• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

महिलामाथि अचम्मको मनपरी


सुभाय् संवाददाताJanuary 2, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

– राजेन्द्र स्थापित
ट्राभान्कोर सन् १९४९ सम्म भारतको अधिराज्य थियो । भारत स्वतन्त्र भएपछि यसको अस्तित्व पनि समाप्त भयो । करिब एक हजार ७० वर्ष यहाँ राजाको शासन रह्यो । सन् १७२९ देखि चेरा वंशले शासन चलायो । शुरुमा यसको राजधानी पद्मानाभापुरम थियो, पछि थिरुमानन्थपुरमलाई बनायो । चेरा वंशका राजाले केरलामा मात्र होइन, तमिलनाडुमा समेत राजकाज चलाए ।
ट्राभान्कोर राज्यमा दलित महिलालाई कम्मरभन्दा माथिको अंग छोप्न निषेध थियो । यहाँसम्म कि घर बस्दासमेत आफ्नो स्तन छोप्ने अधिकार थिएन । धेरैपछि घरमा बस्दा छोप्ने अनुमति पाए तर स्तन छोप्ने हो भने राज्यलाई ‘कर’ तिर्नुपथ्र्यो । स्थानीय मलयालम भाषामा ‘मुला कारम’ भनिने स्तन कर उठाउन राज्यले आफ्ना कर्मचारीलाई घरघरमा पठाउँथ्यो । कर्मचारीले जनताको घरमा पसेर परिवारभित्र जति पनि विवाहित–अविवाहित महिला हुन्थे, उनीहरुको स्तनको नाप लिन्थे र त्यसअनुसार कर असुल्थे । ट्राभान्कोरका महिलाले यो अनौठो कर सन् १९२४ सम्म तिरे । कर्मचारीले घरघरमा पसेर अनुगमन गर्ने क्रममा किशोरीहरुको स्तन छाम्थे । स्तनले आकार लिन थालेपछि कर तिर्नुपथ्र्यो । त्यसो त दलित परिवारका पुरुषलाई पनि कर तिर्न लगाउँथे । पुरुषलाई टाउकाको आकारको आधारमा कर तिर्न लगाउँथे, जसलाई स्थानीय भाषामा ताला–कर भनिन्थ्यो ।
ट्राभान्कोरको शासन उच्च ब्राह्मणहरुको हातमा थियो । समाजभित्र जातीय मर्यादा राखिराख्न यसरी तल्लो जातिका महिला र पुरुषबाट कर असुल्न लगाइन्थ्यो । स्तन कर र टाउकाको कर तिर्नेहरु नादर र इजभा जातिका हुन्थे । त्यसबखतको समाजमा महिलाको स्तनलाई उच्च प्राथमिकता दिइएको थियो । उदाहरणका लागि नायर जातिका महिला ब्राह्मण महिला–पुरुषको अगाडि स्तन छोपेर जान पाउँदैनथे । ब्राह्मण महिलाले आफ्नो स्तन छोप्न त पाउँथे तर उनीहरु पनि देवी–देवतासमक्ष प्रस्तुत हुँदा स्तनलाई खुल्लै छाडेर जाने गर्दथे । नायरहरु घरमा र समाजमा रहँदा स्तन छोपिने लुगा लगाएरै बस्थे तर ब्राह्मणहरुको अगाडि जानुपर्दा र मन्दिर प्रवेश गर्ने बेला स्तन खुल्लै छोड्न विवश हुन्थे । तल्लो जातिकाले नायर र नम्बोदिरी ब्राह्मणको अगाडि, नायरले ब्राह्मणसमक्ष तथा ब्राह्मण महिलाले देउतासमक्ष स्तन उदांगो पारेर आफूभन्दा उच्च जातिको सम्मान गरेको ठान्थे ।
हिन्दु धर्मावलम्बीहरुमा वर्ण व्यवस्थाको नांगो रुपमा रहेको ट्राभान्कोरको यो प्रथाबाट सबैभन्दा पीडित नादर जाति रह्यो । वास्तवमा नादर एउटा समुदाय हो, जसभित्र धेरै जात–उपजात छन् । यिनीहरु नायर जातिका जमिन्दारहरुको घर र खेतमा मजदुरी गर्थे । यहाँ जातिप्रथा यतिविघ्न चरमोत्कर्षमा पुगेको थियो कि यो समुदायकाले छाता ओढ्न र सुनको गहना लगाउनसमेत पाउँदैनथे । स्तन ढाक्ने लुगा लगाउन, छाता ओढ्न र सुनको गहना लगाउनमा प्रतिबन्ध थियो । यो परम्पराको शिकार क्षत्री र ब्राह्मण जातिका महिला पनि बनेका थिए, उनीहरु घरबाट बजारतर्फ निस्कने बेलामा स्तन ढाकेर जान्थे तर घरभित्र र मन्दिरमा ब्राह्मण पुरुष तथा राजपरिवारका सदस्यको अगाडि जाँदा स्तन देखाउन विवश थिए । मलयालम भाषी समाजमा पुरोहित सबैभन्दा माथिल्लो दर्जाका हुन्थे, उनीहरुको सामु सबै महिला अर्धनग्न नै हुन्थे ।
