• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / नेवाःख्यः

विश्व नेवा संगठन किन ?


सुभाय् संवाददाताAugust 18, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : २७ मिनेट

डा. बालगोपाल श्रेष्ठ

 

विश्व नेवा संगठनको नेपाल शाखाले मार्च ३० देखि अप्रिल १ (तीन दिन) सम्म नेपालमा ‘ग्लोबल नेवा कन्फेरेन्स’ सम्पन्न गरेको थियो । त्यस सम्मेलनले हरेक वर्ष अङ्ग्रेजी महिना मार्चको अन्तिम शनिबार ‘विश्व नेवा दिवस’ मनाउने निर्णय गर्‍यो । सोही अनुरूप यसपालि ‘विश्व नेवा दिवस’ मनाइँदै छ । सन् २०१८ मार्च ३० देखि मार्च ३१ मा पहिलोपटक काठमाडौँमा ‘विश्व नेवा दिवस’ मनाइएको हो ।  विश्वभरि छरिएर रहेका नेवाहरू एकत्रित भएर आफ्नो संस्कृति, संस्कार, भाषा, कला र साहित्यको कुनै न कुनै रूपले स्मरण गरुन् भन्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । जुनसुकै मुलुक वा ठाउँमा रहे–बसेका नेवा समुदायले आ–आफ्नै तरिकाले विश्व नेवा दिवस मनाउन सक्छन् । 
विश्व नेवा दिवसको थालनी गर्ने ‘वर्ल्ड नेवा अर्गनाइजेसन’ अर्थात् विश्व नेवा संगठन कसरी जन्म्यो त ? आउनुस्, यसबारे चर्चा गरौँ ।  

 

  • पृष्ठभूमि

लामो समयदेखि नेवाहरू रोजगारी, शिक्षा तथा अन्य कारणले नेपालबाहिर युरोप, अमेरिका, जापान, अस्ट्रेलिया आदि मुलुकमा बसोबास गर्दै आएका छन् । यो प्रक्रिया १९९० को दशकमा झनै व्यापक भयो । जहाँ–जहाँ नेवाहरूको संख्या बढ्न थाल्यो, त्यहाँ उनीहरूले नेवा संघ–संस्था (खल, पुच, गुथि) स्थापना गर्नुपर्ने आवश्यकता महसुस गरे । नेवा संस्कृतिको संरक्षण, चाडपर्वको परम्परा कायम राख्ने उद्देश्यले थुप्रै नेवा संघ–संस्था गठन भए पनि विभिन्न देशमा रहेका नेवाबिच विचार आदान–प्रदान गर्ने साझा सञ्जालको भने अभाव थियो । यही अभाव पूर्ति गर्न विश्व नेवा संगठन (वर्ल्ड नेवा अर्गनाइजेसन– डब्लुएनओ, नेपालभाषामा, हलिं नेवा दबु) स्थापना गरिएको हो ।

नेपालमा जस्तै विदेशमा रहेका विभिन्न नेपाली जातीय समूहहरू पनि आफ्नो भाषा, संस्कृति र पहिचान बचाइराख्न आफ्नै संगठन बनाउने आवश्यकता महसुस गर्छन् । सन् १९९६ ताका नै संयुक्त राज्य अमेरिकामा बसेका नेवाहरूको एक बैठकले अन्तर्राष्ट्रिय नेवा सम्मेलनको अवधारणा अघि सारेको थियो । पछि अमेरिकामा रहेका त्रिभुवन तुलाधर, दयारत्न शाक्य, दिव्य हाडा लगायत व्यक्तिले नेपाल र विदेशमा रहेका नेवासँग छलफल गर्न थाले । सन् २००० मा त्रिभुवन तुलाधरले मलाई इमेलमार्फत सम्पर्क गरी अन्तर्राष्ट्रिय नेवा सम्मेलन आयोजना गर्ने विषयमा छलफल गर्नुभयो । तर उक्त प्रयास तत्काल सफल हुन सकेन । केही वर्षसम्म यो प्रक्रिया अवरुद्ध भयो ।

