वीरगञ्ज । तीनजना भारतीय जमातीलाई कोरोना संक्रमण भएको पुष्टि भइ सकेको छ । यहि समूहका धेरै मानिसहरू लकडाउनको समयमा मोरङ सुनसरीमा पनि छिरेको कुरा सुन्नमा आएको थियो र त्यतिबेला नै यसतर्फ ध्यान पुर्याउन स्थानीयले आग्रह गरेको थियो ।तर त्यतिबेला यसलाई बेवास्ता गरिएको थियो । बिरगंजको यो संक्रमण पुष्टिले एकपटक अलि शान्त जस्तै देखिएको कोरोना संक्रमणको समाचारमा एकपटक फेरि झस्काइ दिएको छ ।नेपाल भारत सीमा क्षेत्र यस तथ्यले संवेदनशील बनेको स्पष्ट देखिएको छ ।
यतिबेला भारत र नेपालको सीमामा जतिसुकै कडाइ गरिएको भनिएपनि चोरी बाटो प्रयोग गरेर सीमा वारपार गर्न सकिने सम्भावना धेरै नैं देखिन्छ त्यसैले यतिबेला भारत र नेपाल संयुक्त रुपमा मिलेर निगरानी राख्नुपर्ने र यसका निम्ति तत्काल उच्चस्तरीय छलफल गरेर सकेसम्म चाँडो कदम अगाडि बढाउनुपर्ने आवश्यक रहेको विश्लेषकहरुले भनेका छन् ।
यसैगरी बिरगंजमा यसरी कोरोना संक्रमित भएको प्रमाणित भैसकेपनि त्यस क्षेत्रमा तुरुन्त एक्सन लिनुपर्ने कार्य नभएकोप्रति सबै क्षेत्र चिन्तित बनेको छ । वीरगञ्जमा सरोकारवाला निकाय जसरी सक्रिय हुनुपर्ने हो, त्यो देखिएको छैन ।
औपचारिकरुपमा सञ्चार माध्यमलाई नबताए पनि नारायणी अस्पतालमा शनिबार राति ८ बजे नै तीनजना भारतीयमा पोजेटिभ देखिएको खबर आएको थियो । त्यसयता छपकैयास्थित दुईवटा मस्जिदबाट २६ जनालाई क्वारेन्टाइनमा राख्ने बाहेक अन्य काम केही भएको छैन । प्रभावित इलाकामा रहेका संक्रमित हुनसक्ने शंकास्पद ब्यक्तिहरुलाई तुरुन्त क्वारेन्टाइनमा राखेर र्यापिड डाइग्नोस्टिक टेस्ट गर्नुपर्ने विज्ञहरुको धारणा रहेको छ । तर यस्तो केही भएको छैन ।
कोरोना संक्रमित बिरामीलाई राख्ने कोभिड अस्पताल वीरगञ्जमा छैन । आइसोलेसनमै राखेर उपचार गर्नुपर्ने बाध्यता छ । प्रदेश २ सरकारले महानगरपालिकामा पीसीआएर मेसिन दिने र कोभिड अस्पताल बनाउन सहयोग गर्ने भने पनि त्यो कार्यान्वयन भएको छैन ।
यस्तो अवस्थामा कोरोना संक्रमित भेटिएको सूचना लामो समयसम्म बाहिर नल्याउँदा जोखिम बढेको नारायणी अस्पतालका चिकित्सकहरु बताउँछन् । उनीहरु कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफलमा बसेका छन् ।
चिकित्सक संघ नारायणीका अध्यक्ष डा अरुण सिंह भने चाँडै एक्सनमा जानुपर्नेमा सूचना लुकाउँदा चिकित्सक स्वयं अप्ठ्यारोमा परेको बताउँछन् । ‘औपचारिक जानकारी राति नै आएपछि त्यसलाई सार्वजनिक गर्नुपर्ने हो, त्यसले मानिसलाई सतर्क रहन मद्दत पुग्थ्यो’ डा सिंहले भने ‘हामीलाई सार्वजनिक नगर्नू, पहिला मन्त्रालय नै डिक्लियर गर्छ भनिएको छ । तर लामो समयसम्म सार्वजनिक गरिएन । यसले हामी अप्ठ्यारोमा परेका छौं ।’
कोरोना संक्रमण फैलन नदिन जुन किसिमको तयारी हुुनुपर्ने हो, त्यो नदेखिएको उनले बताए । ‘चिकित्सक, स्वास्थ्यकर्मी र समुदाय सबै जोखिममा छन्,’ उनले भने ‘अब के गर्ने, कसो गर्ने भनेर चिकित्सकहरु छलफल गर्दैछौं ।’
कोरोनाले छपकैया क्षेत्रमा समुदाय नै प्रभावित हुन सक्नेतर्फ ध्यान दिँदै आसपासको ठाउँ शील गर्ने र छिटोभन्दा छिटो स्क्रिनिङ र टेष्ट गर्नुपर्ने नारायणी अस्पतालका अर्का चिकित्सक डा. उदयनारायण सिंह बताउँछन् । ‘जुन ठाउँका मानिस संक्रमित भएका छन्, त्यो आसपासको क्षेत्रलाई शील गर्नुपर्छ,’ उनले भने, ‘उनीहरुको सम्पर्कमा आएका व्यक्तिलाई ट्रेसिङ गरेर परीक्षणको दायरामा ल्याउन सक्नुपर्छ । अन्यथा समुदायमै खतरा आउन सक्छ ।’
नारायणी अस्पतालमा एउटा मात्रै भेन्टिलेटर छ । चारवटा आईसीयूको प्रबन्ध छ भने आइसोलेसन वार्ड २५ बेडको छ । नारायणी अस्पतालमा ३ सय थान र्यापिड टेष्ट किट आएको छ, जिल्ला जनस्वास्थ्य कार्यालय र नेशनल मेडिकल कलेजलाई १/१ सय थान र्यापिड टेष्ट किट प्रदान गरिएको छ ।
तर संक्रमित फेला परेको गाउँमा परीक्षण शुरु गरिएको छैन ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर टेष्ट किट आए पनि सुरक्षा उपकरण नहुँदा स्वास्थ्यकर्मी फिल्डमा जान सक्ने अवस्था नरहेको बताउँछन् । ‘जन स्वास्थ्यमा सय थान र्यापिड टेष्ट किट आएको छ । तर व्यक्तिगत सुरक्षा उपकरण नहुँदा स्वास्थ्यकर्मी साथीहरु फिल्डमा जान सक्ने अवस्था छैन,’ ठाकुरले भने, ‘स्वास्थ्यकर्मीले व्यक्ति-व्यक्तिलाई गएर भेट्नुपर्ने हुन्छ, उनीहरु स्वयं जोखिममा रहने भएकोले सुरक्षा सामाग्री आएपछि काम गर्न सकिन्छ ।’
अनलाइन खबरको सहयोगमा
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५