• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 16, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

दिवंगत संघनायक ज्ञानपूर्णिक भन्तेको अन्तिम संस्कार आइतबार गरिने, रिक्त संघनायकमा भिक्षु बोधिसेन महास्थविरलाई पदासिन गरिने निर्णय


सुभाय् संवाददाताJuly 3, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

काठमाडौं / नेपालका ७ औं संघमहानायक दिवंगत भिक्षु ज्ञानपूर्णिक महास्थविरको अन्तिम संस्कार आइतबार गरिने भएको छ ।
मृगौलामा समस्या आएपछि उहाँको डायोलोसिस गरेर उपचार गरिंदै आएको थियो । मधुमेह तथा रक्तचापबाट समेत पीडित उहाँलाई उपचारको निम्ति गत बैशाख १८ गते ललितपुर धापाखेलस्थित सुमेरु अस्पतालमा भइरहेको थियो । उपचारको क्रममा आज शुक्रवार बिहान ४:३५ बजे निधन भएको थियो । श्रद्धाञ्जली अर्पणका लागि उहाँको पार्थिव शरीर विश्व शान्ति विहार मीन भवनमा राखिएको छ भने उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न विभिन्न क्षेत्रका व्यक्तित्वहरु विश्व शान्ति विहार पुगेका छ्न् ।
उहाँको अन्तिम संस्कार थेरबाद बौद्ध परम्परा अनुसार आउँदो असार २१ गते आइतबार शंखमूलमा गरिने अखिल नेपाल भिक्षु महासंघले जनाएको छ ।
यसैबीच आज बसेको भिक्षु महासंघको आकस्मिक बैठकले संघनायकको दिवंगतपछि रिक्त रहेको उक्त पदमा उपसंघनायक बोधिसेन महास्थविरलाई पदासीन गर्ने निर्णय गरेको महासंघका महासचिव कौडन्य महास्थविरले बताउनु भयो ।
संघनायक दिवंगत  भन्तेको संक्षिप्त जीवनी

नेपालका सातौँ पूजनीय संघनायक श्रद्धेय डा. भिक्षु ज्ञानपूर्णिक महास्थविर आजभन्दा ८१ वर्ष अगाडि सन् १९३९ नोभेम्बर २१ तारिख (वि.सं. १९९६ मंसिर ६ गते) का दिन लुम्बिनी अञ्चल, पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा बुबा सूर्यलाल शाक्य र आमा चन्द्रमाया शाक्यको कान्छो कान्छो हिरालाल शाक्य जन्मनुभएको हो ।
तानसेनको टक्सार स्थित शील पाठशालामा प्रारम्भिक शिक्षा अध्ययन गर्नुभएका हिरालाल शाक्यलाई उहाँको आमा चन्द्रमाया शाक्यले ११ वर्षको बाल्य अवस्थामै भिक्षु बनाउनका लागि पूज्यपाद भिक्षु बुद्धघोष महास्थविर (पछि नेपालका पाँचांै संघनायक) लाई आफ्नो छोरा अर्पण गरेकी थिइन् । श्रद्धेय बुद्धघोष महास्थविरको छत्रछायाँ र सामीप्यमा रही हीरालालले केही वर्ष बुद्ध शिक्षा र पालि भाषाको प्रारम्भिक ज्ञान लिनुभयो । यसबाट उहाँको जीवनको दिशा निर्देशमा नयाँ पाटो सुरु भयो । नेपालमा थेरवाद बुद्धधर्मको पुनर्जागरण पश्चात् पहिलो थेरवादी भिक्षु महाप्रज्ञा, प्रथम संघमहानायक भिक्षु प्रज्ञानन्द, आचार्य भिक्षु अमृतानन्दजस्ता वरिष्ठ भिक्षुहरुको प्रेरणा एवं आशिर्वाद उहाँलाई प्राप्त भयो । श्रद्धेय भिक्षु बुद्धघोष महास्थविरको अथक प्रयासले १६ वर्षकै उमेरमा बुद्धधर्मको उच्चशिक्षा त्रिपिटक अध्ययनका लागि उहाँ भारत हुँदै बर्मा वा म्यानमार पुग्नुभयो ।