सन् २००५ मा नेपालका महेश्वर श्रेष्ठले सामाजिक सञ्जाल ‘नेसोका’ इमेल समूह सुरु गरे । पछि क्रमशः विभिन्न टेलिकन्फ्रेन्स र स्काइप सम्मेलनहरूको सुरुवात भयो । नेपालमा महेश्वर श्रेष्ठ, अर्थ तुलाधर, नरेश शाक्य लगायत व्यक्तिले विभिन्न गतिविधि सञ्चालन गरे । सन् २००९ देखि विभिन्न देशका नेवाबिच लामो छलफल भए । अन्ततः २१ अगस्ट २०१० का दिन बसेको एक बैठकले अमेरिकामा भएका एका दयारत्न शाक्यको संयोजकत्वमा विश्व नेवा संगठनको तथर्थ समितिको औपचारिक घोषणा भयो ।

अन्ततः नेपाल संवत् ११३२ कछलाथ्व ३, ४ र ५ (सन् २०११ अक्टोबर २९, ३० र ३१) तीन दिन लन्डन विश्वविद्यालयमा ‘पासा पुच गुथि युके’को सहयोगमा विश्व नेवा संगठनको पहिलो महाधिवेशन सम्पन्न भयो । स्थानीय ‘पासापुच गुथि’ तथा विभिन्न देशका नेवार प्रतिनिधि र नेपालबाट पाल्नुभएका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी र विशिष्ट अतिथिहरू, प्रोफेसर माणिकलाल श्रेष्ठ, मानवतावादी नेता पदमरत्न तुलाधर, डा. महेशमान श्रेष्ठ, प्रा. प्रेमशान्ति तुलाधर लगायत व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त महाधिवेशनले वर्ल्ड नेवा अर्गनाइजेसनको घोषणा भयो । सो महाधिवेशनले पहिलो अध्यक्ष पद सम्हाल्ने जिम्मा मलाई दियो ।

तीनदिने सो प्रथम विश्व नेवा सम्मेलनले नेपालमा एउटा जाति विशेषबाट राज्यसत्तामा एकलौटी हालमुहाली गरी अरु आदिवासी जनजातिलाई विभेद र सीमान्तकृत गर्दै आएकामा विरोध गर्दै नेपालको राष्ट्रिय एकताका लागि आवाज बुलन्द गर्न विश्वभरका विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्थालाई अनुरोध गरेको थियो । नेपालभित्र रहेका र बाहिर बसोबास गर्दै आइरहेका नेवारहरूको सरोकारको विषयमा पाँचबुँदे लन्डन घोषणापत्र जारी समेत गरियो ।

विश्व नेवा संगठनले कुनै पनि देशमा विद्यमान नेवा खल, पुच, गुथि, समाज वा अन्य कुनै नाममा गठित संस्थाहरूलाई विश्व नेवा संगठनमा सदस्यका रूपमा सामेल गर्ने नीति लिएको छ ।

 

पाँचबुँदे लन्डन घोषणापत्र

१) अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि १६९ लाई नेपाल सरकारले अनुमोदन गरिसकेपछि यो महासन्धि नेपालको कानुनसरह हो । यसको धारा २८.१ अनुसार नेपालका आदिवासी जनजाति बालबालिकाले आ–आफ्ना मातृभाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था गर्ने जिम्मेवारी नेपाल सरकारको हो । त्यस्तै, धारा २०.३ अनुसार आदिवासी जनजातिको भाषा, संरक्षण र प्रवद्र्धनको अधिकारको सुनिश्चितता दिने दायित्व नेपाल सरकारको हो । छिटै आफ्नो जिम्मेवारी पूरा गर्दै देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा उकास्न सरकारलाई अनुरोध गर्दछौँ ।

