हिमेश
काठमाडौँ — काठमाडौं उपत्यकामा जति पनि महत्त्वपूर्ण चाडपर्व मनाइन्छ, त्यसको तिथि मिति र विधिबारे यकिन हुन अझै पनि जनबहालतिर गएर सोध्ने चलन कायम नै छ । जनबहालको मछिन्द्रनाथका पुजारीले भनेपछि त्यसैअनुसार चाड पर्व मनाउने परम्परा अझै पनि भित्री काठमाडौंमा विद्यमान छ ।
अनि त्यसैअनुसार दसैं मनाइन्छ र नेपाल संवत् अनुसार मान्नु पर्ने अन्य पर्व पनि । काठमाडौंका सबैभन्दा पुरानो बस्तीमध्ये एक हो, जनबहाल । ऐतिहासिक रूपमै भन्नु पर्दा यो केलटोल नामले बढी चिनिन्छ । यहींको फुटबल क्लब हो, मछिन्द्र । अनि यसले भर्खरै जितेको छ, सहिद स्मारक लिगको ‘ए’ डिभिजन उपाधि । आर्मीविरुद्धको अन्तिम खेल जित्नु थियो, बराबरी पनि पर्याप्त थिएन । मछिन्द्रले यही निर्णायक खेल जित्यो र बन्यो, सहिद स्मारक लिगको १६ औं च्याम्पियन क्लब । यसको अर्थ हो, अब जही जनबहालको अर्को परिचय पनि थपिएको छ र यो परिचय हो, फुटबल च्याम्पियनको । फेरि इतिहासमै फर्कने हो भने काठमाडौंको सबैभन्दा पुरानो बस्तीका रूपमा मानिन्छ, हाँडीगाउँ । यहाँ कुनै ठूलो प्रकोप परेपछि लगनटोलतिर बस्ती बसेको मानिन्छ ।
त्यही बेला केलटोल पनि बसाइ बसेको थियो । कोलियाहरू आएर बसेको हुनाले केलटोल नाम रहेको पनि भनिन्छ । यी कोलियाको कालान्तारमा के भयो त ? यसबारे ठ्याक्कै उत्तर छैन, तर अनुमान गरिन्छ, सम्भवतः अहिलेका कंसाकार नै कोलिया हुन् । मीठो संयोग के भने मछिन्द्रका अहिलेका अध्यक्ष नै कंसाकार हुन्, प्रमोद कंसाकार । उनीसँग कुराकानी गर्नु पर्छ, थाहा हुन्छ, जनबहालका केही युवाहरू मिलेर धेरै अगाडिदेखि नै फुटबल खेल्ने गर्थे, तर त्यो व्यवस्थित थिएन । त्यहाँतिरका नाम चलेका पूर्व फुटबल खेलाडी हुन्, नीलकाजी शाक्य । अहिले उनी भित्री काठमाडौंका चर्चित र तगडा वडा अध्यक्ष पनि हुन् । उनकै समयतिर पनि मछिन्द्र नाममा फुटबल खेल्ने चलन भने बसिसकेको थियो । जति बेलादेखि व्यवस्थित रूपमा खेल्न थालेको हो, लामो समय ‘बी’ डिभिजनमै रह्यो, लगभग २९ वर्ष ।
