बसन्त पञ्चमी/श्री पञ्चमी। चीनको 五台山 (ऊ थाई सान्) बाट नेपाल आउनुभएका मञ्जुश्रीलाई सम्झिने दिन। यस सन्दर्भमा मञ्जुश्री सम्बन्धित केही कुराहरु सेयर गर्दैछु।
१. बौद्ध धर्ममा मञ्जुश्रीलाई निक्कै महत्त्व दिइएको छ। यसमा कुनै दुविधा नै छैन्। महायानीहरु उहाँलाई एक महान् बोधिसत्त्वको रुपमा लिन्छन्। उहाँको पूजा गर्नाले प्रज्ञा पाउने, स्मरण शक्ति बढ्ने, विद्वता बढ्ने तथा धेरै भन्दा धेरै सूत्र/ग्रन्थहरुमा पारंगत हुन सकिन्छ भन्ने मान्यता राख्दछन्। त्यसकारण उहाँलाई विशाल क्षेत्रमा पूजिन्छ। महायानीहरु उहाँलाई विभिन्न रुपमा विविध मन्त्रका साथ पूज्ने गर्दछन्। जसले तान्त्रिक विधिबाट उहाँको पूजा गर्न सक्दैनन्, उनीहरुले मन्त्रोच्चारण गरेर पनि साधना गर्न सक्दछन्।
२. मञ्जुश्रीको आगमन वा सुरुवात कहिलेबाट भयो भनेर यकिन साथ समय तोक्न गाह्रो छ। गान्धार र मथुरा, दुबै शैलीमा उहाँका मूर्तिहरुमा पाइन्न। उहाँलाई अश्वघोष, नागार्जुन र आर्यदेवहरुले पनि आफ्ना कृतिहरुमा उल्लेख गर्नुभएको छैन। उहाँको नाम पहिलोपल्ट आर्यमञ्जुश्रीमूलकल्प ग्रन्थमा आउँछ। यो ग्रन्थ गुह्यसमाजभन्दा पहिलेको हो। गुह्यसमाजतन्त्र ईशाको ३०० तिर लेखिएको ग्रन्थ हो। यसमा मञ्जुश्रीको नाम चारपटक र मञ्जुबज्रको नाम तीनपटक आउँछ। ईशाको ३८४ तिर चाइनिज भाषामा उल्था गरिएको सुखावतिव्युह वा अमितायुस सूत्रमा पनि मञ्जुश्रीको नाम आउँछ।
यस पछिका विभिन्न ग्रन्थहरूमा तथा फाहियान, सुयानचाङ र इत्सिङहरुले मञ्जुश्रीलाई उल्लेख गरेको पाइन्छ। उहाँका मूर्तिहरू सारनाथ, मगध, बंगाल, नेपाल र अन्य स्थानहरूमा पाइएका छन्।
३.मञ्जुश्रीको बारेमा विश्तृतरुपमा स्वयम्भू पुराणमा पाइन्छ। चीनको पञ्चशीर्ष पर्वतबाट आउनुभएर काठमाडौँ उपत्यकामा बस्ती बसाउनुहुने मञ्जुश्रीले उपत्यकामा निक्कै उदाहरणीय कामहरु गर्नुभएको थियो। मञ्जुपत्तन शहर बसाएर धर्माकरलाई राजा बनाउनुभएको थियो। उपत्यकाको सभ्यताको सुरुवात गर्नुहुने मञ्जुश्रीमा विशिष्ट खालको इन्जिनियरिङ सीप र वास्तुकलाको ज्ञान थियो। उहाँ कहिले नेपाल आउनुभयो भन्ने बारे स्पष्ट ज्ञान नभएपनि ईशाको ३०० तिर उहाँ एक प्रख्यात बोधिसत्त्व भइसक्नुभएको थियो। जहाँ जहाँ बौद्ध धर्म पुगेको छ, उहाँ त्यहाँ त्यहाँ प्रख्यात हुनुहुन्थ्यो।
४. मानव मञ्जुश्रीलाई अश्वघोष, नागार्जुन, आर्यदेव, असंग जस्तै सुयानचाङको समयदेखि दैविकरण गरिएको देखिन्छ।
५. साधनामालामा मञ्जुश्रीसंग सम्बन्धित ४१ साधनाहरु र उहाँका भिन्न भिन्न खालका रुपहरुको व्याख्या पाइन्छ।