२) नेपालको प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा अग्रपंक्तिमा रही आफूलाई समर्पण गर्ने नेवारहरू आजसम्म विभेदमा पारिएका छन् । आदिवासी नेवारले आफ्नो अस्तित्वका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ निर्माण गरिने संविधानमा नेवारहरूको स्वशासन र अग्राधिकार हुने नेवा स्वायत्त र स्वशासित प्रदेश अनि अन्य जातीय स्वशासित प्रदेश सुनिश्चित गर्न निरन्तर आन्दोलन गरिरहेका छन् । देशभित्र भइरहेको नेवारहरूको यो आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता प्रकट गर्दै आन्दोलनलाई अगाडि बढाउन हामीले सक्दो योगदान गर्ने प्रतिबद्धता प्रकट गर्दछौँ ।

३) आदिवासी नेवारहरूको आदिभूमि भित्रको काठमाडौँ उपत्यकामा बिग्रँदो वातावरणले गर्दा यहाँका अमूल्य विश्वसम्पदा संकटमा परेका छन् । विश्व सम्पदाले भरिएको यो उपत्यका संरक्षण र संवर्द्धनका लागि पाइला चाल्दै आफ्नो अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न नेपाल सरकारमा माग गर्दछौँ ।

४) दैनिक सरकारी कामकाजमा र सांस्कृतिक कार्यक्रममा नेपाल संवत्लाई सरकारी संवत् अनुसार प्रयोग गर्ने नेपाल सरकारको निर्णय छ, त्यसलाई यस विश्व सम्मेलनले स्वागत गर्दछ । यस निर्णयलाई तत्काल लागू गर्न हामी अनुरोध गर्दछौं साथै एक शताब्दीअघिदेखि जबर्जस्ती लादिएको विक्रमसंवतलाई सरकारी प्रयोगबाट हटाउन पनि माग गर्दछौँ ।

५) विश्व नेवाः दबूको उद्देश्य पूरा गर्नका लागि करिब १३० राष्ट्रमा छरिएर रहेका नेवारहरूलाई संगठित हुन यो सम्मेलन अनुरोध गर्दछ ।

  • संगठन विस्तार

विश्व नेवा संगठन वास्तवमा नेपालबाहिर विभिन्न देशमा बसोबास गर्दै आएका नेवा समुदायको संयुक्त संस्था हो । विश्व नेवा संगठनको मुख्य काम विश्वभरका नेवाहरूसँगको सम्बन्ध सुदृढ गर्नु र नेपालमा नेवा जातिको हक–अधिकारको निमित्त आवाज बुलन्द गर्नु हो । यसको स्थापना भएपछि यसले विश्वभरका नेवारसँग अन्तक्र्रिया गर्ने कार्य सक्रिय रूपमा अघि बढायो । विभिन्न देशमा ‘डब्लुएनओ’का शाखा स्थापना भइसकेका छन् भने पहिले नै स्थापित भएका नेवा संघ–संस्थाहरूसँग सहकार्यको सम्बन्ध बढाउने तथा प्रत्येक देशमा रहेका नेवारलाई ‘डब्लुएनओ’को शाखा स्थापना गर्न प्रोत्साहित गर्ने काम भयो । यसको मुख्य उद्देश्य नेवा नेवाहरूबिचको सम्बन्ध मजबुत बनाउनु थियो ।

लन्डनपछि नेपालमा दोस्रो महाधिवेशन समयमै सम्पन्न गर्ने सबै तयारी पूरा भइसकेको थियो । तर नेपालमा राजनीतिक अस्थिरता र पछि भूकम्पको कारणले निम्त्याएको दुःखद अवस्थाका कारण महाधिवेशन नेपालको सट्टा अमेरिकाको बाल्टिमोर, मेरिल्यान्डमा गर्नुपर्ने भयो । दोस्रो महाधिवेशन सन् २०१६ को मार्च २५, २६ र २७ मा बाल्टिमोर, मेरिल्यान्ड, संयुक्त राज्य अमेरिकामा आयोजित थियो । विश्व नेवा संगठनको अमेरिका च्याप्टर र नेवा अर्गनाइजेसन अफ अमेरिका तथा पासा पुच अमेरिकाको संयुक्त आयोजनामा दोस्रो महाधिवेश सम्पन्न भएको थियो । सो महाधिवेशनले अमेरिका निवासी सिजन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्‍यो । तेस्रो महाधिवेशन सन् २०१९ मार्च २८, २९, ३० मा नेपालमा सफलतापूर्वक सम्पन्न भयो । त्यस्तै, चौथो महाअधिवेशन फेरि अमेरिकाको न्युयोर्कमा सन् २०२२ को अगस्ट ५, ६ र ७ मा सम्पन्न भयो भने उक्त महाधिवेशनले संयुक्त श्रेष्ठको अध्यक्षतामा एक नयाँ कार्यसमिति चयन गर्‍यो ।