मछिन्द्रले ‘ए’ डिभिजन खेलेको भर्खर २०६१ सालदेखि न हो । त्यस अगाडि एक प्रकारले मछिन्द्र आरसीटीको सफलता अगाडि ओझेलमा पर्यो । एक किलोमिटर भन्दा कम दूरीमा पर्छन, यी दुई क्लब । तर प्रतिद्वन्द्वी हुन् । आरसीटी त नेपाली लिग फुटबल इतिहासको पर्याय जस्तै हो । यसकै दबदबा अगाडि मछिन्द्र तीन दशकभन्दा लामो समय ओझेलमै पर्यो । अब अर्को संयोग कस्तो भने जति बेला आरसीटी ‘बी’ डिभिजनमा छ, मछिन्द्रले भने पहिलोपल्ट माथिल्लो डिभिजनको च्याम्पियन भएको छ ।
आरसीटी जब्बर टिम हुँदा त्यसबाट खेल्ने एक खेलाडी थिए, नीलकाजी । असन र भित्री काठमाडौतिर उनलाई नचिन्ने को नै होला र ? उनी राजनीतिक व्यक्तित्व त हुन् नै, अनि कलाकार पनि हुन् । नाटक र टेलिसिरिल पनि खेले, उनले । दशरथ रंगशालामा भएको अन्तिम दिनको खेलमा दौरा सुरुवालमा सज्जिएर आए । मछिन्द्रले उपाधि जितेपछि त उनको रौनकता नै बेग्लै भइसकेको थियो । उनी ट्रफी वितरण समारोह भइरहेको मञ्चमै पुगे र बने, पूरा काठमाडौं महानगरको प्रतिनिधि नै ।
आर्मीविरुद्धको त्यस अन्तिम खेलसँगै १ सय ४६ खेल खेलिसकेको छ । समयको आधारमा आधा दशक । केही वर्ष रेलिगेसन बच्न संघर्ष गरेको मछिन्द्रले केही वर्ष उपाधिका लागि बलियो चुनौती पनि पेस गरेको थियो, जस्तो ०७० मा । अहिलेका दुई ठूला स्टार रोहित चन्द र किरण लिम्बूलाई स्थापित गर्नुमा पनि मछिन्द्रको ठूलो र निर्णायक हात छ । यसबीच मछिन्द्रले यस्ता केही काम पनि गरेका छन्, जसलाई पटक्कै निको मान्न सकिन्न, भलै यसलाई सिद्ध गर्न ठोस प्रमाण छैन । तर त्यो समय नै त्यस्तो थियो, जति बेला यस्तै यस्तै खराव नियतले फुटबल खेलिन्थ्यो । अब समय फेरिएको छ र फेरिएको छ, नेपाली फुटबल पनि । अनि क्लबमा नयाँ व्यवस्थापन पनि आएको छ, अध्यक्ष छन्, तिनै कंसाकार । यसपल्ट पनि क्लबले उपाधि नै जित्ने मनसायले राम्रै खर्च गर्ने ठूलो मन बनाएको थियो र अब त नतिजा सबैसामु छ । नेपाली फुटबलले अपेक्षा गर्ने यही हो, मछिन्द्रले अबदेखि सधैं सफा मनले फुटबल खेल्ने छ र जित्ने छ, धेरैभन्दा धेरै उपाधि ।
किन उपाधि त ?
