

डा बाल गोपाल
व्यक्तिगत रूपमा चिन्नुभन्दा धेरै अगाडि देखि नै इतिहासविद् धनवज्र वज्राचार्यलाई उहाँका लेखनहरूबाट मैले चिन्न थालेका थिएं । शुरुमा उहाँले मधुपर्कमा लेख्नु भएको ‘गुंविहार’ शिर्षकको लेख पढने मौका मलाई मिलेको थियो । त्यसपछि उहाँले लेख्नु भएका इतिहासका अरू धेरै लेखहरू लगायत उहाँको ‘लिच्छविकालका अभिलेख’ जस्तो अत्यन्त्त महत्वको इतिहासको पुस्तक पनि पढने मौका मलाई मिल्यो । उहाँले लेख्नु भएको गुंविहार लेखमा सांखु शहरको उत्तर दिसामा अवस्थित मणिचूड पर्वतको फेदतीरको वन सहितको क्षेत्र बारेको ऐतिहासिकता एवं उक्त स्थानमा अवस्थित बौद्ध विहार बारे लेखेर सो क्षेत्रलाई नै नेपाल खाल्डोको सर्वाचिन बौद्ध विहार रहेको स्थान भनेर उहाँले ठम्याउनु भएको थियो । आफ्नो जन्मस्थल सांखु गुंविहार बारेको ऐतिहासिक महत्वबारे यसरी प्रकाश पार्ने विद्वान लेखक हुनुभएकोले पनि होला धनवज्र वज्राचार्यप्रतिको चाख र सन्मान ममा शुरु देखि नै थियो । यसरी ममा उहाँ बारे जान्ने र उहाँ संग चिनजान गर्ने उत्सुकता जाग्न थालेको थियो ।
सन १९८८ ताकाको कुरा हो लाइदन विश्वविद्यालय, नेदरल्याण्डका मावनशास्त्री बेर्त भन देन हुक (१९५१–२००१) संग भइ मैले काठमाण्डौं शहरको उत्तरीभागमा अवस्थित लुति अजिमा (जस्लाई इन्द्रायणी भनेर पनि चिनिन्छ) को जात्रा र लुति अजिमा मन्दिर परिसरमा प्रत्येक वर्ष सम्पन्न हुने सर्प होमकोबारेमा एक अनुसंधान थालेका थियौं । यही क्रममा काठमाण्डौं शहरको इतिहास एवं धार्मिक र सांस्कृतिक महत्वबारे जान्ने बुझ्ने मौका मलाई भयो । पछि सन १९९१ बाट बेर्त भन देन हुकसंग नै भइ काठमाण्डौं शहरभित्र मनाइने चांडपर्व, जात्रा, परंपरागत नाचगान तथा गुठिगानाबारे स्थलगत अध्ययन र अनुसंधान पनि हामी दुइले थाल्यौं । यहि क्रममा इतिहासविद् धनवज्र वज्राचार्यसंग पहिलो चोटी व्यक्तिगत चिनजानको मौका हामीलाई मिल्यो ।
उहाँसंगको त्यो पहिलो भेट महाबौद्ध स्थित उहाँका दाज्यु मनवज्र वज्राचार्यले संचालन गर्दै आउनुभएको पीयूषवर्षी औषधालय नामको प्रख्यात आयुर्वेदीक औषधालय क्लिनिक परिसर भित्र रहेको बगैंचासंगै रहेको उहाँको निवासको भुंइ तल्लामा रहेको आफ्नो कोठामा उहाँले हामीलाई स्वागत गर्नु भएको थियो । लगभग दुइ घण्टा जतिको त्यो हाम्रो भेटघाटमा हामीले पोखेका अनेकन जिज्ञासा र प्रश्नहरूको जवाफ अलिकति पनि झिंझो नमानी उहाँले दिनु भएको थियो ।
