सि चोंगसुन सन् १९२६ मा कम्युनिष्ट युथ लिगमा लागे । जेलभित्रै बसेर कम्युनिष्ट पार्टीको सदस्यता लिए । रिहा भएपछि सेनामा भर्ती भए । सान्सी–गान्सु क्षेत्रीय सरकारको प्रमुख बने । पछि यसलाई क्रान्तिको आधारक्षेत्र बनाए । सन् १९३५ मा कम्युनिष्ट पार्टीले चलाएको शुद्दिकरण अभियानमा परी जेल गए । लिउ झिदान र काओ काङसहित उनले मृत्युदण्डको सजाय पाए । सजाय कार्यान्वयन हुनु ठीक ४ दिनअगाडि माओ त्यहाँ टुप्लुक्कै पुगे र तीनै जनालाई रिहा गर्न आदेश दिए । यसको बाबजुद सिले माओ र पार्टी मुख्यालयको आदेश मान्न अस्वीकार गर्दै गए ।
च्याङ काइसेकको सरकारविरुद्ध कम्युनिष्ट पार्टीले सशस्त्र युद्ध थालेपछि सि राजनीतिक कमिसार बने । सन् १९४७ मा उनैको नेतृत्वमा येनानमाथि कम्युनिष्ट पार्टीले नियन्त्रण जमायो । चीन नवजनवादी गणतन्त्रमा परिणत भएपछि रक्षामन्त्री बनेका पेङ तेहुइको मातहतमा रहेर काम गरे । क्रान्ति सम्पन्न भएको पाँच वर्षपछि सन् १९५४ मा तिब्बतका धार्मिक नेता दलाइ लामा बेइजिङ पुगे । चिनियाँ क्रान्ति र माक्र्सवादको अध्ययनका साथै राजनीतिक भेटघाट गर्न राजधानी पुगेका उनको यात्राभरि सि सँगसँगै हिँडे । दलाइ लामाले सो अवसरमा उनलाई एउटा घडी उपहार दिएका थिए, जुन जीवनको अन्तिमसम्म लगाइरहे । सन् १९५९ मा उपप्रधानमन्त्री बने । प्रधानमन्त्री चाओ एनलाइको मातहतमा रहेर कानुन मस्यौदा कार्यमा सघाए ।
सन् १९३६ मा मारिएका कम्युनिष्ट पार्टीले शहीद मानेका लिउ झिदानको जीवनी सन् १९६२ मा प्रकाशित भयो । लि जियाङतोङद्वारा लिखित उक्त पुस्तक माओलाई मन नपर्नेमध्येको थियो । तर सिले सो पुस्तकको सराहना गरे । यसको दण्डस्वरुप पार्टी र सरकारी पद सबै गुमाए । आत्मालोचनापछि पनि पद घटुवामा परी लुओयाङस्थित ट्र्याक्टर कारखानाको उपप्रबन्धक बने । सि र उनकी दोस्री पत्नी छि चिनका साइँला छोरा सि जिनपिङ त्यसबेला मात्र १० वर्षका थिए । सन् १९६६ मा चीनले साँस्कृतिक क्रान्ति शुरु ग¥यो । राजकुमारको जस्तो जीवन बिताउँदै आएका उनको जीवनमा दुःखका दिन शुरु भयो । बाबु सिमाथि पार्टीविरोधी गतिविधिमा लागेको आरोप लाग्यो । लाल सेनाले घरमा छापा मार्दा भेट्टाइएको एउटा रेडियोको आधारमा विदेशी मुलुकका लागि काम गर्ने जासुसको बिल्ला भिराइयो । पूर्वी जर्मनीको भ्रमण गर्दा दुरबिनले बर्लिन पर्खाल पारि हेरेको दोष लाग्यो । पक्रेर बेइजिङस्थित जेलमा हालियो ।
