• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

मुनामदनको स्रोत नेवार काव्य


सुभाय् संवाददाताJanuary 9, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भोगीराज चाम्लिङ
मैले गाउँ (हलेसी, खोटाङ)मै ०४७ साललगत्तै पुन्टे आकारको ‘मुनामदन’ पढ्न पाएको थिएँ । अहिले पनि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ कहीँकतै देखेँ भने लगभग ३० वर्षअघि आँखा टिलपिल गर्दै पढेको याद आउँछ । अहिले विचार गर्दा दुई कारणले मेरो आँखा रसाएको थियो भन्ने लाग्छ– आर्थिक विपन्नता र प्रेम–विछोडको कारुणिक वर्णन । मदनको जस्तै आर्थिक विपन्नता मेरो र हाम्रो गाउँघरको पनि यथार्थ थियो । त्यो भएपछि मन नछुने कुरै भएन । उमेर पनि काउकुति लाग्ने चरणतिर प्रवेश गर्दै थियो । अनि त प्रेम–विछोडले द्रवित बनाउने नै भयो ! सायद मुनामदन पढ्दा मैले आफूलाई मदनको ठाउँमा पाउँथेँ ।
तर, मेरो त्यो वेलाको ‘मुनामदन’ पढाइ र अहिलेको पढाइमा ठूलो अन्तर आइसकेको छ । त्यो वेला म भावनाले पढ्थेँ, अहिले बुद्धिले पढ्न खोज्छु, तथ्यले जाँच्न खोज्छु । अहिले ‘मुनामदन’ पढेर मलाई रुन आउँदैन, तर आलोचनात्मक दृष्टिले हेर्न खोज्छु । जस्तो कि देवकोटाले ऐतिहासिकतालाई किन भुल्न खोजे ? ‘मुनामदन’मा प्रयोग गरिएको कथावस्तु र झ्याउरे लय काठमाडौंका नेवार समुदायको सामाजिक–ऐतिहासिक यथार्थ थियो, तर त्यसलाई देवकोटाले किन कतै श्रेय दिएनन् ? के साहित्य भन्नासाथ ऐतिहासिक सत्यलाई तोडमरोड गर्न मिल्छ ? के साहित्य र ऐतिहासिकता परस्पर विरोधी कुरा हो ? अथवा यस्तै–यस्तै ।
लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’लाई कहिल्यै बिर्सिएनन्, मुनामदनको स्रोत नेपाल (नेवारी)भाषाको गीतिकाव्य ‘जि वय ला लछि मदुनि’लाई भने कहिल्यै सम्झिएनन् । जीवनको उत्तरार्धतिर देवकोटाले ‘मुनामदनबाहेक मेरा सबै कृति जलाइदिए हुन्छ’ भने भन्ने चर्चा छ । ठीकै हो, मुनामदन नेपाली साहित्यकै उत्कृष्ट साहित्यिक कृतिमध्ये एक हो ।
(स्मरण रहोस् कि नेपालका सबै मातृभाषामा लेखिएको साहित्य नेपाली साहित्य हो ।) कुरा के मात्रै हो भने, देवकोटाले फल (मुनामदन) बिर्सिएनन्, तर जमिन (जि वया ला लछि मदुनि) कहिल्यै सम्झिएनन् । थुप्रै अनुसन्धानकर्ता र लेखकले भने ‘मुनामदन’का सन्दर्भमा ‘जि वया ला लछि मदुनि’ स्मरण गरिरहेका छन् । मैले पनि एकपटक सम्झिने प्रयास गर्दै छु भनौँ ।
‘साइबर भाषा’मा भन्दाखेरि केही वर्षयता देवकोटा जयन्तीवरपर एउटा लेख खुबै ‘भाइरल’ हुन्थ्यो । भक्तपुर क्याम्पसबाट प्रकाशित ‘स्वर्णद्वार’मा ०३४ सालमा छापिएको पुष्प चित्रकारको त्यो लेख थियो– ‘मुना–मदनको अग्रज जि वया ला लछि मदुनि (म आएको महिना दिन नबित्दै)’ । त्यो लेख पढेपछि लगभग ६ महिनाअघि मैले पुष्प चित्रकारसम्म पुगेर कुराकानी गर्ने निधो गरेँ । सोधखोज गर्दै जाँदा उनी अवकाशप्राप्त प्राध्यापक रहेछन् र विश्वज्योति सिनेमा हलपछाडि रहेछ उनको घर । म त्यहाँसम्मै पुगेँ ।
