महायानका बारेमा हामी धेरै प्रकारका गलत धारणा र विचारहरु पाउँदछौ । खासगरी यो महायान (महा+यान) शब्दको “महत्” भन्ने शब्द छ त्यसका बारेमा मानिसहरुमा स्पष्टता नभएको र ‘यान’ भनेको के हो ? र यसको व्यवस्था कसरी हुन्छ भनेर नबुझेकोले पनि महायानका बारेमा भ्रमहरु सिर्जना भएको देखिन्छ ।
सर्वप्रथम त महायान अनुसार भगवान् बुद्धले तीनओटा “यान”हरु सिकाउनुभएको हो ।
१.श्रावकयान
२.प्रत्येकबुद्धयान र
३.बोधिसत्वयान ।
त्यसैगरी भगवान बुद्ध आफैंले पहिलो दुईलाई “हिनयान” र तेस्रोलाई “महायान” भनेर सुत्रहरुमा भन्नु भएको हामी पाउदछौ। आजकल “हिनयान” शब्द प्रयोग गरिन्न किनकि विभिन्न प्रकारका गलत प्रचारवाजिले गर्दा “हिन” र “महा” शब्दको अपव्याख्या गरिएको र बुद्धले भन्न खोजेको आशयलाई नबुझेर र महायान शास्त्रहरुको अध्ययन नगरेर पनि हिन र महालाई अतिरंजित रुपमा प्रस्तुत गरेको पाइन्छ ।
अब व्याखातिर लागौ:-
जो अर्हत वा प्रत्येकबुद्ध मात्र बन्न चाहन्छन्, तिन्को लागि सिकाइएको शिक्षा पहिलो दुई यान अन्तर्गत पर्दछ भने जो व्यक्ति वा जो सत्व शाक्यमुनी जस्तो सम्यकसम्बुद्ध नै हुन चाहन्छन्, उनीहरुका लागि बताइएको वा उनीहरुका लागि दिइएको उपदेशलाई संग्रह गरिएको जुन त्रिपिटक छ, त्यसलाई बोधिसत्वयान अन्तर्गत राखिन्छ ।
त्यसैले यहाँ बोधिसत्वयान या महायान भनेको पर्यायवाची शब्दहरु हुन् ।
महायानको ‘महत्’ शब्दलाई विभिन्न प्रकारले अर्थ लगाइन्छ । तर पहिला म यहाँ ‘यान’ शब्दको अर्थ भन्नेछु ।
‘यान’ शब्दको दुई किसिमका विग्रहहरु हुन्छन्, अर्थात् संस्कृतमा यसलाई दुई तरिकाले बुझाइन्छ । पहिलो चाँही: ‘जे’ द्धारा गइन्छ त्यसलाई ‘यान’ भनिन्छ (यायते अनेनेति यानम्)। यो विग्रहअनुसार ‘जे द्वारा गन्तव्य स्थानसम्म गइन्छ, त्यसलाई यान भनिन्छ । त्यो अर्थमा भन्ने हो भने ‘यान’ भनेको यहाँनेर मार्गलाई भनिन्छ ।
दोस्रो तरिकाको विग्रहचाँही ‘जे’ मा गइन्छ त्यसलाई ‘यान’ भनिन्छ (यायते अस्मिन्निति यानम्)। यहाँ यो विग्रह अनुसार “यान” भन्ने जुन शब्द छ, त्यसको अर्थ भनेको फल हो ।
समग्रमा “महायान” शब्दको अर्थ कर्मधारय समासको रुपमा – “त्यो ‘यान’ पनि हो र त्यो ठूलो पनि हो (महच्च तद् यानं महायानम्)” – त्यसैले यसलाई “महायान” भनिन्छ ।
अब यहाँ ‘यान’ को अर्थ बताइएतापनि ‘महा’ को अर्थ के हो? भनेर अझै स्पष्टसँग बताइएको छैन ।
आर्यअसंगले आफ्नो ग्रन्थ “महायानसूत्रालंकार”मा यसलाई यसरी दर्शाउनु भएको छ ।
आलंबनमहत्त्वं च प्रतिपत्तेर्द्वयोस्तथा ।
ज्ञानस्य विर्यारम्म्भस्य उपाये कौशलस्य च ।।
उदागममहत्वं च महत्वं बुद्धकर्मण:।
एतन्महत्त्वयोगाद्धि महायानं निरुच्यते ।।
अर्थात्, सात प्रकारका महत्वहरुको योगले महायान भनिन्छ ।
१.आलम्बन महत्व
२.प्रतिपत्ति महत्व
३.ज्ञान महत्व
