• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 24, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / प्रविधि

महिला ‘सर्जन डाक्टर’ बन्न सक्दैनन् भन्ने धारणालाई चिर्दै डा.पलेस्वां जोशी


सुभाय् संवाददाताMarch 8, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

माया श्रेष्ठ

काठमाडौं । नेपालमा सर्जन विशेषज्ञ डाक्टरमध्ये प्रतिष्ठित नाम हो पलेस्वाँ जोशी लाखे । महिलाले कार्यक्षेत्र र परिवारलाई सन्तुलन मिलाएर लैजान सक्दैनन् भन्ने सोच्नेहरूका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) जिआई–ग्यास्ट्रो इन्टेस्टाइनल एन्ड जनरल सर्जरीको विभागीय प्रमुख डा. लाखे एउटा गतिलो जवाफ हुन् । महिला सर्जनलाई उचित स्थान दिएको खण्डमा आफ्नो अब्बलता प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण हुन् उनी । अध्ययन, पेशागत जिम्मेवारी र घर–परिवारलाई सफलतापूर्वक अघि बढाउन सफल उनी नेपाली महिलाका लागि प्रेरणाको स्रोत पनि हुन् ।

आमाको प्रेरणा

सानैदेखि लाखेलाई शिक्षिका बन्ने रहर थियो । जब उनी हुर्किदै गइन्, तब आफ्नी आमा स्त्रीरोग विशेषज्ञ डा. विमला जोशीको पेशाप्रतिको लगाव, लगनशीलताबाट प्रभावित हुँदै गइन् । बिरामीहरु उपचारपछि निको भएर घर फर्किदा उनले आफ्नी आमामा देखेको सन्तुष्टिले पनि शिक्षिका बन्ने उद्देश्यलाई त्यागेर डाक्टर बन्ने निष्कर्षमा पुगिन् उनी ।

बाल्यकालदेखि पढाइमा अब्बल भएकाले उनी अमृत साइन्स क्याम्पसबाट आइएसी पूरा गरेपछि छात्रवृत्तिमा पाकिस्तानको लाहोरस्थित फातिमा मेडिकल कलेजमा अध्ययनका लागि पुगिन् ।

सन् १९९५ मा एमबीबीएस सिध्याएर डा. लाखे स्वदेश फर्किन् । पाकिस्तानमा प्रोफेसर सर्जन डा. खलिदा उसमानीको अन्डरमा रहेर काम गर्दा उनलाई सर्जन बन्ने प्रेरणा मिल्यो । सन् १९९५ अघि पाकिस्तानमा सर्जन उसमानीसँगको संगतले उनमा अप्ठेरोसँगै महिलाले पनि चुनौतीपूर्ण कार्य गर्न सक्छन् भन्ने मानसिकताको विकास भयो ।

यता, बुवाले उनलाई क्यान्सरको उपचार गर्ने विशेषज्ञ बन्न सुझाव दिए । मनमा सर्जन हुने दृढ निश्चय बनाइसकेकी लाखेले बुवाको इच्छा पनि पूरा हुने र आफ्नो चाहना पनि पूरा हुने बाटो रोजिन् ।

‘सर्जरी गरेर पनि क्यान्सरको उपचार गर्न सकिन्छ,’ उनले भनिन्, ‘त्यसैले जिआई सर्जनका रुपमा मैले आफ्नो करिअर अघि बढाउने निधो गरेँ ।’

जिआई सर्जरी अन्तर्गत सम्पूर्ण पाचन क्रियासम्बन्धी अङ्ग अर्थात् खाने नली, पेट, कलेजो, सानो आन्द्रा, ठूलो आन्द्रा, आमासय, पित्तथैली आदि सम्बन्धी क्यान्सर भएका बिरामीको सर्जरी गर्नुपर्छ । यो चिकित्सकीय भूमिका रोज्दै उनले बुवाको र आफ्नो इच्छा संयुक्त रुपमा पूरा गरिन् ।

नेपालमा पनि विभिन्न रोगका विशेषज्ञ बन्ने क्रम बढ्दै गइरहेको थियो । त्यस क्रममा सन् २००८ मा सुरु भएको एमसीएच सर्जिकल ग्यास्ट्रोलोजीमा विद्यावारिधी गर्ने उनी पहिलो महिलासमेत हुन् । सर्जिकल ग्यास्ट्रोलोजी अर्थात् पाचनक्रियासँग सम्बन्धित समस्यामा शल्यक्रिया गर्ने विशेषज्ञ चिकित्सकलाई ग्यासट्रोलोजी सर्जन भनिन्छ ।