लगभग डेढ घन्टाको कुराकानीमा उनको लेखमा नभएका नयाँ प्रसंग पनि थाहा पाएँ । उनको लेखबारे आनन्ददेव भट्टले प्रतिक्रिया दिँदै ‘रूपरेखा’मा लेखेको कुरा थाहा पाएँ । रूपरेखामा आनन्ददेव भट्टको लेख पढ्न त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालय पुग्दा भिक्टर प्रधान र दयाराम श्रेष्ठ ‘सम्भव’ले लगभग पुष्प चित्रकारले लेखेकै समयमा मुनामदनबारे अनुसन्धानात्मक लेख प्रकाशन गरेका रहेछन् भन्ने पनि थाहा भयो । र, थप कुरा देवकोटाका दौँतरी सिबी श्रेष्ठले त्योभन्दा पनि अझै पहिले ‘मुनामदन’को स्रोतकाव्यबारे ‘द राइजिङ नेपाल’ (०२७)मा लेखिसकेको पनि थाहा भयो । यी सबै पढिसकेपछि ‘मुनामदन’बारे ऐतिहासिक–सांस्कृतिक विमर्श जरुरी रहेछ भन्ने लाग्यो । उहिले सुरु भइसकेको विमर्शलाई पुनः स्मरण गर्ने प्रयास मात्र हो मेरो ।
सिबी श्रेष्ठ र देवकोटा दरबार हाई स्कुलदेखि पटना क्याम्पसमा एमए पढ्दासम्मका दौँतरी रहेछन् । सिबी श्रेष्ठले राइजिङ नेपालमा देवकोटाबारे संस्मरण लेख्ने क्रममा एउटा शृंखलामा मुनामदनको स्रोतकाव्यबारे पनि चर्चा गरेका छन् । पटना क्याम्पसमा छँदाकै बखत एकदिन उनीहरूबीच अंग्रेजी र नेपाली (खस)भाषा साहित्यबारे छलफल भयो । त्यसक्रममा देवकोटाले सिबीलाई नेवारहरूले पनि नेपाली (खस भाषा) बोल्नुपर्ने आशयमा सुझाब दिए । सिबी श्रेष्ठले उनको सुझाबलाई जस्ताको तस्तै स्वीकार गरेनन् बरु सभ्य होस् या असभ्य सबैलाई मातृभाषा प्यारो हुन्छ भन्ने तर्क गरे ।
कुराकानीकै क्रममा देवकोटाले नेपालभाषाको साहित्यबारे पनि सोधे । उनले सोधे, ‘वीर पुस्तकालयमा यति धेरै पाण्डुलिपि छन्, नेवारी समाजमा त्यस्ता गीतिकाव्य (ब्यालेड) छैनन् ?’ सिबी श्रेष्ठले देवकोटालाई नेवार समुदायभित्र प्रचलित एउटा गीतिकाव्यको सार यसरी सुनाए, ‘नेवार समुदायभित्र उदास थरका नवविवाहित जोडी हुन्छन् । युवक नवदुलही छाडेर ल्हासा जाने तरखरमा हुन्छ ।
बुहारीले सासूलाई छोरालाई यो वर्ष ल्हासा नपठाउन अनुरोध गर्छे । तर, सासूले उनको कुरा टारिदिन्छे । युवा भारी मन लिएर रुँदै गरेकी आफ्नी श्रीमतीलाई छाडेर ल्हासातर्फ लाग्छ । युवती लोग्नेसँगको विछोडले व्यथित हुन्छे । उनको आँखा हरदम रसिला हुन्छन् । उता ल्हासामा उनका श्रीमान्ले पनि नराम्रो सपना देख्छन् । केही वर्षपछि उनका साथी आएर लोग्ने मरेको झुठो खबर सुनाउँछन् । यो खबरले उनले प्राण त्याग गर्छिन् आदि ।’ सिबी श्रेष्ठ भन्छन्, ‘यो कथा सुनेर देवकोटा प्रभावित भए ।’
पुष्प चित्रकारका अनुसार, देवकोटालाई यो गीतिकाव्य सुनाउनेमध्येका अर्का व्यक्ति गणेशप्रसाद श्रेष्ठ पनि हुन् । काठमाडौं चिकमुगलको लाखेननि निवासी ९५ वर्षीय श्रेष्ठले उनलाई बताएअनुसार, विद्यालयको एक कार्यक्रममा देखाइएको मर्मान्त ‘ब्याले’ हेरेपछि देवकोटाले ‘नेपालभाषा धनी भएर पनि यस्तो मार्मिक साहित्यको अभाव छ ?’ भनेर सोधेका थिए । श्रेष्ठले ‘हेर्नुस् देवकोटाजी, नेपालभाषामा मार्मिक कथाले भरिएका गीतिकथा थुप्रै छन्, तीमध्ये एउटा सुनाउँछु’ भनेर जि वया ला लछि मदुनिकै कथा सुनाए जसबाट देवकोटा असाध्यै प्रभावित भए । कथा सुनिसकेपछि देवकोटाले भने, ‘यो त असाध्यै मार्मिक रहेछ । यो सुन्दासुन्दै मेरो मनमा कथाको एउटा प्लट उब्जियो । म आजै लेखेर भोलि तपाईंलाई सुनाउँछु ।’