डब्लुएनओको स्थापना भएपछि नेपालभित्र र बाहिर नेवा समुदायका गतिविधिमा उल्लेखनीय उत्साह देखिएको छ । विशेषगरी विश्व नेवा मञ्चले नेपालबाहिर नेवा अधिकारबारे सचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । विश्व नेवा संगठनले नेवाहरूको जातीय तथा भाषिक अधिकारका साथै उनीहरूको छुट्टै पहिचानका लागि विश्वभरका नेवालाई एकजुट गराउने प्रयास गरिरहेको छ ।

विश्व नेवा संगठनको स्थापनापछि विभिन्न देशमा रहेका नेवा संघ–संस्थाहरूसँग सहकार्य बढ्दै गएको छ । विश्व नेवा संगठनले कुनै पनि देशमा विद्यमान नेवा खल, पुच, गुथि, समाज वा अन्य कुनै नाममा गठित संस्थाहरूलाई विश्व नेवा संगठनमा सदस्यका रूपमा सामेल गर्ने नीति लिएको छ । विश्व नेवा संगठनको उद्देश्यानुसार काम गर्न यति मात्रै पर्याप्त नहुने भएकाले यसको अलाबा विश्वका विभिन्न देशमा विश्व नेवा संगठनको शाखा खोल्ने प्रयास यसको स्थापनाकालदेखि नै जारी छ । नेवा संस्था नभएका देशमा विश्व नेवा संगठनको शाखा खोल्न कुनै समस्या नभए पनि जहाँ नेवा संघ–संस्था विद्यमान छन्; त्यहाँ विश्व नेवा संगठनको स्थापना गर्न नेवा संघ–संस्थासँगको परामर्शमा द्वन्द्वविना अगाडि बढ्नु चुनौतीपूर्ण छ ।

नेपालमा धेरै नेवा संघ–संस्था छन् र विश्व नेवा संगठन मुख्यतया नेपाल बाहिरको नेवा संस्था हो । अगस्ट २०१२ मा विश्व नेवा संगठनले नेपालमा आफ्नै च्याप्टर स्थापना गर्‍यो । नेपाल, अमेरिका, जर्मनी, नेदरल्यान्ड, जापान, भारत र बेलायतमा च्याप्टर खोलिसकिएको छ भने विभिन्न अरब देशहरू, मध्यपूर्व र पोर्चुगलमा च्याप्टर खोलिसकेका छन् । तर धेरै देशमा शाखा गठन हुन बाँकी रहेको छ ।

नेवा संस्था नभएका देशमा विश्व नेवा संगठनको शाखा खोल्न कुनै समस्या नभए पनि जहाँ नेवा संघ–संस्था विद्यमान छन्; त्यहाँ विश्व नेवा संगठनको स्थापना गर्न नेवा संघ–संस्थासँगको परामर्शमा द्वन्द्वविना अगाडि बढ्नु चुनौतीपूर्ण छ ।

