कर्णप्रिय, सुमधुर कण्ठका धनी योगेश वैद्यले करीब ४ सय ५० गीतमा आवाज दिए भने ५० वटामा संगीत भरेका छन् ।
यिनको आवाजमा कहीं पीडाको आभास पाइन्छ भने, कहीं निराशाको त कहीं रोमांटिकताको झलक पाइन्छ ।
उनले जी. शाहका सबैभन्दा बढी १८ गीत गाएका छन् । यसैकारण उनलाई दरबार या राजाको मान्छे भन्ने बिल्ला पनि भिडाइदिएको थियो एकताका । तर मानवीयताको गहीरो सम्बन्धलाई राजनीतिक रंग दिनु गलत कुरा हो ।
तत्कालिन अधिराजकुमार ज्ञानेन्द्रसँग योगेश वैद्यको आत्मीय सम्बन्ध कस्तो थियो भने राती गीत लेखे भने पुसको बिहान ६ बजे नै गाडी टुप्लुक्क आइपुग्थ्यो उनको घरमा! जी. शाहका पहिलो श्रोता उनै हुन्थे । शौचालय जाने क्रममा औंला ठोक्किएर घाउ भएपछि लामो समयसम्म पनि त्यो घाउ निको भएन! जसका कारण योगेश वैद्यले देब्रे खुट्टाको केही औंला गुमाउनुपरेको छ! सोही कारण पनि हिँड्न केही अप्ठेरो महसुस भएको बताउँछन् गायक वैद्य! केही वर्ष अघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । सन् १९६० अप्रिलमा चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले शान्ति निकुञ्ज सह–विद्यालयको भ्रमण गर्दा योगेश वैद्यले केटी साथी प्रतिमासँग मिलेर युगकवि सिद्धिचरण श्रेष्ठद्वारा रचित विद्यालयकै परिचयात्मक गीत प्रस्तुत गरेका थिए – पुरुष नारी दिवस रजनी साथ नै युग भर्दछन् ।
त्यहीँ पढ्दा गुरु अष्टमंगल वज्राचार्यले उनलाई संगीतप्रवीण नरराज ढकालकहाँ पुर्याए र उनले एक वर्ष संगीत सिके!
२० को दशकमा किलागलका नारायणगोपाल, बांगेमुढाका प्रेमध्वज प्रधान र प्युखाका माणिकरत्न साथी थिए उनका ।
उनले मानेका दुई संगीत साधक हुन्, नातिकाजी र शिवशंकर! (साभार : केदार श्रेष्ठको फेसबुक पोस्ट)
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५