• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / व्यक्तित्व

आरोही हुन्, त्यसैले त उक्लिरहिन् जिन्दगी अठोट र हिम्मतले जीवन-यात्रा कोरेकी राधा श्रेष्ठको कथा (जीवन सुन्दर छ, भाग-४)


सुभाय् संवाददाताJanuary 22, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २२ मिनेट

सुनिता साखकर्मी 

उनलाई जिन्दगीले नै जिद्दी गर्न सिकायो। सानैदेखि हरेक ठक्करमा नथाक्ने जिद्दी गरिन्, हरेक प्रहारमा नहार्ने जिद्दी गरिन्।

“आज तिम्रो खुट्टाको पट्टी खोलिएको छ, हेर्ने हो ?”, अस्पतालमा स्याहार गरिरहेका आफन्तले यसो भन्दा राधा श्रेष्ठको मनमा खुशीको बहार छायो।

ओहो ! आफैलाई नहेरेको पनि हप्तौं भइसकेको थियो। अस्पतालको शय्यामा सेतो पट्टीले सिंगो शरीर बेरिएर पल्टिँदा–पल्टिँदै हैरान भइसकेकी थिइन्। कोल्टो पनि फेर्न नसकी पल्टिरहनुको विवशता कति पीडादायी थियो भन्ने कि उनलाई थाहा थियो, कि उनलाई थामिरहेको बिस्तारालाई।

आफन्तको आवाज सुनेपछि उनको मस्तिष्कमा एकाएक स्मृतिका रिल घुम्न थाले।

२२ फागुन २०६२ को दिन थियो त्यो। बेलुकाको खाना आमाले पकाएकी थिइन्। आमासँगै बसेर राधाले खाना खाइन्। खाना खाइवरी बेडरुममा गइन्। आमा पनि सुत्ने तरखर गर्दै थिइन्। ह्वास्स ग्याँसको गन्ध आयो।

पक्कै आमाले ग्याँस चुल्हो निभाउन बिर्सनुभयो, सोचिन् उनले। हुन पनि आमा दिनप्रतिदिन बिर्सने भएकी थिइन्। उमेर बढ्दै गएकाले त होला।

जुरुक्क उठिन्। सधैँ बिर्सने भन्दै गनगन गर्दै भान्सामा पसिन्। नभन्दै ग्याँस खुलै रहेछ। कोठाका झ्यालढोका सबै बन्द थिए। कोठाभरी ग्याँसको कडा गन्ध फैलिइरहेको थियो।

‘उफ् कस्तो टाउकै दुख्ने गन्ध !’

गनगनाउँदै ग्याँस चुल्हो बन्द गर्न नब घुमाइन्। तर, अघिपछि जस्तो ग्याँस निभेन। एकाएक ठूलो आवाजमा ग्याँस पड्कियो- ‘ड्वाङ्ग…!!!’

अनि ?

आगोको लप्कामा परेको शरीर। आवाज सुनेर हतार-हतार आएकी आमाको शरीरमा पनि आगो। असह्य पीडा। रोइकराई।

छिमेकी जम्मा भए। आगो निभाउने प्रयास गरे। केही बेर लाग्यो। आगोले जलेका आमा–छोरीलाई ट्याक्सीमा राखे। अस्पताल पुर्‍याए।

र, अस्पतालको यो शय्या। अनि कहिल्यै नसकिने सिमातित पीडा।

जब होश सम्हालिन्, आमालाई खोजिन्।

“मेरी आमालाई कस्तो छ?”, बारम्बार सोध्न थालिन्।

“हामी तिम्रो आमालाई बचाउन सक्छौं, तिमी बाँच्ने सम्भावना कम छ”, डाक्टरहरू सँधै एउटै जवाफ दिन्थे।

डाक्टरको त्यो जवाफले राहत मिल्थ्यो। भन्थिन्, “सक्नुहुन्छ मलाई बचाउनुहोस्, नसके प्रयास गर्नुहोस्। तर, आमालाई बचाउनुहोस्।”

दुई हप्तापछि थाहा पाइन्, डाक्टरहरूले साह्रै नमिठो झुठ बोलेका रैछन्, उनलाई बचाउन। आमाको त तीन दिनमै निधन भइसकेको रहेछ।

जब थाहा पाइन्, लाग्यो आकाश खस्यो। डाँको छोडेर रुन चाहन्थिन्। तर, जिन्दगीमा सँधै भनेजति रुन कहाँ पाइन्छ र?