सि जिनपिङका बाबु सि चोंगसुनलाई शुरुमा मध्यचिनियाँ क्षेत्रतिर निर्वासनमा पठाइयो । निर्वासित जीवन बिताइरहेकै बेला पुनः लाल सेनाले समात्यो । ट्रकमा कोचेर सियानतर्फ लगी सोधपुछको नाउँमा कुटपिट गरियो । हत्कडी लगाएर सडकमा हिँडाइयो । गर्नुसम्म बेइज्जत गरियो । राज्यले परिवारका सदस्यलाई कालो सूचीमा हाल्यो । छि लोग्नेसँगै निर्वासनमा जान चाहन्थिन् तर राज्यले स्वीकृति दिएन । बेइजिङमै बस भनियो । साँस्कृतिक क्रान्तिका अनुयायी लाल सेनाले सिको सम्पूर्ण परिवारका सदस्यलाई हरबखत बेइज्जति र गालीगलौज गथ्र्यो । सि जिनपिङ पढ्ने नं. २५ स्कुललाई ‘पार्टीका वरिष्ठ नेताहरुका पुल्पुल्याइएका छोराहरुको डोको’ र ‘बुर्जुवावर्गका सन्तान पढ्ने स्कुल’ भनियो । यहाँसम्म कि खेलकुद शिक्षकले सिलाई ‘ब्ल्याक ग्याङको छोरा’ भनेर सबैका सामु बेइज्जत गरे ।
लाल सेनाले जहाँ भेटे पनि लखेट्थ्यो । मार्न तम्सिन्थ्यो । जतिखेर पनि ज्यान जोगाएर हिँड्नुपर्दाको अत्याचार सहन नसकेर सिकी दिदी (सि चोंगसुनकी पहिलो श्रीमती हो मिङचुतर्फकी छोरी) सि हेपिङ आत्महत्या गर्न विवश बनिन् । कतिपयले उनको हत्या लाल सेनाले नै गरेको बताएका छन् । एकदिन उक्त स्कुललाई लाल सेनाले घेरा हाली सि र उनका दुई जना साथीलाई बाहिर निकाल्यो । गालीगलौज गर्नुसम्म गरेपछि कुटपिट गर्न अघि बढ्नेबित्तिकै सिहरू भागे । लालसैनिक पछि लागे । सि र नेइ वेइपिङ तीव्र गतिमा दौडे पनि लिउ वेइपिङ विस्तारै भागेकाले कब्जामा परे । नराम्रो पिटाइ खाए । स्मरणीय छ, नेइ र लिउका बाबुहरु पनि जेल परिसकेका थिए । यसक्रममा सिले स्कुलमा शौचालय सफाइको काम गरे । लालसैनिकले एकपटक उनलाई टाढासम्म लखेटे । गोली हानेर मार्ने धम्की दिए । उनीलगायत ५ जना साथीलाई सडकमा हिँडाएर बेइज्जत गरे । दुवै हात माथि उठाउन लगाएर धातुबाट निर्मित शंकु आकारको पहिरन लगाउन दिए । लाल सैनिकले ‘सि जिनपिङ मूर्दावाद’ को नारा लगाए । सिकी आमालाई त्यस्तो पहिरन लगाउन त दिइएन तर ठूलो जनसमुदायसामुन्ने उभ्याएर आफ्नै लोग्नेविरुद्ध नारा लगाउन लगाइयो ।
सन् १९६६ को अन्तिमतिर सरकारले सबै स्कुल बन्द गरी छात्रछात्रालाई शिक्षकहरुको आलोचना, गाली र कुटपिट गर्न छुट दियो । एकपटक सि लाल सैनिकको घेरामा परे । त्यसबेला उनी १४ वर्षका थिए । उनी मात्र होइन, परिवारका सबै सदस्य बेइजिङमा लुक्दै हिँड्थे । घेरामा पारेपछि लाल सैनिकले सोधे, ‘तिमी आफ्नो अपराधलाई कति गम्भीरतापूर्वक लिन्छौ ?’ सिले उल्टै प्रश्न गरे, ‘मेरो अपराध मलाई मार्न पर्याप्त छ ?’ लाल सैनिकले भने, ‘हेर, तिमीलाई हामी सयौंपटक मार्न सक्छौं ।’ सिले जवाफ दिए, ‘एकपटक मर्नु र सयौंपटक मर्नुमा केही फरक छैन ।’
