सबभन्दा पुरानो ई.सं. १०१५ को प्रज्ञापारमिता ग्रन्थचित्र भोजदेव र रुद्रदेवको संयुक्त शासनकालमा लेखिएको देखिन्छ । प्रज्ञापारमिता ग्रन्थगातामा लेखिएको ई.सं. १०२८ लक्ष्मीकामदेव शासनकालमा पर्दछ ।
रविन्द्र मुनंकर्मी
बौद्ध चित्रको इतिहास
नेपालको प्राचीन लिच्छवीकालीन केन्द्रीय शासन कमजोर हुँदा स्वशासित प्रभावमा सामन्तहरूले तीन वटा शक्तिशाली राज्य खडा भएको समयलाई मध्यकालीन ऐतिहासिककाल भनिन्छ । त्यो बेलाको त्रिशक्तिमा विभाजित राज्यहरू दशौं शताब्दीदेखि उदय भएका थिए । यसको परिणामस्वरुप काठमाडौं उपत्यकामा अरिमल्लले ई.सं. १२०० मा नेपालमण्डल राज्य स्थापना गरे । दक्षिण–पूर्वको सिमरौनगढमा नान्यदेवले ई.सं. १०९७ मा तिरहुत डोय राज्य स्थापना गरे । पश्चिम नेपालको कर्णाली प्रदेशमा नागराज जावेश्वरले ई.सं. ११५० मा खस राज्य स्थापना गरे ।
राघवदेवको शासनकाल ई.सं. ८७९ देखि विजयकामदेवको शासनकाल ई.सं. १२०० सम्म २८ जना शासकहरूको शासनकालको विश्लेषण गर्न ऐतिहासिक स्रोत साधनको अभाव छ । त्यही युगलाई अन्धकारमय युग भनिएको छ । त्यो समयलाई पूर्वमध्यकालीन मानिंदै आएको छ । जयस्थिति मल्लको शासन उदय हुनुभन्दा पहिलेको राजनैतिक अवस्थाको सम्बन्धमा प्रकाश पार्ने स्रोत सामग्रीहरू अत्यन्तै न्यून भएकोले त्यस अवधिलाई एक प्रकारले अन्धकारमय युगको संज्ञा दिइएको छ । अर्को भनाइमा मेरी शेफोर्ड स्लशरका अनुसार नेपालमण्डलमा ई.सं. ७२२ देखि ई.सं. १२०० सम्मको शासन पद्धतिमा फेरबदल तथा परिवर्तन आएको स्पष्ट गरिएको छ ।
नेपालको मध्यकालीन इतिहासलाई दुई चिरामा विभाजित गरिएको समय ई.स. ८७९ देखि ई.सं. १५०१ सम्मको समयावधिलाई पूर्वमध्यकाल, ई.सं. १५०२ देखि ई.सं. १७६८ सम्मको समयावधिलाई उत्तरमध्यकाल र ई.सं. १७६९ देखि पछाडिको समयलाई आधुनिककाल मानिएको छ । यी माथिका ऐतिहासिक विवरण राजनैतिक र शासन पद्धतिको आधारमा विश्लेषण गरिएको हो । यसलाई कलाकृति विकासक्रमको आधारमा वर्गीकरण गर्दा फरक देखिन आउँछ । नेपाली बौद्धचित्रकलाको विकासक्रम नवौंदेखि सोह्रौं शताब्दीसम्मलाई अध्ययन गर्दा मध्यकालीन समयावधिभित्र पर्न आउँछ । त्यसकारण यो समयावधिको कलाकृतिहरूलाई मध्यकालीन कला भन्न सकिन्छ ।
बौद्धचित्रको शैलीगत मुहान अन्धकार युगको मात्र केही नमुना उपलब्ध भएकोले त्यसैलाई विश्वास गर्नुपर्ने हुन्छ । हाम्रो सामाजिक परम्परा संस्कृति र कलाकृतिहरूको आदान–प्रदान भएर एकआपसमा जोडिएका हुन्छन् । यसैलाई आधार बनाएर समाजको ऐतिहासिक गतिविधिलाई प्रमाणित गर्न सकिन्छ । कला र संस्कृतिको विकास भौगोलिक दृष्टिकोणबाट प्रभावित हुन्छन् । जस्तै: नेपालको हिमाली भू-भागको बौद्धधर्म र नेपालमण्डलभित्रको बौद्धधर्ममा भिन्नताका साथसाथै कलाकृतिको शैलीमा पनि भिन्नता देखिन्छ । नेपालको प्राचीन चित्रकलाको प्रमाण भेटाउन नसकिएका कारण कलाकृतिको प्रारम्भिक शैलीगत ज्ञानलाई अनुसन्धान गर्न सकिएको छैन ।
