सुभाय् संवाददाताJanuary 23, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
मीरा राजभण्डारी अमात्य
काठमाडौंका हकमा दशरथ रंगशालासँगै रहेको मध्यभागको टुँडिखेल वा तिंख्य वा तुनावनिगु ख्यः भित्र हाल सैनिक क्षेत्र रहेको स्थानमा स्थानीय नेवाःहरूको कुलायन पूजा अन्तर्गतका देवस्थान रहेको काठमाडौं महानगरपालिकाका ज्येष्ठ नागरिकहरू बताउँछन् । माओवादी द्वन्द्वकालपछि राष्ट्रिय सुरक्षाको कारण देखाई सैनिक निकायले सो देवस्थल मात्र होइन बरु भद्रकालीदेखि दक्षिणपूर्वमा रहेको भद्रकाली माइतघरसम्म छिचोल्ने बाटोसमेत बन्द गरिदिएको गुनासो स्थानीय नागरिकहरूको छ । हालैको जनगनना २०७८ ले १४ लाख ७१ हजार ८ सय ६७ जनसंख्या रहेको जनाएको काठमाडौं महानगरको ट्राफिक चाप उपत्यकाका अन्य दुई सहरको तुलनामा तीव्र छ । काठमाडौं उपत्यकामा दैनिक उत्सर्जन वा उत्पादन हुने १ हजार ४५ मेट्रिक टन फोहरको व्यवस्थापन गर्ने काम त्यति सहज होइन । गोकर्ण, ओखरपौवा हुँदै हालका दिनमा सिसडोल र भविष्यमा हुने भनिएको सिसडोल ल्यान्डफिल साइटबाट बञ्चरे सम्मका दुरी तयका कठिनाइहरूमा यदि नागरिकले नै फोहर व्वस्थापनबाट अझ घरैबाट सानो सहयोग र कर्तव्य दायित्व निर्वाह गरिदिए राज्य सरकारको नयाँ नेपाल पुनःनिमार्णमा एक इँटा थप हुन्थ्यो कि ? अहिलेको विश्वव्यापीकरणको युगमा वातावरण विषय जति गहन बन्दै गएको छ, विगतमा पनि वातावरण वा पर्यावरणको विषय त्यतिकै नै महत्वपूर्ण थियो भन्न मिल्ने ठाउँ प्रसस्त छ । बातावरणीय क्षेत्रमा बहसको इतिहास लिखित रूपमा पाँच हजार वर्ष पुरानो भएको पाइन्छ । वैदिककालमा वेदका ऋचाहरूले वातावरण र मानव सम्बन्ध र वातावरण सुरक्षा र स्वच्छताका लागि विभिन्न श्लोकहरूमा उल्लिखित छन् । ‘वेदले वातावरण सन्तुलनको खास अर्थ सम्पूर्ण जीव र त्यसका वरिपरिका समस्त जैविक र अजैविक परिस्थिबीचको पूर्ण सामजस्य हो भनेको छ । पूर्ण सामजस्य भनेको के हो, र त्यसको महत्व के छ भन्ने विषयमा चारै वेदमा विस्तारपूर्वक वर्णित छ ।’ वेदमा भनिएको छ, वायुमा जीवनदायी शक्ति छ । त्यसैले यसको स्वच्छता, वातावरणीय स्वच्छताको अनुकूलताका लागि आवश्यक छ । वेदहरूमा वायु वा हावाको स्तुतिगान गरिएको छ । बौद्ध दर्शनमा मानिस र पृथ्वीका सवै तत्व, एकअर्काका परिपुरक रहेको हुँदा प्राकृतिक वातावरणका सबै अवयवहरूप्रति संवेदनशील हुनुपर्ने उल्लेख छ । वास्तवमा मानव मात्र त्यस्तो प्राणी हो जसलाई आपूm मात्र प्रकृतिको महत्वपूर्ण जीवको रूपमा लिने गरिन्छ । र पृथ्वीका अन्य अवयव वा प्राणी र जीवजन्तुका बारे खास गम्भीर देखिँदैन । हिजोका हाम्रा धर्म, संस्कृति, परम्पराले पृथ्वीका सबै अवयवको रक्षाका लागि खासखास नियम बनाएका र व्यवहारमा उतारेका थिए । नेवा सभ्यतामा परेवालगायत चराचुरुंगीलाई धान, मकै, गहुँ लगायतका