मञ्जुश्रीको सरल प्रतिमा भनेको उहाँको बाँया हातमा प्रज्ञा पारमिताको ग्रन्थ र दाँया हातमा खड्ग हुनु हो। कहिलेकाँही ती दुबेै कमलको फूलमा पनि देखाइएको हुन्छ। कहिलेकाँही मञ्जुश्रीलाई यमारीसंग त कहिलेकाँही यमारी र सुधनकुमारसँग त कहिलेकाँही सूर्यप्रभा, चन्द्रप्रभा, केशिनी, उपकेशिनीसंग देखाइन्छ। अन्तिमका चारजना केवल अरपचनसंग देखाइएको हुन्छ।
६.मञ्जुश्रीका विविध रुपहरु साधनामाला अनुसार यस प्रकार छन्।
क. वज्रराग
ख.धर्मधातु वागिश्वर
ग.मञ्जुघोष
घ.सिध्दैकाविरा (Siddhaikavira)
ङ.वज्रानंग
च.नामसंगितिमञ्जुश्री
छ.वागिश्वर
ज. मञ्जुवर
झ. मञ्जुवज्र
ञ.मञ्जुकुमार
ट.अरपचन
ठ.स्थिरचक्र
ड.भधिरत (Vadirat)
६.महायानमा मञ्जुश्रीलाई धर्म राजकुमार भनेर पनि चिनिन्छ, उहाँको विशिष्ट प्रज्ञाको कारण। साथै मञ्जुश्रीलाई पहेलो वर्णमा निक्कै आकर्षक युवाको रुपमा प्रश्तुत गरिने भएर मञ्जुश्री कुमारभुत भनेर पनि सम्बोधन गरिन्छ। पौभाचित्रमा उहाँलाई छ वटा विभिन्न अलंकारले सजाएको देखाइन्छ; षड्पारमिताको रुपमा दान, शील, क्षान्ति, वीर्य, ध्यान र प्रज्ञाको प्रतिकको रुपमा। साथै संगै साइडमा पद्मपाणी बोधिसत्व पनि देखाइएको हुन सक्छ। पद्मपाणी बोधिसत्व करुणाका प्रतिक भएकोले बोधिज्ञान प्राप्त गर्न प्रज्ञा र करुणा अत्यावश्यक छ भन्ने हो।
७.मञ्जुश्रीको डरलाग्दो रुप यमन्तक
यमन्तक अर्थात् यम को अन्त गर्ने। यम अर्थात् मृत्युको देवता। यस अर्थमा मृत्युमाथि नै विजय प्राप्त गर्ने भन्ने हो।मञ्जुश्रीले यमराजमाथि अर्थात् मृत्युमाथि विजय गर्ने उद्देश्यले भैंसीको टाउको भएको यमन्तकको रुप लिनुभएको हो।
बौद्ध शिक्षामा मृत्युमाथि विजय भनेको जन्म र मृत्युको चक्र अर्थात् भवसागरबाट पार लाग्नु हो। अर्को शब्दमा जन्म र मृत्युको चक्र तोड्नु हो। यसरी यमन्तक भनेको महायानी बौद्धहरुको साधनाको लक्ष्य हो।
त्यसकारण यस रुपमा उहाँलाई मेघसंभर पनि भनिन्छ। यसरुपमा उहाँको धेरैवटा टाउको हुन्छ। जसमा एउटा छोडी बाँकी सबै डरलाग्दो र एउटा मात्र शान्त खालको हुन्छ। शान्त, सुनौलो वर्णको टाउको मञ्जुश्रीको टाउको हो। उहाँको ३४ वटा हात र १६ वटा खुट्टाहरु हुन्छन्।
तिब्बती अभ्यासमा तीन प्रकारका यमन्तक पाइन्छन्। रातो वर्णको रक्तयमारी, कालो वर्णको कृष्णयमारी र वज्रभैरव यमान्तक।