४.वीर्याआरम्भ महत्व
५.उपाय–कौशल्य महत्व
६.समुदागम महत्व
७.बुद्धकर्म महत्व
यी सात कारणहरु भएकोले महायानलाई ‘महा’ भनिन्छ अर्थात यी सात “महत्त्व”ले गर्दा यसो भनिएको हो यसरी आचार्य आर्य असंगले ‘महा’ शब्दको अर्थ बुझाउनुभएको छ । एक हिसाबले बुद्ध उत्पादन गर्ने, धेरै कुरा भएको ‘ठूलो यान’ भनिएको हो । अब यी सातओटा बुँदाहरुको अर्थ यहाँ लगाउँदाखेरी हामीले राम्रोसँग बुझ्नेछौ कि किन यसलाई ‘महा’ भनेर प्रत्यय लगाइन्छ ? अर्थात् किन यसलाई ‘ठूलो यान’ भनेर भनिन्छ ? किन य्स्का सातवटा “महत्त्व”हरु छन् ।
१. आलम्बन महत्वः यहाँ ‘आलम्बन महत्व’ भनेको महायान अन्तर्गत अनन्त किसिमका सूत्र र शास्त्रहरुको अध्ययन गर्नुपर्ने हुन्छ । त्यसको अर्थ यो पनि हो कि बोधिसत्वयानमा चढेर बुद्ध हुने आशय लिएका बोधिसत्वहरुले श्रावकयानको, प्रत्येक बुद्धयानको र बोधिसत्वयानको सम्पूर्ण सूत्रहरु श्रुत, चिन्ता, भावनाद्धारा विधिवत् अभ्यास गर्नुपर्दछ । यसो गरेमा मात्रै भोलि गएर यो ‘यान’ बाट बुद्ध हुँदाखेरी विभिन्न प्रकारका प्राणीहरु वा सत्वहरुको जेजस्तो किसिमको क्षमता छ, त्यहीँ–त्यहीँ अनुसार उनीहरुलाई श्रावकयान, प्रत्येकबुद्धयान वा महायान पढाउन सकिन्छ ।
२. प्रतिपत्ति महत्वः यहाँ ‘प्रतिपत्ति’ भनेको एक किसिमले फल निष्पत्ती हो अर्थात फलहरुको उत्पादन हुनु हो । जब कुनै व्यक्ति बुद्ध बन्दछ, तब त्यहाँ दुईओटा “प्रतिपत्ति” सम्पन्न हुन्छ । एक स्वार्थ प्रतिपत्ति र अर्को परार्थ प्रतिपत्ति । वा यसलाई यसरी पनि भन्न सकिन्छ: पहिलो आत्महित प्रतिपत्ति र दोस्रो परहित प्रतिपत्ति । यहाँ भन्न खोजिएको के भने बुद्ध हुनेले आफ्नो हित त गर्छ नै किनभने क्लेशावरण र त्यस्का वासनाहरु सम्पूर्ण रुपमा आफ्नो चित्तसन्तानबाट निकालिसकेपछि आफ्नो पुर्ण हित हुन्छ भने बुद्ध बन्दाखेरी बुद्धका गुणहरु त्रिकायहरु, विभिन्न किसिमका यस्ता गुणहरु सम्पन्न भएपछि परार्थ अर्थात् धेरै सत्वहरुको हित गर्न सकिन्छ । यसैले यहाँ प्रतिपत्ति महत्व भनेर भनिएको हो । किनकी जबसम्म धेरैभन्दा धेरै पुण्य सञ्चय गरेर दश वटा भूमि पार गरेर, धेरै समय लगाएर ज्ञेयावरणलाई हटाइन्न र सर्वज्ञता प्राप्त गरिन्न तबसम्म सम्पूर्ण बुद्ध गुणहरु प्राप्त हुँदैनन् । दश बल, चार वैशारद्य आदि लगायतका बुद्ध गुणहरु प्राप्त हुँदैनन् ।
३. ज्ञान महत्वः महायानलाई ‘महा’ भन्नुको अर्थ यसमा निहित ज्ञानहरु सम्पन्न गर्ने कारणले पनि हो । किनकी श्रावकयानको तुलनामा एक बुद्ध हुने बोधिसत्वले ज्ञानमा पनि केही बढी ज्ञान आर्जन गर्नुपर्ने हुन्छ । खासगरी यहाँ भन्न खोजिएको, बोधिसत्वयानमा पुद्गल नैरात्म्य ज्ञान र धर्मनैरात्म्य ज्ञान दुवैलाई हासिल गर्नुपर्ने वा साक्षात्कार गर्नुपर्ने हुन्छ । यो पुद्गल नैरात्म्य ज्ञान अर्थात् पुद्गलभित्र जुन पञ्चस्कन्ध छ, त्यसमा आत्मा हुँदैन भन्ने कुरा श्रावकयान र प्रत्येक बुद्धयानले पनि गर्छन् । तर सम्पूर्ण धर्महरुमा आत्मा हुँदैन वा त्रिकोटी परिशुद्धको बारेमा अर्थात् सम्पूर्ण धर्महरुको शून्यताको बारेमा भने महायानको मार्गअन्तर्गत पुण्यसम्भार गरेर मात्रै त्यसलाई प्राप्त गर्न सकिन्छ ।