‘सिस्टर’ भनेर बोलाउँदा चित्त दुख्थ्यो

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सर्जरी विभागमा १९ वर्षसम्म उनी एक्ली महिला थिइन् । महिला भएकै कारण यो जिम्मेवारी पूरा गर्न सक्दिन कि भनेर कहिलेकाहीँ अरुले आशंकाको नजरले हेरेको आभास उनले नपाएकी होइनन् । तर, जानेर वा अञ्जानमा आफ्नो आलोचना गर्ने तथा आफूलाई आशंकाका नजरले हेर्नेप्रति उनी सधैँ आभारी भइन् । किनभने जहाँ उनलाई कसैले हेपेको आभास हुन्थ्यो, त्यहाँबाट झन् ऊर्जा थपिएको महसुस गर्थिन् उनी । झन् राम्रो गर्नुपर्छ, अझ राम्रो गर्न सक्छु र गल्ती, कमजोरीलाई सुधार्न सक्छु भनेर आँट पैदा हुन्थ्यो उनमा ।

घरमा कहिल्यै छोराछोरीका नाममा भेदभावको महसुस गर्न नपरेकाले होला, आफूमा अरुभन्दा सकेसम्म राम्रो गर्न सक्छु भन्ने भावनाको विकास भएको ठान्छिन् उनी ।

अपवादमा बाहेक कार्यस्थलमा महिला भएको नाताले खासै समस्या भएन । तर, सर्जन डाक्टर भए पनि आफूलाई ‘सिस्टर’ भनेर बोलाउँदा उनलाई सुरुसुरुमा त रिस उठ्थ्यो । अभ्यस्त हुँदै गएपछि त्यो केहीजस्तो लागेन भन्छिन् उनी ।

महिलाले अप्ठ्यारो काम गर्न सक्दैनन् भन्ने धारणा विश्वमै व्याप्त छ । उनी तालिमको सिलसिलामा अमेरिकामा जाँदा एक सर्जन पुरुष डाक्टरले उनलाई ‘पुरुष सर्जन डाक्टरलाई जत्तिकै नेपालमा महिला सर्जनलाई पनि तलब दिन्छ ?’ भनेर सोधेको सम्झिन् । जवाफमा उनले सरकारी क्षेत्रमा कार्यरत सर्जन महिला र पुरुषले बराबर तलब पाउने सुनाइन् ।

नेपालमा पहिलो सर्जन महिला

नेपालमा उनलाई पहिलो सर्जन महिला भन्छन् । तर, टिचिङ अस्पतालमा १९ वर्षसम्म एक्ली महिला सर्जन भएपनि उनी पहिलो सर्जन महिला भन्न रुचाउँदिनन् । ‘म सर्जन बन्दा मलाई लाग्छ अरु दिदीहरू हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘उहाँहरू विदेश जानुभएको रहेछ, त्यसपछि म सर्जन महिला भएको हुँदा धेरैले मलाई पहिलो महिला सर्जन भन्ने गरेको सुनेँ, मैले आफूलाई नेपालको पहिलो महिला सर्जनभन्दा मभन्दा अगाडि काम गर्नुभएका दिदीहरूको अपमान हुन्छ ।’

पढाइ, काम र नानीहरूको हेरचाह गर्ने चुनौती

जेनेभामा सन् २०१८ मा आयोजित सर्जरी सम्मेलनमा अन्य देशका महिला सर्जनले बच्चा, काम, अध्ययनलाई सँगसँगै लैजान धेरै समस्या हुने गुनासो गरेका थिए । विश्वभरि नै सन्तानको हेरचाह, काम र अध्ययनलाई सँगसँगै लैजान महिलालाई सकस छ । तर, यसका बाबजुद महिलाको भूमिका पुरुषको भन्दा धेरै भएको सर्जन डा. लाखे बताउँछिन् ।

उनले विवाहपछि नै सर्जरी विषय अध्ययन गरेकी थिइन् । लक्ष्यलाई चुम्ने क्रममा बाटोमा चुनौती खडा भए पनि उनको दृढ संकल्प कायम थियो । अध्ययन र कामकै क्रममा दुई छोरीकी आमा बनिन् उनी ।

अध्ययन, बिरामीको उपचार र छोरीहरू गरी तीनतिर भ्याउन उनलाई सन् २०१३ सम्म धेरै सास्ती भयो । त्यही बेलातिर अस्पतालमा सर्जरी क्षेत्रमा राम्रो गरेर प्रमाणित गर्नुपर्ने बाध्यता थियो उनमा । किनभने अनुभव कम भएका चिकित्सकलाई राम्रो काम गरेर आफ्नो दक्षता प्रमाणित गर्नुपर्ने चुनौती हुन्छ ।

