-राजेन मानन्धर
सिङ्गापुर एक धर्म निरपेक्ष देश हो र विभिन्न जात र नश्लका मानिसहरु आआफ्नो धर्म निर्धक्क र स्वतन्त्रतापूर्वक अभ्यास गर्छन् । यहाँको सबैभन्दा ठुलो धार्मिक समुदाय भनेको बौद्ध समुदाय हो । यहाँको जनसंख्याको ३१.१ प्रतिशतले सन् २०२०मा भएको जनगणनामा आफुलाई बौद्ध भनेर परिचय दिएको छ ।
सिङ्गापुरमा बुद्ध धर्मको इतिहास धेरै लामो छैन । यहाँ बुद्ध धर्मको राम्रो विकास १४ औं शताब्दीमा मात्र भएको मानिन्छ । यसबेला सिंगापुरमा प्रवेश गरेका चीनियाँ आप्रवासीले आफुहरूसँग महायान आदि विभिन्न बौद्ध परम्पराहरू लिएर आए । उनीहरु यहाँ आउँदा बुद्ध धर्मका सबै प्रमुख शाखाहरु —थेरवाद, महायान तथा वज्रयान आफुसँगै आएका थिए । यहाँ आएपछि उनीहरुले आआफ्नो समुदायको हितको लागि संगठित भएर धर्म अभ्यास गरे तथा विहार वा गुम्बाहरु बनाए जसले यहाँको बौद्ध धार्मिक वातावरणमा विविधता समेत थपे ।
सानो ठाउँ भएर पनि सिङ्गापुरमा थुप्रै बौद्ध मठ, मन्दिर वा विहारहरु छन् । तिनीहरु कलात्मक र आकर्षक छन्, अहिलेका बौद्धहरुका लागि साँस्कृतिक जमघटका केन्द्रहरु हुन् । ती मध्ये धेरै ऐतिहासिक तथा यहाँका बौद्धहरुले गरेको संघर्षका प्रतीक पनि हुन् । यहाँ त्यहाँका केही प्रमुख स्मारकहरु हुन् — थियान हक केङ मन्दिर, बर्मी बौद्ध मन्दिर , बुद्ध दाँत अवशेष मन्दिर र संग्रहालय, फू हाइ छान मन्दिर, कोङ मेङ फोर कार सी मन्दिर, स्यङ लिम मन्दिर, वाट आनन्द मेत्यारामा थाई बौद्ध मन्दिर आदि ।
यहाँका बौद्धहरु तथा बौद्ध संघसंस्थाहरुमा सामाजिक संलग्नता धेरै छ अनि मानिसहरु सक्रिय रूपमा सामाजिक र परोपकारी कार्यहरूमा संलग्न छन् । उनीहरु शील, समाधिको मात्र कुरा गर्दैनन्, पूजापाठमा मात्र समय बिताउँदैनन् । यसका साथै उनीहरुले समुदायको कल्याणमा योगदान पुर्याउनुलाई पनि धर्मकै रुपमा लिन्छन् । यहाँका बौद्ध संघसंस्थाहरुले देश विदेशमा विपत्तिमा परेका र असहायहरुका लागि विभिन्न किसिमबाट सहयोग गरिरहेका हुन्छन् ।
समग्रमा यहाँको बुद्ध धर्मको इतिहासले बहुसांस्कृतिक राष्ट्रको सम्पदा झल्काउँछ । मानिसमा खुला हृदयले सबैलाई स्वीकार्ने अनि सहअस्तित्वको भाव छ भने आप्रवासन, धार्मिक स्वतन्त्रता, र अन्तरधार्मिक संवादको माध्यमबाट कसरी बुद्ध धर्म सिंगापुरको सामाजिक र सांस्कृतिक संरचनाको अभिन्न अङ्ग भएको छ भन्ने यहाँबाट सिक्न सकिन्छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५