नेपाली बौद्धचित्रकलाको अध्ययन गर्दा लिच्छविकालीन सभ्यताकै जगमा मल्लकालीन शैलीहरू विकास भएको देखिन्छ । यहाँका ग्रन्थचित्रहरू मूलग्रन्थबाट प्रतिलिपि सारेर तयार पारिएका देखिन्छन् । एघारौं शताब्दीको अवधिमा लेखिएका ग्रन्थहरूमा बुद्धका जीवनी, प्रज्ञापारमिता, र बोधिसत्वहरूका चित्र लेखिएका छन् । यसपछिका ग्रन्थहरूमा पञ्चबुद्धहरू बज्रयानी परम्परामा आधारित भएका प्रज्ञापारमिता ग्रन्थ विषयका चित्रहरू देखिन्छन् ।
सबभन्दा पुरानो ई.सं. १०१५ को प्रज्ञापारमिता ग्रन्थचित्र भोजदेव र रुद्रदेवको संयुक्त शासनकालमा लेखिएको देखिन्छ । प्रज्ञापारमिता ग्रन्थगातामा लेखिएको ई.सं. १०२८ लक्ष्मीकामदेव शासनकालमा पर्दछ । ई.सं. १०५४ मा प्रज्ञापारमिता ग्रन्थगातामा लेखिएको बुद्ध जीवनी चित्रकथा भाष्करदेव शासनकालमा लेखिएको हो । शिवदेव तृतीयको शासनकालमा लेखिएका ग्रन्थचित्रहरू– ई.सं. १०७१ ग्रन्थचित्र, ११औं शताब्दीको प्रज्ञापारमिता ग्रन्थचित्र, ११औं शताब्दीको मार विषय ग्रन्थचित्र, ई.सं. १११७ को प्रज्ञापारमिता ग्रन्थचित्र इत्यादि छन् ।
इन्द्रदेवको शासनकालको १२ औं शताब्दीमा परमार्थ नामसंगिती ग्रन्थचित्र लेखिनुका साथै रत्नगुप्त शाक्यभिक्षुद्वारा परमार्थ नामसंगिती रचना गरिएको उल्लेख छ । ई.सं. ११३८ को प्रज्ञापारमिता ग्रन्थचित्र र ई.सं. ११५८ को प्रज्ञापारमिता ग्रन्थचित्र उसकै समयका हुन् । ई.सं. १२औं शताब्दीमा लेखिएको गण्डव्यूह र विश्वन्तर जातक ग्रन्थचित्रहरूलाई यही शताब्दीभित्रका इन्द्रदेव र रुद्रदेवको शासनकालमा मान्न सकिन्छ ।
उत्तरमध्यकालीन चित्रकला
अभय मल्ल शासनकालमा लेखिएको ई.सं. १२२५ को अष्टस्रहसिका प्रज्ञापारमिता नीलपत्रमा लेखिएको ग्रन्थचित्र १२ वटा छन् । ई.स.१२५० ग्रन्थचित्र उत्कृष्ट शैलीमा बनाएका थिए । त्यो बेलाको तेह्रौं शताब्दीका पौभाहरूमा आर्यतारा, रत्नसम्भव, अमिताभ, अमोघसिद्धि इत्यादिलाई यिनकै समयमा लेखिएका मान्न सकिन्छ । यिनको शासन अवधिमा प्राकृतिक विपत्ति र अस्थिरताले गर्दा बौद्धआचार्यहरूका साथै कलाकारहरू तिब्बत पलायन भई बौद्धहरूको सङ्ख्यामा ह्रास भएको देखिन्छ । यसको परिणामस्वरुप तिब्बतमा १३ औंदेखि नेपालीको कलाशैलीले १६ औं शताब्दीसम्म स्थान लिए । क्रियासङ्ग्रहको पहिलो र पछिल्लो सप्तसतीमा उल्लेख गरिएअनुसार यो समयमा भारत र तिब्बती आचार्यहरूको केन्द्रबिन्दु थियो ।