अन्नहरू खुवाउन गुथी जग्गाकै व्यवस्था गरेको र आयस्ताबाट पालैपालो चराहरूलाई अन्न र पानी राखिदिने परम्परा मानन्धर समुदाएको एक गुथीमा देखेको थिएँ । अहिले धमाधम निजीगुथी जग्गासमेत रैकर गरेर बिक्री गर्ने विकृति बढेको छ । ०४६ साल यता राजगुथी लगायतका अन्य गुथीजग्गा गुठी संस्थान ऐनअन्तर्गत नेपाल सरकारको मातहतमा सर्वाधिकार सुरक्षित गरिएपछि विकृति सुरु भयो । राजगुथी अन्तर्गतका हजारौँ रोपनी उब्जाउ जमिनहरू काठमाडांै उपत्यका, पहाड र मधेसमा समेत गरी खासखास संस्कृति, मानवजन्य, प्रकृतिजन्य जलजमिन, जंगल र जीवजगतको व्यवस्थापन, सुरक्षण र संबर्धन र सोको दिगोपन र दिगो विकासका लागि कार्य सम्पादन हेतु राखिएका तीदत्त (सम्पत्ति वा कृति) पूर्णतहः मासिँदै गएको अवस्था छ । यो अध्ययनको मुख्य पाटोका रूपमा आगामी दिनहरूमा विज्ञहरूले अगाडि बढाउनेछन्, आशा गरौँ । वातावरण स्वच्छता र मानव मनोविज्ञान कसरी एकअर्कामा जेलिएको छ त्यसको उदाहरण हो एउटा रोचक प्रसंग । ललितपुरवासीहरूको एउटा प्रचलन रहेछ । जब असार महिनामा पनि पानी पर्दैन र खडेरी पर्छ, ललितपुरवासीहरू धिमे बाजा बजाउँदै गोदावरी हुँदै पूmलचोकी पुग्ने गरेको र त्यो गरेपछि पानी पर्ने गरेको विगतको संझना सुनाउनुहुन्छ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन । वातावरणीय सुरक्षाका लागि हाम्रा खासखास मानव सभ्यताले विगतमा विभिन्न सभ्यताअन्तर्गत विभिन्न प्रथाजन्य कानुन, चाडपर्व आदि इत्यादिको व्यवस्था गरिएको पाइन्छ । नेवाः सभ्यतामा गुथी, नखचख (चाडपर्व) आदिको व्यवस्थाअन्तर्गत वातावरण सन्तुलन, दिगो वातावरणीय सुरक्षा र वातावरण स्वच्छताका लागि धर्म संस्कृतिको नाम दिएर शदियौँदेखि चलायमान रहेको छ । जस्तो सिठी नख, मा तुँथी वा इनार, पुखु वापोखरी, लोंह हिटी वा ढुंगे धाराहरू सरसफाइ गर्ने हालसम्म पनि गर्ने प्रचलन रहेको छ । किसान समुदायमा कम्पोस्ट मल आफैंले उत्पादन गरी कुहिने फोहरहरूलाई व्यवस्थापन गर्ने प्रचलन अझै पनि रहेको छ । हिन्दूधर्म लगायतमा तुलसी रोप्ने, रुख रोप्ने, सद्वीज छर्ने, श्राद्ध कर्म गरी प्रकृति तथा जीवलाई चलायमान गराउन पिण्ड तथा अन्य खाद्य लगायतका वस्तुहरू नदीमा विसर्जन गर्ने हाम्रो परम्परा अझै कायम छ । अझ विशेष भदौ महिनातिर जुनबेला नदीमा जलको बहाव तीव्र र निरन्तर रहने अवस्थामा नदी सम्पदाभित्र पाइने जलचर प्राणीका लागि रहेका आहारहरू बाढीका कारण बहने हुँदा जलचर प्राणीका लागि आहाराका रूपमा पिण्डलगायत बगाउने परम्परा सोह्र श्राद्धको परम्पराको रूपमा रहेको, थालेको ज्ञानी पण्डितहरू बताउँछन् । त्यस्तै मुस्लिम समुदायले कब्रिस्तानमा रुख रोप्ने, सफा सुग्घर राख्ने, किराँत समुदायअन्तर्गत समाधि बनाउँदा सो समाधिमाथि रुख रोप्ने वरिपरि सफा राख्नेलगायत कर्म गरेको पाइन्छ । नेवा समुदायका कपालीहरूले समाधिका रूपमा जमिनमुनि मानव शव अन्त्येष्टि गर्ने, वरिपरि रुख रोप्ने र सरसफाइ गर्ने संस्कारमार्फत वातावरणीय सन्तुलन र वातावरणीय स्वच्छता कायम राख्ने गर्दै आएको छ । जापानको वातावरणीय दर्शनको विकासको आधार स्तम्भ त्यहाँको संस्कृतिको रहेको ‘दी क्रुसियल रोल अफ कल्चर इन जापानीज इन्भारोमेन्टल फिलोसफी’ मा मिदोरी कागुवाफक्सले लेखेका छन् । काठमाडौं उपत्यकाका विभिन्न पोखरीहरू लगायत भक्तपुरका विभिन्न स्थानमा रहेका सिद्ध पोखरी, भाजु पोखरी (हालै पुनःनिर्माण), लानीपोखरी (रानीपोखरीः हाल भक्तपुर नगरपालिका र स्थानीय नागरिकको पहलमा फिर्ता लिने अभियानले निरन्तरता लिइरहेको) लगायत ३३ पोखरीहरू विभिन्न सांस्कृतिक प्रयोजन हेतु भित्री रूपमा वातावरण सुरक्षाका लागि बनाइएका हुन् भन्न मिल्छ । भक्तपुरका सबैजसो नेवाः समुदायका ‘देवाली’ वा द्युःपुजावा देः पुजामा ती पोखरी र सँगै रहेको खुल्ला चौर मैदान (विगतदेखि सैनिक स्कुलको सुरक्षणमा रहेको) मा १३ दिने दाजुभाइ भेला भई कुलायन पूजाअर्चना हुँदै आएको परम्परा कायम छ । काठमाडौंका हकमा दशरथ रंगशालासँगै रहेको मध्यभागको टुँडिखेल वा तिंख्य वा तुनावनिगु ख्यः भित्र हाल सैनिक क्षेत्र रहेको स्थानमा स्थानीय नेवाःहरूको कुलायन पूजा अन्तर्गतका देवस्थान रहेको काठमाडौं महानगरपालिकाका ज्येष्ठ नागरिकहरू बताउँछन् । माओवादी द्वन्द्वकालपछि राष्ट्रिय सुरक्षाको कारण देखाई सैनिक निकायले सो देवस्थल मात्र होइन बरु भद्रकालीदेखि दक्षिणपूर्वमा रहेको भद्रकाली माइतघरसम्म छिचोल्ने बाटोसमेत बन्द गरिदिएको गुनासो स्थानीय नागरिकहरूको छ । काठमाडाैं महानगरपालिकाको खास वातावरणीय समस्या वा वातावरण प्रदूषणका खासखास मुद्दाहरूमा वायुको गुणस्तर तथा ट्राफिक व्यवस्थापन, वस्तीको ढाँचा, फोहर व्यवस्थापन र प्राकृतिक प्रकोप पूर्व तयारी भूकम्प र भूक्षय रहेको छ । जीवनयापन, प्रशासनिक कार्य, व्यापार व्यवसाय र नयाँ नयाँ संभावित अवसरका लागि काठमाडौंमा बसाइँसराइ तथा आवतजावत लगायतका मानवीय कार्य भइरहनु सहरी संस्कार नै हो । स्थानीय जनसंख्या, बसाइँसराइ र अस्थायी जनसंख्याको योगफल लगायतले काठमाडौंको जनसंख्या निकै बढ्दो छ । तर, बढ्दो जनसंख्याको अनुपातमा सीमित कर्मचारी र थोरै बजेटको काठमाडौंको फोहरमैला व्यवस्थापनमा बल नपुग्ने सरोकारवाला कर्मचारीहरू बताउँछन् । भएकै बजेटमा काम गरिरहँदा पनि फोहरमैला व्यवस्थापनमा नागरिकको खास सहयोगसमेत नभएको र त्यसको कारण नागरिक सचेतनामा कमी भएको पनि उनीहरूको गुनासो छ । शंकरदेव क्याम्पसका प्रोफेसर डाक्टर धु्रवराज पोखरेलको भनाइ छ, ‘नेपालमा वातावरण नीति तथा कानुनका लागि गरिब होइन र छैन बरु वातावरण व्यवस्थापनमा धेरै कमजोरी छन् ।’ फोहर वर्गीकरण वा फोहर पृथकीकरण घर, पसल, होटल, रेस्टुरेन्ट वा कुनै पनि व्यवसायबाट संकलित फोहोर कुहिने र नकुहिने फोहोर छुट्याउने, बिक्री गर्न मिल्ने, पुनःप्रयोग हुने÷नहुने, तरल र ठोस फोहोरलाई छुटयाउने प्रक्रिया नै सेग्रिगेसन वा फोहर पृथकीकरण वा फोहोर वर्गीकरण हो । घरेलु फोहरमैला, औद्योगिक फोहोरमैला, रासायनिक फोहोरमैला, स्वास्थ्य सेवासम्बन्धी फोहोरमैला, हानिकारक फोहोरमैला, मलखादयोग्य सड्ने मैला, रछाने फोहोरमैला आदि गरी छुट्याउने कार्य नै फोहर वर्गीकरण वा पृथकीकरण हो । थप रेस्टुरेन्ट, गार्मेन्ट, उद्योग, कलकारखाना, हस्पिटल, बसोबास गर्ने घरबाट उत्सर्जित हुने फोहोरलाई स्रोतमा नै नियन्त्रण गर्ने, कुहिने फोहोरलाई मलखादका रूपमा विसर्जन गर्ने, प्लास्टिकजन्य, फलाम, सिसा, आदिलाई छुट्याएर बिक्री गर्ने आदि गरेमा केही मात्रामा आयआर्जन हुन्छ । काठमाडौं महानगरपालिकामा उत्सर्जन हुने फोहरको परिमाणमा जैविक ७० दशमलव ८७ प्रतिशत, प्लास्टिक ९ दशमलव १८ प्रतिशत, कागज वा पेपर ८ दशमलव ५१ प्रतिशत, रबर शून्य दशमलव ५४, कपडा वस्त्र ३ दशमलव शून्य २, धातु शून्य दशमलवा ९२, सिसा काँच २ दशमलव शून्य ९, छाला शून्य दशमलव १२ र काम नलाग्ने निष्क्रिय ४ दशमलव ३३ प्रतिशत रहेको छ । फोहोरमैला व्यवस्थापनमा नागरिकको समेत कर्तव्य रहेकोले आफनो घरघरबाट उत्र्सजन वा उत्पादन हुने फोहरलाई नियन्त्रण तथा व्यवस्थापन गरेमा महानगरपालिकाले व्यवस्थापन गर्दै आएको फोहोरको प्रतिशतमा कमी आउने हुन्छ । महानगरपालिकाले तय गरेको घरको भान्छाबाट फोहोर वर्गीकरण गर्ने प्रणालीअन्तर्गत फोहोरमैला व्यवस्थापन गर्नका लागि नागरिकले पालना गर्नुपर्ने जिम्मेवारीअन्तर्गत २० बुँदे जिम्मेवारी किटानी गरेको छ । महानगरपालिकाले परिभाषित गरेको फोहोरमैला पृथकीकरणमा फोहोरमैला व्यवस्थापन गर्नका लागि नागरिकले पालन गर्नुपर्ने जिम्मेवारी, केवल जिम्मेवारी मात्र नभई स्वच्छ र स्वस्थ्य काठमाडांै निर्माणको लागि महानगरपालिकाको अभियान प्रति एक सचेत नागरिकको कर्तव्य पनि हो । विगतमा तत्काली नगर प्रशासनको कार्य र फोहोरमैला व्यवस्थापन गरी काठमाडौं सहरलाई सफा र स्वच्छ राख्ने जिम्मेवारी पाएको ‘सफाई अड्डा’अन्तर्गत विष्णुमतीस्थित कार्यालयमा दुई जाँचकी र ५५ कर्मचारीसहितको टोलीबाट सुरु भएको हालको काठमाडौं महानगरपालिका नै एक मात्र जिम्मेवार निकाय हो फोहोरमैला व्यवस्थापनका लागि । विक्रम संवत १९७६ देखि निरन्तर १ सय २ वर्षको काठमाडौंको सरसफाइमा केन्द्रित ‘सफाइ अड्डा’ अहिले काठमाडौं महानगरपालिकाको आधुनिक स्वरूपसम्म आइपुग्दा फरकफरक चुनौतीको सामना गरिरहनु परेको छ । महानगरपालिकाकै एक प्रतिवेदनअनुसार पनि प्रतिव्यक्ति दैनिक तीन सय ग्राम फोहोर उत्पादन हुने काठमाडौंको वास्तविकताले पुष्टी गर्छ । प्रतिदिन दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर व्यवस्थापन गर्दै आएको महानगरपालिकाको फोहोर काठमाडौं उपत्यकाको तीन सहरबाट निक्लने फोहोरको आँकडामा प्रतिशतको हिसाबले ५० प्रतिशत हुन आउँछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य, अधिकार दफा ११ (झ) को आधारभूत सरसफाइको (६) मा सरसफाइ सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन, (७) मा स्वास्थ्यजन्य फोहोरमैला संकलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन तथा (१०) मा सरसफाइ तथा स्वास्थ्य क्षेत्रसँग समन्वय, सहकार्य, साझेदारी भागीदारी आदि व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारको रहेको छ । माथि उल्लिखित तिनै अधिकार क्षेत्र र दायित्व अन्तर्गतका उद्देश्य प्राप्तिका लागि ‘स्वस्थ वातावरण सहितको सुन्दर ः हाम्रो काठमाडौं’ को नारालाई किनारा लगाउन ‘क्लिन द सिटी अभियानलाई कार्यक्रमको रूपमा सञ्चालन गरी सहरलाई प्रदूषणमुक्त सफा सहर बनाइने नीति अवलम्बन गरिनेछ’ भन्ने प्रतिवद्धतालाई कार्यान्वयनको दायरामा ल्याउनका लागि महानगरपालिकाबाट प्रकाशित स्थानीय राजपत्र भाग एक आर्थिक वर्ष ०७४/७५ को नीति तथा कार्यक्रमअन्तर्गत ‘सूचना तथा सञ्चार, सु–सूचित हुन पाउनु हाम्रो अधिकार’ मातहतको नीति स्मार्ट सिटीको रूपमा रूपान्तरण गर्न आवश्यक पूर्वाधारका लागि ‘फोहोरमैलालाई उत्सर्जन स्थल अर्थात घरमा नै व्यवस्थापन गर्न तथा जनस्वास्थ्यलाई सकारात्मक प्रभाव पार्न तथा समुदायमा सहयोगी तथा सामूहिकता विकास गर्न कौसी खेतीका लागि प्रोत्साहन दिइनेछ’ लगायतका २० बुँदे नीति तथा कार्यक्रम काठमाडांै महानगगरपालिकाले कार्यान्वयन गरेको छ । होस्टेमा हैँसे किन ? कुहिने फोहोर, सिसा कागजजन्य, प्लास्टिक र पछिल्लो समयमा कम्प्युटर, ल्यापटप, व्याट्रीजन्य पदार्थ जथाभावी अव्यवस्थित रूपमा फालिदिँदा कति कर्मचारी घाइते भई महिनाँैसम्म काममा उपस्थित हुन नसकेका कैयाँै उदाहरण छन् सफाइकर्मी बाबुराजा देउलासँग । हाल अवकास प्राप्त देउलाकै भनाइमा ‘नागरिकमा खाली नगरपालिकाले फोहोर समयमा नउठाएको गुनासो मात्र छ, तर कति मात्राको फोहोर त घरभित्रै समापन गर्न सकिन्छ भन्ने चेतना भने कम छ । सिसाजन्य, कागजजन्य, कडा प्लास्टिक, कपडाहरू, फलामका टुक्रा, ब्याट्रीहरू बेच्न, पुनः प्रयोग गर्न मिल्छ नि, तर खोई एकै ठाममा मिसाइदिन्छन्, कहिले हात काटिन्छ कहिले जुत्तै लगाएको भए पनि खुट्टा काटिन्छ’ । वास्तवमा प्राडा पोखरेलको भनाइसँग मेल खाने अवस्था भनेको काठमाडौं महानगरपालिकाको खास समस्या फोहोर व्यवस्थापन नै हो । काठमाडांै महानगरपालिका एक मात्र जिम्मेवार निकाय भएकै कारण महानगरपालिकाले नै आगामी दिनमा नागरिक सचेतनामार्फत स्वच्छ वातावरणका लागि आवश्यक ठोस नीति निर्माण गर्न र कार्यान्वयनको दायरामा ल्याउन आवश्यक छ । विगतमा