सरिता तिवारी
मुखर प्रश्नको सम्मानित ‘स्पेस’ र तिनको ठोस उत्तर खोज्ने अभ्यास लोकतन्त्रको सौन्दर्य हो । यही मानेमा, स्थापित र प्रचलित कतिपय मूल्यमान्यता जो लोकतान्त्रिक समाजका लागि असुहाउँदा मात्रै छैनन्, हानिकारक र प्रत्युत्पादकसमेत छन्, तिनका विषयमा प्रश्न उठाउने क्रम थालिएको छ ।
ऐनमौका, सन्दर्भ र आवश्यकताले पनि कतिपय छलफल अनिवार्य बनाइदिएका छन् । सयौं, हजारौं वर्षदेखि कायम रहेका संरचनागत हिंसा र विभेदका जराहरू पहिल्याउन हाम्रा अवचेतनभित्रै थिग्रिएर बसेका मान्यताहरू खकाल्नु जरुरी छ । यदि हामी आफूलाई स्वस्थ मानिस ठान्छौं भने, हामीलाई यस्ता छलफलबाट आँखा लुकाएर भाग्ने या ‘डलर–खेती’ जस्ता ओठे टिप्पणी गरेर वैचारिक दयनीयता प्रदर्शन गर्ने छुट छैन ।
सन्दर्भ स्वस्थानी व्रत र त्यस अवधिमा सुनाइने कथा–परम्पराको हो । मध्य पुसदेखि मध्य माघसम्म स्वस्थानीदेवीका नाममा प्रार्थना र आराधनाका निर्धारित विधि–प्रक्रिया अनुसार बसिने व्रत र यस क्रममा हरेक दिन वाचन गरिने कथाको हिन्दुबहुल नेपाली समाजमा ठूलो प्रभाव छ । परम्पराका रूपमा प्रचलित र स्थापित कथा केवल निख्ला कथा मात्रै होइनन्, हाम्रा चेतन–अवचेतन सबै मनोविज्ञानका एजेन्ट (अभिकर्ता) पनि हुन् । लोकप्रचलित र संस्कारमै घालमेल भैसकेका कथा मानिसहरूका अभिव्यक्ति र जीवनशैलीका आलम्बसमेत हुन् । स्वस्थानी कथा यिनैमध्येको एउटा हो ।
तपाईं समकालीन लेखकहरूका कुनै पनि पुस्तकवार्ता पढ्नुस्, तीनमध्ये दुई लेखकको पठन स्वस्थानी कथाबाट थालिएको ब्यहोरा भेट्नुहुन्छ । उसै पनि सर्वेक्षण नै गरिहेर्ने हो भने, कुनै समयमा ‘स्त्री साक्षरता बढाएको’ भनिने स्वस्थानी व्रतकथाको किताब लगभग घरघरै भेटिन सक्छ । स्वस्थानी कथा नपढेको या नसुनेको खस–आर्य समुदायको कुनै व्यक्ति फेला पर्छ जस्तो लाग्दैन । यसको अर्थ यो कथाको प्रसार कतिसम्म छ भन्ने हो ।
धार्मिक मान्यताबाट प्रभावित वा लोकप्रचलित कथा र तिनमा वर्णित मिथकले वैयक्तिक र सामूहिक दुवै प्रकारको चेतना निर्माणमा ठूलो भूमिका खेल्छन् । ‘मिथÖमिथ्या’ पुस्तकका लेखक देवदत्त पटनायक भन्छन्, ‘हरेक मान्छे मिथकमाथि उभिएर बाँच्छ र रोचक कुरा, अधिकांश मिथक झुठा हुन्छन् ।’ उनका अनुसार, हिन्दु महर्षिहरूले त मिथकलाई मिथ्याकै रूपमा व्याख्या गरेका छन् । मिथ्या अर्थात् भ्रम । हो पनि र हैन पनि जस्तो । केही अंश सत्य र केही अंश त्यसको विकृत रूप, जसमा वस्तु र विचारको ठोस तथ्य कम र त्यसमाथि जडिएका कथ्य ज्यादा हुन्छन् । मिथकहरूले विश्वास, धारणा र अनुभूतिको समुच्च रूप बनाउँछन् । कालान्तरमा त्यही व्यक्तिको संस्कारजन्य पारिवारिक, सामाजिक र सांस्कृतिक शिक्षा बन्न पुग्छ ।
औपचारिक शिक्षा पद्धतिको आरम्भ हुनुअघि धर्मकर्म, तन्त्र, जादुजस्ता विषयप्रेरित कथा सुन्ने–सुनाउने प्रचलन पुस्तान्तरण हुँदै आइरहेको प्रस्टै छ । विगतमा साक्षरता कम भएको र अन्य पुस्तक सहजै प्राप्त नहुने अवस्थामा यसको पठन परम्परा रहेको भए पनि ‘लैंगिक भेदभावलाई संस्थागत गर्ने एक उपकरण’ बन्न पुगेकाले यसको सान्दर्भिकतामाथि प्रश्न उठ्नु अपरिहार्य थियो र छ ।