कहिलेकाहीँ कुइनेटाहरू यति निर्मम भएर आइदिन्छन्, रुन चाहेर पनि पाइँदैन। यस्तै निर्मम कुइनेटो थियो यो। राधा चाहन्थिन्, डाँको छोडेर रोउँ ताकि आकाशको छाती चिरियोस्। तर, डाक्टरले रुन पनि प्रतिबन्ध लगाइदिएका थिए। छाला ट्रान्सप्लान्ट गरिएकाले उनलाई रुन मनाही थियो। चुपचाप आँसु बहाइरहिन्। तर, मौनता सँधै उपचार कहाँ हुन्छ र?

“आफन्तलाई बाहिर पठाएर धेरै बेर रोएँ। सोचेँ, जसको लागि बाँचेको थिएँ, उहाँले नै मलाई छोडेर जानुभएपछि म के को लागि बाँच्ने ? त्यतिबेला साँच्चै नै हारें म”, दुःखको त्यो क्षण सम्झन्छिन् राधा।

उफ् ! कति तितो हुन्छ त्यो क्षण जब मानिस आफ्नै नजरमा आफै पराजित हुन थाल्छ। न कतै भागेर जानसक्छ। न जिन्दगीलाई सहर्ष सामना गर्नसक्छ। पराजयबोध गुजुल्टो परेर मन–मस्तिष्कमा बसिदिन्छ।

त्यस्तै पराजयबोध भयो राधालाई। न आमाको अन्तिम अनुहार हेर्न पाइन्, न किरिया गर्न नै। सम्झनाका तरेलीमा आमाको अनुहार उतारिरहिन्। आँसुले अस्पतालको सिरानी भिजिरह्यो।

०००

“आज तिम्रो खुट्टाको पट्टी खोलिएको छ, हेर्ने हो ?”

प्रश्न सुन्नासाथ गदगद भइन्। आफैलाई हेर्न आत्तिइन्। तर, शरीर त कहाँ अहिल्यै उठ्ने भइसकेको थियो र? आफन्तले मोबाइलले खिचेर फोटो देखाइदिए।

“नाँई, यो मेरो खुट्टा होइन। यो मेरो खुट्टा हुनैसक्दैन। अरुको खुट्टा नदेखाऊ”, उनको पहिलो प्रतिक्रिया यस्तै भइदियो।

कसरी विश्वास गरुन्, आगोले पोलेर कालो भएको खुट्टा उनको थियो।

उनको खुट्टा त मुलायम थिए, कोमल थिए। जिन्दगीका अप्ठ्यारा उकाली–ओरालीमा तिनै खुट्टाले त साथ दिएका थिए। तिनै खुट्टामा पाउजु लगाएर उनी छमछम नाचेकी थिइन्। तिनै खुट्टामा स्यान्डल लगाएर टकटक हिँडेकी थिइन्। अनि कसरी ती खुट्टा एकाएक यस्तो हुनसक्छन्?

“अब मेरो जीवन सकियो, मैले केही गर्न सक्दिनँ”, यस्तै सोचिन् राधाले। निरास भइन्। हताश भइन्। मनमा लाग्यो, यी खुट्टालाई कतै बिसाएर आइदिउँ।

बाँचिरहेको जिन्दगी नै गह्रुंगो लाग्न थाल्यो।

लुडो खेल्दा माथि पुगेपछि एकैपटक सर्पले खाएर तल ओर्लिएजस्तै लाग्यो।

जिन्दगी आखिर लुडोको खेल जो बनेको थियो।

शुरूमा तल्लो तहमा थियो। अनेकन् गरि जोडेका भर्‍याङ चढेर अलिकति माथि के उक्लेको थियो, संकटरूपी सर्प आइदियो। र, जिन्दगी फेरि शुरूमै झर्‍यो।
०००
कम्ता कठिन थियो र राधाको जीवनको शुरूआत?