यमन्तकको अगाडिको दुई मूल हातमा कतृ र पात्र हुन्छन्। उहाँले ५० वटा टाउको जोडिएको माला लगाउनुभएको हुन्छ। जसले ५० वटा संस्कृतका स्वर र व्यञ्जन अर्थात् बीज अक्षरहरू जनाउँछन्। टाउकोमा पाँचवटा खप्परको मुकुट हुन्छ। यसले पञ्चबुद्धको पञ्चज्ञानलाई इंगित गर्दछ। यमन्तकको शरीर गाढा नीलो वर्णको हुन्छ। यसले उहाँको ज्ञान आकाश जस्तै विश्तीर्ण छ भन्ने जनाउँछ। टाउकोमा रहेका दुई सिङले दुई सत्यहरु क्रमश सापेक्षिक सत्य र परमार्थ सत्यलाई इंगित गर्दछन्। १६ वटा खुट्टाले १६ प्रकारका शुन्यतालाई जनाउँछन् भने ३४ हात अनि काय, वाक र चित्त समेत जोडेर ३७ हुन्छ जसले ३७ बोधिपाक्षीय धर्मलाई जनाउँछ। यमन्तक पूर्णरुपमा नाँगो हुन्छ। यो भनेको परमार्थ सत्यमा कुनै आवरण हुन्न भन्ने कुराको प्रतिक हो। यमन्तकको दाँया खुट्टामुनि मनुष्य र जनावरहरु छन् भने बाँया खुट्टा मुनि अन्य चार र जनावरहरु छन्। यसको अर्थ क्रमशः अष्टसिद्धि र अन्य विशेष खालका सिद्धीहरु भन्दा माथिल्लो तहमा पुगिसकेको भन्ने हो।
८. यमन्तक तिब्बती बौद्ध धर्मको गेलुक्पा सम्प्रदायमा प्रख्यात छन्। चक्रसंबर र गुह्यसमाजसंगै यमन्तकलाई ध्यानाभ्यासका मूल देवताको रुपमा लिइन्छ। र, अन्य तिब्बती बौद्ध सम्प्रदायहरुमा एक रक्षक देवताको रुपमा लिइन्छ।
९.नमो बागिश्वरायः!
नेपाल मण्डलमा कुनै समय पठनपाठनको सुरुवात माथिको मन्त्रको उच्चारणबाट हुने गर्दथ्यो।
सायद अझैं कतै कतै यो प्रचलन बाँकी हुन सक्छ।
माथिको मन्त्र मञ्जुश्री/महामञ्जुश्रीको मन्त्र हो। मञ्जुश्रीलाई विद्याको प्रतिक मानेर आजको दिनलाई शिक्षाको सुरुवात गर्ने दिनको रुपमा मञ्जुश्रीलाई पूजा गर्ने पर्वको रुपमा अझैं नेपाल मण्डलमा प्रचलित नै छ।
ओं बागिश्वर मुं!
नेपाल मण्डलमा प्रचलित मिथक अनुसार मञ्जुश्री काठमाडौं उपत्यकाको उत्पत्तिसंग सम्बन्धित छन्। विशाल तालको रुपमा रहेको काठमाडौं उपत्यकामा विपश्वी बुद्धले रोपेको हजारपत्र भएको कमलको फूलमा आफै उत्पन्न भएको पञ्चरश्मीको दर्शन गर्न चीनको ऊ थाई सान् (ऊ- पाँच, थाई- शीर्ष, सान्- पर्वत= पञ्चशीर्ष पर्वत)बाट सबैभन्दा पहिले नगरकोट जाने बाटोमा रहेको ल्हासापाको भन्ने ठाउँमा आइपुग्नुभएको थिए। त्यसकारण आज त्यहाँ ठूलो मेला लाग्ने गर्दछ। त्यसपछि तालको परिक्रमा गर्ने सिलसिलामा ताललाई सुकाएर रमणीय उपत्यका बनाउन सकिन्छ भनेर चार ठाउँमा खड्गले काटेर तालको पानी बाहिर पठाउनुभएको थियो। त्यसपछि ताल सुकेपछि उपत्यकामा मञ्जुपत्तन शहर बसालेर धर्मलाई चीरस्थायी बनाउन धर्माकरलाई राजा बनाइदिनुभयो। मञ्जुपत्तन आजकल मजिपाट भनेर चिनिन्छ। लामो समयपछि नेपाल मण्डलमा प्रादुर्भाव भएका शान्तिकराचार्यले स्वयम्भूको पछाडी मञ्जुश्रीको सम्झनामा स्तुप बनाएका थिए। आज त्यहाँ पनि ठूलो मेला लाग्ने गर्दछ। स्वयम्भूको विभिन्न नाम मध्ये एक नाम बागिश्वर पनि हो। जसले मञ्जुश्रीलाई नै जनाउने हो।
१०.ओं अरपचनधीं!