सन् १९५६ अगष्ट १५ का दिन बर्माका सुप्रसिद्ध अग्गमहापण्डित श्रद्धेय भिक्षु विशुद्धाभिवंस महास्थविरबाट श्रामणेर दिक्षा लिनुभई हिरालाल शाक्य श्रामणेर ज्ञानपूर्णिकको नामबाट बुद्धशासनमा प्रवेश गर्नुभयो । यस पश्चात् बर्मामा रही गुरुकुल परम्परामा धार्मिक शिक्षा अध्ययन गर्दागर्दै सन् १९५९ अप्रिल १२ का दिन बीस वर्षको उमेरमा अभिधज राष्ट्र गुरु श्रद्धेय सयादो सुरियाभिवंश महास्थविरको उपाध्यायत्वमा उहाँले भिक्षु उपसम्पदा (पूर्ण भिक्षुत्व)को दिक्षा लिनुभयो । बौद्ध जगतमा गहन बुद्धशिक्षा र ध्यान अभ्यासको क्षेत्रमा सुप्रसिद्ध स्थल मानिएको यांगुन स्थित छैठौँ संगायना सम्पन्न भएको महाखन्ध सीमा उपोसथागारमा उहाँको पूर्ण भिक्षुत्व जीवन प्रारम्भ भयो । बर्मामा ११ वर्षसम्म निरन्तर रहनुभई उहाँले सन् १९६३ मा सासनधज धम्माचरिय उपाधि प्राप्त गर्नुभयो । बर्माको इतिहासमा यसरी सरकारी पालि शिक्षामा धम्माचरिय प्राप्त गर्ने प्रथम विदेशी व्यक्तित्व नेपालकै तर्फबाट धम्मवती गुरुमां हुनुहुन्थ्यो भने भिक्षुहरु मध्ये उहाँ भिक्षु ज्ञानपूर्णिक हुनुहुन्थ्यो ।
उहाँले रंगुनस्थित विशुद्धाराम पालि तक्षशिला एवं माण्डले स्थित विज्जालंकार विद्यालयमा थप विविध विषयमा उच्च अध्ययन सम्पन्न गर्नुभयो । यसै क्रममा उहाँको बौद्ध साहित्यिक यात्रा पनि शुभारम्भ भयो । सन् १९६४ देखि १९६६सम्म म्यानमारकै बुद्ध सासन काउन्सिलको प्रकाशन संस्थामा औपचारीक सरकारी स्तरमा रही पालि बर्मीज विश्व शब्दकोषको सम्पादनमा महत्वपूर्ण योगदान दिनुभयो । त्यसैगरी स्वदेश तथा विदेशमा रहनुहुँदा उहाँले ६० भन्दा बढी बौद्ध साहित्य ग्रन्थहरु अनुवाद, सम्पादन तथा लेखन गरी प्रकाशनमा ल्याउनुभयो ।
बुद्धधर्मको उच्च अध्ययन पश्चात् उहाँले विश्व प्रसिद्ध विपश्यनाचार्य श्रद्धेय भिक्षु शोभन महास्थविर (महाशी सयादो)को छत्रछायाँमा रही विपश्यना ध्यानको ज्ञान सिक्नुभयो । तत्पश्चात् उहाँले अन्तर्राष्ट्रिय बौद्ध जगतमा आफ्नो सम्बन्ध बिस्तार गर्दै जानुभयो । यसले गर्दा अन्तर्राष्ट्रिय जगतमा उहाँको ख्याति वृद्धि हुँदैगयो । बर्मामा अध्ययनपछि उहाँले पुनः भारतको वाराणसी संस्कृत विश्वविद्यालयबाट संस्कृतमा स्नातक गर्नुभयो । त्यसपछि उहाँ पुनः नेपाल फर्कनुभयो र पाटन स्थित सुमंगल विहारमा बस्दा बस्दै त्रि.वि.को स्नातकोत्तरसम्म अध्ययन गर्नुभयो ।