अनुसन्धान अनुसार, स्वस्थानीको व्रत बस्ने र कथा सुन्ने परम्परा लगभग पाँच सय वर्षअघि सुरु भएको हो । यो अहिले पनि कायम छ । हरेक वर्ष काठमाडौंको शाली नदीमा लाग्ने राता पेटिकोटहरूको मेला अखबारका ‘ब्यानर न्युज’ बन्न रोकिएको छैन । अहिले पनि बकाइदा र बडो गर्वका साथ संस्कृति र सनातन धर्म रक्षाका नाममा जौ, कुश, फूल, अक्षता, नैवेद्य आदिका साथ स्वस्थानीका मुटु चिरिने कथाहरू घरघरै वाचन हुन्छन् । यसभित्रका स्त्रीद्वेषी, अत्याचारी कथाबारे सामाजिक सञ्जालमा अलिकति मात्रै बोल्नुस्, अहिले भर्खरै तपाईंलाई विधर्मी, क्रिस्चियन, संस्कृतिनाशक, डलरवादीको बिल्ला लाग्छ । तर यस्ता बिल्ला लाग्दैमा सही र जरुरी कुरा बोल्ने क्रम रोकिन्न । रोकिनै हुन्न ।
स्वस्थानी व्रतका व्रतालु महिला मात्रै हुन्छन् । यस्तो किन होला ? विश्लेषक राम लोहनीका अनुसार, ‘हिन्दु जीवनशैलीमा नियमित पूजाआजा र घरको आध्यात्मिक वातावरणलाई जगेर्ना गर्ने काम स्त्रीहरूकै हो भन्ने विश्वास देखिने हुँदा स्वस्थानी व्रतविधि र कथा स्त्रीहरूकै लागि तर्जुमा गरिएको देखिन्छ ।’ तर कुरा त्यति मात्रै होइन, मनुस्मृतिले चालित विधिशास्त्रबाट निर्देशित तत्कालीन चतुर बुद्धिका पुरुषले महिलामाथि निरपेक्ष पुरुषभक्ति र भाग्यवादी मनोविज्ञान लाद्न सोची–सम्झी रचेका कथा हुन् यी । स्त्रीहरूकै लागि लक्षित यी कथाले भाग्यवाद, पूर्वजन्म र परजन्म लगायतका भयकारी दीक्षाबाट स्त्री चेतनामाथि शासन गर्नुपर्ने थियो र नै स्वस्थानी व्रतका कर्ता महिला नै हुने गरेका हुन् ।
स्वस्थानी व्रत बस्ने र कथा सुन्ने प्रचलन मध्यमवर्गमा अधिक छ । मध्यमवर्ग वर्जना, अन्धविश्वास, रूढि इत्यादिको निरन्तर पृष्ठपोषक रहँदै आएको छ । मध्यमवर्गका कुण्ठित र रुग्ण चेतका, अदना महिलाको दिमागमा प्रभुत्व जमाउन रहस्य र चमत्कारको आवरण भिरेका यस्तै कथा आवश्यक पर्थे । एकचित्त मुद्रामा सुन्दा कथाका तरङ्ग मनदेखि दिमागका भित्तासम्मै पुगेर ठोक्किने भए र त्यसको प्रभाव आजीवन थरहरी हुने गरी रहने भयो । तत्कालीन समाजमा स्त्रीहरूको सम्भावित विद्रोहलाई रोक्न कथाहरूले कसरी भूमिका खेले भन्ने कुरामा स्वस्थानी एउटा ठोस उदाहरण हो । …कुनै स्त्रीले आफ्ना पतिलाई रिसले हेरे डेरी हुन्छे, पतिको वचन काटे पापिनी हुन्छे, पतिको मुख लागे लाटी हुन्छे, लुकाएर खाए कुकुर्नी हुन्छे … आदि भनेर नारी जातिलाई पुरुषको निष्कण्टक दासत्व बोक्न सिकाउने स्वस्थानी कथा कुनै पनि अर्थमा संस्कृति र धर्म होइन ।
स्वस्थानी व्रत कथाको भूमिका खण्डमा उल्लेख भए अनुसार, यसका कथयिता स्कन्द अर्थात् कुमार हुन् र प्रथम श्रोता अगस्त्य मुनि । स्कन्दपुराणबाट निकालिएको कथाखण्ड भनिए पनि उक्त पुराणमा यस्तो कुनै कथा प्रसंग नरहेको कुरा पनि लोहनीकै लेखमा समेत उल्लेख छ । स्वस्थानी कथाबारे गरिएका अनुसन्धानहरूले यसलाई स्कन्दपुराणको केदारखण्ड, माघ माहात्म्यबाट उद्धृत भनी सप्रमाण भन्न सकेका छैनन् । यस आधारमा यो धार्मिक कलेवरमा उनिएको एउटा कल्पित कथा मात्रै हो भन्न सकिन्छ । यसका प्रथम वाचक, प्रथम श्रोता दुवै पुरुष हुन् र विगत पाँच सय वर्षदेखिका कथा संकलक र सम्पादक पनि पुरुष नै । यसरी पुरुषद्वारा कथित, संकलित र प्रसारित कथा कसको सेवार्थ किन प्रभावशाली हुँदै आयो भन्ने बुझ्न दिमाग खियाइरहनुपर्दैन ।
