• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / व्यक्तित्व

काठमाडौंको ज्यापु समुदाय, जसले मेरो चित्रकला यात्रा सिँचन गर्‍यो


सुभाय् संवाददाताDecember 9, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

“काठमाडौंको ज्यापु समुदाय, जसले मेरो चित्रकला यात्रा सिँचन गर्‍यो”
हरिप्रसाद शर्मा
च्युरा कुट्दै गरेको ज्यापु समुदाय र काठमाडौंको तत्कालीन परिवेश। चित्र: हरिप्रसाद शर्माच्युरा कुट्दै गरेको ज्यापु समुदाय र काठमाडौंको तत्कालीन परिवेश। चित्र: हरिप्रसाद शर्मा
आज यःमरि पूर्णिमा। मलाई आफू ब्राह्मण परिवारमा जन्मिए पनि बाल्यकालमा आजका दिन नेवार र खासगरी ज्यापु समुदायका साथीहरूसँग साँझपख ‘यःमरि चाकु, उके दुने हाकु …’ भन्दै टोलका घर–घरमा गएर यःमरि माग्दै हिँडेको सम्झना झल्झली आइरहेछ।
अहिले म ८६ वर्ष उमेरमा हिँड्दै छु। त्यति बेला लगन गोफल टोलका गल्ली, चोक र बहालमा दिनभर साथीहरूसँग गुच्चा, ह्वाङ्ग्रा र डन्डिबियो खेलेको र डन्डिबियो खेल्दा एकै सासमा दौडेर पुग्न नसक्दा रूनुजस्तो भएको धेरै सम्झना मनमा ताजै छन्। गोलीगाँठोमा गुच्चाले सेकाइ खेल्दाका रोमाञ्च र पीडाका अनुभूति पनि छन्।
कहिलेकाहीँ निद्राबाट ब्युँझिँदा म आज पनि आफूलाई त्यही परिवेशमा पाउँछु। यस्तो हुनु स्वाभाविक पनि हो, किनभने मैले ४० वर्षभन्दा बढीको आफ्नो सबभन्दा ऊर्जाशील उमेर त्यहीँको परिवेशमा बिताएको थिएँ।
त्यो परिवेश याद गर्दा मलाई सबभन्दा बढी सम्झना आउने यःमरि पूर्णिमाकै दिन हो।
यो दिनलाई नेवार समुदायका ज्यापुहरूले ‘ज्यापु दिवस’ भन्दै सांस्कृतिक पर्वका रूपमा मनाउन थालेको धेरै वर्ष भयो। ज्यापु समुदायप्रति मेरो मनमा अपार आत्मीयता र सम्मान छ। म व्यक्तिगत रूपमा यो समुदायप्रति अत्यन्त ऋणी छु। यो समुदायको निकट सामीप्यमा मैले जुन बाल्यकाल बिताएँ, त्यही बाल्यकालको अनुभवले मेरो चित्रकला यात्रा सिँचन गर्‍यो भन्ने मलाई लाग्छ।
काठमाडौंका ज्यापुहरूको सामीप्यमा रहेर देखेका जात्रापर्व, मनाएका चाडबाड र भोगेका रीतिथितिबाट मैले धेरै कुरा सिक्न पाएँ। त्यति बेलाको सिकाइ नै मेरा चित्रहरूमा प्रतिविम्बित भएका हुन्।
अहिले म सम्झिन्छु- त्यतिखेर झन्डै झन्डै दिनहुँजसो कुनै न कुनै पर्वको बाजागाजाले वातावरण गुञ्जायमान हुन्थ्यो। बिहानीपख सबेरै खानपिन गरेर ज्यापु–ज्यापुनीका लस्कर खेततिर जाँदै गरेका देखिन्थे। ज्यापु महिलाहरू पिठ्यूँमा बच्चा बोकेर, केटाकेटी डोर्‍याउँदै, काँधमा कोदालो वा डल्याँठो अड्याएर खेततिर हिँड्दै गरेका हुन्थे। ज्यापु पुरूषहरू खर्पनमा दुईतिर कुटो–कोदालो र घरमै बनाएको जाँडको घैंटो, चिउराको पोको र कहिलेकाहीँ साना केटाकेटी पनि बोकेर खेत हिँडेका देखिन्थे।
त्यति बेला काठमाडौंमा घरको छिँडीमा भुस–खरानी जम्मा गरेर त्यसमा मलमूत्र विसर्जन गरी प्रांगारिक मल बनाउने चलन थियो। ज्यापु पुरूषहरू त्यही प्रांगारिक मल आफ्नो काँधै लचक्क हुने गरी बोकेर हिँडेको अक्सर देखिन्थ्यो। दिनभरको खेतीपातीपछि उनीहरू झमक्क साँझ पर्ने बेला घर फर्कन्थे र हतारहतार भात पकाइवरी खाएर छिट्टै सुत्थे पनि।
फेरि भोलिपल्ट बिहानदेखि उही दिनचर्या दोहोरिन्थ्यो।
झिसमिसेदेखि इनार वा ढुंगेधारामा खानेपानी र चोखो पानी थाप्ने, लुगा धुने, पूजाथाली बोकेर देउता थान जाने, घाममा बिस्कुन सुकाउने, सुत्केरीलाई तेल घस्ने, परालका भारी ओसार्नेजस्ता अनेक गतिविधिमा समुदाय व्यस्त रहन्थ्यो।