मानवीय र जीवजन्तुलगायत वातारणका सबै अवयवको अस्तित्वलाई कायम राख्न निरन्तरता दिन गुथी र पारिवारिक संस्कारअन्तर्गत प्रथाजन्य विधिविधानको व्यवस्था गरिएता पनि हाल आधुनिक परिवेशमा नेपालका विभिन्न क्षेत्र विषेशगरी काठमाडौं उपत्यकालगायत काठमाडौं महानगरपालिकाको स्वच्छ र स्वस्थ्य वातावरणका लागि बनाइएका जति पनि नीतिहरू छन् ती नीतिहरूबारे आमनागरिकको सचेतनाको स्तर खस्कँदो छ । प्राकृतिक वातावरण भनेको के हो, काठमाडौं उपत्यकाका वातावरणीय मुद्दाहरू केके हुन्, फोहोरमैला व्यवस्थापनअन्तर्गत ‘सेग्रीगेसन’ अर्थात कुहिने र नकुहिने, रिसाइकल अर्थात पुनः प्रयोग हुन सक्ने, बिक्री गरी आयआर्जन गर्न सकिने ‘फोहोरबाट मोहोर’ भन्ने सचेतना आमनागरिकमा खास नभएकोे काठमाडांै महानगरपालिकाका–२२ का वडाध्यक्ष चिनियाकाजी महर्जनको भनाइ रहेको छ । महर्जन भन्छन्, ‘हुन त नागरिक सचेतनाका लागि हामीले खास काम गर्न सकिरहेका छैनौँ, मुख्य समस्या भनेको फोहोर गर्ने बढी र सफा गर्नेहरू कम भएका कारण काठमाडौंमा जहिले पनि फोहोरमैलाको व्यवस्थापन समस्याकै रूपमा रहँदै आएको छ । सीमित बजेटमा चल्नुपर्ने वडा र महानगरपालिकाले अहिले गर्ने खास काम भनेको मात्र फोहोर संकलन मात्र हो, फोहोरबाट मोहोर निकाल्ने कामका लागि महानगरपालिकाले योजना त बनाइरहेको छ, तर अहिले अध्ययनकै क्रममा रहेको छ । हालकै अवस्थामा पनि कम्तीमा कौसी खेती र कम्पोस्ट मल बनाउनका लागि मल बनाउने भाँडो सुलभ मोलमा दिलाएर पनि केही हदसम्म कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न सहजीकरण गरेको छ । राज्यको काममा मिडियाले सहयोग गरे त हुने हो । आमनागरिकको फोहोरमैला व्यवस्थापनबारे सचेतना दिन पत्रकारिताको सहयोगको खाँचो छ ।’ निष्कर्ष स्वच्छ र स्वस्थ्य वातावरणको अभ्यास गर्न पाउनु संविधान प्रदत्त मानवअधिकार त हो नै साथमा मानवअधिकार र भावी पुस्ता पुस्तान्तरणका लागि हराभरा र स्वच्छ प्राकृतिक वातावरणको दिगोपनाका लागि वर्तमान पुस्ताको अत्यन्त खाँचो राज्यव्यवस्थालाई छ । हालैको जनगणना २०७८ ले १४ लाख ७१ हजार ८ सय ६७ जनसंख्या रहेको जनाएको काठमाडांै महानगरको ट्राफिक फलो काठमाडांै उपत्यकाको तीन सहरमा अन्यको तुलनामा तीव्र छ । काठमाडौं उपत्यकामा दैनिक उत्सर्जन वा उत्पादन हुने १ हजार ४५ मेट्रिक टन फोहोरको व्यवस्थापन गर्ने काम त्यति सहज होइन । गोकर्ण, ओखरपौवा हुँदै हालका दिनमा सिसडोल र भविष्यमा हुने भनिएको सिसडोल ल्यान्डफिल साइटबाट बञ्चरे सम्मका दुरी तयका कठिनाइहरूमा यदि नागरिकले नै फोहर व्वस्थापनबाट अझ घरैबाट सानो सहयोग र कर्तव्य दायित्व निर्वाह गरिदिए राज्य सरकारको नयाँ नेपाल पुनःनिर्माणमा एक इँटा थप हुन्थ्यो कि ? (अमात्य नेपालको वातावरण र पत्रकारिता विषयकी विद्यावारिधीकी विद्यार्थी हुनुहुन्छ )