभिलेखमा श्री ३ विक्रमशील महाविहार थँ बहिल देशस… उल्लेख छ ।
बहिललाई देशको रूपमा पनि लिइने गरेको यस अभिलेखले खुलाउँछ । यस विहारमा प्रसिद्ध महायानी बौद्ध दर्शन प्रज्ञा पारमिताको दर्शनले मात्र ठूलो पुण्य हुने त्यस्तो कस्मिक इनर्जी डिभाइन पावर भएको कुमारीले समेत दर्शन गर्नुपर्ने १ लाख २५ हजार श्लोक भएको प्रज्ञा पारमिता भएको स्थानमा बस्न पाउने मानिस भाग्यमानी भएकाले यस सिंहकल्प नगर भगवान्‌ बहालको अर्को नाम प्रज्ञा नगरी पनि भएको संस्कृतविद् सत्यमोहन जोशीले भनेका थिए ।
लिच्छविकालमा कान्तिपुर महानगरको दक्षिण भेक (दक्षिण कोलिग्राम) र उत्तरी भेक (कोलिग्राम) गरी कान्तिपुर शहरलाई दुई भागमा विभक्त गरिएको पाइन्छ । लिच्छविकालपछि दक्षिण कोलिग्रामलाई यङ्गल र कोलिग्रामलाई यम्बु भनिएको पाइन्छ ।
अधिकांश पुस्तकमा थँ बहिल कान्तिपुर शहरबाहिरको क्षेत्र भनी उल्लेख गरिएको छ । प्रकाशित थँ बहिल विक्रमशील महाविहारसँग सम्बन्धित अप्रकाशित मध्यकालका ताडपत्रहरूको ने.सं. ५६० को पा.नं. १८ को पूर्वमल्लकालको ताडपत्रमा… श्रेयोस्त …संवत् ५६० …चैत्र शुक्ला पञ्चम्यायो श्री यम्बू महानगरे । श्री सातीगुलके श्री विक्रमशील महाविहार वासिनस् महापात्र भनी उल्लेख गरिएकाले यँ बहिल कान्तिपुर महानगरको बाहिरी भेगमा होइन, कान्तिपुर महानगरभित्रको उत्तरी भेगमा पर्ने सामन्त (महापात्र) द्वारा शासित नगर । देश तथा प्रदेशको रूपमा रहेको यस अभिलेखद्वारा सिद्ध हुन्छ । ने.सं. ७८६ सम्म पनि थँ बहिलका प्रधानहरूलाई महापात्र पदले सम्मानित गरिएको थँ बहिल मूल चोकभित्रको ने.सं. ७८६ को अभिलेखले सिद्ध गर्छ ।
थँ बहिल, विक्रमशील महाविहारका जात्रा, पर्व तथा संस्कारहरू
यस विहारका संस्थापक सिंह सार्थवाह भनिन्छन् । यस विहारको मूल चोकमा यिनै सिंह सार्थवाहको मूर्ति स्थापना गरिएको छ । यिनलाई उक्त विहारका भगवान्‌का रूपमा पुज्ने गरिन्छ । सिंह सार्थवाहलाई थँ बहिलका प्रधानहरूका पूर्वज भनिन्छ ।
सामन्त (महापात्र) का हैसियतले यस क्षेत्रमा मल्लकालको पूर्वार्द्धदेखि उत्तरार्द्धसम्म शासन गरेका प्रधानका पुर्खाहरूले यस विहार परिसरमा धर्मकीर्तिका लागि विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वका मन्दिर, कमल पोखरी, ढुङ्गेधारा, पाटी, धर्मशाला इनार, चोक, डबली निर्माण गराए । विभिन्न पूजा, संस्कार, चाड–पर्व, जात्रा आदिको थालनी गरे । तसर्थ, यस विहारका परापूर्वकालदेखि चलिआएका सम्पूर्ण दैनिक नित्य पूजा, महास्नान, जात्रा, चाडपर्वहरूको सञ्चालनको व्यवस्थापनको जिम्मा तथा सम्पूर्ण चल-अचल जायजेथाहरूको संरक्षण परापूर्वकालदेखि प्रधानहरूमा निहित रहेको पाइन्छ ।