सन् १९६८ को डिसेम्बरमा माओले ‘पहाढ चढ्नु र गाउँ झर्नु’ अभियान चलाए । जसअन्तर्गत १ करोड ७० लाख शहरी युवालाई पहाडी इलाका र दुर्गम गाउँ पठाइयो । १५ वर्षीय सि जिनपिङ पनि यसमा परे । शहरी युवालाई पुनर्शिक्षित बनाउने अर्थात् गाउँले किसान र श्रमिकबाट व्यावहारिक ज्ञान दिलाउने यो अभियानको अभिप्राय थियो । सोही वर्ष सिका बुबा सि चोंगसुनलाई जेल हालिसकिएको थियो । जेलमा उनले ठूलो यातना पाए । ‘गाउँ जाऔं’ अभियानअन्तर्गत सि जिनपिङलाई शान्सी प्रान्तको लियाङजियाहे गाउँमा पठाइयो । यसअघि उनीलगायत दण्डित नेताका छोराछोरी सबैजना बेइजिङस्थित कठघरामा थिए ।
सि आफैं भन्छन्, ‘त्यहाँ पुगेको समय म १५ वर्षको थिएँ । बिन्दास पाराको । केही बुझेकै थिइनँ ।’ त्यसैले शुरुमा उनी त्यहाँ टिक्नै सकेनन् र भागेर पुनः बेइजिङ पुगे । लुक्दै हिँडे पनि पक्राउ परे । दण्डस्वरुप खेतमा खाल्डो खन्न लगाइयो । करिब ६ महिना थुनामा परेपछि पुनः लियाङजियाहे पुगे । पछिल्लोपटक भने निकै गम्भीर बने । खेतीपाती सिके । मजदुरी गरे । मल बनाउने, बाँध र सडक बनाउने काम गरे । गाउँमा बत्ती थिएन । येनान नगरबाट गाउँसम्म जाने बाटोसमेत थिएन । उनी गुफामा बस्थे । इँटा ओछ्याएर बनाइएको ओछ्यानमा सुत्थे, त्यो पनि तीन जना । गुफाभरि किरा–फट्यांग्राले डेरा जमाएको हुन्थ्यो । खानाको नाउँमा दाल र तरकारी मात्र पाउँथे । सी पढाइमा निकै रुचि राख्थे । लजालु अनि अन्तर्मुखी स्वभावका । राति पानसको उज्यालोमा किताब पढ्थे । अध्यक्ष माओका कारण आफ्ना बाबु र सपरिवारले दुःख कष्ट झेल्नुपरेको भए पनि सि माओका विचारका सच्चा भक्त थिए । माओको रातो किताब र पत्रिकामा छापिएका भाषण पढ्थे । ती उनलाई मन पर्ने लेख थिए ।
सि निकै गम्भीर स्वभावका थिए । हँसिमजाक गर्दैनथे । खेल्न पनि मन पराउँदैनथे । त्यसैले कसैसित मायाप्रीति बसेन । कम्युनिष्ट पार्टीप्रतिको लगाव किशोरावस्थादेखि नै थियो । जब साँस्कृतिक क्रान्ति शुरु भयो र स्वयंसेवक लाल सेनामा भर्ती लिन थालियो, उनी स्वयं त्यसको सदस्य हुन चाहन्थे तर सानो उमेरका कारण भर्ती हुन पाएनन्, भलै पछि सोही संगठनबाट प्रताडित हुनुप¥यो । तर, लियाङजियाहे बसाइका क्रममा पुनः कम्युनिष्ट बन्ने भूत सवार भयो र कम्युनिष्ट युथ लिगको सदस्यता लिए, सन् १९७१ मा १८ वर्षको उमेरमा । उनी पार्टीकै सदस्य बन्न चाहन्थे । त्यसैले आवेदन दिए तर पारिवारिक पृष्ठभूमिका कारण आवेदन रद्द भयो । नौ पटकसम्म आवेदन दिइरहे तर स्वीकार गरिएन । यसबीच प्रधानमन्त्री चाओ एनलाइको विशेष अग्रसरतामा सि चोंगसुन सन् १९७२ मा जेलबाट रिहा भए । छोरा सि र बाबु सिबीच ६ वर्षमा पुनर्मिलन भयो । यातना र कठोर परिश्रम पाएकाले सि दुब्लो र कमजोर भइसकेका थिए ।