कार्यक्रम सकिएपछि श्रेष्ठले देवकोटालाई आफ्नै घरमा लगे र अझ विस्तृतमा कुराकानी गरे । भोलिपल्ट उठ्दा देवकोटाले रातभर लेखेको मुनामदन खण्डकाव्य सुनाए । अचम्मित हुँदै श्रेष्ठले देवकोटाको प्रशंसा गर्दै भने, ‘तपाईं अत्यन्तै प्रतिभावान् कवि हुनुहुन्छ । एकै रातमा यस्तो गीतिकाव्य लेख्नु चानचुने कुरा होइन । जि वया ला लछि मदुनिकै कथाको प्लटमा मुनामदन लेख्नुभयो, यसमा नेवारकै संस्कार समावेश गरेर मिलाउनुभयो भने यो काव्य निकै महत्वपूर्ण हुनेछ नेवारबारेको कुरा पनि राख्नुभयो, तर नेवार समाजसँग प्रचलित परम्परागत संस्कारसँग धेरै कुरा मिलेन ।’
नेपालभाषाको यो गीतिकाव्य हरि श्रेष्ठले ‘म आएको मास नुहँदै’ शीर्षकमा अनुवाद गरेका छन् जुन ‘नेवारी लोकगीत’ (०३१) पुस्तकमा पढ्न सकिन्छ नेपालभाषाको ‘जि वया ला लछि मदुनि’ र मुनामदनको कथामा आधारभूत समानता छ । जस्तो कि घरमा आमा मात्र छिन् अर्थात् बाबु छैनन्, नवविवाहिता दुलही छिन्, उनलाई छाडेर नायक ल्हासातर्फ लाग्छन्, नायक लामो समय ल्हासामा बस्छन्, नायकको मृत्युको झुठो खबरको सम्भावना देखाउन नायिकाले सपनामा अपसकुन देख्छिन्, झुठो खबर आइपुग्छ र त्यही शोकले नायिकाको मृत्यु हुन्छ, नायिकाको मृत्युपछि ल्हासाबाट नायक घर आइपुग्छन् ।
काठमाडौंको नेवार समाजमा ‘जि वया ला लछि मदुनि’ मौखिक साहित्यका रूपमा लामो समयदेखि प्रचलित छ । नेवारी लोकगीतका अनुसन्धाता सिगफ्रिड लिनहार्ड (सन् १९७४)ले यसलाई रोपाइँ गीत भनेका छन् । खासगरी, असारे धान रोपाइँका बखत गाइने भएकाले मुनामदनको जस्तो यसको लम्बाइ छैन । तर, छोटैमा नेवार समुदायभित्रको सामाजिक–ऐतिहासिक यथार्थलाई भने उजागर गर्न सफल छ । यो लिपिबद्ध भएको पनि लगभग दुई सय वर्ष भइसकेको पुष्पिका वाक्यबाट थाहा हुन्छ ।
काठमाडौं उपत्यकामा धार्मिक ग्रन्थ सारिसकेपछि सार्ने व्यक्तिले अन्तिममा त्यसबखतको महत्वपूर्ण घटना पुष्पिका वाक्यका रूपमा उल्लेख गर्ने ऐतिहासिक परम्परा छ । जि वया ला लछि मदुनि पनि लिपिबद्ध गरिसकेपछि पुष्पिका वाक्यमा राजेन्द्रविक्रम शाह राजाका रूपमा ‘उदय’ भएको उल्लेख छ– ‘नृपति श्री राजेन्द्रविक्रम देवको प्रताप उदय भई उज्वल भयो नेपाल मण्डल ।’ यसले स्पष्ट हुन्छ, यो गीतिकाव्य राजेन्द्रविक्रम शाहको पालामा लिपिबद्ध गरिएको हो । राजेन्द्रविक्रम शाहको राज्यकाल विसं. १८७३–१९०३ हो । यता मुनामदन खण्डकाव्य विसं. १९९२ मा प्रकाशन भएको हो । यस हिसाबले हेर्दा मुनामदनभन्दा जि वया ला लछि मदुनि त्यस्तै सय वर्षपहिले लिपिबद्ध भइसकेको थियो भन्ने देखिन्छ ।
काठमाडौंको नेवार समाजमा ‘जि वया ला लछि मदुनि’ मौखिक साहित्यका रूपमा लामो समयदेखि प्रचलित छ । खासगरी, असारे धान रोपाइँका बखत गाइने भएकाले मुनामदनको जस्तो यसको लम्बाइ छैन । तर, छोटैमा नेवार समुदायभित्रको सामाजिक–ऐतिहासिक यथार्थलाई भने उजागर गर्न सफल छ ।