इतिहासका एक प्रसिद्ध विद्वान भएर पनि उहाँसंगको त्यो पहिलो भेटमा उहाँले देखाउनु भएको सौहाद्र्रता र साद्गीपनबाट हामी दुबै ज्यादै प्रभावित भएका थियौं । मूल रूपमा त्यस पहिलो भेटमा काठमाण्डौंमा मनाइने चांडपर्व, जात्रा, परंपरागत नाचगान तथा गुठीहरूको ऐतिहासिकता र सांस्कृतिक महत्वबारे जिज्ञासा हामीले राखेका थियौं । त्यस बाहेक उहाँले गर्दै आउनु भएको इतिहासको गहन खोज र लेखन बारे पनि हामीले कुरा गर्यौ । त्यो भेटमा हामीले उहाँले जस्तै इतिहासको खोज अनुसंन्धान गर्ने उहाँ पछि उहाँका उत्तराधिकारी भएर काम गर्ने शिष्यहरूको तयारीबारे पनि जिज्ञासा राखेका थियौं । आफुले मन, मस्तिक र शरीरले भ्याएको र सकेजति काम गरीरहेको छु र पछि पनि यो क्षेत्रमा मभन्दा अझ लगनशील भएर गहन काम गर्नेहरू आउलान नै तर आफुले आफ्नो उत्तराधिकारी नै भएर कसले काम गर्लान भनेर भने उहाँले केही भन्नु भएन । प्राचिन लिपिहरू ब्राम्ही, लिच्छवी, भुजिमोल लगायत नेपाल लिपिमा समेत ज्ञान राखेर संस्कृत भाषा, नेपालभाषा तथा खस–नेपाली, हिन्दी लगायतका भाषाहरूमा दखल राखेर इतिहासको गहिरो विश्लेषणको क्षमता राख्ने उहाँ जतिको ज्ञाता विद्वानको अभाव सधै खटकिरहने छ ।
सन १९८० मा पुरानो नेपालभाषाको शब्दकोष तयार पार्ने हेतुले गठित नेपालभाषा शब्दकोष निर्माण समितिको पनि उहाँ संस्थापहरूमध्ये एक हुनुहुन्थ्यो । जहां मलाई सन १९८८–१९८९ ताका संपादकीय सहायक भएर केही समय काम गर्ने मौका मिलेको थियो । मैले त्यहा काम गर्नु भन्दा केही वर्ष अगाडी सन १९८४ मैं उहाँले त्यस संस्था छाडिसक्नु भएकोले त्यहा भने उहाँसंग भेटघाट हुने कुरा भएन । सार्वजनिक कार्यक्रमहरूमा खासै देखा नपर्ने उहाँसंग बाहिरफेर भेट हुने भनेको कमै मात्र संभावना थियो । त्यसमध्ये सन १९९३ मा गणबहालस्थित गोयथे इन्स्टिच्युटमा आयोजना भएको मण्डला उत्सवमा नेपाल मण्डलाबारे एउटा कार्यपत्र उहाँले पेश गर्नु भएको थियो । उक्त कार्यपत्रमा उहाँले विभिन्न ऐतिहासिक तथ्यहरू, विशेषत कौटिल्यको अर्थशास्त्रमा उल्लेखित कुराहरूको समेतको आधारमा नेपाल देशको क्षेत्रफल प्राचीनकालमा पनि अहिलेकै जति भूभागमा फैलिएको थियो भन्ने विश्लेषण उहाँले गर्नु भएको कुरा यहां उल्लेखनीय छ ।
