‘खुला मञ्च’मा भूमिगत पार्किङ किन मिल्दैन ? किन हुँदैन ?
सुभाय् संवाददाताJanuary 4, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ६३ मिनेट
आई.एल. सिंह
काठमाडौं । काठमाडौंमा वर्षौँदेखि यातायात व्यवस्था अस्तव्यस्त अवस्थामा छ । गाडीचालकदेखि बटुवाहरू घन्टौँको ट्राफिक जामको सिकार भएकाले दिक्क भएका मात्र छैनन् समयमा आफ्नो गन्तव्य पुग्न नसक्दा सास्ती व्योहोर्नु परेको छ । यो कुरा स्थानीयलगायत घुमघामको लागि आउने देशी/विदेशी पाहुनाहरू सबैले अनुभव गरेकै हुनुपर्छ । बिरामी समयमा अस्पताल पुग्न नसकेका कारण ज्यान गुमाएका समाचारहरू पनि बारम्बार सुन्छौँ । यस विषयमा सम्बन्धित निकायमा धेरै गुनासो गरेको सुनिन्छ । तर हालसम्म ठोस निकास दिन सकेको देखिँदैन ।
काठमाडौं महानगरले हालै काठमाडौंको मुटु मानिने टुँडिखेल ‘खुला मञ्च’मा भूमिगत पार्किङको लागि परियोजना (मएए) लेख्ने प्रक्रिया अगाडि बढाएको सुन्नमा आएको छ । काठमाडौंवासीदेखि अरु सर्वसाधरण समेतले यसबारे धेरै चासो लिएको देखिन्छ । कारण महानगरले विगतका दिनहरूमा विनायोजना हचुवाको भरमा गरेका अपरिपक्व कार्यान्वयन जस्तैः टुकुचा उत्खनन नै किन नहोस् जनताको कर खेर गएको छ । प्रतिक्रियाहरू आउन थालेको छ । सबैको मुख्य प्रश्न हो, खुल्ला मञ्चमै किन ? के यसले काठमाडौंको यातायात व्यवस्थापनलाई सहज गर्ला ? महानगरले यसको उत्तर दिनु पर्ने नै हुन्छ ।
खुल्ला मञ्चको कुरा गर्दा विभिन्न दृष्टिकोणले हेर्नुपर्ने हुन्छ । यो मञ्चले इतिहास बोकेको छ, सांस्कृति बोकेको छ, राजनीति बोकेको छ । यो देशको एक सम्पदा पनि हो । यो मञ्चबाट विभिन्न राजनीतिक दलका ठूला–ठूला नेताहरूले भाषण नगरेको सायद छैनन् नै होला । ठूला–ठूला आन्दोलनको उद्घोष गरेको धेरैले सम्झेको होला, सहभागी भयो होला । नेपाली कांग्रेसका स्वर्गीय वरिष्ठ नेताहरू वीपी, गणेशमान, किसुनजी, गिरिजालगायत धेरैले यो मञ्चबाट बोलेको, उद्घोष गरेको देखेको छु सुनेको छु । त्यतै वामपन्थी नेतहरू मनमोहन, मदन भण्डारीलगायत अरू दलका नेताहरूले पनि यो मञ्चबाट आफ्ना भनाइ राखेको हामीले बिर्सन सक्दैनौँ । देशमा भएका विभिन्न परिवर्तनलगायत लोकतन्त्र ल्याउन यो मञ्चको ठूलो भूमिका रहेको छ । राजनीतिकबाहेक अरु राष्ट्रका महत्व पूर्ण अभियानहरूमा पनि यो मञ्चको प्रयोग भएको पाइन्छ । यो लेख आफैँले पनि स्वर्गीय मदन भण्डारीलगायत अरु दलका नेताहरू, सामाजिक अभियन्तासँगै बसेर बाल अधिकारसम्बन्धी कार्यक्रम गरेको र बोलेको अनुभव छ । काठमाडौंवासीहरूको गुठीको लागि प्रयोग हुने ‘ख्य’ (चौर) थियो यो । खेलप्रेमी युवा, बालबालिकाहरूको खेल्ने मैदान थियो यो । फुटबल खेलाडीहरू खेल्ने तथा दर्शकहरले हेर्ने र मनोरञ्जन लिने र दिने चौर थियो यो । नेपाली राष्ट्रिय फुटबलको प्रसिद्ध टोलीमध्ये एक आरसीटी (रानीपोखरी कर्नर टिम) क्लबको जन्म यही मञ्चबाट भएको हो ।
आपत्कालीन वा कुनै प्रकोपको समयमा जनमानसको सुरक्षित गन्तव्यको लागि हो यो मञ्च । १५ सालको भूकम्पमा जनताहरूले आश्रय लिएको ठाउँ हो यो खुला मञ्च । काठमाडौंका अधिकांश खुला ठाउँ विभिन्न बहानामा प्रयोग गर्न नपाउने भइसक्यो । एउटा सिंगो एसियाकै ठूलो चौर टुँडिखेल सैनिक प्रयोजनका लागि टुक्रा–टुक्रा गरी सर्वसाधारणको पहुँचभन्दा बाहिर गइसक्यो । खुला ठाउँको आवश्यकताको परिपूर्ति हाल यही मञ्चबाट भइआएको छ । पर्यावरणीय भूमिगत पानीको लागि जलग्रहण क्षेत्र पनि यसै मञ्चबाट भईआएको छ । यो मञ्चको आफ्नै स्थान र पहिचान छ यो देशमा । महानगरलगायत सम्बन्धित सरकारी निकायहरूले बुझ्नु अति आवश्यक हुनेछ । हालका कतिपय महानगरका वडा अध्यक्षहरू यसबारे जानकारी नभएका होइनन् तर किन मौन छ काठमाडौं बसी जान्न चाहन्छ ?