हाम्रो समाजमा एउटा मिथ्यादृष्टि छ। हामी सूचनालाई ज्ञान मान्ने गर्दछौं। सूचना मात्र भएका व्यक्तिहरुलाई ज्ञानी मान्ने चलन छ। हामीले ज्ञान र सूचनामा भिन्नता गर्न जानेका छैनौं। यस्तै मिथ्यादृष्टिलाई काटेर प्रज्ञाको अभिवृद्धि गर्ने प्रतिकको रुपमा मञ्जुश्रीलाई लिने गरिन्छ। मञ्जुश्रीको दायाँ हातमा रहेको खड्गले अविद्या (मिथ्या दृष्टि लगायत सबै दोष/क्लेषहरु) हटाउने र बायाँ हातमा रहेको ग्रन्थ,जुन प्रज्ञापारमिताको ग्रन्थ हो, ले प्रज्ञा बढाउने हो। मञ्जुश्रीको प्रतिमा लक्षणमा यी दुई कुरा छुटेका हुँदैनन्। प्रज्ञा भनेको अनुभवजन्य ज्ञान (Emperical knowledge) हो। जसको स्तर ज्ञानको स्तर भन्दा माथि हो। साधारण भाषामा भन्दा विवेक भन्न सकिन्छ। त्यसकारण ज्ञान भन्दा पनि माथिल्लो स्तरको प्रज्ञाका प्रतिक हुन् मञ्जुश्री बोधिसत्व।
बुध्दत्व प्राप्त गर्न जो कोहीले सक्दछ। यसको लागि प्रयत्न र साधना गर्नु पर्दछ। बुध्द शिक्षामा प्रत्येक प्राणीमा बुद्ध हुन सक्ने बुद्धत्वको वीज रहेको भनेर विश्वास गरिन्छ। यस वीजलाई तथागत गर्भ भनिन्छ। तर मानवमात्रले प्रयत्न र साधना गर्न सक्ने भएकोले मानवजीवनलाई अति महत्व दिइएको छ। प्रयत्न र साधना गर्ने मानवले बुद्धत्व प्राप्त गर्न छ वटा पारमिता पुरा गर्नुपर्दछ। ती क्रमशः दान, शील, क्षान्ति, वीर्य, ध्यान र प्रज्ञापारमिता हुन्। यी छ वटै पारमितामा प्रज्ञापारमिता अविभाज्य अंगको रुपमा रहेको हुन्छ। त्यसकारण प्रज्ञापारमितालाई सबैभन्दा महत्वपूर्ण मानिन्छ। किनभने प्रज्ञाको अभावमा बाँकी सबै पारमिता आँखा नदेख्ने दृष्टविहिन जस्तै हुन् भने प्रज्ञा आँखा जस्तै हो। जसको प्रतिक मञ्जुश्री हो। यी सबै पारमिता पुरा भएपछि बुद्ध हुने भएकोले मञ्जुश्रीलाई बुद्धत्वको प्रतिकको रुपमा पनि लिइन्छ।
यस्ता मञ्जुश्रीलाई हार्दिक नमन छ!
सबैको मनमा रहेको तथागत गर्भले विकसित हुने अवसर पाओस्। यसमा मञ्जुश्री बोधिसत्वले सबैलाई सहयोग गरून्।
स्रोत :
१.The Indian Buddhist iconography — Benotosh Bhattacharya
२. Sacred Art of Nepal — Min Bahadur Shakya
३. Buddhist Masters and Deities — Chandra B Shakya
#संकलन चंगा आकाशमा
#PC Sulav Shakya (The Spiritual Arts)
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५