नुवाकोट/ हालै त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि प्रभावित क्षेत्रका बासिन्दाहरू अझै कठिन परिस्थितिमा जीवनयापन गर्न बाध्य छन्। घरबारविहीन बनेका परिवारहरू अस्थायी आश्रयमा बसिरहेका छन् भने दैनिक उपभोग्य सामग्रीको अभावले उनीहरूको पीडा थप बढाएको छ।
यही दुःखद परिस्थितिमा बाढीपीडितहरूलाई सहयोग गर्ने उद्देश्यले भक्तपुरस्थित मुनि बिहारबाट आएका भिक्षुहरू तथा दाताहरूको टोलीले पहिलो चरणको राहत वितरण गरेको छ। राहत सामग्री वितरण गर्दै उनीहरूले विपद्मा परेका नागरिकहरूप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।

मुनि बिहारका प्रमुख विपश्वी महास्थविरको नेतृत्वमा आएको टोलीले खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गर्नुका साथै बाढीमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्ति, सुगतिका लागि तथा प्रभावित परिवारहरूको मानसिक शान्ति र सहजताका लागि विशेष सूत्रपाठ समेत गरेको थियो।
राहत वितरण कार्यक्रममा थाइल्याण्डबाट नेपाल भ्रमणमा रहेका भिक्षुहरूको समेत सहभागिता रहेको थियो। उनीहरूले विपद्को घडीमा मानवताको सेवाभन्दा ठूलो धर्म अरू केही नभएको उल्लेख गर्दै पीडितहरूसँग दुःख साटासाट गरेका थिए।

कार्यक्रमका संयोजक भिक्षु मेधंकर स्थविरले यसपटकको राहत वितरणलाई प्रारम्भिक सहयोग तथा अध्ययन–अवलोकनका रूपमा लिइएको बताए। “यस पटक हामीले सीमित मात्रामा राहत वितरण गरेका छौं। यो एक अध्ययन तथा अवलोकन भ्रमण पनि हो। आगामी दिनमा जहाँ आवश्यकता बढी देखिन्छ, त्यही स्थानमा पुगेर थप प्रभावकारी रूपमा राहत वितरण गर्ने तयारी गरिरहेका छौं,” उनले भने।
बाढीका कारण त्रिशूली बजार तथा आसपासका क्षेत्रका धेरै घर, पसल र भौतिक संरचनामा क्षति पुगेको छ। कतिपय परिवार अझै पुनर्स्थापनाको पर्खाइमा छन्। यस्तो अवस्थामा विभिन्न सामाजिक, धार्मिक तथा मानवीय संघसंस्थाबाट प्राप्त सहयोगले पीडितहरूलाई केही राहत मिलेको स्थानीयवासीहरूले बताएका छन्।





सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५