यिनको शासनकालको मध्यतिर तिब्बतबाट सय जना कलाकारहरू कूब्ला खाँद्वारा पठाउनका लागि अनुरोध गरिएकोमा असी जनामात्र पठाइए । यी कलाकारहरूको प्रतिनिधित्व गर्ने अरनिकोको जीवनी युआन इतिहासले बयान गरिएअनुसार उनी नेपाली कलाकार हुन् । उनी सानै उमेरदेखि विलक्षण प्रतिभाशाली कलाकार थिए । उनी आफ्नो विद्यालयका सहपाठीहरूमध्ये चित्रकला, अलङ्कार बुट्टा, मूर्तिकलाको अनुपातिक नियममा अत्यन्त कुशल थिए । ई.स. १२४३ तिर सत्ताइस वर्षको उमेरमा उनले नेतृत्व गरेको टोली तिब्वत गएको थियो ।
जयार्जुन मल्लको शासनकालमा ई.सं. १३६७ को प्रज्ञापारमिता ग्रन्थचित्र, ई.सं. १३६७ को वसुन्धारा मण्डला पौभा, ई.सं. १३७५ को वसुन्धारा पौभा लेखिएका छन् । जयस्थिति मल्लको शासनकालमा ई.सं. १३७५–१४०० को लक्षचैत्य पौभा एउटै मात्र छ । ज्योति मल्लको शासनकालमा ई.सं. १४०० को ग्रन्थ गाताचित्र, ई.सं. १४१६ को लक्षचैत्य पौभा, ई.सं. १४००–२५ को लक्षचैत्य पौभा, ई.सं. १४००–२५ को अमोघपाश लोकेश्वर, ई.सं. १४२६ को चन्द्रमण्डला पौभा लेखिएका छन् । उसकै समयमा तिब्बती प्रभावमा ई.सं. १४०० को नागार्जुन र मैत्रय बुद्ध र ई.सं. १४औं शताब्दीमा तथागत बुद्ध लेखिएका छन् ।
यसलाई आधार मानी नेपालमा ई.सं. १४औं शताब्दीको अन्तिम समयमा तिब्बती प्रभाव देखिन थालेको मान्न सकिन्छ । यक्ष मल्लको शासनकालमा १५औं शताब्दीको पञ्चरक्षा ग्रन्थचित्रहरू, १५औं शताब्दीको धारणी सङ्ग्रहका ग्रन्थचित्रहरू, ई.सं. १४४३ को वसुन्धारा पौभा, ई.सं. १४५० को नाम संगिती पौभा, ई.सं. १४५० को सुगति सन्दर्शन लोकेश्वर पौभा, ई.सं. १४६७ को महासम्वर पौभा लेखिएका छन् । राय मल्लको शासनकालमा ई.सं. १४८५ को सम्वर मण्डला पौभा, ई.सं. १४९५ को चन्द्र मण्डला पौभा, ई.सं. १४९५ को वसुन्धारा मण्डला पौभा लेखिएका छन् । त्यो बेलामा १५औं शताब्दीको महांकाल भैरव पौभा दुई वटा र ताराको पौभा एक वटा नेपाली शैलीबाट तिब्बती प्रभावमा लेखिएका छन् । ई.सं. १५०४ को १६ औं शताब्दीको सुरुआतमा लेखिएको वसुन्धारा मण्डला पौभा उसकै समयमा पर्दछ ।
भुवन मल्ल, प्राण मल्ल, विश्व मल्ल र त्रैलोक्य मल्लको अन्तिम समयावधिको ई.सं. १६१३ सम्मलाई अन्धकार युग मानिन्छ । यो अवधिमा निर्माण भएका कलाकृतिहरू:– ई.सं. १५११ को स्रहसिका प्रज्ञापारमिता ग्रन्थ गाताचित्र, ई.सं. १५७३ को पूजाविधि ग्रन्थचित्र, ई.सं. १५७५ को ग्रन्थचित्र, ई.सं. १५९४ को ग्रन्थचित्र, ई.सं. १५३३ को लक्षचैत्य पौभा, ई.सं. १५४३ को महांकाल पौभा, ई.सं. १५५० को चन्द्र मण्डला पौभा, ई.सं. १५५२ को तथागत बुद्ध पौभा, ई.सं. १५६१ को मारविजय पौभा, ई.सं. १५४२ को अमोघपाश लोकेश्वर पौभा, ई.सं. १५७५को चण्डमहारोशन पौभा, १६औं शताब्दीको हेवज्र नैरात्मा पौभा इत्यादि छन् ।