सन १९७१ मा इतिहास संशोधन मण्डलसंगको आफ्नो संलग्नता त्यागेर त्यही साल देखि नै उहाँ त्रिभुवन विश्वविद्यालको अनुसन्धान एकाइकोरूपमा रहेको नेपाल अध्ययन संस्थानमा आबद्ध हुन पुग्नुभएको थियो । त्यस संस्था नै पछि नेपाल तथा एशियाली अनुसंधान केन्द्रको नामले चिनिन थालेको हो भने त्यस संस्थामा उहाँ सह–प्राध्यापककोरूपमा सन १९९४ जुलाइ ४ मा उहाँ वित्नु हुंदासम्म अर्थात आफ्नो मृत्यु पर्यन्त नै संलग्न रहनु भएको थियो । सौभाग्यको कुरा त्रिभुवन विश्वविद्याल सेवामा प्रवेस गरेको केही समय पश्चात अर्थात सन १९९३ बाट म स्वयम पनि नेपाल तथा एशियाली अनुसंधान केन्द्रमा उप–प्राध्यापककोरूपमा संलग्न हुने मौका मलाई मिल्यो ।
त्यहां मलाई दिइएको अफिस कोठा र धनवज्र वज्राचार्यको अफिस कोठा एउटै तल्लामा एकै लहरमा थियो । अनुसंधान केन्द्रमा आबद्ध अनुसंधाता प्राज्ञहरूलाई दिन भरि अफिसमै बसेर काम गर्नुपर्ने वाध्यता भने कसैलाई थिएन । प्रायः केन्द्रका अनुसंधाताहरू आआफ्नो अनुसंधानको सिलसिलामा कार्यक्षेत्र (फिल्ड) मा व्यस्त रहने भएकोले केन्द्रमा उति धेरै आपसी भेटघाटको मौका थोरै नै हुने गर्थ्यो । तैपनि अनुसंधान केन्द्रमा धनवज्र वज्राचार्यसंग भेटने तथा उहाँसंग कुराकानी गर्ने उत्कण्ठ इच्छा ममा थियो । सन् १९८६ मा जापानको टोयोटा फाउण्डेसनबाट उहाँको मध्यकालीन अभिलेखहरूको संपादन, अनुवाद र प्रकाशन परियोजनालाई अनुदान प्रदान गरीएको थियो । यो कामको थालनी संगै उहाँको स्वास्थ्यमा केही समस्या देखिएकोले उहाँले आफ्नो घरैमा बसेर सो परियोजनाको काममा आफ्ना सहयोगीहरू टेकबहादुर श्रेष्ठ तथा रुक्मणी वन्तज्यूहरूसंग काम गर्दै आउनु भएको थियो । त्यसैले पनि कीर्तिपुर अवस्थित त्रिभुवन विश्वविद्यालको परिसरमा रहेको नेपाल तथा एशियाली अनुसंधान केन्द्रमा आउन छोड्नु भएको बर्षौं भैसकेको कुरा मैले अनुसंधान केन्द्रमा काम गर्नथालेपछि थाहापाएं । त्यसको अलावा मैले अनुसंधान केन्द्रमा काम गर्न थालेको वर्ष दिन पनि वित्दा नवित्दै उहाँले देहत्याग गर्नु भएको थियो । यसले गर्दा एउटै अनुसंधान केन्द्रमा काम गरेका एक अनुसंधाता भएर पनि आफ्नो अग्रज अनुसंधाता जो विश्वविख्यात इतिहासकार हुन र जस्लाइ म हृदय देखि नै अत्यन्त आदर र सन्मान गर्थे त्यो महान व्यक्तित्व धनवज्र वज्राचार्यसंग एकपल्ट पनि कार्यालयमै भेट्ने मौका मलाई जुरेन भन्नु पर्दा कतिको नमिठो अनुभव हुन्छ भन्ने कुराको महसुस म आफैलाई बाहेक अरूलाई हुने भएन !