धर्मका नाममा रचित भय, आतङ्क र आश्वासनप्रेरित भाष्यको प्रभाव धेरै गहिरो र लामो हुन्छ । औपचारिक शिक्षाको समावेशी र लोकतान्त्रिक प्रसार नहुँदा धार्मिक प्रचलनका रूपमा चलेको यो कथा–परम्परा स्वतः ग्राह्य र लोकप्रिय हुनसक्नेमा दुई मत रहेन । पुण्य आर्जन गर्ने, धर्म कमाउने उद्देश्यले मात्रै होइन, जाडो यामका लामा रात कटनी गर्न मनोरञ्जन र रेचनका लागि पनि यो श्रवणीय हुन सक्थ्यो । चामत्कारिक कथाप्रसंगहरू र विशेष प्रकारको वाचनशैलीबाट बालदेखि वृद्धसम्म सबै उमेरका मानिसहरू स्वस्थानी कथा सुन्न झुम्मिनु अस्वाभाविक पनि भएन । मेरो आफ्नै अनुभव छ, बाल्यकालमा उदेक–उदेकका पात्र र प्रसंगले यो कथाप्रति आकर्षित भएको, कथावाचन गर्न लालायित हुने गरेको ।
स्वस्थानी कथाको केन्द्रमा स्वस्थानीदेवीको मूर्तिकरण गरिएको भए पनि वास्तवमा स्वस्थानीदेवी को थिइन् भन्ने नै अमूर्त छ । अधिकांश कथामा शिव–पार्वती र तिनका पारिवारिक प्रकरण छन् । प्रायः कथा घोर अन्यायी, छली र प्रपञ्चकारी पात्रहरूको सौन्दर्यकरण गरेर निर्धा र कतिपय स्वाभिमानी पात्रको तेजोवध गर्नमा केन्द्रित छन् । सबैभन्दा कारुणिक त गोमा ब्राह्मणीको कथा छ, जसलाई र्ईश्वरका पनि सुप्रिम ईश्वर भनिने महादेवका हातबाट पार्नुसम्म बिजोग पारिएको छ ।
मिथक र कथा–परम्पराको अध्ययन, अनुसन्धानमा स्वस्थानी कथाको पनि आफ्नै प्रकृतिको महत्त्व छ । इतिहास र संस्कृतिका खराबभन्दा खराब घटना र प्रकरण पनि अध्ययन, अनुसन्धानका क्षेत्र हुन सक्छन् । यो कुनै नयाँ र आश्चर्यको कुरा होइन । तर नेपालमा एक थरी मानिसहरू यस्ता छन्, जो कुनै विदेशीले स्वस्थानी कथामाथि गरेको अनुसन्धानको नाम लिएर यहाँ हुने बहसमा आफ्नो पल्ला माथि पार्ने हाँसउठ्दो कसरत गर्छन् । लाग्छ— तिनलाई बहसका नाममा दहल्फसेल गर्न त खुबै रुचि छ, तर फरक विचार राख्नेसँग बाझ्नैपर्छ भन्ना खातिर सामाजिक इतिहासका पत्रु र चरम विभेदकारी कथाका पक्षमा उभिँदा आफ्नै छोरी, बहिनी र स्त्रीजातिको आत्मसम्मान र प्रतिष्ठाको मात्रै होइन, मानवताको समेत विपक्षमा उभिएको भेउ पाउँदैनन् ।
स्वस्थानी कथाको किताब अध्ययन, अनुसन्धानको विषयका रूपमा निजी वा सार्वजनिक पुस्तकालयका र्याकभित्र सजाउन त ठीकै हो, काम लाग्छ । तर, यो जीवनशैलीकै रूपमा, सनातन धर्म–संस्कृति रक्षाको रटान दोहोर्याउने हेतुले घरका सिरानीमा राख्न योग्य किमार्थ छैन । यसभित्रका कथा सुन्ने–सुनाउने गरेर रक्षा हुने धर्म शतप्रतिशत स्त्रीद्वेषी धर्म हो । आजको समयका स्त्रीहरूले धर्म–संस्कृतिको संरक्षणका नाममा पेस गरिने यस्ता बकम्फुसे तर्कको पेटबोली बुझ्नु जरुरी छ ।
ekantipur
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५