उनीहरू आफ्ना लागि मात्र होइन, उपत्यकाको जनसंख्यालाई पुग्ने खाद्यान्न उत्पादन गर्थे। घरपरिवारलाई अन्नपात पुर्‍याएर आफ्नो श्रमको आयस्तामा निर्भर जग्गाधनी तलसिङहरू, जो प्रायः सहरीया व्यापारी, कर्मचारी, दरबारिया, सेना–प्रहरी, अड्डा–अदालतका कर्मचारी हुन्थे, उनीहरू पनि ज्यापु समुदायले फलाएको अन्नपातको कमाइले पालिन्थे।
धेरैजसो ज्यापुहरू मोहीका रूपमा अर्काको जग्गा कमाउने हुनाले यो समुदाय आर्थिक रूपले सम्पन्न भने थिएन। यो समुदाय बर्खा बेला दिनरात घामपानी केही नभनी खेतीपातीमा व्यस्त रहन्थ्यो। हिउँदको समय खेतीपातीबाट फुर्सद हुँदा आर्थिक भरथेगका लागि ढुंगाको मूर्तिकारी, काष्ठकला, घर तथा मन्दिर निर्माण र मर्मतसम्भार गर्ने डकर्मी–सिकर्मीको काम गर्थे। माटाका भाँडा बनाउँथे। अनि जब चाडपर्वको समय आउँथ्यो, उनीहरू बाजागाजा, नाचगान र भोजभतेरमा मस्त रहन्थे।
माटोमै खेल्न रमाउने, नेवार समाजभित्रको सामुदायिक भावनाप्रति प्रतिबद्ध, आफ्ना परम्पराप्रति निष्ठावान ज्यापुहरूलाई मैले सरल, निश्छल र मेहनती समुदाय मानेको छु। अहिले पनि काठमाडौं उपत्यकाका तिनै सहरलाई यो समुदायको सक्रियताले नै सांस्कृतिक रूपमा जीवन्त राखेको छ।
यो समुदायका पुरूषहरू समुदायमै बुनिएको घरबुना कपडाको दौरा सुरूवाल, पटुका र टोपी तथा महिलाहरू घरबुनाकै हाकुपटासीको धोती, पटुका, चोलोमा सजिएर, आँखामा गाजल, टाउकोमा समयअनुसार गुलाफ वा गुनकेशरी फूल सिउरेर उमंग र आनन्दीभावमा जात्रामा सहभागी हुँदा वातावरणको रौनक नै अर्कै हुन्थ्यो।
अझ जात्रामा धिमेबाजाको तालमा जाँड–रक्सी लागेर खुट्टा लरबराएका जात्रालुहरूको चालढालले हँसी–रमाइलोलाई अर्कै उचाइमा पुर्‍याउँथ्यो।
संयोगवश, यति बेला म छोरा विष्णुप्रसाद शर्माको आग्रह र परिकल्पनामा आधारित र हामी दुवैले उति बेला देखेको ज्यापु समुदायमा जात्रापर्वका लागि परम्परागत विधिबाट रक्सी पारिरहेको परिवेशको चित्र बनाइरहेको छु।
चित्रमा विभिन्न उमेर समूहका महिलाहरू काम सँगसँगै जात्रामा मात लागेका पुरूषको हाउभाउ अभिनय गर्दै परस्परमा ठट्टा रमाइलो गर्दै गरिरहेका देखिने छन्।
मैले मेरो बाल्यकालदेखिका स्मृतिमा आधारित नेवार संस्कृति तथा ज्यापु समुदायको सामुदायिक जीवनचर्या झल्काउने धेरै चित्र बनाइसकेको छु। मैले बनाएका चित्रहरू दर्शकले निकै मनपराइदिनुभएको छ। यस्ता चित्रका प्रिन्टहरू अहिले मानिसका बैठककोठा, रेस्टुरेन्ट र पार्टी प्यालेसका भित्तामा सजाइएको देख्दा मन आनन्दित हुन्छ।
हाल यी लगायत अन्य विभिन्न आयाम समेटिएका चित्रहरू संग्रहित ठूलो आकारको चित्र पुस्तक पनि प्रकाशित भएको छ। मेरो सम्झनामा रहेका र मैले बनाउन चाहेका थप चित्रको शृंखला निकै लामो छ। हेर्दै जाऊँ, मेरो स्वास्थ्यले कतिसम्म मलाई साथ दिन्छ।
मन त मलाई आजै उँधौली पर्व मनाउने मेरो देशको इन्द्रधनुषी संस्कृतिको प्रतिनिधित्व गर्ने विविध जाति समुदायको चित्र बनाउने पनि थियो। तर नजिकबाट धेरै बुझ्न नपाएको हुनाले इच्छा हुँदाहुँदै पनि मैले त्यो काम गर्न सकेको छैन। त्यता पनि केही न केही गर्न पाए हुन्थ्यो भन्ने इच्छा बाँकी नै छ।
अन्त्यमा, आजको यःमरि पुन्हि, धान्य पूर्णिमा तथा उँधौली पर्वको अवसरमा सबैमा मेरो हार्दिक शुभकामना!                               (आर. मानन्धरले गरेको  कुराकानीमा आधारित   साभार:सेतोपाटी)

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