  • उपलब्धि

विश्वभरि छरिएर रहेका नेवार समुदायबिच आफ्नो भाषा–संस्कृतिको जर्गेना तथा प्रवर्धनका लागि सचेतना जागरण गर्न र नेपालमा राज्यबाट भइरहेको विभेदको अन्त्यको आवाज बुलन्द पार्नका लागि पनि विश्व नेवा संगठनको स्थापना भएको हो । नेपालमा जातीय, भाषिक र सांस्कृतिक विभेद विद्यमान छ । राज्यले पनि सोही आधारमा विभेद व्यवहार गरिरहेको हामी पाउँछौँ । त्यसो हुँदा विभिन्न जाति तथा समुदाय राज्यको मूलधारदेखि पछाडि परेको यथार्थ विद्यमान छ । सबै जाति तथा समुदायका भाषा, कला र संस्कृतिलाई राज्यले समान व्यवहार गर्नुपर्छ भन्ने मान्यता नेवार समुदायले राख्दै आएको छ । विश्व नेवा संगठनको उद्देश्य नेपालमा नेवा आन्दोलनलाई नैतिक तथा भौतिक समर्थन पुर्‍याउनु पनि हो । नेपालमा मधेसी तथा जनजातिका अधिकारसम्बन्धी आन्दोलनमा ऐक्यबद्धता जनाउने नैतिक समर्थन गर्ने कार्य पनि गर्दै आएको छ । तथापि नेवा एवं मधेसी तथा जनजातिका विभिन्न आन्दोलनमा प्रत्यक्ष संलग्न भएर सहयोग पुर्‍याउने कुरामा संगठनले अझै प्रभावकारी भूमिका खेल्न सकेको छैन ।

त्यस्तै, विश्व नेवा संगठनको अर्काे उद्देश्य भनेको नेवाहरूलाई परेको खण्डमा आर्थिक सहयोग गर्नु र नेवाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन आवश्यक भूमिका खेल्नु पनि हो । विश्व नेवा संगठनलाई आर्थिक सहयोगका लागि नेवाहरूबाट धेरै अनुरोध आइरहने गर्छन् । नेवा समुदायको आर्थिक सशक्तीकरणमा सहयोग पुर्‍याउने उद्देश्यसहित विश्व नेवा संगठनले ‘विश्व नेवा कोष’ स्थापना गर्ने अवधारणा पनि अघि सारेका छन् । यसका लागि अवधारणापत्र तयार गरिए पनि कोषलाई सुदृढ पार्ने पर्याप्त प्रयास हुन सकिरहेको छैन ।

हुन त विश्व नेवा संगठनको बनेको लगत्तै नेवा देय दबुले भाजु सुवर्णमान तुलाधरको ‘आफैँ नेपालभाषा सिकौँ’ जस्ता पुस्तक प्रकाशित गर्न आर्थिक सहयोग गर्न, सरोकारका विषयमा बनेको मुद्दा फिल्म निर्माण गर्ने लगायत काममा आर्थिक सहयोग पुर्‍याउने कार्य गरियो । सन् २०१५ को भूकम्पले आफ्नो देशमा आइपरेको विपतमा विश्व नेवा संगठनले पनि विश्वभर आर्थिक संकलन नेपालका भूकम्पपीडितलाई विभिन्न तरहले सहयोग गरेको पनि यहाँ उल्लेखनीय छ ।

कोभिडको प्रकोपले विश्व त्रसित वातावरणमा पनि विश्व नेवा संगठन आफ्नै तबरले सक्रिय रह्यो । घरबाहिर समेत निस्कने अवस्था समेत नरहेको त्यो बेला विश्व नेवा संगठन जुममार्फत भए पनि अनेकौँ सम्मेलनहरू गरी विचार आदान–प्रदान गर्ने एकापसमा सहयोगको वातारण बनाउने काम जारी राख्यो । भाषिक र साहित्यिकदेखि नेवा संस्कृति, संस्कार, कला, वास्तुकला विषयका प्राज्ञिक गोष्ठी र सम्मेलन पनि आयोजना गरियो । यसैबिच डब्लुडीबी दैनिक जुम कार्यक्रम सञ्चालनमा ल्याएर नेवा प्रतिभाहरू खोजीखोजी विश्वमाझ चिनाउने कार्य सुरु भयो, जुन अद्यापि जारी छ । यो बेलाको सबभन्दा महत्त्वपूर्ण कार्य भनेको नेपालभाषालाई गुगलको अनुवाद इन्जिनमा समावेश गर्न विश्व नेवा संगठनले खेलेको भूमिका हो । सन् २०२१ बाट थालेर सयौँ नेपालभाषा प्रेमीहरूको निरन्तर प्रयासले २०२४ सम्म आइपुग्दा नेपालभाषालाई विश्वका अरु कुनै भाषामा सजिलै अनुवाद गर्न सकिने बनाइसकेको छ । संयुक्त श्रेष्ठको अध्यक्षतामा रहेको हालको विश्व नेवा संगठनको नेतृत्वले उच्च प्रविधिको यो युगमा आफ्नो मातृभाषालाई विश्व समुदायमाझ फैलाउन खेलेको यो भूमिका नेपालभाषाको विकासको इतिहासमा अति नै महत्त्वपूर्ण छ ।