मलाई गर्व लाग्छ उहाँको मृत्युको दुइ वर्ष नबित्दै नेपाल तथा एशियाली अनुसंधान केन्द्रबाट अर्धवार्षिकरूपमा प्रकाशित हुन्दै आएको कन्ट्रिब्युसन्स टु नेपलिज स्टडिज जर्नलको वर्ष २३ अंक १ उहाँलाई समर्पण गरिएको स्मृति ग्रन्थकोरूपमा प्रकाशित भयो । प्राध्यापक निर्मलमान तुलाधरको व्यस्थापकीय–संपादनमा प्रकाशित उक्त स्मृति ग्रन्थमा धनवज्रको विद्वताबाट कुनै न कुनै प्रकारले लाभान्वित अनेकन विद्वानहरू मध्ये मेरि स्लसर, बर्नहार्ड कोयल्भर, जेरांड तोफां, तद लुइस, देभिड गेल्नर, बेर्त भन देन हुक जस्ता विदेशी विद्वानहरू देखि प्रयागराज शर्मा र कमलप्रकाश मल्लद्वारा लिखित उहाँको छोटो जीवनी र हर्क गरुंग, प्रेम कुमार खत्री, प्रेमरमण उप्रेती, राजेन्द्र प्रधान, प्रत्युस वंत, दिल्लीराज शर्मा, टेकबहादुर श्रेष्ठ, चुन्दा वज्राचार्य, सुशिला मानन्धर सम्मका अनुसंधानात्मक लेखहरू समेटिएका छन । सांखु देवी नाच बारे मैले लेखेको एक अनुसंधानात्मक लेख पनि श्रद्धय धनवज्रमा समर्पित उक्त स्मृति ग्रन्थमा समेटिएकोमा म आफुलाई धन्य सम्झन्छु ।
स्मरणीय छ धनवज्रमा समर्पित उक्त स्मृति ग्रन्थ प्रकाशन हुनु भन्दा केही समय अगाडी मलाई लाइदन विश्वविद्यालय, नेदरल्याण्डबाट मावनशास्त्रमा विद्यावारिधिको निम्ति छात्रवृति प्राप्त भएको थियो । लाइदन बसेर आफ्नो विद्यावारिधिको अध्ययन अनुसंधान थालेको त्यो बेला
लाइदन विश्वविद्यालयले प्रकाशित गर्दै आएको ‘मार’ नामको साप्ताहिक पत्रिकामा इतिहासकार धनवज्रकोबारेमा एउटा छोटो लेख प्रकासन गरी उहाँको अतुलनीय विद्वताबारे चर्चा मैले गरेको थिए । त्यो अंग्रेजी लेखको अनुदित सार यहां प्रस्तुत गर्न म अनुमति चाहन्छु :
हाम्रा महान् नेपाली इतिहासकार धनवज्रको निधन भएको एक वर्षभन्दा बढी समय भयो र उहाँको सन्मानमा गत १९९७ जनवरी २३ तारिखका दिन नेपालमा एक स्मृति ग्रन्थको लोकार्पन भएको थियो । धनवज्रप्रति अनुगृहित थुप्रै लेखकहरूको लेखहरू संग्रहित यो ग्रन्थले धनवज्रप्रति ती लेखकहरूको श्रद्धा र सन्मानलाई उजगार गरेको छ । त्यो एउटा राम्रो कार्य थियो, र अग्रगामी नेपाली इतिहासकार धनवज्र पक्कै पनि यसको लागि योग्य हुनुहुन्छ ।
हाम्रा अग्रज विद्वानले आफ्नो काम पछिको पुस्ताले पनि जारी राख्न सक्ने शिष्यहरूको टोली भने निर्माण गरेनन् । यो पनि भन्नै पर्छ कि उनले संकलन गरेका धेरैजसो सामग्रीहरू अझै सर्वसाधारणको पहुज भन्दा टाढा नै छन् । नेपालमा उहाँको कामलाई जारी राख्न सक्ने नगन्य मानिसहरूमात्र बाँकी छन् र ती सबै ४० वा ५० वर्ष उभोका छन् । के मलाई विद्यावारिधिको अवसर दिने देश हल्याण्डले धनवज्रका उत्तराधिकारीहरूको कामलाई समर्थन गर्न सक्छ ? छैन जस्तो लाग्छ । नेपाल आफैं पनि परम्परागत ज्ञानलाई गम्भीरताका साथ लिने र उनीहरूका कामलाई प्रोत्साहित गर्ने काममा ज्यादै पछाडि छन् ।