टोखाको सामान्य परिवारमा जन्मेकी थिइन् उनी। घरकी साँइली छोरी। आर्थिक अवस्था मध्यम थियो। तर, परिवार बडेमानको। बुवालाई छोरा चाहिएको थियो। छोराको आशा गर्दागर्दै आमाले पाँच छोरी जन्माइसकेकी थिइन्। छोरा नपाएको भन्दै बुवाले आमालाई दिनहुँ कुट्थे।

छोराकै लालसाले बुवाले दोस्रो बिहे गरे। आमाकी दोस्रो पत्नीले राधा र उनकी बहिनीलाई सहन्नथिन्। दिनहुँ घोचपेच, हेलाँहोचो चलिरहन्थ्यो। त्यत्तिकैमा बुवाको नयाँ परिवार ठमेलमा सर्‍यो।

एकातिर बुवाको साथ थिएन। अर्कोतिर दिदीहरूको अन्तरजातीय विवाह भएको थियो। अन्तरजातीय विवाह गरेकाले समाजले हेलाँहोचो गर्न थाल्यो। बिचरी आमा कति सहुन् ? के मात्र भोगुन् ?

तैपनि जिन्दगीको भारी थाप्लोमा बोकेर दिनहुँ ज्यालादारी मजदुरीमा जान्थिन्। राधा र उनकी बहिनीलाई पढाउँथिन्। खेतीपाती गर्थिन्। त्यही खेती पनि स्याहार्ने बेलामा बुवा आएर लगिदिन्थे।

साह्रै सकसमा बित्यो सिंगो बाल्यकाल–किशोरकाल।

पढ्ने रहरलाई बिचैमा तिलाञ्जली दिँदै राधा होटल ‘ट्रेकर्स होलिडे इन’मा काम गर्न थालिन्, म्यानेजर पदमा। काम राम्रो थियो। तलब पनि राम्रो। त्यतिले नपुगेर बेलुकीपख एचआइभी संक्रमितहरूको लागि काम गर्ने संस्था ‘आशा नेपाल’मा कोअर्डनिटेरको रूपमा काम गर्थिन्।

जिन्दगी उकालो लाग्दै थियो। आमा र बहिनीको रहर पूरा गरिदिन पाउँदा खुशी हुन्थिन्। संसार भनेकै तिनै त थिए।

पैसा रहेछ सबै। हिजो बेवास्ता गर्ने समाजले पनि भाउ दिन थालेको थियो।

तर, त्यही एक दिनले सारा रहरमा पानी खन्याइदियो। जिन्दगी लुडो खेलमा सर्पले खाएको गोटीजस्तै एकैपटक तल आइपुग्यो।

हरे ! अब के गर्ने ? अस्पतालको बिस्तारामा पल्टेर राधाले दुर्घटित जिन्दगीलाई ओल्टाइपोल्टाइ गरिरहिन्।

“अब त बाँचेर पनि के फाइदा र ?” मनमा यस्तै–यस्तै विचार मात्र आउन थाले।

तर, जब–जब आमाको अनुहार स्मृति ऐनामा आउँथ्यो त्यो निराशा हराएर जान्थ्यो।

के मात्र सहेकी थिइनन् र आमाले ? लोग्नेको टोकेसो, हेला र परित्याग। समाजको उपेक्षा। तैपनि कहिल्यै हारिनन्। कहिल्यै थाकिनन्। भन्थिन्, “जतिसुकै अप्ठेरो परे पनि हरेश नखानु है !”