  • केही चुनौती

नेपाल बाहिरबाट आउने अन्य जातीय समूह र नेवा समुदायको तुलनामा नेपालमा नेवाको संख्या निकै कम छ । उदाहरणका लागि नेदरल्यान्डमा एक सयको हाराहारीमा होलान् । जर्मनी र फ्रान्स ठुला देश भए पनि त्यहाँ नेवाको संख्या न्यून छ । पराया देशमा जिउन अनेक कठिनाइ भोग्नुपर्ने हुनाले पनि व्यवस्थित ढंगले सांगठनिक काम गर्न पनि गाह्रो छ । अमेरिका, बेलायत र अस्ट्रेलियाजस्ता देशहरूमा नेवाहरूको अलि बेसी संख्यामा रहेको देखिन्छ । यसरी नेवाहरू बेसी संख्यामा रहेको देशमा पनि नेवाहरू एकअर्कासँग समन्वय गरेर काम गर्न सजिलो भने छैनन् । जब मैले बेलायतको बारेमा कुरा गरेँ, जहाँ मैले नेपालीका बारेमा अनुसन्धान गरेँ, मैले देखेँ कि अन्य नेपाली जातीय समूहका मानिस आफ्ना जातीय संगठनमा सामेल भई काम गर्न कुनै हिच्किचाहट देखिँदैन ।

नेपालमा नेपाल भाषा मंका खलले जस्तै बेलायतमा रहेको ‘नेवा संस्था पासा पुच गुथि’ले पनि आफ्नो नेवा घर बनाउने घोषणा गरेको थियो । हालसम्म त्यो बन्न सकेको छैन । धेरै पछाडि मात्र संगठन बनाएका गुरुङ (तमु), मगर र खम्बु लिम्बु समुदायले भने आफ्नो जातीय संस्थाको नाममा घर बनाइसकेका छन् । परदेशमा रहेका नेवाले आपसमा छलफल गरेर नेवाको हितमा काम गर्न सक्नुपर्छ भन्ने म देख्छु ।

नेवाहरू अरु जातिको तुलनामा एकताबद्ध नरहेको गुनासो पनि धेरै सुन्नमा आउँछ । यो एक किसिमले स्वाभाविक पनि हो किनभने नेवाहरूले आफूलाई एक जातिको रूपमा भन्दा पनि, एक राष्ट्र वा राष्ट्रियताको रूपमा पनि गर्व गर्छन् । तर नेपालका अन्य जातीय समूहजस्तै नेवाहरू पनि राज्यले उपेक्षित व अपहेलित अवस्था छ । अधिकारबाट वञ्चित भएका नेवाको अवस्था नेपालका अन्य जातीय समूहभन्दा फरक छैन । नेपालमा आदिवासी जनजाति महासंघको स्थापनामा नेवा नेता पद्मरत्न तुलाधर, मल्ल के. सुन्दर, केशवमान शाक्य र अन्यको प्रमुख भूमिका थियो । तर नेपाल र नेपालबाहिर धेरै नेवालाई यो कुरा थाहा छैन । आदिवासी जनजातिसँग काम गर्ने सन्दर्भमा नेवाहरू अन्य जातीय समूहजस्तो सकारात्मक रूपमा अगाडि बढिरहेका छैनन् । एकातिर नेवाहरू आफ्नै जातिभित्र मिलेर काम गर्न सकिरहेका छैनन् भने अर्काेतिर उपेक्षित आदिवासी जनजातिसँग मिलेर जाने काममा पछि रहेको सुन्न सकिन्छ । नेवा जातिले यो आफ्नो कमजोरी सच्याउनुपर्छ ।

  • नेवा संस्कृति र भाषा

चाडपर्व मनाउने, धार्मिक अनुष्ठान, खानपिन, कला र संस्कृतिका हिसाबले नेवाहरू नेपाल बाहिरका साथै नेपालभित्र पनि एक अग्रणी जातिको रूपमा चिनिएका हुन् । नेपाल बाहिरका नेवा संघ–संस्थाले नेपाल संवत्को नयाँ वर्ष मनाउने, सामूहिक म्हपूजा, लाखे प्याखँ र विभिन्न नेवा चाडपर्व मनाउने गर्दै आएका छन् । देवी–देवता पूजालगायत विभिन्न धार्मिक, सामाजिक कार्य गरेर नेवा रीतिरिवाज र परम्परालाई जोगाउन प्रयासरत रहेको देखाउन नेवाहरू सफल छन् ।

देशबाहिर रहेर पनि विगत केही वर्षदेखि अगाडिदेखि उनीहरूले माधवनारायणको व्रत बस्ने, स्वस्थानी वाचन गर्नेदेखि कुमारी रथ तान्ने, पुलुकिसी नचाउने, अष्टमातृका नचाउनेदेखि भक्तपुरकै शैलीमा योसिं ठड्याउने र भैरव रथ तान्ने अनि नरदेवी जात्रा गर्ने आदि समेत पनि गर्न थालेका छन । नेपालबाहिर पनि आफ्नो संस्कृति र रीतिरिवाज मनाउँदै आएकामा नेवाले यी कार्यमा गर्व गर्नुपर्छ, यो राम्रो पक्ष हो । विडम्बना राज्यको पूर्वाग्रही नीतिका कारण आफ्नो ठाउँबाट विस्थापित नेवाहरू मातृभाषा सिक्न र नेवा भाषा बोल्नमा भने खासै चनाखो देखिँदैनन ।  हुन त नेपालमा मात्र होइन, विदेशमा पनि उनीहरूलाई आफ्नो भाषा र संस्कृतिको संरक्षण गर्न सहज अवस्था छैन । विशेष गरी भाषाको सन्दर्भमा नेपालमा आफ्नै घरमा मातृभाषा प्रयोग नगर्ने प्रवृत्ति बढ्दो छ । यसको मुख्य कारण नेवाहरूमा भाषाको महत्त्वबारे जारुकताको कमी हो भने अर्कातर्फ नेपालको विगत र वर्तमान सरकारहरूले अपनाउँदै आएको ‘एक भाषा नीति’ पनि प्रमुख कारक रहिआएको छ ।

यसकारण विश्व नेवा संगठनले विश्वभरका नेवाहरूलाई विशेषगरी नेवा संघसंस्था र संघसंस्थालाई नेवाहरूको जातीय र भाषिक अधिकारको पक्षमा उभिन दोहोरो काम गर्नुपर्ने ठाउँमा छ । आफ्नै देशमा आफ्नो भाषा, जातीय हक र नेवा पहिचानका लागि लडिरहेका नेवालाई सहयोग गर्न एकातिर छ भने अर्काेतर्फ विदेशमा रहेका नेवाहरू माझ चेतना जगाउने काम विश्व नेवा संगठनले निरन्तर गरिरहनुपर्ने दायित्व छ । नेपालभत्र वा बाहिर नेवाले आफ्नो मातृभाषा नेपालभाषा र नेवा जनताको पहिचान र अधिकारका लागि सक्दो केही गर्नुपर्छ भन्ने विचार र भावनालाई सशक्त बनाउन ‘डब्लुएनओ’को भूमिका आगामी दिनहरूमा अझै महत्त्वपूर्ण हुनेछ ।

