सुभाय् संवाददाताMarch 26, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ३२ मिनेट
गौतम बज्राचार्य
पशुपतिको मूर्ति खाल्टोमा पुरिएर रहेको थियो गोठालाले खनेर हेर्दाखेरि देवताको प्रादुर्भाव भयो भनेर गोपाल राज वंशावलीमा लेखिएको छ । यो कथा वास्तविकताको आधारमा बनेको हुनुपर्छ । किन भने ईस्वीको सातौं शताब्दीमा र त्योभन्दा पहिले पशुपतिको मूर्ति चतुर्मुखी लिङ्गको रूपमा थिएन । घोडेजात्राभन्दा एक दिन अघि मनाइने पाहां चह्रे भन्ने नेवारहरूको चाडमा पूजा गर्नाको लागि हरेक वर्ष भूइं खनेर प्रकाशमा ल्याइने कमलगट्टा जस्तो ठ्याप्चो र वर्तुलाकार प्रस्तर मूर्ति (चित्र १)जस्तो थियो ।
चित्र १ लिच्छविकालको त्यस्तो प्रस्तर मूर्ति पशुपति आर्यघाट नजीकै पूलनिर प्राप्त भएको छ (चित्र २)। त्यसैमा कुंदिएको शिलालेखमा ती देवताको नाम पार्थिव शिला “भूइंभित्रको ढुङ्गे प्रतिमा” भनेर लेखिएको छ । यिनै देवताको मूर्ति अंशुवर्मा आदि लिच्छवि राजाहरूका बिभिन्न मुद्राहरूमा पनि फूलको पातले घेरेर देखाइएका छन् (चित्र ३)। तर त्यहां लिच्छविकालकै अक्षरमा ती देवताको नाम पशुपति भनेर परिचय दिइएको छ । अनौठो कुरो के छ भने पशुपति भने पछि शिवलिङ्ग र जलहरि देखाइनुपर्ने हो । तर ती मुद्राहरूमा त्यस्तो कतै देखिंदैन । त्यसैले सबभन्दा पुरानो पशुपतिको मूर्ति शिवलिङ्गको रूपमा थिएन पाहां चह्रेको दिन पूजा गरिने देवता जस्तै थियो भनेर स्पष्टतया बुझ्न सकिन्छ ।