पृथ्वीनारायण शाहले यस क्षेत्रका सामन्तहरूसँग १८२५ भाद्र २२ गते लडाइँ गरी अधिकार जमाए पनि उनको उपत्यका विजयपश्चात् विहारका भगवान्‌का नाममा रहेका जग्गाहरू साबिकबमोजिम भगवान्‌का नाममा अर्पण गरी परम्परागत रूपमा चलिआएका पूजा, जात्रा, पर्व आदिलाई निरन्तरता दिन लालमोहर गरिदिएका थिए । त्यसैले उक्त आयस्ताबाट विहारका प्रधानहरूले विहारका भगवान्‌का नामका श्री सिंह सार्थवाह गरुड भगवान्‌ गुठीलाई स्थायी रूपले परम्परागत पूजा, संस्कार, चाड-पर्व, जात्राहरूको संरक्षण तथा निरन्तरता दिँदै आइरहेका छन् ।
यस विहारका परापूर्वकालदेखि परम्परागत रूपमा मनाइँदै आइरहेका मौलिक दैनिक नित्य पूजा, स्नान, जात्रा पर्वहरू तथा संस्कारहरू छन् । यस विहारका केही सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक महत्त्वका जात्रा, पर्व तथा संस्कारहरू निम्न प्रकारका रहेका छन् ।
विहारका भगवान्‌लाई दिनहुँ कमल पोखरीको कमलको फूल, पानी अक्षता आदिले नित्य पूजा, स्नान गराई भगवान्‌को पूजा अर्चना गराइने धार्मिक सस्कार । (विहारका भगवान्‌लाई कमल पोखरीको पानीबाट नित्य स्नान गराइने धार्मिक संस्कार नष्ट गरिएको छ ।)
फाल्गुन पूर्णिमामा विहारका भगवान्‌लाई हुँ चोकमा र सरस्वती मन्दिरको दक्षिणतिरको चोकमा रहेको डबलीमा राखेर गरिने चकँद्य जात्रा ।
चैत सुदी चतुर्दशीमा मनमैजुमा गरिने मकँ पुइकेगु जात्रा ।
दसैँको टीकाको दिन मनाइने पायो (खड्ग) जात्रा ।
इन्द्रजात्राको पूर्णिमामा नचाइने अस्माचुली जात्रा । (हाल यो नाच देखाउने परम्परा लोप भइसकेको छ ।)
यस विहारका प्रधानहरूको जन्मदेखि मरणसम्मका सम्पूर्ण संस्कारः पास्नी, व्रतबन्ध, विवाह, मृत्यु हुँदा सम्पूर्ण दाहसंस्कार विहारको गुठीमार्फत गरिने, श्राद्धको पिण्ड यसै विहारको कमल पोखरीको डिलमा विसर्जन गर्ने धार्मिक संस्कार । (यस विहारको कमल पोखरीको डिलमा श्राद्धको पिण्ड विसर्जन गर्ने धार्मिक संस्कार नष्ट गरिएको छ ।)
श्री लुमडी भद्रकालीको प्रख्यात १२ वर्षे धार्मिक नाच देखाउने जात्रा । (हाल यो जात्रा देखाउने परम्परा लोप भइसकेको छ ।)
माथि उल्लिखित परापूर्वकालदेखि चलिआएका जात्रा, पर्व, संस्कारहरूजस्ता अमूर्त तथा पाटी, पोखरी, इनार, चोक, डबलीजस्ता मूर्त सम्पदा कतिपय नष्ट गरिएका छन् त कतिपय नष्ट हुँदैछन् । कैयन् यस्ता धार्मिक संस्कार, जात्रा, पर्वहरू तथा प्राचीन् स्मारकहरू यस विहारमा छन्, जसबारे विहारका प्रधानहरू तथा स्थानीयहरू अनभिज्ञ रहेका देखिन्छन् । जसमध्ये धार्मिक, सांस्कृतिक ऐतिहासिक महत्त्वको कमल पोखरी नष्ट गरिँदैछ भने श्री लुमडी भद्रकालीको प्रख्यात १२ वर्षे धार्मिक नाच देखाउने, इन्द्रजात्राको पूर्णिमा नचाइने अस्माचुलिको नाच देखाउने आदिजस्ता धार्मिक तथा सांस्कृतिक परम्परा लुप्त भइसकेका छन् ।
(प्रधानकाे थँ बहिल विक्रमशील महाविहारकाे ऐतिहासिक कमल पाेखरी पुस्तक प्रकाशित छ)          साभार शिलापत्र

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