मन्दिरमा पुरोहित एउटा लामो लाठी लिएर बसेका हुन्थे । मन्दिर पस्दा कुनै महिलाले सम्पूर्ण शरीर ढाकेर प्रवेश गरेको रहेछ भने पुरोहितले लाठीको सहायताले महिलाको लुगा च्यातेर फ्याँकिदिन्थे । यदि यस्तो धृष्टता तल्लो जातिकाले गरेको छ भने ती महिलाको लुगा च्यातेर रुखमा झुण्ड्याइदिन्थे । राजारानीको सवारी हुँदा बाटोको दायाँबायाँ तल्लो जातिका महिला र कुमारी केटीहरु अर्धनग्न भएर स्वागत गर्थे । सवारी हुने स्थानका घरको छत वा झ्यालमा पनि त्यसरी नै बस्न दिइन्थ्यो । अर्धनग्न महिलालाई हेरेर राजा तथा अन्य पुरुष आनन्द लिन्थे ।
एकपटक उम्मायामा रानी उर्फ रानी अतिंगलको दरबारमा एउटी दलित महिला प्रवेश गरिन् । उनले सम्पूर्ण शरीर ढाकेकी थिइन् । रानी अत्यन्त क्रुद्ध बनिन् । उनले तत्कालै सैनिक जवानलाई ती महिलाको कम्मरमाथिको लुगा च्यात्न आदेश दिइन् । जब महिलाको शरीरबाट स्तन खुला भयो, तब सजायँस्वरुप स्तन काटेर फ्याँक्न आदेश दिइन् । रानी अतिंगलले ट्राभान्कोरमा सन् १६७७ देखि १६८४ सम्म शासन गरेकी थिइन् । भतिजा राजा रवि बर्मा नाबालिग भएका कारण अतिंगलले राजकाज सम्हालेकी थिइन् । त्यस्तै उन्नाइसौं शताब्दीको शुरुवाततिर (सन् १८०३ मा) सरकारी कर्मचारी स्तन–कर असुल्न केरला राज्यको समुद्री तटीय नगर चेर्थला पुगे । उनी घरघर पसेर दलित जातिका महिलाको स्तनको नाप नाप्न थाले । यसबीच उनी एउटा घरभित्र पसे । नान्गेली नाउँकी एउटी २२ वर्षीया विवाहित महिलाले स्तन ढाक्ने गरी लुगा लगाइराखेको देखेपछि सरकारी कर्मचारी स्तन नाप्न अघि बढे तर ती महिलाले रोकिन् । न लुगा फुकाल्न तयार भइन् न स्तन कर तिर्न नै । विवाद बढेपछि नान्गेलीले कर तिर्नुको बदला हँसियाले आफ्नो स्तन आफैं काटेर ठूलो पातमा राखी कर्मचारीलाई दिइन् । अत्यधिक रक्तश्रावको कारण केहीबेरमै नान्गेलीको मृत्यु भयो । लोग्ने चिरुकान्दन घर पुग्दा पत्नीको मृत्यु भइसकेको थियो । जब नान्गेलीको अन्तिम संस्कार गरिँदै थियो, चिरुकान्दन पत्नी विछोडमा शोकविह्वल बने । पत्नीको दाहसंस्कार गर्न राखिएको दाउराको चाङमा हामफालेर ‘सती’ गए ।
नान्गेली घटनापछि दलित जातिका महिलाले स्तन–करको विरुद्ध विप्लव शुरु गरे । तर राजाहरु मर्थान्दा बर्मा, स्वाथी थिरुनाल र चिथिरा थिरुनालको कार्यकालमा यिनीहरुमाथि ठूलो दमन चलाइयो । यसबीच सन् १८०० सम्म आइपुग्दा नपुग्दै अंग्रेजहरुको दबदबा शुरु भयो । सन् १८२९ मा राज्यका सचिव कर्णेल मुनरोले एउटा घोषणा गरिदिए, ‘यदि नादर महिलाले इसाइ धर्म अवलम्बन गर्ने हो भने स्तन कर लागू हुने छैन । उनीहरुले इसाइहरुले लगाउने माथिदेखि तलसम्मकै शरीर छोपिने लुगा लगाउन पाउनेछन् ।’ यो घोषणापछि धेरै दलित इसाइ बने । स्तन छोपिने लुगा लगाउन थाले तर मुनरोको घोषणाविरुद्ध उच्चजाति र ब्राह्मणहरु खडा भए । उनीहरु टुप्पोमा अंकुशी जोडिएको लामो–लामो लाठी बोकेर सडकमा पहरा दिन थाले । स्तन छोपिने गरी लुगा लगाएर घरबाट निस्केका महिलाहरुको लुगा लाठीको सहाराले च्यात्न थाले । महिलाहरुलाई सार्वजनिक स्थलमा नंग्याउन थाले । चर्च र इसाइहरुका घर जलाइदिए । यसक्रममा कतिपयको हत्यासमेत गरे । उच्च जातिको उक्त कारवाहीविरुद्ध नादरहरु पनि संगठित भए । उनीहरुले पनि उच्च जाति र ब्राह्मणहरुको घरमा आगो लगाइदिए । पसलहरु लुटे । राज्यमा हिंसा मच्चिएपछि राजा स्वाथी थिरुनालले दलितहरुले स्तन कर तिरेर घरमा बस्दा लुगा लगाउन पाउने आदेश जारी गरे ।