बाबुको रिहाइपछि स्थिति अलि सामान्य बन्यो । छोरा सि जिनपिङले कम्युनिष्ट पार्टीको सदस्यता लिन सन् १९७३ मा दशौंपटक निवेदन दिए । बल्ल १९७४ मा सदस्यता पाए । शुरुमा उनी उत्पादन समूहको पार्टी शाखा सचिव बने । र, विभिन्न प्रान्त, कमिटी हुँदै बल्ल सन् १९९७ मा केन्द्रीय समितिमा वैकल्पिक सदस्य र फुजियान प्रान्तको उपगभर्नर बने । सन् २००० मा महासचिव जियाङ जेमिन, प्रधानमन्त्री झु रोङजी, उपराष्ट्रपति हु चिन्ताओ र अनुशासन समितिका सचिव वेइ जियानसिङले बेइजिङ बोलाए । सन् २००२ मा केन्द्रीय समितिको पूर्ण सदस्य बने । सांघाइको पार्टी प्रमुख हुँदै सन् २००७ मा पोलिट्व्युरोमा पुगे । उता सन् १९७६ मा माओको निधनपश्चात सन् १९७८ मा देङ सियाओ पिङको अगुवाइमा सि चोङसुन पार्टीमा पुनस्र्थापित भए । राष्ट्रिय जनकंग्रेस स्थायी समितिको उपाध्यक्ष हुँदै पोलिटव्युरो र केन्द्रीय सचिवालयको सदस्यसम्म भए । र, १९८८ मा राजनीतिबाट संन्यास लिए । उनको निधन सन् २००२ मा भइसकेको छ ।
सि जिनपिङ छोटो समयमै नेतृत्वमा पुगे । जियाङ जेमिन र पार्टी महासचिव हु चिन्ताओको समर्थन प्राप्त गर्न सफल भए र सन् २०१२ मा महासचिव सैन्य आयोगको अध्यक्ष र २०१३ मा राष्ट्रपति बने । उनले चलाएको भ्रष्टाचारविरोधी अभियानका कारण जनतामा लोकप्रिय बन्न सफल भए । साना कर्मचारी मात्र होइन, चौ योङखाङ, सु काइहोउ, गुओ बोसियोङ, मा जियाङ, वाङ वेइझी, झाङ कुन्सेङजस्ता वरिष्ठ नेताहरुलाई समेत जेल हाले । उनको यो अभियानअन्तर्गत करिब डेढ लाख ‘ठूला बाघ’ तथा ‘साना माछा’ जेल परिसकेका छन् । उनको नेतृत्वमा चीनले विकासमा ठूलो फड्को मारिसकेको छ, इण्डोनेसियादेखि पोल्याण्डसम्म जोड्ने उनको महत्वाकांक्षी योजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ र चिनियाँ विशेषतामा आधारित रही चीनलाई उन्नत समाजवादमा डो¥याउने नवीनतम विचारधाराका कारण आज उनी विश्वमै चर्चित छन् । विश्वको शक्तिशाली राजनेताको पंक्तिमा उभिन पुगेका छन् । एक समय थियो, सि लोकगायिका पेङ लियुआनका पति भनेर चिनिन्थे, आज पेङ सिको पत्नीको रुपमा चिनिन्छिन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५