महानगरको दूरदृष्टिको कमीले गर्दा यो मञ्चसँगैको बसपार्कमा भव्य टावर बनाउने काम केही वर्षदेखि चलेको छ जसमा भूमिगत पाकिङको व्यवस्थाको उल्लेख गरिएको छ । स्थानीयहरूको इच्छा र विरोध हुँदाहुँदै केही नेताहरूको समर्थनमा सो टावर बनाएको हो । टावर बनाउने क्रममा खुला मञ्चलाई कहिले अस्थायी बसपार्क, प्रोजेक्टका कामदार बस्ने घर र कवाडी राख्ने स्थानमा परिणत गरी मञ्चको अपमान र अन्याय गरियो । जनताको धेरै गुनासो र दबाबपछि हाल खुला मञ्चमा ताला लगाइएको पाइन्छ कि ?
यस मञ्चको अपरिहार्यता र महत्वको मनन गरी झण्डै तीन दशक अगाडि पीएल सिंह मेयर हुँदा सो मञ्चलाई कब्जा गरी ओगटेर राखेका हजारौँं स–साना पसलहरू आजको जस्तो डर त्रासविना हटाएर संरक्षण गरेको राम्रो उदाहरण हालसम्म पनि नगरवासी सम्झन्छन् ।
खुला मञ्च महानगरपालिकाको आफ्नै सम्पति नभई सार्वजनिक सम्पत्ति हो । यसको प्रयोग सबै नेपालीहरूले गर्न पाउनु हक र अधिकारको कुरा हो । तसर्थ यदि यहाँ भूमिगत पार्किङ निर्माण भएको खण्डमा त्यो माथिका अधिकारबाट वञ्चित हुनुपर्ने हुन्छ कि हुँदैन ? र त्यो ठाउँको इतिहास एकादेशको कथा हुन्छ कि हुँदैन ?
महानगरले संस्कृति, गुठी, सम्पदा, इतिहास आदिका महत्वबारे धेरै कुराहरू गर्ने र संरक्षण गर्नुपर्छ भन्ने सुनिन्छ । तर खोइ यो खुला मञ्च त्यसभित्र पर्दैन ?