आमाको सम्झनाले उनलाई जीवनको नयाँ उमंग दियो। अस्पतालको बिछ्यौनामै रेडियोमा बजिरहने गीत सम्झिइन्। लाग्यो उनकै लागि गाइएको हो त्यो गीत–
‘फूलै फूल मात्र पनि होइन रै’छ जीवन
काँडाबीच फूल्ने फूल रै’छ जीवन।’ (स्वरः मधु क्षेत्री)

मनमा बसेको घाउलाई आफ्नै उत्साहले भर्न थालिन् उनले। जिन्दगीभर जतन गरि सम्हालेका केही सपना थिए। ती छरिएका थिए, सम्हाल्न थालिन्। चोट केही लागेको थियो, समयको मल्हमले सम्याउन् थालिन्। हिजोजस्तो थिएन आजको जीवन। अब नयाँ ढंगले बाँच्नुपर्छ, अठोट गरिन्। तर, सोचेजस्तो कहाँ सजिलो थियो र जिन्दगी?

आगोले अनुहार, हात, छाती, खुट्टा जताततै डामेको थियो। निको हुनै समय लाग्यो। बिस्ताराबाट उठ्नै सकस हुन्थ्यो। मन त चाहन्थ्यो, उडेर शिखर चुमुँ। तर, खुट्टा सर्दैनथे। बेलाबेलामा त दिक्क हुन्थिन्। हरेश खान्थिन्।

तर जब सोच्थिन्, ‘अब कसैले साथ दिँदैन’, भरोसाको हात समाइदिन भाइ (एउटै आमाको नभए पनि उनले बनाएको जो थिइन्) र बहिनी–ज्वाँई आइदिन्थे। अनि फेरि सोच्थिन्, ‘मान्छेहरू छन् त मेरै वरिपरि। म हारुँ कसरी?’

“त्यतिबेला मेरो भाई र बहिनी–ज्वाँईले दिएको साथले मलाई जिउने उत्साह दियो”, उनी सुनाउँछिन्।

हो उत्साह दियो नि, किनभने उनकै आँखाले अस्पतालमा उनीसरी नै जलेर आएका महिलालाई घर–परिवारले छोडेर गएको देखेको थियो। आमा गुमाउनुको पीडा, आफन्तको साथले कम भएको थियो।

त्यसमाथि जर्मनीका डाक्टर आन्ड्रियासले उनको सम्पूर्ण उपचार खर्च व्यहोरे। हौसला बढाए।

सबैको साथ पाएपछि उनी आफैंलाई उभ्याउने अभ्यासमा जुटिन्। घाउ त पुरिएका थिए तर, औंला कुँजिएका थिए। फिजियोथेरापीले सुधार्न पर्नेभयो। मुठ्ठी कस्न खोज्थिन्। एकपटक मुठ्ठी कस्न दुई घण्टा लाग्थ्यो। दुई घण्टाको मेहनतले कसिएको मुठ्ठी पाँच मिनेटमा फुकिसक्थ्यो। उनी जिद्दी गरेरै भए पनि जुधिरहन्थिन्।

उनको जिद्दी देखेर डाक्टरहरू ‘अचम्मकी केटी’ भन्थे। तर, उनलाई जिन्दगीले नै जिद्दी गर्न सिकाएको थियो। सानैदेखि उनले हरेक ठक्करमा नथाक्ने जिद्दी गरिन्, हरेक प्रहारमा नहार्ने जिद्दी गरिन्। त्यही जिद्दीले उनलाई सक्षम बनायो।

अथक प्रयासपछि उनका औंला चल्न थाले। कलम समाउनेदेखि चम्चाले आफैं खानसक्ने भइन्।

कलम समाउन सक्ने हुनासाथ उनले लेखिन् आमाको नाम- भक्तकुमारी श्रेष्ठ।

“नाम लेख्न सकेपछि मैले लेख्न सकेँ नि भनेर साथीहरूलाई फोन गरेको थिएँ,” त्यो क्षण सुनाउँदा अहिले पनि उत्साही हुन्छिन् राधा।

अलि धेरै पीडा, अलि बढी सकस, अझै बढी मेहनत, त्यो भन्दा बढी हिम्मत। सबैको जोड उनले जिन्दगीलाई फेरि तिनै खुट्टामा उभ्याइन् जसले यहाँसम्म ल्याइपुर्‍याएका थिए। हो, ती खुट्टा पोलिएका थिए तर, तिनले आफ्नो धर्म छोडेका थिएनन्। त उनले किन छोड्थिन् जिन्दगी जिउन?