सन् १८५५ मा ट्राभान्कोरमा दासप्रथा अन्त्य गरियो । दासप्रथा उन्मूलनको घोषणाप्रति उच्चवर्ग असन्तुष्ट बने । सन् १८५९ मा उनीहरुले जताततै दंगा फैलाए । र, आक्रमणको निशाना दलित महिलालाई बनाए । उनीहरुले दलितहरुको घर लुटे । अन्नपातमा आगो लगाइदिए । यसविरुद्ध दलितहरु पनि जाइलागे । अन्त्यमा राजाले नादर महिलाले पनि सम्पूर्ण शरीर ढाकिने लुगा लगाउन पाउने आदेश जारी गरिदिए । तर आदेशमा भनियो– कथित ‘तल्लो जाति’ का महिलाले आफ्नो शरीर ढाक्न सक्ने छन् तर उनीहरुको पहिरन ‘उच्च जातिका’ महिलाको भन्दा भिन्न हुनुपर्नेछ । त्यसैले केरला र तमिलनाडुका दलित महिलाले जुलाई २६ लाई महत्वपूर्ण दिनका रुपमा मान्छन् किनभने यसै दिन उनीहरुले शरीर ढाक्ने अधिकार प्राप्त गरेका हुन् ।
दक्षिण भारतका दलित महिलालाई अधिकार दिलाउनमा मैसुरका टाइगरको खिताब पाएका राजा टिपु सुल्तानको ठूलो हात रहेको इतिहासकारहरुको ठहर छ । टिपुले आफ्नो राज्यको प्रशासनमा अचम्मको सुधार गरेका थिए । नयाँ पात्रो, नयाँ सिक्का निश्कासन गरेका थिए । उनले अंग्रेजविरुद्धको युद्धमा पहिलोपटक रकेटशास्त्रको प्रयोग गरेका थिए । उनको मृत्यु अंग्रेजहरुले धोकापूर्ण तरिकाबाट गरेका थिए । त्यसैले टिपुलाई ‘शहीद’ मानिन्छ । ट्राभान्कोरका राजा, मराठा र हैदरावादका निजाम अंग्रेजहरुका मित्र थिए । यिनीहरु चारै जना मिलेर टिपुसँग युद्ध लडे । टिपु ट्राभान्कोरका ब्राहमण शासकहरुलाई निरंकुश मान्थे, त्यसैले त्यहाँका जनतालाई ती ब्राह्मणहरुबाट मुक्ति दिलाउन ट्राभान्कोरमाथि सैन्य आक्रमण गरे । युद्धमा ७ सय ब्राहमण मारिएपछि त्यहाँका दलितलाई अधिकार दिन बाध्य बने । युद्धमा ब्राह्मणहरुको सफाया गरेकै कारण टिपुलाई हिन्दुहरुले विरोध गर्ने गरेको इतिहासकारहरुको दाबी छ ।
विश्वमा भारतको प्रगतिशील मानिएको केरलामा राज्यले उठाउने गरेको स्तन–करलाई अचम्मको कर असुली मान्ने गरिएको छ । यो करको परम्परालाई वर्तमान केरलाका सरकार तथा राजनीतिक दलहरु ‘लज्जास्पद’ मान्छन्, त्यसैले सन् २०१७ देखि १० कक्षाको परीक्षापत्र (सीबीएसई) बाट स्तन–करको प्रश्न सोध्न नपाइने गरिएको छ । मद्रास उच्च अदालतको आदेशअनुसार नौ कक्षामा पढ्नुपर्ने एउटा विषय ‘जातीय द्वन्द्व तथा पहिरनमा बदलाव’ लाई पाठ्यपुस्तकबाट हटाइएको छ । उक्त अध्याय लुगासम्बन्धी इतिहासको हो, जसमा एक ठाउँ भनिएको छ, ‘१९ औं शताब्दीमा ट्राभान्कोरमा महिला (खासगरी दलित महिला) लाई आफ्नो स्तन छोप्ने अधिकार थिएन ।’
एडभोकेट फोरम फर सोसियल जस्टिसले ‘एउटा खास समुदायको बारेमा गलत सूचना प्रवाह गर्ने गरेको सो अध्यायको खारेजी माग गर्दै अदालतमा मुद्दा दायर गरेको थियो, सन् १९१७ मा । ट्राभान्कोरका अन्तिम राजा चिथिरा थिरुनाल थिए । उनले सन् १९३१ देखि १९४९ सम्म राज्य गरे ।

साभार:जनआस्था

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