नायकत्वको कुरा गर्दा मुनामदन खण्डकाव्यको नायक छेत्री नभएर उदास (नेवार) हुनुपर्ने हो । यस हिसाबले धेरै प्रश्न उठेका छन् । किनभने, स्रोतकाव्य पनि नेवार भाषाको जि वया ला लछि मदुनि छ, कथा पनि काठमाडौं उपत्यकाका नेवार समाजकै छ । ल्हासामा गएर व्यापार गर्ने पनि नेवार नै हुन्, जबकि क्षेत्री व्यापारी जात नै होइन । अनि क्षेत्री मदनले कसरी ल्हासामा गएर व्यापार गर्छ ? इतिहास र सामाजिक यथार्थका हिसाबले देवकोटाले ध्यान दिन नसकेको कुरा यो छ । दयाराम श्रेष्ठ, भिक्टर प्रधान, पुष्प चित्रकार, नर्मदेश्वर प्रधानजस्ता धेरै समीक्षक–समालोचकले यही प्रश्न उठाएका छन्, जुन प्रश्नमा शतप्रतिशत ‘दम’ छ ।
काठमाडौं उपत्यकाभित्र मात्रै होइन, मोफसलमा रहेका नेवारलाई हेर्दा यस्तो देखिन्छ– जहाँ नेवार त्यहाँ बजार अथवा जहाँ बजार त्यहाँ नेवार । नेवारको यो व्यापारिक परिचय त्यसै बनेको होइन । यसको लामो इतिहास छ । किराँतकाल अर्थात् इसापूर्वमै काठमाडौं उपत्यका व्यापारिक केन्द्र बनिसकेको थियो । इसापूर्व चौथो शताब्दीको मानिने कौटिल्यको अर्थशास्त्रका अनुसार नेपाल (काठमाडौं)का भिङ्गिसी र अपसारक नामका कम्बल भारतमा प्रख्यात थिए । सातौँ शताब्दीको मध्यतिरदेखि हिमाली भन्ज्याङ पनि खुलेपछि काठमाडौं उपत्यकाको तिब्बतसँग व्यापार सुरु भयो । त्यहाँदेखि नेवार तिब्बतसँगको व्यापारमा सहभागी भएका हुन् । अहिले त तिब्बतसँगको व्यापारिक बाटोघाटो सुगम छैन भने आजभन्दा १३०० वर्षअघि कस्तो थियो होला ? सहजै अनुमान गर्न सकिन्छ ।
ठूलो समूहमा महिनौँ लगाएर व्यापारी तिब्बत पुग्थे, लामो समय त्यहीँ बस्थे र महिनौँ लगाएर नेपाल आइपुग्थे । तिब्बतसँगको व्यापारको यो लामो परम्परामा सहभागी भएका नेवारको समाज र परिवारमा आर्थिक समृद्धि र खुसी मात्र थिएन, बेखुसी पनि थुप्रै थिए । त्यस्ता सुखदुःखका अनुभवलाई विभिन्न मौखिक गीतिकाव्यमा परिणत गरेको छ काठमाडौंको नेवार समाजले, जसमध्ये प्रभावशाली एउटा हो– जि वया ला लछि मदुनि ।
हजार वर्षभन्दा बढी भोग्दा–भोग्दा गरेर त्यो पीडालाई नेवार समाजले जि वया ला लछि मदुनिमार्फत व्यक्त गरेका हुन् । त्यसबाट कथा लिएर पनि मुनामदनमा त्यसबारे कतै नबोल्नु, नायकत्वका सन्दर्भमा पनि इतिहासले पुष्टि नहुने बरु गलत साबित गर्ने कुरा गर्नु देवकोटाको इतिहास र सामाजिक चेतनाको ठूलो कमजोरी हो । निश्चय नै साहित्य इतिहास होइन, तर साहित्यले आफ्नै तरिकाले इतिहासको संश्लेषण गर्छ, जसरी जि वया ला लछि मदुनिमा गरिएको छ । लिखित इतिहासले उजागर गर्न नसकेका अनेकौँ यथार्थलाई मौखिक साहित्यले जोगाइराखेको हुन्छ, जसरी जि वया ला लछि मदुनिले गरेको छ । अन्तिममा यति भनौँ, नेपालभाषाको जि वया ला लछि मदुनिको तुलनामा काव्यात्मक भव्यताका हिसाबले मुनामदन धेरै अगाडि छ । फेरि सामाजिक–ऐतिहासिक दृष्टिले मुनामदनको तुलनामा जि वया ला लछि मदुनि पनि धेरै अगाडि छ ।  (साभार: झन नयाँ )

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • देवदूतहरु
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