सन १९२० ताका राणाकालमा ‘गोर्खाली’ वा ‘खस’ भाषालाई मात्र ‘नेपाली’ र ‘सरकारी’ भाषा घोषणा गरेपछि यता हालसम्म अन्य कुनै पनि भाषालाई ‘नेपाली’ मानिएको छैन । नेपालका सबै जातीय समुदायका नागरिकहरू ‘नेपाली’ भए पनि नेवाको भाषा नेपालभाषा लगायत अन्य कुनै पनि भाषा शैक्षिक क्षेत्र, सरकारी प्रशासन, न्यायालय वा संसदमा प्रयोग गर्न अनुमति दिइएको छैन । त्यसैले नेवारहरू लगायत नेपालका अन्य जातीय समूहलाई आफ्नै मातृभाषाको सट्टा खस भाषा अपनाउन बाध्य पारिएको छ ।

नेपालमा यस्तो पृष्ठभूमि रहेकै बेला विदेशमा बसाइँ सरेका नेवारहरू झनै जटिल चुनौतीको सामना परिरहेका छन् । यद्यपि केही आशाजनक संकेत नदेखिएका होइनन् । अमेरिका तथा अन्य धेरै देशहरूमा उल्लेख्य संख्यामा रहेका नेवारले आफ्ना संगठनहरूमार्फत नेपालभाषा कक्षा सञ्चालन गरिरहेका छन् । हाल जुममार्फत अनलाइन नेपालभाषा सिकाउने कक्षाहरू पनि हुन थालेका छन् । भविष्यमा यस्ता प्रयास अझ व्यापक हुने अपेक्षा गर्न सकिन्छ ।

नेपाल सन् २००८ मा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिए पनि शासक वर्गको सोच परिवर्तन भएको छैन । दुई शताब्दीभन्दा बढी समय शाह राजाहरू सँगै शासन गरेका पहाडी हिन्दु कथित उच्च जातीय (बाहुन–क्षेत्री) शासकहरू अहिले पनि आफ्नो एकल जातीय प्रभुत्व कायम राख्न बलजफ्ती लागेका छन् । ‘डब्लुएनओ’को एक प्रमुख लक्ष्य भनेको नेपालमा भाषा, संस्कृति तथा जातीय पहिचानका आधारमा गरिने विभेदहरूका विरुद्ध आवाज उठाउने पनि हो । ‘डब्लुएनओ’को स्थापनाले अन्य जातीय समुदायलाई पनि यस्तै विश्वव्यापी संगठनहरू निर्माण गर्न प्रोत्साहित गर्नेछ । अन्ततः, यसले नेपालभित्र र बाहिर रहेका उत्पीडित जातीय समूहहरूको आवाजलाई विश्वव्यापी रूपमा सशक्त बनाउँदै लाने निश्चित छ ।

राज्यको दमन र मातृभाषाको अपमान र अपमान नेवाले बुझ्न सकिरहेका छैनन् । नेपालमा जस्तो सरकार वा विद्यालयले कर नगर्ने भए पनि नेपाल बाहिर अमेरिका, बेलायत जस्ता देशमा बसोबास गर्ने कतिपय नेवाले आफ्ना छोराछोरीलाई खस भाषा बोल्न सिकाउने तर आफ्नो मातृभाषा बोल्न किन नसिकाएको हो बुझिएको छैन । नेवाहरू आफ्नो जातीय पहिचान र भाषिक अधिकारका बारेमा चनाखो नहुनु दुःखद् तथ्य हो ।  (आइतबार, १७ चैत २०८१ मा प्रकाशित )

साभार

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • बेल्जियमका एनआरएन तथा वर्ल्ड नेवा:अर्गनाईजेशनका प्रतिनिधिहरुसँग जापानमा भेटघाट तथा स्वागत कार्यक्रम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