४. वीर्य आरम्भ महत्व ः बुद्ध बन्नका लागि छोटो समय मात्रै अभ्यास गरेर हुँदैन । त्यसका लागि तीन या चार असंख्य कल्पदेखि, अझ सोह्र, कल्प अझ बत्तीस कल्पसम्म पनि बोधिसत्वले अभ्यास गर्नपर्ने हुनसक्छ । र त्यो अभ्यास गर्ने अवधिमा बोधिसत्वले भयभीत नभइकन, कुनै पनि हरेस नखाइकन निरन्तर रुपमा पारमिताहरु र पुण्यको सम्भार गर्दै बुद्धता प्राप्त नगरुन्जेलसम्म अभ्यास गर्ने भएकोले त्यति धेरै वीर्य अर्थात् परिश्रम वा श्रम गर्नुपर्ने भएकोले यसलाई महायान भनिएको हो । केहिले हरेस खाएर बोधिसत्त्व मार्ग छोडेको कुरा विभिन्न बौद्ध ग्रन्थहरुमा पाइन्छ । जस्तो शारिपुत्र पहिले महायानमा अभ्यास गर्दै गर्दा हरेस खाएर पछि श्रावकयानमा अभ्यास गर्न पुगेका थिए ।
५. उपाय–कौशल महत्वः बोधिसत्वयानमा उपायकौशल्य धेरै हुने भएकाले पनि यसलाई महायान भनिएको हो । यसमा संवृत्तिको दृष्टिकोणबाट क्लेश आदि भएतापनि परमार्थको दृष्टिकोणबाट क्लेशहरु नहुने भएकोले क्लेशहरुको परमार्थत: स्वभाव नहुने भएकोले बोधिसत्वले सम्पूर्ण क्लेशलाई छिटै प्रहाण नगरिकन धेरै समय लगाएर पुण्यको सम्भार गर्ने भएकोले पनि यसलाई उपाय कौशल्यको हिसाबले महायान भनिन्छ । जस्तो महायान ग्रन्थहरुमा बोधिसत्त्वले चाहेमा सम्पुर्ण क्लेशहरुको छैठौं भुमिमा प्रज्ञापारमिताको अभ्यासले प्रहाण गर्न सक्दछन् तर त्यसो गर्दा श्रावक निर्वाणमा खसिने र बुद्ध बन्न नसकिने वा ढिलो हुने भएकोले केही क्लेशहरु बाँकी राखेर दश भुमिसम्म अझ पुण्य संभार गर्दै सम्यक्संबुद्ध बन्ने मार्ग अपनाउंदछन् । यहाँ उपाय कौशल्य भनेर के भन्न खोजिएको हो भने, प्रज्ञाले गर्दा संसारमा लिप्त पनि नहुने र करुणाले गर्दाखेरी संसारलाई पूर्ण रुपमा त्याग पनि नगर्ने भन्न खोजिएको हो । यस्तो उपाय कौशल्य भएको ‘यान’ भएकाले यसलाई महायान भनिएको हो ।
६. समुदागम महत्वः यहाँनेर बोधिसत्वयानको अभ्यासले गर्दा, त्यसका विभिन्न पक्षहरुको अभ्यासले गर्दाखेरी एउटा बुद्धमा दश बल, चार वैशारद्य, अठार आवेणिक धर्महरुको सिद्धि प्राप्त हुन्छ । यसरी विभिन्न गुणहरु प्रार्दुभाव हुने भएकोले यसलाई महायान भनिन्छ । तर श्रावकयान र प्रत्येक बुद्धयानमा यो कुरा संम्भव छैन । श्रावक र प्रत्येकबुद्धहरुमा बुद्धमा हुने गुणहरु हुँदैन । त्यो कारणले यसलाई महायान भनेर यसको महत्व जनाइएको हो ।