सर्वप्रथम महानगरपालिकाले भूमिगत पार्किङ बनाउनको खास उद्देश्य के हो बुझ्नु र बुझाउनुपर्ने हुन्छ । त्यही स्थानमा बनाउनुको औचित्य पुष्टि गर्नु पर्नेछ । यसबाट काठमाडौंवासी र अन्य सर्वसाधारण जनतालाई के फाइदा पाउने स्पस्ट हुनु पर्दछ । यसबाट काठमाडौं महानगर क्षेत्रभित्रको यातायात व्यवस्थापन (ट्राफिक जाम आदि)मा कतिको लाभ हुने हो सोको तथ्यांक देखाउनु पर्नेछ । भूमिगत पार्किङले मात्र यातायात व्यवस्थापन हुन्छ र ? यातायात व्यवस्थापनको समस्या कसरी हुनगयो त्यो अध्ययन गर्नु पहिलो प्रामिकतामा पर्न आउँछ र कसरी समाधान गर्ने जनताको सहभागिता बहस हुन जरुरी छ ।
जनताहरूलाई यात्रा गर्दा सर्वसुलभ यातायातको खाँचो पर्छ नै । त्यसको परिपूर्ति विभिन्न किसिमबाट भएको छ । जस्तैः सरकारी स्वामित्वको सार्वजनिक, गैरसरकारी क्षेत्रको तथा आफ्नै निजी सवारीसाधन । त्यसमा ठूलो बस (१२ हजार), माइक्रो (१३ हजार), जिप र कार (एक लाख ५५ हजार), दुईपाङ्ग्र्रे (नौ लाख) आदि पर्दछन् । यसबाहेक ठूलो संख्यामा ट्रक, डोजर आदि सडकमा गुडेको पाइन्छ । सरकारले आफ्नो अधीनमा रहेका यातायातको राम्रो व्यवस्था गर्न सकेको देखिँदैन । गैरसरकारी संस्थाको आफ्नै मनोमानी र सिन्डिकेटले गर्दा जनताले सर्वसुलभ हुन सकेको देखिँदैन र यातायात क्षेत्रमा भद्रगोल भएको देखिन्छ ।
राम्रो व्यवस्था हुन नसक्दा ‘सक्ने र हुने’हरूले आफ्नै निजी यातायातका साधनहरू प्रयोग गरेको पाइन्छ । बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो फाइदाको लागि सवारीसाधन सजिलै कर्जामार्फत बिक्री गरेको पाइन्छ । कतिसम्म कि एउटै परिवारमा दुईभन्दा बढी सवारीसाधनहरू राखेको पाइन्छ । यसको खास कारण सार्वजनिक यातायात राम्ररी व्यवस्थापन गर्न नसक्नु नै हो । समस्या समाधानको लागि राम्रो सार्वजनिक यातायातको विकल्प हुन सक्दै सक्दैन ।
सरकारले यातायात व्यवस्थापनका लागि नीति तथा नियमहरूको निर्माण तथा कडाइका साथ पालना गर्नु र गराउन पर्ने हुन्छ । गाडी हाँक्दा सडक अनुशासन जस्तैः लेन क्रसिङ, गलत ओभरटेकको बुझ्न न सक्नु पर्छ । जसले गर्दा दिनहुँ दुर्घटना समाचार सुन्न पर्ने हुन्छ । त्यतै ‘ट्राफिक लाइट’को राम्रो व्यवस्थापन गर्न नसक्नु । ‘एकतर्फी’ सडकको पनि थप व्यवस्था गरी कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ । ठाउँ–ठाउँमा अन्डरपास, फ्लाइओभर, एक्सप्रेस–वेको अध्ययन गरी सोको निर्माण र सञ्चालन गर्नुपर्ने देखिन्छ ।
सवारीसाधनको ‘स्थायी पार्किङस्थल’को नियम बनाएको छ ? गाडी ठाउँ कुठाउँ, खासगरी सडकहरूमा पार्किङ गरेको देखिन्छ । जसले गर्दा सडक जति चौडा गर्दा पनि सडक साँघुरोको साँगुरो नै । यस्तो पार्किङलाई के गर्ने ? पार्किङको व्यवस्था गर्न नसक्नेलाई सवारीसाधन खरिद गर्नबाट वञ्चित गर्ने कि नगर्ने ? एउटा परिवारको लागि कतिवटा सवारीसाधन राख्न दिने ? यो गम्भीर मुद्दा हो । यातायातको ठूलो हिस्सा ठूला–ठूला बसहरूले ओगटेको देखिन्छ चाहे त्यो सर्वसाधारणको लागि होस या स्कुलको विद्यार्थीहरूका लागि । बस मार्ग अनुमति, बस बिसौनी, सबै क्षेत्र समेट्ने बस रुट अनुमतिले काम गरिरहेको पाइँदैन ।
लामो दूरीमा चल्ने गाडी (दिवा वा रात्रि)बाट अर्को ठूलो समस्या थपेको देखिन्छ । काठमाडौंको मध्य भागमा ‘बस बिसौनी’ बनाएर सरकारले ठूलो गल्ती गरेको पक्कै हो जुन हाल सम्पूर्ण जनसमुदायले अनुभव गरेको र जनगुनासो पाइन्छ । पीएल सिंह मेयर हुँदा, ठूलो विरोधका बाबजुत सरकारले जबरजस्ती हालको बस बिसौनी बनाउने निर्णय लिएको थियो । अब सरकारले सच्याउनु नै पर्छ । लामो दूरी चल्ने गाडीलाई उपत्यका भित्रिन नदिई काठमाडौं छिर्ने नाकातिर जस्तैः थानकोटमा पश्चिमको लागि, नै व्यवस्थित गर्नु उपयुक्त हुन्छ । विद्यार्थी ओसार्ने गाडीहरूले अर्को समस्या निम्त्याएको देखिन्छ । सरकारी अफिस र स्कुल खुल्ने समय सँगै पर्ने नेपालको प्रचलन छ । के स्कुलको लागि उपयुक्त अर्कै समय परिवर्तन गर्नु उपयुक्त हुँदैन र ?
