नेपाल संवतको नयाँ वर्ष जो आफैमा एक आन्दोलन पनि थियो
सुभाय् संवाददाताOctober 26, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
सुरेश किरण
आज नेपाल संवत् ११४३ कछलाथ्व पारु । अर्थात नेपाल संवत्को नयाँ वर्ष । विश्वमा प्रचलित विभिन्न संवत्हरू मध्ये नेपाल संवत् मात्रै एउटा यस्तो संवत् हो जसको नामाकरण आफ्नै देशको नामबाट भएको छ । देशको नामबाट संवत् चलाइएको उदाहरण विश्वमा नेपाल बाहेक अरु कहीं पनि पाइँदैन । तसर्थ यसको नामबाटै थाहा हुन्छ, यो नेपालको आफ्नै माटोमा सिर्जित यहींको धरातलीय संवत् हो । अहिले नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रप्रमुख, सरकार प्रमुख लगायत सबैजसो राजनीतिक दल र अन्य निकायका प्रमुखहरूले शुभकामना व्यक्त गर्ने, वक्तव्य जारी गर्ने जस्ता कार्यहरू हुने गर्दछन् । नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुने कुनै पनि कार्यक्रममा सरकार र राजनीतिक पार्टीया पदाधिकारीहरू सहर्ष उपस्थिति जनाउँदछन् । यो अहिले एक ठूलो उल्लास र उत्सवको रूपमा मनाइन थालिएको छ । तर आजभन्दा ३३ वर्ष अघिसम्म नेपाल संवत्को नयाँ वर्ष मनाउने शैली भने यस्तो थिएन । यसको नयाँ वर्षलाई उत्सव होइन आन्दोलनको रूपमा मनाउने चलन त्यतिबेला थियो । देशमा निरंकुश पञ्चायती शासन थियो । पञ्चायती शासनले देशमा ‘एक भाषा, एक भेष’ नीति लागू गरी अरु सबै जाति, भाषा, धर्मलाई अँथ्याएको समय थियो । राज्यको त्यो निरंकुश नीतिका विरुद्ध बोल्ने कसैको आँट थिएन । त्यस्तो बेला नेपालभाषा मंकाः खलः नामक एक संस्थाको आयोजनामा सञ्चालन गरिने नयाँ वर्षको भिन्तुना कार्यक्रम पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन पनि बन्दै जान थालेको थियो । पहिले पहिले नेपाल संवतको नयाँ वर्ष कार्यक्रम कुनै स्कुलको बन्द कोठामा मात्रै मनाइने गरिन्थ्यो । नेपाल संवत् ११०० अर्थात आजभन्दा ४३ वर्षअघि मंकाः खलःले पहिलोपटक सार्वजनिक ¥याली सहित भिन्तुना कार्यक्रम आयोजना गर्न थालेको थियो । तत्कालीन सरकारले यसको लागि कुनै अनुमति दिएको थिएन । त्यसैले नयाँ वर्षको भिन्तुना कार्यक्रम आयोजना गर्दा हरेक वर्ष प्रशासनको हस्तक्षेप हुने गर्दथ्यो । आयोजकहरू पक्राउ पर्दथे । मंकाः खलःका तत्कालीन अध्यक्ष पद्मरत्न तुलाधर भिन्तुना कार्यक्रम आयोजना गरेकै कारण थुप्रै पटक प्रहरी हिरासतमा पर्नुभयो । जनकवि दुर्गालाल श्रेष्ठ, अगुवा मल्ल के. सुन्दरले धेरै पटक प्रशासनको धम्की खेप्नुपर्यो । पञ्चायतकालमा राजनीतिक पार्टीहरू प्रतिबन्धित थिए । नेताहरू भूमिगत हुनुहुन्थ्यो । सत्ताको कडा दमनका कारण पार्टीहरूले भेला गर्ने, र्याली निकाल्ने जस्ता काम गर्नु असम्भव