आँखीझ्यालबाट चियाउँदा पनि संसार देखिन्छ । कौशीमा उभिएर हेर्दा पनि त्यही संसार देखिन्छ । फरक यतिमात्रै छ कि कौशीबाट हेर्दा खुल्ला आकासलाई बढी समेत्न सकिन्छ भने आँखीझ्यालबाट हेर्दा आवश्यक चीजमा बढी आँखा केन्द्रीत गर्न सकिन्छ ।
तिमीप्रतिको मेरो हेराइ कौशीको हेराइ हो कि आँखीझ्यालको हेराइ हो, मैले भन्दा बढी तिमीले बुझेको हुनुपर्ने हो । म तिम्रो लागि खुल्ला किताब हुँ, चलिरहेको सिनेमा हुँ । तिमी पढ्न सक्छ्यौ, हेर्न सक्छ्यौ । अझ मनभित्रैबाट सुन्ने हो भने त्यहाँबाट झ्ंक्रीट मीठो संगीतको आवाज सुन्न सक्छ्यौ । प्रिय, तिमीलाई मप्रति अजीव आभास भइरहेको होला । म कतै मांशाहारी प्रेममा मदमस्त भइरहँदा तिम्रा आँखा कता मोडिए थाहा भएनन् । लालायित मेरा प्यासहरुले तृष्णा मेट्दै गर्दा तिमीमा कस्तो भावना आयो होला , म ठम्याउन सक्दिन । तर तिमीप्रति मेरो
असीम चाहना मरेको छैन । तिमीलाई भानपर्न सक्छ कि म तिमीबाट टाढिइसकें भनेर तर म तिमीबाट अति नै नजिक छु । मनको आँखाले हेर्दाखेरि तिमी मेरो सामु नै सदा उभिरहेको हुनेछौ । तर मभित्रको तृष्णा त्यस बजारमा पुगेर जहिले पनि उर्लेर आउँछ । म प्यास मेटन चाहन्छु प्यास, बस प्यास। त्यहाँ म तिमीलाई क्षणिक रुपमा भुल्छु । तर तिम्रो सम्झनाको डोरी यति लामो छ , नाप्दानाप्दै म आफैं कायल हुन्छु । तिम्रो सम्झनाको स्वाद यति मीठो चाख्दाचाख्दै सबै स्वाद बिर्सिन्छु । क्षणिक पागलपनले म बशीभूत हुन्छु मात्र ।
समाधि त परको कुरा हो म भोगी छु । म स्वामी हैन, म कुनै त्यागी
जोगी हैन । म राजा पनि हैन, सामान्य मानिस हुँ । ममा भोक, रोग, शोक सबैको बास छ । ममा खुशी, हाँसो र हर्षको लहर छ । तिमीलाई भनीराख्नुपर्ने कुरा त हैन म भावनामा डुब्ने मान्छे । भावनाको सागर यति गहिरो । भावनाको छाल यति अग्लो म भन्न सक्तिन ।
त्यही भावनाभित्र म सिर्फ तिमीलाई पाउँछु । तिमी बाहेक सपना पनि तीतो तीतो लाग्छ । भांवावेशमा म केही प्यासी हुन्छु तर तिमीसित म प्यास बाड्न सक्तिन ।
“मानिसको प्रकृति, मानिस जे गर्छ, आनन्दकै निम्ति गर्छ । त्यसैले जुनसुकै काम गर्दा आनन्दकै खोजीबाट शुरुवात गर्नुपर्छ ।” कुनै विद्वानले यस कुरामा जोड दिएका छन् । मपनि त्यसकै अनुसरण गरिरहेको छु ।तिमीसित प्रेममा डुब्दा मलाई आनन्द लाग्छ । अनि उनीसित प्यास मेट्दा पनि मलाई आनन्द आउँछ । तर मलाई थाहा छैन, मेरो व्यक्तिगत स्वार्थ मात्रै हो कि तिमीलाई पनि आनन्द दिएको छ। तिनलाई मैले क्षणिक रुपमा किनेको छु,तिनमा तिनी आनन्दित छन् कि छैन मलाई थाहा छैन ।
तिमीकहाँ म कति दिन नआउँदा पनि तिमी मलाई किन आएनौ भनी प्रश्न गर्दैनौ । बस, अलिकति मुख अँध्यारो पाछ्यौं र मेरो सत्कार गर्छ्यौ । तिमीले मलाई बुझेकी छ्यौ । मप्रति परत्रको व्यवहार गर्दिनौ । तिनीकहाँ म केही दिन नगए मेरो शरीरमा टाँसिएर तिनी भन्न थाल्छिन् “हजुर त कस्तो निर्मोही कति दिन त आउनै भएन । हाम्रो सम्झना पनि आउँछ कि आउँदैन कुन्नी” म तिनको भावना बुझ्छु, तिनमा स्वार्थको प्रेम छ मसित । तिनमा मप्रति वासनात्मक प्रेम हुनसक्छ । तिनमा मप्रति आर्थिक प्रेम हुनसक्छ । तिनले ब्यवसायिक प्रेम गरेकी छिन् । त्यसैले तिनले ब्यापारिक भाषा बोल्छिन् । तथापि म तिनमा आकर्षित तिनलाई भोग्ने मेरो रहर हो ।
तिमीलाई म चाहन्छु, तिमीलाई हृदयभरि सजाइ राख्ने मेरो चाहना हो ।
म दुइ दर्शनमा बाँडिएको मान्छे । म आफैँ आश्चर्यचकिट हुन्छु । म केही भन्न सक्तिन । म मौन भएर एकान्तमा हिडिरहन्छु । मौनतालाई जुनेली रातको जूनले कतै तोडिदिन्छ । सर्सर बगेको हावाको वेगले केही साम्य पारिदिन्छ । म प्रेमी, म तृष्णाले लटपटिएको, म दिवाना, म आफैँले आफैलाई वशमा राख्न नसक्ने कल्पनासँगै हिंडिराख्ने कल्पनाशील मान्छे । त्यो आकाशको बादल जुनेली रातमा पनि हावाको वहावसँगै पहाडतिर हुँइकिरहेछ, म पनि त्यस्तै हुँइकिरहेछु सपनाको दुनियामा जहाँ वासना विनाको प्रेमी तिमी हौ, जहाँ प्रेमबिनाको समागम तिनी छिन् ।
क्रमश…….
२०६२ /६/२ आर्टिकल सिरिज – सिटी टाइम्स
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५