अध्ययन, जागिर र सन्तानमध्ये कुनबेला कसलाई कति महत्व दिने र समय कसरी व्यवस्थापन गर्ने भन्नेबारे सटिक निर्णय गरेकै कारण वर्तमानमा सबैतिर राम्रो भएको उनी ठान्छिन् । त्यसैले परिवार, सन्तान, पढाइ र कामलाई सँगसँगै अगाडि बढाउन आफू सफल भएको उनको जिकिर छ । उनलाई आमा–बुवा, श्रीमान, र सासु–ससुराले पनि पर्याप्त सहयोग गरेकै कारण कर्तव्यपथमा लम्किन सहज हुँदै गयो ।

‘विवाहपछि सर्जरी अध्ययन गरेँ, त्यसपछि अध्ययन र करियरलाई मात्रै प्राथमिकता दिएको खण्डमा सायद आफ्ना लागिमात्रै सोच्ने स्वार्थी बन्थे कि !’ उनी भन्छिन्, ‘अझै अध्ययनलाई अगाडि बढाउन सक्थेँ, त्यो अवस्थामा सायद यहाँ हुने थिइनँ, मैले केही कुरा कम्प्रमाइज गरेर परिवार, काम, छोरीहरूलाई एकैसाथ समान महत्वका साथ अगाडि बढाउने विकल्प रोजेँ ।’

१८ वर्ष अघि छोरी जन्माउँदा उनी ६ महिना बिदा बसिन् । त्यो बेला आफू कताकता पछाडि परेको महसुस भएको थियो उनलाई । ‘कुनै ठाउँमा पेपर प्रिजेन्टेसन गर्न पाइनँ होला, कुनै अवार्डमा सहभागी हुन पाइनँ होला, मभन्दा तल्लो तहका भाइबहिनीहरूले अवार्ड पाए होलान्,’ उनी भन्छिन्, ‘केही कुराले मनमा घरिघरि चसक्क भए पनि आफ्नै सन्तानका लागि हो, सन्तान झन् महत्वपूर्ण भएकाले बिदा बसे पनि आफ्नो लक्ष्य पूरा गर्न सक्छु भन्ने आत्मविश्वासलाई डगमगाउन दिइनँ ।’

सुत्केरी भएको ६ महिना पुगेपछि छोरी शारीरिक रुपमा आमाविना बस्न सक्ने भएकाले मनमा सकारात्मक सोच, पुनर्ताजकी ऊर्जाका साथ आफू काममा फर्किएको उनले सुनाइन् ।

६ महिनासम्म सन्तानतर्फमात्रै केन्द्रित भएको अवस्थामा महिलाले आफ्नो पेशामा पुनः प्रमाणित गरेर देखाउनुपर्ने बाध्यता सिर्जना हुने उनले बताइन् । ‘महिलालाई परिवार र कामलाई सँगसँगै लैजान गाह्रो गर्छ । तर, काम विशेषले लामो समय बिदा बसेर कार्यक्षेत्रमा फर्किदा पुरुषले फेरि आफूलाई प्रमाणित गर्न पर्दैन,’ उनले भनिन्, ‘महिलालाई सजिलै नपत्याइने गरेको मैले धेरै ठाउँमा देखेकी छु ।’

बच्चा जन्माउनेदेखि लिएर तिनलाई स्याहार्ने, हुर्काउने सवालमा पुरुषको तुलनामा महिलाको भूमिका महत्वपूर्ण हुने भएकाले पुरुषको तुलनामा महिला कमजोर छन् भनेर सोच्ने मानसिकतामै त्रुटि देख्छिन् उनी । सन्तानलाई हुर्काउन आमाको भूमिका महत्वपूर्ण हुन्छ भन्दैमा आफुमा भएको ज्ञान, कौशललाई मर्न नदिएर कामलाई निरन्तरता दिनुपर्ने उनले बताइन् । सघर्ष र मेहनतसँग मितेरी लगाएर नै आफ्नो क्षेत्रमा सफल बन्न सकिने उनको अनुभव छ ।

कार्य क्षेत्रमा क्षमता र अनुभवलाई खारेर प्रस्तुत हुनुपर्ने उनको भनाइ छ । एउटी महिलाले अध्ययन, काम, सन्तान र परिवारलाई सँगै अघि बढाउन घर–परिवारको साथ नभएसम्म सम्भव नहुने उनले प्रस्ट पारिन् ।
(साभार:रातोपाटी)

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