विश्वमा बुद्धधर्म प्रचार अभियान अन्तर्गत बर्माको महाशी शासन येइता, ध्यानकेन्द्रका प्रमुख ध्यानगुरु ओवादाचरिया महाशी सयादोको भारत र नेपालको भ्रमणको क्रममा उहाँले दिनुभएको उपदेशलाई भिक्षु ज्ञानपूर्णिकले भाषानुवाद गर्नु भएपछि भिक्षु ज्ञानपूर्णिकको व्यक्तित्व अझ उजागर हुँदैगयो र बुद्धधर्मको प्रचारकका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमै परिचित हुनुभयो ।
उहाँ एक कुशल धर्म प्रचारक, ग्रन्थकार, प्रकाण्ड विद्वान, कुशल धर्म प्रवचक तथा भाषानुवादकको रुपमा समेत परिचित हुनुभयो । नेपालभाषा, नेपाली, हिन्दी, अंग्रेजी, पालि, संस्कृत र बर्मी गरी ७ भाषाका ज्ञाताका रुपमा उहाँले बुद्धशासनिक काममा आफ्नो जीवन समर्पण गर्नुभयो । सन् १९७९ मा मंगोलियाको राजधानी उलानबटोरमा सम्पन्न पाँचांै शान्तिका लागि एसियाली बौद्ध सम्मेलनमा नेपालको तर्फबाट आचार्य भिक्षु अमृतानन्द महास्थविरको नेतृत्वमा नेपाली प्रतिनिधिको रुपमा उहाँ पनि सहभागी हुनुभयो । उहाँ धर्मदूत सेवा अभियान अन्तर्गत सन् १९८२ मा इंगल्याण्डमा २ वर्ष रहनुभयो । यसै दौरान सन् १९८२ मा तत्कालिन सोभियत संघको राजधानी मस्कोमा आयोजित विश्व शान्ति सम्मेलन तथा छैठौँ एसियाली बौद्ध सम्मेलनमा आफ्नो सकृय सहभागिता जनाउनुभयो । उहाँको बहुआयामिक व्यक्तित्व धर्मदूतको योगदानलाई कदर गर्दै संयुक्त राज्य अमेरिकाबाट पनि निमन्त्रणा पाउनु भई उहाँ अमेरिकाको नेश्भिल टेनिस्सि स्थित बुद्धिष्ट टेम्पलको विहार प्रमुखको रुपमा १ वर्ष कार्यरत रहनुभयो । तत्पश्चात् ध्यानका कर्मस्थानाचार्य सयादो ऊ पण्डिताभिवंश महास्थविरको प्रमुख भाषा अनुवादकको रुपमा विभिन्न देशहरुमा चारिका गर्नुभयो । युरोपको फ्रान्स, जर्मनीलगायत थुप्रै देशहरुमा सञ्चालन भएका ध्यान शिविरहरुमा उहाँले योगदान दिनुभयो । सन् १९८४ देखि १९८८ सम्म एशियाको मलेसिया, जापान, साइबेरिया, इन्डोनेशिया, सिंगापुर, श्रीलंका, थाइल्याण्ड तथा अष्ट्रेलिया महादेशसम्म पुगी उहाँले भगवान बुद्धको जीवनोपयोगी शिक्षा र ध्यान प्रचार प्रसार गर्नुभई धर्मदूतको रुपमा कार्यरत रहनुभयो ।
युरोपबाट स्वदेश फर्केपछि उहाँले ललितपुरको थेचोमा वेलुवनाराम विहार, मंगलबजार पटकोमा मणिमण्डप विहार, काठमाडौ नयाँ बानेश्वरमा विश्व शान्ति विहार स्थापना गर्नुभयो भने शंखमूलमा अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र स्थापना गर्नमा महत्वपूर्ण भूमिका निभाउनुभयो ।
थाइल्याण्डका महाथेर समागमका कार्यवाहक संघराज गुरुहरुसंगको सामीप्यता रहेको हुनाले नेपालको मणिमण्डप विहारमा उहाँ वर्षावास बस्नुहुँदा सुप्रसिद्ध वाटपकनाम विहार प्रमुख महामंगलाचान सोमदेत तथा थाइ परिवारबाट नेपालमा प्रथम पटक उहाँकै नेतृत्वमा महान कथिनदान भब्य रुपमा आयोजना गरियो । नेपालको बुद्धसासनको शैक्षिक क्षेत्रमा बुद्धशिक्षा परियत्ति विकासका लागि उहाँले परिक्षा नियन्त्रक र शिक्षाध्यक्षको रुपमा र अन्य विभिन्न पदमा रही नेपाल बौद्ध परियत्ति शिक्षामा ५० वर्षसम्म निरन्तर योगदान पुर्याउनुभयो ।