नेपाली बौद्ध चित्रकलाको विकास तथा प्रयोग बौद्धधर्मको सिद्धान्त र धार्मिक शिक्षा व्यवहारमा उपयोग गरिएको हुनाले यस्ता चित्रकला विभिन्न शैलीहरूबाट प्रभावित छन् । यस्ता चित्रमा मानव सभ्यताभित्र विकास भएका क्रियाकलापको स्मरणलाई चित्रविधिबाट अभिलेखीकरण गरिएका विषय हुन्छन् । यहाँ धार्मिक चित्रलाई प्रतिमाको रुपमा पूजिनका लागि पौभा लेखिएका हुन्छन् । यस्ता चित्रहरूबाट नेपाली कलाशैलीलाई विशेष पहिचान दिएका छन् । यहाँको प्राचीन चित्रको विषयमा भन्नुपर्दा लिच्छवीकालीन अभिलेखमा मात्रै सीमित छन् । तर पनि नेपालको मध्यकालीन इतिहासअनुसार नवौं शताब्दीमा नेपाल संवत् सुरुआत गर्दा मण्डला चित्र बनाई म्हःपूजा गर्ने संस्कार चल्यो, जो हालसम्म प्रचलनमा छ ।
प्रमाणित भएका नेपालका अभिलेखअनुसार मध्यकालीन हस्तलिखित ग्रन्थचित्रहरू एघारौं शताब्दीदेखिको सङ्कलित छन् । नवौं शताब्दीेदेखि सोह्रौं र शताब्दीसम्म नेपाली कला पालशैलीबाट प्रभावित देखिन्छ । बौद्धकलामा अपरिवर्तनीय प्रतिमालक्षण र सौन्दर्य शास्त्रविधिहरूका नियम पालन गरी लेखिने संस्कृतिहरू अपनाइएका छन् । चित्रहरू प्राचीनकाल, मध्यकाल र आधुनिककालमा विभाजित छन् । त्यसमध्ये नेपाली कलाको इतिहासमा मध्यकालीन कलाशैलीहरूको विशेष महत्व छ ।
बौद्ध संस्कृति तथा संस्कारहरूमा धार्मिक विषयका देव–देवीहरू लेखिएका चित्रहरूलाई दानशालामा प्रदर्शन गर्ने, झ्याल तथा ढोकामाथि लेखाउने र जात्रापर्वहरूमा प्रयोग गरिएका हुन्छन् । बौद्ध समाजको संस्कारमा रेखिबाट मण्डला बनाई पूजा गर्ने परम्परा छ । नेपाली बौद्धधर्मको संस्कार कर्म परम्परामा जन्मदेखि मृत्युसम्म त्यस्ता चित्रलाई सदुपयोग गरिएको देखिन्छ ।
ग्रन्थचित्रहरूमा बुद्ध जीवनी र प्रज्ञापारमितामा आधारित बाह्रौं देखि सोह्रौं शताब्दीसम्मका ग्रन्थचित्रहरू बज्रयानी प्रभावमा लेखिएका छन् । भूपवंशावलीमा तुलापती विषयमा उल्लेख गरिएअनुसार विशेषगरी त्यस्ता चित्रहरू जीवनी, जातक र अवदानको आधारमा बनाएका हुन्छन् । त्यस्तै पौभा नेपालको मौलिक पहिचान दिने शुद्ध नेपाली विशेषता भएको चित्रकला हो । यसलाई धार्मिक अभ्यास र साधनाका लागि प्रयोजन गरिने हुनाले यसको महत्वपूर्ण स्थान छन् । बौद्ध समुदायमा संस्कार कर्म गर्दा विभिन्न विषय तथा उद्देश्यले चित्रहरू लेखिएका हुन्छन् । यस प्रकारका चित्रहरूलाई प्रयोगपश्चात् स्मरणका लागि संरक्षण गरिन्छ ।
यहाँको धार्मिक संस्कारअन्तर्गत पौभाचित्रहरू सजाउनेदेखि लिएर मन्दिर तथा घरमा समेत चित्रकला लेखाउने प्रचलन छ । यस प्रकारका चित्रकलाहरू पूजापाठ, यज्ञ, व्रत, विवाह उत्सव इत्यादिमा प्रयोग गरिएका हुन्छन् । बौद्ध समाजको धार्मिक मान्यताअनुसार मङ्गलसूचक चित्र, पूर्ण कलश र देव–देवीहरूको दर्शन गरिएमा मङ्गलमय लाभ हुन्छ भन्ने विश्वास गरिन्छ । बौद्धधर्म र संस्कृतिमा चित्रकला धार्मिक तथा सामाजिक प्रयोजनको कार्यका लागि बनाएइको हुँदा यसले सांस्कृतिक सम्बन्धलाई प्रभावित गरेका हुन्छन् । यसकै आधारबाट धार्मिक संस्कार र संस्कृतिहरूको प्रतिबिम्बितहरू सुरक्षित भई सामाजिक सम्पन्नता र विपन्नताको निर्धारण गरिएको हुन्छ । बौद्धग्रन्थसूत्रहरू, शास्त्रहरू र स्रोतहरूमा आधारित भएर लेखिएका हुन्छन् ।