बूढानीलकण्ठदेखि पाटन ललितपुरसम्म आई पढ्ने विद्यार्थीको संख्या पनि धेरै देखिन्छ । यो खास गरेर निजी विद्यालयहरूको कारणले नै हो । सरकारी स्कुलको पठनपाठनप्रति अभिभावकले भरोसा गर्न नसक्दा पनि यो हुनगएको हो । यसले विद्यार्थीहरूको यात्रासमय निकै बढी हुने, जसले गर्दा स्वास्थमा समेत नकारात्मक प्रभाव पर्ने हुन्छ भने यातायात व्यवस्थापनमा अप्ठ्यारो पारेको देखिन्छ । के राम्रो स्कुल निजी नै भए पनि बूढानीलकण्ठजस्तो ठाउँमा राख्न सकिँदैन ? स्कुल म्यापिङ गरेर विद्यार्थीहरू यति दूरीसम्मको तोकेको क्षेत्रभित्रको स्कुलमै पढ्नुपर्छ भन्ने नियम लागू गर्न सकिन्न ? जसले गर्दा विद्यार्थीहरूको घन्टौँको समय बचत हुने थियो भने यातायात व्यवस्थापनमा सघाउ पुग्ने थियो ।
हाल दुईपाङ्ग्रे सवारीसाधन (मोटर बाइक, स्कुटर आदि) काठमाडौंले धान्न सक्ने अवस्थामा नै छैन । एक तथ्यांकअनुसार नौ लाखभन्दा बढी दुईपाङ्ग्रे सवारी बागमती अञ्चलमा गुडेको देखाएको छ । अनुशासनविना हुइँकाउने, जथाभावी पार्किङ खासगरी भित्री साँगुरो सडक र गल्लीले गर्दा यातायात व्यवस्थामा ठूलो अवरोध भएको छ र पैदलयात्रीहरूले सास्ती खेप्नुपरेको छ । बैंक र वित्तीय संस्थाबाट विना झन्झट सवारीसाधन सजिलै लिन सकिने व्यवस्था भएबाट यो स्थिति उत्पन्न भएको ठम्याइ छ । यस्तै हुने हो भने काठमाडौं कवाडीको भण्डार हुने पक्का छ । महानगरको नीति के छ ?
तीनपांग्रे रिक्सा र ठेलागाढाको इतिहास त छ नै तर बढ्दो जनसंख्याले गर्दा यो साधन त्यति उपयुक्त मानिँदैन । यो धेरै मात्रामा घटिसकेको पनि छ । यसको विस्थापनको विकल्प देखिँदैन । यातायातको अर्को कठिनाइ हो काठमाडौंका सडकहरू । केही स्थानमा बाहेक भित्री सडक राम्रो अवस्थाको पाउन मुश्किल देखिन्छ । साँघुरो सडक, बिग्रेको, प्वाल, खाल्डाखुल्डी अनुभव गर्न सकिन्छ । महानगरप्रमुखले आफ्नो अन्तर्वार्तामा यस्ता बिग्रेका बाटालाई सडक एम्बुलेन्स प्रयोग गरी अविलम्ब बनाउने बाचा गरेका थिए तर कार्यान्वयन हुन सकेको देखिएन ।
यातायात व्यवस्थापनका लागि महानगरले सरकारका विभिन्न सम्बन्धित निकायहरू र छिमेकी नगरपालिकाहरूसँग समन्वय गरी बृहत् तथा एकीकृत योजना तर्जुमा गरी प्रथमिकताको आधारमा लागू गर्नुपर्ने देखिन्छ ।
अन्त्यमा, ‘खुला मञ्च’ बचाउन ‘टुँडिखेल कब्जा अभियान (अनुपाई टुँडिखेल क्याम्पियन)को सुरुवात भएको छ । जसमा विभिन्न क्षेत्रबाट हजारौँ जनसमुदायको सहभागिता थियो र छ । कुनै पनि हालतमा काठमाडौंवासी र सर्वसाधरणले खुला मञ्चमा भूमिगत पार्किङको समर्थन गर्ने कुरै आउँदैन । समयमा नै महानगरको ध्यान जाओस् । courtesy