–
हो पाँच रुपैँयामा पिकनिक, सुन्दा गफ वा धेरै पुरानो कफ झैं लाग्न सक्छ तर त्यो पिकनिक धुमधामको थियो, घुमघामको थियो। पुरानो यामको भने पक्कै हो। कुरा २०३६ साल तिरको हो, हामी ७ कक्षामा पढ्थ्यौं । बैशाख-जेष्ठको उराठ लाग्दो समयलाई कसरी रमाइलो बनाउने भन्ने साथीहरु माझ हाफ ट्याममा बृहत छलफल भयो । अनेक बिकल्पहरु मध्ये पिकनिक जाने कुरामा लगभग सहमति भयो । स्कुलले अनिबार्य भनेको, घरबाट आ-आफ्नो खाजा बोकी गइएको बनभोज बाहेक पिकनिक नभोगेका नदेखेका लागि ठुलै चुनौती भयो। जाने त जाने कहाँ जाने? कसरी जाने? को को जाने? भन्ने सवाल अहम भए नि सबैभन्दा महत्वपूर्ण प्रश्न खर्च कति लाग्ने भन्नी थियो । हाफ ट्यामको अवकाश समयमा टुङ्गो नलागे पछि फूलट्याम पछि पुन: छलफल गर्ने गरी कार्यकारी समूहको बैठक स्थगित भयो ।
पुन: छलफलमा सबै भन्दा पायक पर्ने सवारी साधनको सुलभता भएको अझ भनौं सस्तो भएको सूर्य विनायक पिकनिक थलोको रुपमा फाइनल भयो । यसको कारण चाहिं ट्रलीबस चढ्न पाइने, ७५ पैसामा सुरु देखि अन्त्य सम्म अर्थात त्रिपुरेश्वर देखि सूर्य विनायक सम्म पुरा पैसा वसुल पनि हुने । अर्थ तथा बित्त बिशेषज्ञ मित्रले हिसाब किताब निकाले । ट्रलीबसको दुइतर्फी भाडा रु १.५०, दहि च्युरा र आलु अचार टन्न खाने, एक खन्चुवाले हदै खाए ३ रूप्पे ५० पैसाको दहि च्युरा खान्छ, अन्दाज गरियो । र प्रति व्यक्ति रु ५ पिकनिक खर्च निर्धारण गरियो । खर्च कति हुने थाहा भए पछि सहभागी संख्या क्रमश घट्न थाल्यो , सुरुमा पिकनिक जान खुट्टा उचाल्ने जुत्ताहरु १० जोर जति थिए, रु पाँचको घोषणा भए पछि घटेर ६ भए । किनकि त्यति बेला पैसा महँगो थियो, पाँच रुपैँया धेरै नै मानिन्थ्यो । खुट्टा उचालेर जुत्ता कस्ने हामी ६ को लागि पनि पाँच रूप्पेको लागि धेरै नै पापड पेल्नु पर्थ्यो नै ।
हाम्रो त्यो पहिलो अभियानको लागि ६ जना पनि उत्साहजनक उपस्थिति थियो । पिकनिक जाने शनिबार सहराँ घर हुने बिहान ८ बजे नै बसन्तपुरको इनारमा भेला भै साढे ८ को ट्रलीबस चढ्ने निर्णयानुसार ६ मध्ये ५ पाण्डव समयमै ट्रलीबस चढ्न त्रिपुरेश्वर पुग्यौं र ट्रली बसको रोमाञ्चक यात्रा सुरु गर्यौं । एकजना साथी भने मीन भवन, शंकरचिमबाट चढे । सूर्य विनायक पुगे पछि मन्दिरको बाटो नलागी राशन पानीको ब्यबस्था गर्न हामी भक्तपुर सहर तिर लाग्यौं । शंकरचिम घर हुने मित्रको मूल घर भक्तपुर भएकोले उनी नै पथ प्रदर्शक थिए । भादगाउँ अर्थात ख्वप:को ऐतिहासिक थलो फराकिलो आँखामा कैद गर्दै हामी जुजु धौ किन्न गयौं र संगैको जाकी बजी पसलमा ल्हुया बजी पनि किन्यौं । र अर्को एउटा खाजा पसलमा आलु अचार २ रुपैँयाको किन्यौं र पुन: सूर्य विनायकको बाटो नाप्यों । नपोखिने गरी जु जु धौ को धौ भेग: ( दही राखिएको माटोको भाँडो) बोक्न कम्ता गाह्रो भएको हैन । पालै पालो बोकी सूर्य विनायक मन्दिर पुग्यौं । भोक लागे पनि गणेशजीलाई “हाइ” नभनी केही गर्नु हुन्न भन्ने दर्शन र संस्कार चाहिं हामीमा थियो । दर्शन सर्सन गरी मन्दिर पछाडीको जंगलको एउटा समथर भुइँमा बस्यौं । ल फसाद ! अब खाने पो कसरी ? अहिले जस्तो कागज/प्लास्टिकको न प्लेट चम्चा नै थियो त्यति बेला न रेडिमेड लप्ते वा टपरी नै थियो । घरबाट कसैले केही ल्याएका पनि थिएनन् ।
बाटोमा समाचार पढ्न किनेको गोरखापत्र एकथान बाहेक केही थिएन । त्यै अखबार बिछाएर गोलमेच सम्मेलन स्टाइलमा बस्यौं र ३ वटा दहीको भाँडो नै प्लेट अनि हात नै चम्चा काँटा बनाउने र दुइ जनाको भागमा एउटा भेग: हुने भो । दही माथि च्युरा खन्याई दहि च्युरा मजाले खायौं, बिच्च-बिच्चमा आलु अचार टोक्दै , भुँडी नफुलुन्जेल खायौं । यसरी खायौं कि त्यहाँ जूठो केही थिएन झुठो केही थिएन, मात्र मित्रता र भित्रता थियो।
अनि त्यै रुखमुनि बुद्धत्व प्राप्त गरे झैं ज्ञानगुणको कुरा गर्यौं, बाल सुलभ जीवन जगतको चित्र कोर्यौं। अनि भबिष्यका सुनौला कल्पनाहरुमा कल्प्यौं । साँझ ढल्न अघि जिउ गल्न अघि घर पुग्नु थियो, भोलि फेरी स्कुल जानु थियो, केही पाठ पढ्नु थियो। पुन: ट्रलीबसको आनन्दी यात्रामा रम्दै त्रिपुरेश्वरमा झर्यौं र हुल बाँधेर हामी बसन्तपुर सम्म हामी पाँच पुग्यौं त्यसपछि हामी आ-आफ्नो घर लाग्यौं । यही हो हाम्रो पाँच रुपैँयाको पिकनिकको कथा । त्यो दहिको भेग: चाटी चाटी खाएको त्यो समयको पाङ्ग्राले ४३ बर्ष घुमिसक्यो । त्यो बेला भगवान साक्षी राखेर शुद्ध आत्माले देखेको सपना धेरै हद सम्म धेरैको पुरा भएको छ । हामी ६ मध्ये कोही चार्टर एकाउन्टांट भै जिन्दगीको हिसाब किताब दुरुस्त राख्दै हुनु हुन्छ भने कोही नेपाली आकाशमा सुरक्षित जहाज तैराउने जिम्मालिएर बसेका वरिष्ठ इन्जिनियर छन् । कोही पाँच तारे होटललाई म्यानेज गरेर बसेका छन् भने कोही सफल ब्यबसायी छन् । दुखले आर्जेको जिन्दगीलाई सुखले बाँच्दैछन् ।
अस्तु!
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५