जस्तै थियो । त्यसैले राजनीतिक दलका भूमिगत नेता एवं कार्यकर्ताहरू पनि भिन्तुना कार्यक्रममै सहभागी भई राज्यद्वारा सञ्चालित विभेद र असमानता विरुद्ध आवाज उठाउने गर्दथे । नयाँ वर्षको उपलक्ष्यमा गरिने ¥याली तथा सभाहरूमा नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनुपर्ने माग गरिन्थ्यो । पञ्चायती व्यवस्थाले आफूलाई राष्ट्रवादी दावी गरे पनि नेपाल देशकै नाममा स्थापित नेपाल संवत्लाई भने वेवास्ता गरेकाले यो राष्ट्रवादी व्यवस्था होइन भनेर आरोप लगाइन्थ्यो । राज्यले नेपाल संवत् मात्र होइन नेपालमा विद्यमान विभिन्न जातीय समुदायको भाषा, धर्म, संस्कृतिलाई मास्न खोजेका कारण यो फासीवादी व्यवस्था हो भनी प्रचार गरिन्थ्यो । यसरी पञ्चायती व्यवस्थाका विरुद्ध जनतामा जागरण सञ्चार गर्न नेपाल संवत्को भिन्तुना कार्यक्रम एउटा सांस्कृतिक आन्दोलनका रूपमा उपयोग हुँदै जान थालेको थियो । पञ्चायती व्यवस्थाको दमन चर्कंदै जान थालेपछि भिन्तुना ¥यालीमा ‘पञ्चायती व्यवस्था सीमा, झ्वकनीमा ! (पञ्चायती व्यवस्था मरिजाओस् !)’ भनेर समेत नारा लगाइएको थियो । यही भिन्तुनाको सांस्कृतिक र्याली हो जहाँ पञ्चायती व्यवस्थाको अन्त नहुन्जेल देशका सबै जाति, भाषा र धर्मले समान अधिकार उपभोग गर्न सक्ने छैन भन्दै जनतालाई जागरुक बनाउने कार्य हुने गर्दथ्यो । तत्कालीन पञ्चायती व्यवस्था विरुद्ध राजनीतिक रूपले प्रहार गर्ने काम भूमिगत दलहरूले गरिरहेको थियो भने गैर राजनीतिक मोर्चाबाट पञ्चायतलाई प्रहार गर्ने अघोषित फोरम यही भिन्तुना कार्यक्रम थियो । २०४६ सालमा बहुदलीय प्रजातन्त्र स्थापना भएपछि भने नेपाल संवत् नयाँ वर्षको कार्यक्रममा राज्यका तर्फबाट पनि प्रतिनिधित्व हुन थालियो । २०४७ सालमा बसन्तपुरमा भएको भिन्तुना सभामा तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले प्रमुख अतिथिका रूपमा भाग लिनुभएको थियो । त्यसपछिका हरेक कार्यक्रमहरूमा बहालवाला प्रधानमन्त्री नै प्रमुख अतिथिका रूपमा उपस्थित हुने परम्परा शुरु हुन थाल्यो जो अहिलेसम्म पनि जारी नै छ । २०६२/६३ को आन्दोलनपछि जब देशमा गणतन्त्र स्थापना भयो, त्यसपछि भने बहालवाला राष्ट्रपतिले पनि भिन्तुना कार्यक्रमलाई शुभकामना व्यक्त गर्ने चलन शुरु भयो । यसरी नेपाल संवत् नयाँ वर्षको भिन्तुना कार्यक्रम एक सांस्कृतिक गतिविधि मात्र भए पनि यसको राजनीतिक योगदान भने अविस्मरणीय छ । देशमा प्रजातन्त्र वहाली गर्ने आन्दोलनमा समेत यसले जुन भूमिका निर्वाह गरेको थियो, त्यसलाई हरेक सरकारहरूले उच्च मूल्यांकन गर्नै पर्दछ । (लेखक वरिष्ठ पत्रकार ,नेपाल भाषा टाइम्स दैनिकका सम्पादक हुनुहुन्छ ।) साभार : मैत्रीन्युज