धनवज्रलाई विश्वविद्यालयको जागिरले महिनामा २०० गिल्डर बराबरको रकम भन्दा बढी दिन सकेन । तर यहां मेरो लागि ठूलो झट्का यो हो कि हल्याण्डमा अनुसन्धानकर्ताहरूको योग्यता उमेरको आधारमा मूल्याङ्कन गरीन्दो रहेछ । हाम्रा विद्वान धनवज्रका विद्यार्थीहरू जस्ता उमेर घर्केका मानिसहरूले लाइदन विश्वविद्यालयको उत्कृष्ट अनुसंधान केन्द्रहरूमा कुनै मौका पाउने देखिन्दैन । किन ? किनभने तिनीहरू ४० वर्ष भन्दा बेसी उमेरका छन्, र जुन यहां यो विश्वविद्यालय प्रशासकहरूको नजरमा ठूलो पाप हो जस्तो देखिन्छ ।
जवान सुन्दर छ, कुनै शङ्का छैन, तर के जवानको सुन्दरता मात्रै यहांका अनुसन्धान केन्द्रहरूमा अनुसन्धानकर्ताकोरूपमा नियुक्त हुन पाउने एकमात्र मापदण्ड हुनुपर्छ ? युवा ‘करियर’मा जोड दिनु भनेको मेरो बिचारमा ज्यादै डरलाग्दो छ । उमेर वा ‘क्यारियर’ सम्भावनाहरूको मात्र ख्याल राख्ने डच प्राज्ञिक संस्थाहरूको यो छनौटको मापडण्ड प्राज्ञिक अनुसन्धानको लागि एकदम अप्रासंगिक छन् । एसियाली अध्ययनको क्षेत्रका अन्तर्राष्ट्रिय रूपमा चिनिएका प्रोफेसरहरूलाई ६५ वर्षको रेखा पार गरेकाले उनीहरूलाई आफ्नो कोठाबाट कसरी निकालियो भन्ने कुरा थाहा पाउँदा मलाई ज्यादै दुःख लाग्यो ! म यहाँ विश्वविद्यालयको नीतिको आलोचना गर्न आएको त होइन, वास्तवमा मेरो आफ्नै त्रिभुवन विश्वविद्यालय धेरै हिसाबले सही उदाहरण कदापी होइन । यद्यपि, सेवानिवृत्ति वा ‘पोस्टडक्टोरल’ चरणमा उमेर पार गरेका विद्वानहरूलाई व्यवहार गर्ने यहाँका तरिकाहरू मलाई धेरै अतार्किक र धेरै अनुत्पादक लाग्छ ।
वास्तवमा विश्वविद्यालयले आफ्ना नागरीकहरूलाई ‘क्यारियर’हरू प्रदान गर्न होइन, बरु प्राज्ञिककार्यहरूलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने हो । धनवज्रको कामलाई निरन्तरता दिन सक्ने ती ४० वर्षभन्दा माथिकाहरू यहां कुनै पनि अनुसंधान संस्थाकालागि योग्य छैनन् । किनभने तिनीहरू ’युवा र सुन्दर’ श्रेणीमा पर्दैनन् । के राम्रो अनुसंधानको काम गर्न उमेरले कसैलाई बाधा गर्छ ? या कुनै विश्वविद्यालयको शैक्षिक योग्यता बिना कसैले राम्रो अनुसंधानको काम गर्नै सक्दैनन् ? हाम्रा महान विद्वान धनवज्र युरोपको कुनै पनि चयन समितिबाट पास हुने थिएनन्, किनभने उहाँ एक परम्परागत शिक्षाले दीक्षित विद्वान हुनुहुन्थ्यो । उहाँको नाममा धेरै पुस्तकहरू थिए, तर कुनै उपयुक्त विश्वविद्यालयको डिग्री उहाँसंग नभएकोले उहाँ लाइदन विश्वविद्यालयसंग सम्बद्ध हुनसक्ने संभावना देखिन्दैन ।
यस वर्षको सुरुमा शैक्षिक आदानप्रदानका लागि लाइदन विश्वविद्यालय र नेपालको त्रिभुवन विश्वविद्यालयबीच एक सम्झौता भएको छ । म केवल यो आशा गर्छु कि नोकरशाही मापडण्डहरू, जस्तै पीएचडी, र सबै भन्दा बढी, ’धेरै बुढो हुनु’ ’धेरै जवान हुनु’ वा सोक्रेटसले भने जस्तै ’धेरै कुरूप हुनु’ लाई मापडण्ड बनाइने छैन, बरु परम्परागत प्राज्ञिककार्यहरूलाई पनि उतिकै ध्यानमा राखिनेछ ।(ज्ञानगुनका कुरा भाग २४१, धनवज्र वज्राचार्य स्मृति अङ्क १० मा प्रकाशित)
२०८१।११।२६




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५