नेपाली बौद्धकलाले विश्व सामून्ने आफ्नो छुट्टै पहिचान बनाएको र यसको आफ्नै विशेषता रहेको हुनाले यसले पर्यटन व्यवसायमा राम्रो भूमिका निभाएको छ । तर यहाँको राज्य व्यवस्थाले संरक्षण गर्न नसकेको कारण यसबाट हुने आर्थिक स्रोत गुमाउनु परेको छ किनभने यहाँका सङ्ग्रहालयहरूबाट महत्वपूर्ण मध्यकालीन ऐतिहासिक प्रमाणहरू भएका बौद्धचित्रहरूलाई संरक्षणमा चासो दिएको देखिंदैन । यहाँका सङ्ग्रहालयहरूमा सङ्कलित विषयवस्तुहरूलाई पनि राम्रो व्यवस्थापन गर्न सकिएको छैन ।
ई.सं. १०५४ मा प्रज्ञापारमिता ग्रन्थगातामा लेखिएको बुद्ध जीवनी चित्रकथा भाष्करदेव शासनकालमा लेखिएको हो । यसमा बुद्ध जीवनीलाई खुड्क निकायअन्तर्गतको निदान कथामा आधारित भएर चित्रकथा वर्णन गरिएको हुनाले पाल आर्ट अफ नेपालको पृ. १९३ मा उल्लेख गरिएका विवरणहरू गलत छन् । विवरण निम्न प्रकारका छन्— यसमा लेखकले बुद्धको आठ वटा चमत्कारको विषयमा नभए तापनि अनुमान गरिएको, संकाश्यमा बुद्ध जन्म, बुद्धलाई इन्द्र र ब्रह्माद्वारा साथ दिएको र कलाकारले शिव र विष्णु राखिएको तर्क, ब्रह्मा अन्नटोकरी र इन्द्र माछा साथ, त्यसमा माछा र अन्नलाई जन्मको उत्सवसँग जोडिएको, बुद्धले महको गोला ग्रहण गरी रुखमुनि बसेको र बाँदर इनारभित्र हामफाल्नु अगाडि गरेको वर्णन, श्रावस्तीको चमत्कारमा आफ्नो धर्मविरोधीहरूलाई हिंसात्मक दमन आदि विषयहरू कुनै पनि बौद्धग्रन्थमा उल्लेख गरिएका छैनन् ।
कलाकृतिलाई मानव सभ्यताको साझा स्वरुप मानिएको छ । किनभने यसले आ–आफ्नो देशको सभ्यताअनुसार भिन्नाभिन्नै प्रेरणा उत्पन्न गराउँछ । यसको निर्माण दार्शनिक सिद्धान्तको परम्परामा आधारित हुन्छ । अहिले हामीले आफ्नो कला र संस्कृतिको पहिचान गरी त्यसलाई संरक्षण गर्नुपर्ने आवश्यकता भएको छ । यसले हाम्रो पहिचानलाई व्यापक बनाएको छ । यहाँको चित्रकलामा वर्तमान अवस्था पाश्चात्य कलामा विकास भएका सिद्धान्तहरूलाई अनुसरण गर्ने होडबाजी भएका कारण नेपाली कलामा विविधता आएको छ । यसको परिणामस्वरुपमा नेपाली चित्रकलाले अलंकारिक बुट्टा र आकृतिहरूले परम्परागत शैलीबाट मौलिकता गुमाएको देखिन्छ ।
(लेखक त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागका विद्यार्थी हुनुहुन्छ । –सम्पादक)
साभार
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५