नेपाली भिक्षुसंघको छाता संगठन अखिल नेपाल भिक्षु महासंघमा पनि उहाँले विभिन्न पदमा रही सेवा र योगदान पुर्याउनुभयो । उहाँ उक्त गरिमामय संघको अध्यक्ष पनि हुनुभयो । त्यस्तै गरी नेपालको जेष्ठ बौद्ध संस्था धर्मोदय सभाको पनि अध्यक्षको कार्यभार सम्हाल्नु भयो । परियत्तिको अलावा नेपालमा विपस्सना प्रचारको निमित्त अन्तर्राष्टिय बौद्ध भावना केन्द्र -IBMC_ स्थापनासंगै ध्यान र अभिधर्म सम्बन्धि पुस्तकहरु पनि प्रकाशन गर्नुभयो ।
उहाँको बुद्धशासनिक व्यक्तित्व कृतित्व तथा योगदानको कदर गर्दै म्यानमारको विपश्यना केन्द्रबाट उहाँलाई कर्मस्थानाचार्य उपाधिबाट विभूषित गरियो । सन् २००१ मा म्यानमार सरकारको तर्फबाट उहाँ अग्गमहासद्धम्मजोतिकधज धार्मिक पदबाट साथै सन् २०१३ मा अग्गमहापण्डितको उच्च धार्मिक पदबाट पूजित हुनूभयो । अन्तराष्ट्रिय क्षेत्रमा प्राप्त सम्मान पदवीको सन्दर्भमा सन् २०१३ मा थाइल्याण्डको महामुकुट बुद्धिष्ट विश्वविद्यालयको तर्फबाट बुद्धिष्ट स्टडिज विषयमा उहाँलाई Doctor of Philosophy प्रदान गरियो । सन् २०१६ मा महाचूलालोङ्गर्कन राजविद्यालयबाट पनि Doctorate Degree of PhD in Pali बाट विभूषित हुनूभयो । यो हामी सबै नेपालीको लागि गर्वको विषय हो । नेपाली बौद्ध क्षेत्रको नेतृत्व गरी उहाँले UN Vesak Day को अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी बुद्ध जन्मभूमि लुम्बिनीको सन्देश प्रचार प्रसार गरी बुद्धजन्मभूमि नेपाललाई विश्वसामु चिनाउन योगदान पुर्याउनुभयो ।
पुरानो विश्व बौद्ध संस्था WFB देखि लिएर हालसालै विश्वमा स्थापना भएका सुप्रिम बुद्धिष्ट सम्मेलनको आयोजनामा जापान स्थित World Buddhist Summit मा पनि उहाँ country representative chief को रुपमा कार्य गर्दै आउनुभएको छ । हालसालै भारत सरकारले गठन गरेको International Buddhist Confederation मा पनि उहाँ नेपालको प्रमुख प्रतिनिधि हुनुहुन्छ भने चीनमा स्थापना भएको World Buddhist Forum मा पनि स्थापना कालदेखि नै सदस्यको रुपमा योगदान पुर्याउँदै आउनुभएको छ ।
बुद्धशासनिक व्यक्तित्वको रुपमा उपसम्पदाको ५० वर्षको स्वर्णदिवसको उपलक्ष्यमा नेपाली बौद्ध जगतका थुप्रै संघसंस्थाको संयुक्त आयोजनामा नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवको तर्फबाट उहाँलाई नागरिक अभिनन्दन समेत् गरिएको थियो । म्यानमारको अन्तराष्ट्रिय ख्यातिप्राप्त भिक्षु सितगु सयादोको प्रमुख सहयोग तथा उहाँको संयोजकत्वमा स्थापित थेरवाद बुद्धिष्ट एकेडेमिको तर्फबाट सन् २०१४ मा उहाँले लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन भव्यतापूर्वक सम्पन्न गर्नुभयो । नेपालको बुद्ध, बुद्धधर्म, बौद्ध शिक्षा एवं संस्कृतिको उत्थानको निमित्त आफ्नो जीवन समर्पण गर्दै आउनुभएको उहाँ नेपालमा प्रवजितहरुको दक्ष जनशक्ति र संघविस्तारमा निरन्तर लाग्नुभयो । यसैक्रममा प्रवजितहरुको संख्यात्मक र गुणात्मक रुपमा नयाँ पुस्ता तयार गर्न विश्व शान्ति विहार अन्र्तगत विश्व शान्ति बौद्ध शिक्षालय तथा थेरवाद बुद्धिष्ट एकेडेमि स्थापना गर्नुभयो । हाल उहाँको संस्थापकत्वमा गोदावरी स्थित बडिखेलमा विपश्यना धम्माराम ध्यानकेन्द्रको स्थापना गर्ने हेतुले निर्माणकार्य पनि भइरहेको छ । उहाँको नेतृत्वमा सय भन्दा बढी शिष्यहरु दिक्षित भइसकेका छन् ।
उहाँ भिक्षु ज्ञानपूर्णिक महास्थविर वार्षिक रुपमा मलेसियामा ध्यान शिविर सञ्चालन गर्न जानुहुन्थ्यो । लामो समयदेखि मधुमेह रोगबाट पीडित उहाँलाई विशेषतः मलेसियन दाताहरुबाट स्वास्थ्य उपचारमा उल्लेखनीय सहयोग र श्रद्धा मिलेको छ ।
नेपालको बुद्धसासनमा संघ उपनायक पदको जिम्मेवारीमा रहनुभएका उहाँ छैठौँ संघनायक श्रद्धेय भिक्षु अश्वघोष महास्थविरको देहावसान पश्चात् वि.सं. २०७६ वैशाख १ गते अखिल नेपाल भिक्षु महासंघबाट नेपालको सातौँ संघनायकको रुपमा पदासिन गरियो । पछिल्लो चरणमा सन् २०१९ मा नेपाल सरकारको तर्फबाट उहाँलाई परमपूज्य (-His Holiness_) पदबाट सम्मानित पनि गरियो भने २०१९ जुन १६ का दिन म्यानमारको International Association of Theravada University को बोर्ड वैठकले उहाँलाई उपाध्यक्ष पदमा मनोनित गर्यो । यसरी विभिन्न बौद्ध राष्ट्र म्यानमारका सयादोहरु, थाइल्याण्डका परमपूज्य संघराजहरु, श्रीलंकाका महानायक गुरुहरु, कम्बोडिया, भियतनाम, लाओसका थेरवादी उच्च पदस्थ संघमहाथेरहरुसंग उत्तिकै प्रगाढ सम्बन्ध रहेजस्तै महायानी संघ अन्तर्गत चीनका सिफू गुरुहरु, जापानका नोबल मास्टरहरु, उच्च पदस्थ रिन्पोछे गुरुहरु, देशविदेशमा रहेका आनी, भिक्षुणी, गुरुमासंघहरु पनि उहाँको निकटतम धार्मिक सम्बन्ध रहिरहेको छ ।
बुद्धसासनमा आजीवन समर्पण गर्नुभई बुद्धभूमि नेपालमा बुद्ध शिक्षा प्रचारमा अह्म योगदान प्रदान गर्नुहुने उहाँलाई स्वरुप वि.सं. २०७६ श्रावण २५ गते अखिल नेपाल भिक्षु महासंघको अगुवाइमा नेपालका १३३ बौद्ध संघसंस्थाले सामूहिक धम्ममूदित संघनायक अभिनन्दन कार्यक्रम पनि धर्मगौरवका साथ उहाँलाई सम्मानित गरियो ।
संसारको अनित्य र अनात्म स्वभावलाई हृदयंगम गरी आफ्नो नश्वर देहलाई उहाँले त्याग गरी मिति २०७७ असार १९ गते (नेपाल सम्बत् ११४० दिलाथ्व शुक्लपक्ष त्तयोदशी) शुक्रबार तदअनुसार ई.सं. २०२० जुलाई ३ विहान ४ः४५ दिन हामीलाई सदाका निम्ति बिदा गरेर जानुभयो ।

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