३९ औं दिन अस्पतालबाट बाहिर निस्कँदै गर्दा नारायणगोपालको यो गीत के उनले गाएकी थिइनन् र?
‘शिखर भने कहाँ, अझै कति टाढा
अहिलेसम्म जाँदैछु म, एक्लै डाँडाडाँडा

‘म त यस्तो होइन दाइ मेरो कर्म यस्तो
भ्याए जति गर्दै जाने आफ्नो धर्म यस्तो
सहँदै जानुपर्ला दाइ आउला दिनै जस्तो जस्तो’ (शब्द, संगीतः गोपाल योञ्जन)

०००

उनी आरोही थिइन्। जिन्दगी नै शिखर बनेको थियो। हरेक आरोहीले यात्रामा छुट्नेहरूलाई ससम्मान हृदयमा राख्छ। त्यतिञ्जेल साथ दिएकोमा धन्यवाद दिन्छ। र, उकालो लाग्छ। उनले पनि त्यसै गरिन्। जिन्दगीको यो देउरालीमा आमाका स्मृतिलाई सजाउनु थियो, सजाइदिइन्।

४० औं दिनमा त उनी काममा फर्किसकेकी थिइन्। उही होटल ‘ट्रेकर्स होलिडे इन’मा। उही पद। होटल व्यवस्थापनले उनको दुर्घटनालाई लिएर कुनै समस्या जनाएन। न त होटलका अन्य सहकर्मीले कुनै अस्वाभाविक प्रतिक्रिया नै जनाए। बरु सबैले साथ दिए।

त्यो पो उनलाई सँधै चिन्ने संसार थियो। तर, बाहिरी दुनियाँ त्यति सहज भएन। जब उनी कतै जान्थिन्, मानिसहरू फरक व्यवहार देखाउँथे। नजिक हुँदा पाखा लागिदिन्थे। रेष्टुरेण्टमा खान जाँदा उठेर हिड्थे। हेयको भावले हेर्थे। मानिसलाई अपमान गर्न शब्द नै चाहिँदोरहेनछ, हाउभाउ, व्यवहारले पनि पुग्दोरहेछ।

मानिसको यो व्यवहारले उनलाई दिनहुँ झस्काउन थाल्यो। हो, होटलमा काम गरिरहेकी थिइन्। तर, उनलाई लाग्यो, यसरी दैनिक जीवनले जिन्दगी जिन्दगीजस्तो हुँदैन। केही त गर्नुपर्छ। समाजको यो रवैया फेर्न।

त्यही उत्साहले हो, उनले डा. आन्ड्रियासको सहयोगमा ‘बर्न लेडी होम’ नामको संस्था स्थापना गरेको। सन् २००७ मै यो संस्था स्थापना गरेकी थिइन् राधाले। होटलको कामले समय नभ्याउने लागेपछि सन् २००९ मा जागिर छोडिदिइन् र पूर्ण रूपले संस्थामा समर्पित भइन्।

साँखुमा स्थापित यो संस्थाले आगोले पोलेर अस्पतालमा छटपटाइरहेका महिलालाई साथ दिने काम गर्छ। उनीहरूलाई समाजमा स्थापित हुन पनि सहयोग गर्छ।

अहिले यो संस्थाले आगोले पोलेर बाँचेका महिलालाई स्वरोजगार सिर्जना गर्ने गरी कार्यशाला स्थापना गरेको छ। संस्थामा २५ जना जति आगोले पोलिएका महिला संलग्न छन्।

काठमाडौंको बसुन्धरामा रहेको उनीहरूको कार्यशालाले पोतेका सामान, मैनबत्ती लगायतका सामग्री बनाउँछ। ती सामग्री विभिन्न मेलामा बिक्री हुन्छन्।

“जलेको अनुहार लिएर काम खोज्न जाँदा अनुभव खोजिँदैन, अनुहार हेरिन्छ,” राधा भन्छिन्, “त्यसैले उस्तै पीडा भोगेका महिला मिलेर केही नयाँ गर्न खोज्दैछौं।”

courtesy : dekhapadhi.com

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