लिग सुरु हुन अगाडि कम्तीमा कागजमै सही, तय थियो, यसपल्ट लिग जित्ने सबैभन्दा बलियो टिम कुनै छ भने त्यो मछिन्द्र नै हो । मछिन्द्रले मनाङ मर्स्याङ्दी र थ्री स्टारका प्रमुख ठूला खेलाडीलाई आफूमा भित्र्याएको थियो । ठीक यही बेला मनाङ र थ्री स्टारले भने लगभग ठिक्कका खेलाडी खेलाउने नीति बनायो । उनीहरूको तर्क थियो, राम्रा भनिएका महँगा खेलाडीलाई मात्र खेलाएर के हुने हो र ? हुन पनि ‘ट्रेन्ड’ त्यस्तै बसेको थियो । यही बेला मछिन्द्रले भने ठूलो जोखिम उठायो । यसपल्टको लिगमा जम्मा जम्मी दुई टिमले मात्र फुटबलको ‘फिलोसफि’ अनुसार फुटबल खेले । बाँकी टिमले खेलेको त पुरानै नेपाली पाराले त हो, जता मन लाग्यो, उतै प्रहार गर्ने । मछिन्द्रसँगै आर्मीको खेल मात्र आधुनिक फुटबलको सिद्धान्त अनुसार रह्यो । मछिन्द्रले जति पनि खेलाडी अनुबन्ध गरेको थियो, त्यसमध्ये धेरै फुटबलको भाषा बुझेका थिए, त्यसो भनेको तिनीहरूले सानैदेखि प्राविधिक फुटबल खेल्न सिकेको थियो ।
यसका बावजुत पनि मछिन्द्रको यात्रा सजिलो थिएन् । लिग सुरु हुन अगाडि नै मछिन्द्रको एक अंक ऋनात्मक थियो, पोहोरको लिगमा पुछारबाट दोस्रो स्थानमा रहेको हुनाले । सुरुआती छ चरणको खेलमा मछिन्द्रले १३ अंक बटुलेको थियो, चार जित र दुई बराबरीमा । ठिक्कैको प्रदर्शन थियो, यो । च्यासल र मनाङसँग बराबरी खेलेको थियो । त्यस लगतै मछिन्द्रले हिमालयन शेर्पाविरुद्धको खेल भने २–० ले गुमायो । झरीबीच सातदोबाटोमा भएको त्यस खेलमा मछिन्द्रको केही पनि चलेन ।
तर यो हारको चोटले मछिन्द्रलाई ब्युँझाउने काम गर्यो र जित्यो, लगातार छ खेल । यो छ खेलमा मछिन्द्रको लय च्याम्पियन टिमकै जस्तो थियो । यो क्रममा मछिन्द्रले तीन महत्त्वपूर्ण जित निकाल्यो, पुलिस, थ्री स्टार र आर्मीविरुद्ध । यी तिनै खेलमा मछिन्द्रले ‘क्लिन सिट’ पनि कायम राख्यो । अब यस्तो प्रदर्शन गरेको टिमले नजिते कसले जित्ने त ? मछिन्द्रका प्रशिक्षक हुन्, प्रवेश कटुवाल । उनले यसपल्ट प्रशिक्षकका रूपमा ‘ए’ डिभिजनमा डेब्यु गरेका हुन् ।
यी प्रवेश आफ्नो भनाइ राख्नुपर्दा सबैभन्दा पहिले भन्ने गर्छन्, ‘पक्कै पनि ।’ उनको यो बानी जस्तै छ । त्यसलाई नक्कल गर्दै भन्नै पर्छ, मछिन्द्रले वास्तवमै सात खेलमा ‘क्लिन सिट’ राखेको थियो र यसले ‘पक्कै पनि’ देखाउँछ, मछिन्द्रको डिफेन्स कति बलियो छ भनेर ।
अनि यही टिमले पूरा लिगमै सबैभन्दा बढी गोल गरेको थियो, २५ । अब भनिरहनु पर्दैन, यो सबै उपलब्धिका लागि मछिन्द्रको मिडफिल्डले पनि त राम्रै योगदान दिएको थियो ।मछिन्द्रका विदेशी खेलाडी पनि अरू टिमकोतुलनामा गतिला रहे । यो पनि मछिन्द्रले उपाधि जित्नु पछाडिको प्रमुख कारण रह्यो । मछिन्द्रले यसपल्टको लिगमा कुल २० खेलाडी उतारेको थियो । त्यसमध्ये विमल घर्तीमगर र हेमन गुरुङले त एकै खेल मात्र खेले । अन्यथा अधिकांश समय मछिन्द्रले समान खेलाडीको ‘सेट’ उतारेको थियो । धेरै प्रयोगको आवश्यकता नै परेन । त्यसमध्ये ११ खेलाडीले त गोल नै गरे । अनि रंजित धिमाल, विशाल श्रेष्ठ र विशाल राई ‘बी’ सबै१३ खेल खेले ।
साभार इकान्तिपुर
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५