भीमनारायण श्रेष्ठ (वि.सं. १९९४–२०३५) : ०१७ सालको परिवर्तनका बिरूद्ध भीमनारायणजी त्यही बेलादेखि नै सक्रिय हुनुहुन्थ्यो । सशस्त्र कारवाहीका लागि काँग्रेसबाट भारतको फारबिसगञ्ज र नक्सलबाडीमा खोलिएका सशस्त्र तालिम केन्द्रहरूमा गिरिजाबाबु डगलसेन लिम्बू आदि नेताहरूका साथ भीमनारायणजी, रामकृष्ण श्रेष्ठ, प्रेमकुमारी वान्तबा, केदारलाल श्रेष्ठ आदि जुझारु कार्यकर्ता सक्रिय हुनुभएको थियो ।
विराटनगर बमकाण्ड २०३० चैत ३ मा घटेको थियो । शहिद भीमनारायण श्रेष्ठ सो बम काण्डबाट सिकिस्त रूपमा घाइते भएकोमा चिकित्सकले बाँच्दैनन् भन्ने अनुमान गरेका थिए । राजा वीरेन्द्रको बिराटनगर भ्रमणका क्रममा विष्फोट गराउन भनी गिरिजाप्रसाद कोइरालाले बिराटनगरमा रामकृष्ण श्रेष्ठलाई दिन जोगवानीमा जिम्मा दिएको ग्रिनेडको पोको रामकृष्णलाई जिम्मा लगाएको एकैछिनमा पड्किएपछि उहाँ घाइते हुनभयो । नगेन्द्रबहादुर पराजुली, रामकृष्ण श्रेष्ठको विस्फोटमा परी मृत्यु भयो । हरि पराजुली सख्त घाइते भएको र उपचारकै क्रममा अस्पतालबाट गायव भएका थिए । समय क्रममा उनलाई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका पिता डिल्लीबहादुर कार्कीको घरमा प्रहरीले फेला पारेर यातनापूर्वक केरकार ग¥यो । हरि पराजुलीलाई चरम यातनाकै बीच प्रहरीले उपचारबाट छुटाई लग्न खोजेकोमा डाक्टर याहा खानले अनुमति नदिएपछि प्रहरीले केही गर्न सकेन । चरम यातनाकै कारण एक वर्षपछि उनको मृत्यु भयो ।
विराटनगर बम काण्डको मुद्दा हेर्न पञ्चायती शासनले न्यायाधीश ऋद्धिमानन्द बज्राचार्यको विशेष अदालत गठन गर्यो । राजा वीरेन्द्रलाई बम हान्ने काम नभएको र उनको सवारीस्थल र विस्फोटस्थल अलग—अलग भए पनि चरम यातनाका आधारमा गराइएको साविती बयानकै एकमात्र आधारमा बज्राचार्यको बेञ्चले भीमनारायणलाई मृत्युदण्डको फैसला सुनायो ।
भीमनारायणजीको सो मुद्दा पूर्वाञ्चल क्षेत्रीय अदालत हुँदै सर्बोच्च अदालतमा पुगेपछि न्यायाधीशद्वय वासुदेव शर्मा र झपटसिंह रावलले २०३३ फागुन ६ मा उक्त मृत्युदण्डको फैसला सदरको घोषणा गरे । त्यसअघि क्षेत्रीय अदालतमा मुद्दा चलेको इजलाशमा केही सैनिक अधिकारीहरू सैनिक पोशाकमै उपस्थित भएका थिए । वासुदेव शर्मा बीपीकै साढुभाई थिए । मृत्युदण्डजस्तो जघन्य सजाय सहजै दिन तयार हुने न्यायाधीश वासुदेव शर्माले उक्त कार्य आफूले तत्कालीन प्रधानन्यायाधीश नयनबहादुर खत्रीको आग्रहमा गरेको तर्क दिएका थिए। २०३५ माघ २६ मा सप्तकोशीको पश्चिम किनारको रुखमा बाँधेर उहाँलाई ३ वटा गोली हानी मृत्युदण्ड दिइयो ।
धनकुटा सिरानबजारमा पिता सूर्यनारायण र माता लक्ष्मी श्रेष्ठका छोरा भीमनारायणजीको जन्म बि.सं. १९९४ असार २४ गते भएको थियो । २ छोरी र २ छोराका पिता भीमनारायणजीले २०१० सालमा छात्र संघको सदस्यको हैसियतले तेह्रथुम, चैनपुर, आठराई, ताप्लेजुङ्लगायतका पूर्वी पहाडका जिल्लाहरूमा घुमेर छात्र संघको गठन र २०१५ सालको संसदीय निर्वाचनमा धनकुटाका दुवै संसदीय स्थानमा नेपाली काँग्रेसका उम्मेद्वारलाई जिताउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँका २ छोरामध्ये कान्छा मनोहरनारायण धन्कुटा जिल्लाका काँग्रेस नेता हुनुहुन्छ।
(यो प्रस्तुतीको कानुनी पक्ष बार एसोसिएसनका पूर्व महासचिव विजय मिश्रको ०७३ माघ २४ को कान्तिपुरमा प्रकाशित आलेख ‘स्वतन्त्र न्यायालय र मृत्युदण्डको फैसला’ का आधारमा।)
– चन्द्रमणी गौतम
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५