महर्जन रत्न
काठमाडौं उपत्यकाको सभ्यता नदीमा आधारित सभ्यता हो। यहाँको मूल नदीमा बागमती, विष्णुमति लगायतका नदीहरु पर्दछन् । यिनै नदीहरुका किनारमा विकास भएको कृषि सभ्यता नैं सम्पन्न नेपालमण्डलको नेवा: सभ्यताको रुपमा बिकशित भएको तथ्य स्पष्ट छ। काठमाडौं उपत्यकाका सबै ठाउँ , नदीनालाको आफ्नै मौलिक नाम रहेका छन् । उपत्यकाको मूल नदीमध्ये एक रहेको बागमती नदीको नाम किरातकालमा तेङ्खु रहेको देखिन्छ ।
बि.सं ७५२ को शिवदेव(द्वितीय)को काठमाडौंको लगन टोलको अभिलेखमा लगनको सिमाना उल्लेख गरेर संस्कृतमा यस्तो लेखिएको छ :
“दक्षिणतश्च तेङ्खु: पश्चमेनापि तेङ्खु: उत्तरस्यामपि चिशिमण्डातिल्मक..”
” दक्षिणतिर तेङ्खु पश्चिमतिर पनि तेङ्खु उत्तरतिर चिसिमण्डल ”
लगनको दक्षिण र पश्चिम भएर तेङ्खु बगेको छ । अर्थात हालको बागमती बगेको छ ।
तेङ्खु, तेखु हुँदै अहिले टेकु बनेको छ । पुरानो नेवार भाषामा खोला नदीलाई “खू” भनिन्छ खोल्साहरुलाई “खूचा” । उदाहरण ङेखु (नक्खु) , ब:खु(बल्खु) तुखुचा (टुकुचा) आदि। लंजग्वल लगनको त्यतिबेला उल्लेख भएको नाम हो , लगनको वास्तविक नाम ।
उत्तर चिसिमण्डल उल्लेख छ । उत्तर सीमा चिसिमण्डल भनेको हालको मरुसत: (काष्ठमण्डप) हो ।
यस अभिलेखबाट लगन टोलको अवस्थिती बारे स्पष्ट देखिन्छ भने यसै अभिलेखलाई पनि आधार मानेर बागमती नदीलाई “तेङ्खु” भन्न सकिने स्पष्ट छ । किन कि लगन टोल तत्कालीन लंजग्वलबाट दक्षिण र पश्चिम भएर बग्ने नदी तेङ्खु नै हालको बागमती नदी हो ।
तेङ्खु तेखु हुँदै टेकु बनाइएको छ । तर मूल शब्द तेङ्खु नैं हो। यो कुनै संस्कृत शब्द पनि हैन । यो उपत्यकाको मौलिक शब्द हो । भाषा विज्ञानको आधारमा यो किराँतकालिन शब्द हो जसलाई संस्कृत भाषामा अभिलेख राख्ने लिच्छविहरुले पनि निरंतरता दिए र लिच्छविकालमा पनि तेङ्खु नै भन्ने गरेको तथ्य माथि उल्लेख गरिएको अभिलेखले पनि पुष्टि गर्छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५