७. बुद्धकर्म महत्वः बोधिसत्वयान अन्तर्गत जगतको हितका लागि बुद्धले विभिन्न किसिमका चर्याहरु गरेर प्राणीहरुको हित गर्दछन् । त्यो चर्यामा खासगरी ललितविष्ट सूत्रमा बताइएजस्तो १२ ओटा विभिन्न किसिमका चर्याहरु गर्ने अनि विभिन्न किसिमका रुची, अधिमुक्ति, अध्याशय चरित्र भएका विभिन्न साधकहरुका लागि हुने गरेर, लोकलाई लोकव्यवहार देखाइदिएर, ती सम्पुर्ण विभिन्न किसिमका प्राणीहरुलाई परिणत गर्नका लागि, उहाँहरुलाई मार्गमा लिएर आउनका लागि अनेक किसिमका विविध चर्याहरु गर्ने भएकाले पनि यसलाई महायान भनिएको हो । यो कुरा महायान अन्तर्गत बोधिसत्व भएर विस्तारै बुद्ध भएपछि मात्रै गर्न सकिने बुद्धकर्मको महत्व भएकाले यसलाई महायान भनिएको हो ।
तसर्थ यहाँनेर ‘महत्’ शब्दले अहंकार जनाउने, वा आफ्नो कुनै एउटा समूह ठूलो हो भन्नका लागि ‘महत्’ भन्ने शब्द जोड्ने, अरु कसैलाई निचा देखाउनका लागि या तल्लो देखाउनका लागि महायान भनेर भन्नुभन्दा पनि महायान अन्तर्गतका गुणहरु देखाउनका लागि यो ‘यान’ ठूलो छ भनेर भन्न खोजिएको हो । यसमा धेरै बुद्ध बन्ने धेरै किसिमका सामाग्रीहरु छन् । यसले धेरै ठूलो दुरी पार गर्नुपर्छ ठूलो यान भन्न मात्रै खोजिएको हो ।
आजभोलि बजारमा श्रावकयानलाई हीनयान भनिदैन । किनकी यो “हीन” भन्ने शब्द आजकल नेपालमा वा भारतको चलनचल्तिको भाषामा अर्थ फरक छ । यसको अर्थ “होच्याउने” वा “नीच देखाउने”, नकारात्मक खालको अर्थमा प्रयोग गरिन्छ । तर त्यो त आज आधुनिक समयमा मात्र यसरी प्रयोगमा आएको हो ।
तर हामीले बौद्ध ग्रन्थहरु हेर्यौ भने यो महायान र हिनयानको ‘महा’ प्रत्यय र हीनयानको ‘हीन’ प्रत्यय प्राविधिक शब्द हो । यहाँनेर यति मात्रै भन्न खोजिएको हो कि हीनयानले थोरै कार्यहरु सम्पन्न हुने, यो सानो हुने, यसबाट धेरै काम नहुने, धेरैको कल्याण नहुने, धेरैको कल्याण गर्न नसकिने, अभ्यासका कुराहरु पनि थोरै हुने भएकाले यसलाई ‘सानो यान’ मात्रै भनिएको हो । त्यो अर्थमा यो सानो मात्रै हो । र यसले बुद्ध जन्माउँदैन । बुद्धता प्राप्त हुँदैन । बुद्धका गुणहरु जन्मदँैनन् ।
बुद्धले आएर ‘तीनै यान’ जसरी सिकाउनुहुन्छ र लाखौँ, करोडौँ,अरबौँ प्राणीहरुको हित गर्न सक्नुहुन्छ, त्यसरी प्राणीहरुको हित गर्न नसकिने भएकाले मात्रै ‘हीन’ भनिएको हो । किनकी हीनयान अन्तर्गत श्रावकयान र प्रत्येक बुद्धयानबाट अन्तिममा गएर अर्हत र प्रत्येक बुद्ध मात्रै हुने हो । अर्हत र प्रत्येक बुद्धको तुलना एक बुद्धसँग हुन सक्दैन, न महायान अनुसार न श्रावकयान अनुसार। बुद्धको गुण अकल्पनीय रुपमा अर्हत र प्रत्येक बुद्धकोभन्दा धेरै नै ठूलो र अतुलनीय हुन्छ ।
*साभार: बौद्ध दर्शन प्रस्थान, अभिधर्मकोश, दशभूमिक सुत्र, महयानसुत्रालंकार, बोधिसत्त्वभूमि आदि।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५